शुक्रबार , अषोज १४, २०७९

हिन्दू धर्म बोन वा झाँक्रीको शाखा हो

विश्व मानव सभ्यतामा परापूर्वकालको पहिलो दर्शन नै बोन वा झाँक्री धर्म हो । सोही बोनबाट मानव सभ्यता विकासको क्रममा अन्य धर्महरू क्रमशः हिन्दू, बौद्ध, मुस्लिम र ख्रिस्ट आदि धर्मको विकास (उदविकास) भएको हो ।

image

– खोजराज गोले

तामाङ बोन ढ्याङ्ग्रो र मानव सभ्यता अनि धर्मको उदयको तथ्य !

तामाङ समुदायको बोम्बो/बोन्पो/पोम्पोले नै सबैभन्दा पहिलो पटक त्रि-देवको अवधारणा विकास गरेका थिए । ती तीन देवताको नाम ‘लनी छङ्वै रेञ्जेन, लनी वङ्वै ग्यप्जेन र लनी महादेओ (ब्रह्मा, विष्णु र महादेव)’ हो ।

छ्ङ्वै वा छङ्बो/छङ्पोलाई अङ्ग्रेजीमा Tsangpo = सङ्पो उच्चारण गरिन्छ । अर्थात् हालको तिब्बतमा अवस्थित सङ्पो नदीलाई पहिलेका तामाङ बोन (झाँक्री)हरूले ‘छङ्पो/छङ्बो’ भन्ने गरेका थिए । सोही नदीलाई नै जीव सृष्टिकर्ताको रूपमा प्रकृतिवादी तामाङ बोनहरूले सबैभन्दा पहिले लनी छङ्वै रेञ्जेन भनी नामाकरण गरेका थिए । त्यसैगरी अर्को सम्भवतः ‘ह्वाङ्हो’ नदीलाई भने उनीहरूले पालनकर्ता ‘लनी वङ्वै ग्यप्जेन’को रूपमा मानेका थिए । एवम् रितले कैलाश पर्वतलाई ‘लनी महादेओ’ भनेका थिए ।

तिनै तीन देवतालाई नै पछिल्लो समयमा हिन्दूधर्म ग्रन्थहरूमा ब्रह्मा, विष्णु र महादेवको रूपमा स्वीकार गरेका देखिन्छन् । प्रकृतिवादमा सूर्यको किरणलाई पिता र पानीलाई माताको रूपमा आत्मसात् गरिन्थे । यस मत अनुसार सूर्यको किरण पानीमा परेपछि वनस्पति हुँदै जीवको उदय भएको थियो ।

सर्वप्रथम ‘रजो गुणले युक्त ”ब्रह्मा” उत्पन्न गराई अहङ्कार र पञ्चमहाभूत, ज्ञानेन्द्रिय, कर्मेन्द्रिय, पञ्चतन्मात्रा, शब्द, रूप, रस, गन्धले युक्त यौटा अण्डको उत्पन्न हुन्छ वा बन्दछ । त्यो अण्ड ब्रह्ममय हुनाले त्यसको नाम ‘ब्रम्हाण्ड’ रहेको हो (बृहत स्वस्थानी-व्रत-कथा, श्री दुर्गा साहित्य भण्डार: नेपाली खपडा, वाराणसी, प्रथमोध्यायः प्रारम्भ: पृ.४)। यस ग्रन्थमा यस्तो उच्चारण हुनुको कारण हिन्दू सनातन धर्म प्रकृतिवाद वा बोन वा झाँक्रीको शाखा हुनु नै हो ।

हिन्दू सनातन धर्म बोनको शाखा यस अर्थमा पनि प्रमाणित हुन्छ कि- यस धर्मले स्वीकार गरेका तीनै देवताहरू तामाङ झाँक्रीबाट लिएको देखिन्छ । माथि उल्लेख गरिएको ‘ब्रह्माण्ड’को प्रतीक नै तामाङ बोनको ढ्याङ्ग्रो हो । त्यसैले यो लमो गोङ्सोर (कुखुरीको अण्ड/फुल) आकारको हुने गर्दछ । यसले सिङ्गो ‘ब्रह्माण्ड’लाई सङ्केत गरिरहेको हुन्छ ।

यस ढ्याङ्ग्रोमा अङ्कित त्रिशूलले ब्रह्मा, विष्णु र महादेवको सङ्केत गर्दछ । यसको बीचको अग्लो चुच्चोले ‘कैलाश’ पर्वत (महादेव) साथै दुईतिरको दुई चुच्चोमध्ये एकले छङ्पो/सङ्पो/ब्रह्मपुत्र/ब्रह्मा र अर्कोले ‘ह्वाङ्हो’ अर्थात् विष्णुलाई प्रतिकात्मक रूपमा बुझाउँछ । यसमा रहेका सूर्य र चन्द्रले ब्रह्माण्ड सृष्टिको सङ्केत गरिरहेको छ ।

यस्तैगरि ढ्याङ्ग्रोको बिँडमा पनि मुख्यतः त्रि-देवको मूर्ति कुँदिएका हुन्छन् । कतिपयमा भने चार र पाँच देवता पनि कुँदिएका हुन्छन् । जसले चन्द्र सूर्यलाई बुझाएको हुनुपर्दछ ।

त्यसैले विश्व मानव सभ्यतामा परापूर्वकालको पहिलो दर्शन नै बोन वा झाँक्री धर्म हो भन्ने प्रमाणित हुन्छ । सोही बोनबाट मानव सभ्यता विकासको क्रममा अन्य धर्महरू क्रमशः हिन्दू, बौद्ध, मुस्लिम र ख्रिस्ट आदि धर्मको विकास (उदविकास) भएको हो । यसप्रकार तामाङ बोन धर्म संसारको सबैभन्दा पुरानो धर्म वा धर्मको आदि स्वरूप हो भन्ने स्पष्ट हुन्छ । ढ्याङ्ग्रोले पहिलो सङ्गीत र साहित्यसहितको सभ्यताको परिचय दिइरहेको देखिन्छ ।

Tags:

सम्बन्धित समाचार