मंगलबार , साउन १९, २०८३

आजै गई बुढासुब्बा लेखौँ नाम बाँसैमा…

बुढासुब्बा मन्दिर प्राङ्गणमा रहेका बाँसका मात्र टुप्पो छैनन् । अर्को अचम्मको कुरा के छ भने यो मन्दिर प्राङ्गणमा कहिल्यै काग आउँदैनन् र जति नै चिसो भए तापनि यहाँ शीत पर्दैन ।

image

‘आजै गई बुढासुब्बा लेखौँ नाम बाँसैमा
कति बसूँ म तिमी आउने आसैमा’

गायक सविन राईको ‘गुराँसको फेदमुनि’ बोलको गीतमा समावेश यो अन्तराले बुढासुब्बा मन्दिर र त्यहाँ प्रचलित रहेको मायाप्रेम सम्बन्धी प्रचलनको बारेमा बताउँछ । युवायुवतीहरू बुढासुब्बा मन्दिरमा रहेको बाँसमा आफ्नो नामसहित आफूले माया गरेको मान्छेको नाम लेखे मायाप्रेम सफल हुन्छ भन्ने मान्छन् । यद्यपि, अहिले बाँसमा नाम लेख्न बन्देज लगाइएको छ ।

दन्तकाली मन्दिरदेखि केही पूर्व सेउती खोलाको डिलमाथि रहेको बुढासुब्बा मन्दिर प्राइभेट मन्दिर हो । मन्दिरलाई सरकारबाट कुनै सहयोग आउँदैन । फूलमाला व्यवसायीहरूबाट उठेको पैसा र भेटीबाट उठेको रकमले मन्दिर संरक्षणको काम तथा दैनिक पूजा गरिँदै आइएको छ । एकजना सेक्युरिटी तथा सफाइ कर्मचारीको पारिश्रमिक समेत उल्लिखित आम्दानीबाटै दिइँदै आइएको छ । बचत भएको रकम बैङ्कमा राखिन्छ र मन्दिरको आवश्यकताअनुसार निकालेर प्रयोग गर्ने गरिन्छ ।

बुढासुब्बा मन्दिरका किंवदन्तीहरू

बुढासुब्बा मन्दिरका पुजारी धुर्व आले मगरका अनुसार ‘बुढासुब्बा’ भनेको सुब्बा पद पाएको हो । बुढासुब्बालाई विशेषगरी ‘सिद्धिबाबा’ भन्ने गरिन्छ । ‘सिद्धिबाबा’ को पनि बेग्लै किंवदन्ती छ । सिद्धिबाबा एकदिन घुम्दै-डुल्दै हाल मन्दिर रहेको स्थानमा आइपुगे । उनलाई सो ठाउँ निकै मनपर्यो र उनी सोही स्थानमा अल्पिए । अल्पिने बेलामा उनले आफूसँग बोकेको धनुषवाण सो स्थानमा गाडे र त्यहीँबाट बाँस अङ्कुरित भयो । सोही कारणले सो स्थानमा रहेको बाँसको टुप्पो हुँदैन । बुढासुब्बा मन्दिर प्राङ्गणमा रहेका बाँसका मात्र टुप्पो छैनन् । अर्को अचम्मको कुरा के छ भने यो मन्दिर प्राङ्गणमा कहिल्यै काग आउँदैनन् र जति नै चिसो भए तापनि यहाँ शीत पर्दैन ।

अर्को कथनअनुसार भने बुढासुब्बा र उनकी बहिनी सुब्बिनी पहाडमा गुलेली र मट्याङ्ग्राले सिकार खेल्ने गर्थे । एकदिन भूलवश उनीहरूले कागलाई गुलेली ताक्दा बाँसको टुप्पोलाई मट्याङ्ग्राले लाग्यो । त्यस दिनदेखि बाँसको टुप्पो बढेन र त्यसपछि विजयपुरमा कहिल्यै काग आएनन् । त्यसकारण, बुढासुब्बाले सिकार खेल्न छोडे र आफ्नो गुलेलीलाई पनि माटोमा पुरिदिए । त्यसपछि, बुढासुब्बाले मन्दिर रहेको ठाउँमा बसेर ध्यान गरे । उनकी बहिनी सुब्बिनीको मन्दिर पनि छेवैमा छ ।

इतिहासकार इमानसिंह चेम्जोङको भनाइअनुसार यो मोरङका अन्तिम लिम्बु राजा बुद्धिकर्ण राय खेवाङको समाधिस्थल हो । नेपालको एकीकरणताका पृथ्वीनारायण शाहबाट विजयपुर लगायत लिम्बुवान (पल्लो किराँत) क्षेत्रको एकीकरण गर्ने क्रममा उनलाई कूटनीतिक रूपले विजयपुरमा मारिएको हुनाले उनका जनताहरूले राजाको मृत आत्माको चिरशान्तिका लागि समाधिस्थल निर्माण गरे । स्थानीय लिम्बुहरूका अनुसार बुद्धिकर्ण राय खेवाङ आत्मा भएर मानिसहरूको मद्दत गर्न थाले । स्थानीय लिम्बुहरूले राजाको आत्माको राम्रो प्रभाव पर्ने भएर उनको समाधिस्थल (हालको बुढासुब्बा मन्दिर)मा पूजाआजा गर्न थाले । सुब्बा वा हांगको अर्थ लिम्बु भाषामा राजा हुन्छ ।

कुनै समयमा वीरयोद्धा एकलव्य घुम्दैघुम्दै यस स्थानमा आई विश्राम अवस्थामा समाधिस्थ भएछन् । उनका अनुयायीहरूले उनको उक्त समाधिस्थललाई माटोले पुरिदिएको र पछि त्यसलाई बुढासुब्बाको नाम दिई सिद्धपीठको रूपमा पूजा गर्दै प्रचार-प्रसारसमेत गर्न थालेका श्रुतिकथाहरू समेत छन् ।

पुजारीको कथन

पुजारी धुर्व आले मगरका जिजुलाई सपनामा आएर सिद्धिबाबाले आफू हाल मन्दिर रहेको स्थानमा आई अलप भएको बताएका थिए । सपनामा बाबाले उनका जिजुसँग शुद्धसँग आफ्नो पूजाआजा गर्नका लागि आग्रह गरेका थिए । पुजारीका जिजुले हाल मन्दिर जुन अवस्थामा छ सोही अवस्थामा फेला पारेका थिए ।

बुढासुब्बा मन्दिरभित्र दुईवटा माटाका ढिस्काहरू छन् जसलाई बुढासुब्बाको रूपमा पूजाआजा गर्ने चलन छ । अलिकति उठेको सो स्थानको गर्भभित्र के छ भन्ने कुरा आफूलाई समेत थाह नभएको पुजारीले बताए । सो स्थानमा बाहिरबाटै लिपपोत गरिन्छ । पहिला खरको छाना भएको मन्दिर थियो र अहिलेको जस्तो मान्छेहरू पनि आउँदैन थिए । बिस्तारै, चर्चा परिचर्चा हुन थालेपछि मन्दिरको लोकप्रियता बढ्दै गयो । अहिले पूर्वदेखि पश्चिमका हजारौँ श्रद्धालुहरू बुढासुब्बा मन्दिर पुग्ने गरेका छन् ।

मन्दिरमा विभिन्न मनोकामना लिएर जानेहरू आफूले सोचेको कुरा पूरा भएपछि मात्र भाकल चढाउन जाने गर्छन् । मन्दिरमा पहिल्यै केही चढाउन पर्दैन । पहिला गएर आफ्नो इच्छा प्रकट गरी भाकल गर्ने र मनोकामना पूरा भएपछि मात्र भाकल चढाए हुने पुजारी धुर्व आले मगरले सुनाए ।

बुढासुब्बा र बाँस

बुढासुब्बा मन्दिर परिसरमा रहेको बाँसमा आफ्नो नामसहित आफ्नो प्रेमी/प्रेमिकाको नाम लेखे मायाप्रेम सफल हुने जनविश्वास रहेको छ । अहिले पनि धेरै जोडीको नाम बाँसमा देख्न सकिन्छ । युवायुवतीले कलिलो तामासमेत उक्काएर नाम लेख्न थालेपछि बाँस मासिने डरले अहिले ती बाँसलाई भने घेरेर संरक्षित गरिएको छ ।

अहिले बाँस या बाँसलाई घेरा हालिएको तारजालीमा धागो बन्ने चलन छ । यसरी धागो बाँध्दा पनि मायाप्रेम सफल हुने विश्वास जोडीहरूमा छ । यो कुरामा कतिको सत्यता छ भनेर पुजारीलाई सोध्दा उनले धेरैजनाले आफ्नो मायाप्रेम सफल भएको बताएको जानकारी दिए । कतिपय जोडी मिलनपश्चात् सोही मन्दिरमा विवाह गर्न आएको पनि पुजारीले भेटेका छन् ।

पुजारी धुर्व आले मगरका अनुसार १८ औँ पुस्तादेखि सो मन्दिरको पूजापाठको काम उनको परिवारले सम्हाल्दै आएका छन् ।

मन्दिरमा विशेषगरी रक्सी र काटिएको कुखुराको कलेजोको पकुवा (पोलेको) चढाइन्छ त्यसपछि मात्र टीका खुल्छ । पुजारीका अनुसार पहिलापहिला भगवानले चलाउने मट्याङ्ग्रा पनि मन्दिरमा भेटिने गर्थ्यो । तर, मान्छेहरूले ती मट्याङ्ग्रा बेचेपछि अहिले लोप भएको छ । कुट्दा पनि नफुट्ने ती मट्याङ्ग्रा घोटेर खाँदा मुटु दुखेको निको हुने गरेको पुजारीले बताए । अहिले पुजारीसँग पनि मट्याङ्ग्रा छैनन् ।

पुजारी धुर्व आले मगरका दाजु-भाइ पालो गरेर मन्दिरमा पूजापाठको काम सम्हाल्ने गर्छन् । बेग्लै जातका महिला विवाह गरेर ल्याउने दाजुभाइले भने मन्दिरमा निम पूजा गर्न पाउँदैनन् । निम पूजा भनेको चोखोनितो गरेर घरबाट पूजा सामग्री तयार गरी ल्याएर गरिने पूजा हो । त्यसपछि बल्ल कुखुराको पूजा सुरु हुन्छ । निम पूजा प्रत्येक बिहान गरिन्छ भने बेलुका घरबाटै सामग्री ल्याएर आरती तथा पूजा गर्ने गरिन्छ ।

व्यवस्थित रूपमा वि.सं. २०१५ देखि बुढासुब्बा मन्दिरमा पूजा हुँदै आएको बुझिन्छ ।

कसरी पुग्ने बुढासुब्बा ?

काठमाडौँबाट हवाईजहाजमार्फत् विराटनगर ओर्लिएर त्यहाँबाट करिब ३७ किलोमिटर उत्तरतर्फ यात्रा गरेर धरान पुग्न सकिन्छ । काठमाडौँबाट धरानसम्म पुग्न सार्वजनिक या व्यक्तिगत सवारी साधन पनि प्रयोग गर्न सकिन्छ । सिन्धुली-बर्दिबास सडक मार्गबाट बीपी हाइवेमा ७ घण्टाको यात्रा गर्दा धरान पुग्न सकिन्छ । अथवा मुग्लिङ सडकखण्ड हुँदै करिब ९ घण्टाको यात्रा गरेर पनि धरानसम्म पुग्न सकिन्छ ।

धरानको मुख्य चौक भानुचौकबाट छाताचौक हुँदै विजयपुर डाँडा उक्लिएर करिब २० मिनेट यात्रा गरेपछि सजिलै बुढासुब्बा मन्दिर पुग्न सकिन्छ । अन्योल भए भानु चौकमा पर्यटक सहायता बुथ समेत रहेको छ, त्यहाँबाट पथ प्रदर्शनका लागि सहयोग माग्दा पनि हुन्छ । अथवा भानुचौकमा टेम्पो (टुकटुक) पनि सर्वसुलभ रूपमा पाइन्छन्, सो मार्फत् पनि मन्दिरसम्म सजिलै पुग्न सकिन्छ । यद्यपि, हिँडेर जानुमा पनि फाइदा नै हुन्छ । विजयपुर डाँडाबाट देखिने पूर्वी नेपालको सुन्दर शहर धरानको मनमोहक दृश्यहरू अवलोकन गर्दै पैदलैपैदल बुढासुब्बा मन्दिर पुग्ने पर्यटकहरू पनि दिनदिनै बढिरहेका छन् ।

धरानमा बजेटअनुसार होटेलहरू उपलब्ध भएकाले बास बस्नका लागि त्यति समस्या हुँदैन । खानाका लागि पनि आर्थिक अवस्था अनुसारका रेस्टुराँ तथा खाजा/खाना घर उपलब्ध छन् । आतित्थ्य सत्कार मनपराउनेले होमस्टे समेत रोज्न सक्छन् ।

सम्बन्धित समाचार