शुक्रबार , अषोज १४, २०७९

बुढ्यौली र समाधान ! 

वृद्धहरूमा भएको सीप, ज्ञान र योग्यताको फाइदा प्राप्त गर्ने चौतारी निर्माण गर्दै आर्थिक सक्रियता प्रदान गर्न सकेमा वृद्धहरू आश्रित हुनपर्दैन साथै समाजले फाइदा प्राप्त गर्न सक्छ । सफल वृद्धावस्थाको लागि केही सभ्य वृद्ध, घरपरिवार, समाज र केही सरकारद्वारा योगदान गर्नुपर्दछ ।

image

बुढ्यौली (एजिंग) लाई नेपालीमा प्रौढता, वृद्धत्त्व वा जरावस्था भनिन्छ । बुढ्यौलीले बूढो हुने अवस्था वा वृद्ध उमेरमा प्रवेश गर्ने  संकेतको रूपमा र त्यो अवस्थालाई जनाउँछ । बच्चा, युवा, वयस्क र बुढ्यौली जस्ता सबै उमेरहरू प्राकृतिक विषयहरू हुन् ।

बुढ्यौली मानव जीवनचक्रको अन्तिम अवस्था हो । यो प्रकृतिप्रदत्त नियम हो । बुढ्यौलीमा शरीर कमजोर हुनु, शारीरिक  कमजोरी देखिनु स्वाभाविक मानिन्छ । यो उमेरमा मान्छेले पहिलेको जस्तो फुर्तीका साथ हिँड्न, समाउन, सुन्न र देख्न नसक्ने हुन्छ । उमेरको यही प्रक्रियालाई बुढ्यौली लागेको भनिन्छ।

कुनै जीव अथवा पदार्थमा समय अनुसार हुने परिवर्तन/ परिवर्तनबाट देखिने गुणहरूलाई परिवर्तनको अवस्था मानिन्छ । वृद्धावस्था  Ageing /या उमेरको वृद्धि Aging) पनि यही अवस्था हो र भनिन्छ ।

समय अनुसारको वृद्धत्त्व

क. प्रौढता वा वृद्धत्त्वका प्रारम्भिक चिन्हहरू: विशेषगरी यो तीस वर्ष पछि प्रारम्भ हुन्छ भन्ने शरीरशास्त्रीय भनाइ छ ।

ख.  प्राय : यो ४० वर्ष पछि इन्द्रियहरूमा आउने शिथिलताहरूले  अनुभव गराउँदै जान्छ ।

ग. सरकारी निकायमा सेवा निवृत्त उमेर ५८ वर्ष मानिएको छ । औपचारिक रूपले ५८ वर्षबाट प्रारम्भ गरे पनि ६० वर्ष पुगेपछि ज्येष्ठ नागरिकको परिचय दिन्छ ।

विश्वविद्यालयको सेवामा निवृत्ति उमेर ६३ तथा कानुनी सेवामा ७५ वर्ष मानिएको देखिन्छ । यसरी हेर्दा राज्यले नागरिक नागरिकबिच ज्येष्ठताको विषयमा पनि विभेद गरेको छ । तसर्थ विभिन्न क्षेत्रमा बुढ्यौलीको समय-सीमा पनि फरक छन् । यस्तो भेदले बुढ्यौलीको कारण सेवा दिने र लिनेबिच पनि समस्या सृजना हुन्छ । यस्ता  विषयमा राज्यले ध्यान दिन सकेको छैन ।

पारिवारिक र सामाजिक दायित्व

वृद्धत्वको अर्को सीमा हो- पारिवारिक र सामाजिक दायित्व पूरा गर्ने र बिदा लिने । हिजो सत्र वर्षमा विवाह भएकी महिला ३५ वर्षको युवा उमेरमा हजुरआमा बन्थिन् । ३५ वर्षको युवा उमेरमै नाति नातिनीहरू खेलाएर बसेको बेला उनलाई हजुरआमा भनेर बोलाउँदा उनको सामाजिक भूमिका वृद्ध हजुर आमाको जस्तै हुनु पुग्छ । समाजले तन्नेरी हजुरआमाको भूमिका बनाएको या परिकल्पना गरेको छैन । यस्ता विषयले मानिसलाई उमेर हुँदाहुँदै वृद्ध बनाउँछ र निष्क्रिय पार्छ । यता पनि हाम्रो ध्यान पुगेको छैन ।

ज्येष्ठ नागरिकहरूले आफूले प्राप्त गरेको अनुभव, ज्ञान र सीप पछिल्लो पुस्तामा हस्तान्तरण गर्ने र नयाँले सिक्न खोज्ने चलन देखिँदैन । यो उमेर र अनुभवको पहिचान हराउने या हराइदिने सामाजिक चलन हो । यस्तो कुराले व्यक्तिको आत्मसम्मानमा समस्या पर्दछ ।

शारीरिक परिवर्तन

हरेक मानिसलाई शारीरिक परिवर्तनको आधारमा वृद्धत्व अनुभव हुन सक्छ । जस्तै: ऐनामा कपाल फुलेको वा निधार चाउरिएको देखेर वृद्धावस्था अनुभव गरेको हुनसक्छ । कुपोषण र उमेर हुनु अगावै  धेरै कष्ट भोगको कारण मानिस छिटो प्रौढ देखिन सक्छ  ।

“यहुदीहरूले हजारौँ वर्षदेखि आफ्नो अस्तित्वका लागि गरेको सङ्घर्ष र उनले भोगेको दु:खको वर्णन गर्दै रजनीशले यहुदीहरूलाई प्रौढ जाति भनेको भेटिन्छ ।” त्यो उमेर र अनुभवको आधारमा भनेको हो भनेर लिनु पर्दछ ।

सक्रियतामा कमी

वृद्धत्वको प्रमुख पहिचान सक्रियतामा कमी हुनु  हो । वृद्ध अवस्थामा बालकहरूको जस्तो स्वभाव हुनु वा देखिनु नै चञ्चलपन हो । हरेक मानिसको युवा अवस्थामा सक्रियता र वृद्धावस्थामा निष्क्रियता देखिन्छ । कोही मानिस ८०-९० वर्षसम्म सक्रिय रह्यो भने त्यो उसको स्वास्थ्य जीवन पाएको कारण प्राप्त विशेषता भनेर मानिन्छ ।

प्रौढतालाई उमेर, अनुभव, दायित्व, शारीरिक र मानसिक सक्रियता साथसाथै  सामाजिक र मनोवैज्ञानिक प्रभाव आदिको मिश्रण मान्न सकिन्छ/ मान्नु पर्दछ । कतिपय बेलामा उमेर अनुसार नभएर खानपान, श्रम आदि विभिन्न कारणले पनि छिटो बुढो हुन्छ । यहीँ कारण समाजमा कोही मानिस ८० वर्षमा पनि तन्नेरी झैँ सक्रिय रहन्छ ।

प्रपन्नाचार्यले ३५ वर्षको उमेरमा ५ वर्षको बालक झैँ कखरा पढ्न सुरु गरेका थिए । सत्यमोहन जोशी एक सय दुई वर्षमा पनि हिँडडुल लगायत सबै काम गर्छन् । प्रपन्नाचार्यले पढाइलाई  निरन्तरता दिएर षड्दर्शनाचार्य बने । नोबेल पुरस्कार प्राप्त कवि रवीन्द्रनाथ ठाकुर वृद्ध उमेरमा पनि पच्चीस वर्षे तन्नेरी झैँ ठाँटिएर हिँड्थे / बस्थे र आफूलाई सजाउन घण्टौँ लगाउँथे । नेल्सन मण्डेलाले ८४ वर्षको उमेरमा ८० वर्षकी जाम्बियाका राष्ट्रपतिकी एकल महिलासँग प्रेम विवाह गरेको इतिहास हामीले पढेका छौ ।

पाका पुस्ता

कुनै देशको वृद्ध जनसङ्ख्याको पहिचानको आधारको आकारमा वृद्धि भयो भने त्यसलाई पाका पुस्ता वा पपुलेशन एजिंग वा सामाजिक प्रौढता भनिन्छ । प्रौढताको अध्ययन गर्ने विषयलाई ‘जेरन्टोलोजी’ भनिन्छ । नेपालीमा यसलाई ‘जराशास्त्र’ भन्न सकिन्छ । जरा संस्कृत शब्द हो र यसको अर्थ बुढ्यौली वा प्रौढता नै मानिन्छ ।

नेपालमा (बुढ्यौली) पाकापुस्ता 

प्रत्येक जनगणनामा नेपालीहरूको आयु बढ्दो छ । प्राय : दीर्घ जीवन हनुमा मानिसका चारवटा सुख जोडिन्छन् ।

  • निरोगीता,
  • धनसम्पत्ति,
  • पतिपत्नीको मेलको सुख
  • आज्ञाकारी सन्तानबाट प्राप्त हुने आनन्दले प्राप्त हुने सुखलाई  पहिलो सुख मानिन्छ ।

त्यस्तै  बालकहरूको सङ्ख्याको तुलनामा पाका पुस्ताको सङ्ख्यामा दीर्घकालसम्म वृद्धि भयो भने त्यसलाई जनसङ्ख्याको वृद्धत्व भनिन्छ ।  अर्को शब्दमा कुनै देशको जनसङ्ख्या पिरामिडको तल्लो भागको तुलनामा माथिल्लो भाग फराकिलो हुँदै गयो भने त्यो जनसङ्ख्याको वृद्धत्व हो । अहिले पाका पुस्ताको बारेमा अध्ययन गर्नका लागि नयाँ विषय विकसित भएको छ जसलाई जेरन्टोलोजी भनिन्छ । नेपालीमा यसलाई जराशास्त्र भन्न सकिन्छ । संस्कृत शब्द जराको अर्थ बुढ्यौली, प्रौढता हो ।

जेरन्टोलोजीमा उमेरको आधारमा वृद्धत्वको वर्गीकरण निम्न प्रकारले गरिएको भेटिन्छ ।

१. वृद्धावस्था ६५ वर्ष

२. युवा वृद्धावस्थामा ६५–७४

३. मध्य उमेर ७५–८४

४. अतिवृद्ध ८४ भन्दा माथि

सरकारी तथ्याङ्कको मापन अनुसार २००१ मा नेपालको वृद्धत्व, सूचकाङ्क करिब १९ प्रतिशत देखिन्छ।हरेक जनगणनामा यो प्रतिशत निरन्तर बढ्दो छ । जनसङ्ख्याको मध्यिका उमेर २९ वर्षभन्दा माथि छ भने देशमा वृद्ध जनसंखयाको मध्यिका उमेर भने १९ वर्ष मानिन्छ । तर आयु प्रत्याशाको दृष्टिले भने सन् १९६१ को ३१ वर्षे तुलनामा २००१मा ६० वर्ष पुगेको हुन्छ- भनेर मानिन्छ ।( श्रोत तथ्याङ्क विभाग )

पाका पुस्ता

जब देशको वृद्ध जनसङ्ख्याको आकारमा वृद्धि हुन्छ त्यसलाई पाका पुस्ता वा पपुलेशन एजिंग वा सामाजिक प्रौढता भनिन्छ/ भनिन्छ ।

जरावस्थाका कारणहरू: मानिस किन जरावस्था (वृद्ध र अशक्त) मा पुग्छ । यसबारेमा निम्नलिखित सिद्धान्तहरू प्रतिपादन गरिएका छन्

१. उमेर बढ्दै जाँदा अङ्गहरू खिइँदै जान्छन् र वृद्धावस्था हुन्छ ।

२. निश्चित उमेर पछि कोषहरू वृद्धि हुने प्रक्रिया रोकिन्छ ।

३. उमेर बढ्दै गएपछि मानिसमा रोग प्रतिरोध क्षमता घट्दै जान्छ ।

४. जीवनमा विभिन्न सङ्घर्ष गर्दै उमेर छिप्पिने भएकोले पछिल्लो उमेरमा काम, अनुभव र नेतृत्वको भूमिकाको कारण अपनत्व खोज्दाखोज्दै मानसिक रूपमा असन्तोषी हुन्छ । यी सब कारणले वृद्धावस्था उत्पन्न हुन्छ ।

धर्मशास्त्रमा जरावस्था

धर्मशास्त्रहरूमा वृद्धावस्थाबारे विस्तृत विवेचना गरिएको छ । महाभारतमा चिरवृद्धको रूपमा लोमस ऋषि, पितामह ब्रह्मा आदिको नाम आउँछ । ययातिले विषयभोग सन्तुष्टि पूरा नभएकोले आफ्नो छोरा पुरुलाई आफ्नो वृद्धावस्था हस्तान्तरण गरेर छोराको युवावस्था लिएको कथा पनि छ । सधैँ युवारूपमा रहने बालखिल्य र सनत्सुजात ऋषिहरू पनि यसको उदाहरण हुन् ।

सनत्सुजातीयमा वृद्धावस्था

सनत्सुजातलाई एउटा प्रश्न गरिएको छ– मृत्यु किन हुन्छ ? उत्तरमा उनले भनेका छन् काम,क्रोध,तृष्णा चिन्ता आदि कारणले मानिसलाई रोग लाग्छ ,रोग लागेको कारण जरावस्था र मृत्युलाई निम्त्याउँछ । अन्य कारणले या त्यतिकै त मृत्यु हुँदैन । यी र यस्ता अवस्था पार पाउनेले अमरता प्राप्त गर्छ ।

प्रौढ आश्रितता अनुपातमा

जनसङ्ख्या वृद्धत्वले वृद्धत्व सूचकाङ्क बढाउँछ र प्रौढ आश्रितता अनुपात बढ्छ । बालक तथा कार्यशील समूहको जनसङ्ख्या घट्छ । यसले जनसङ्ख्याको संरचना परिवर्तन हुन जान्छ । यस्तै जनसङ्ख्या पिरामिड को स्वरूपमा परिवर्तन हुँदै जान्छ ।

विकसित देशहरूमा वृद्धहरूको जनसङ्ख्या बढी भएकोले पिरामिडको माथिल्लो भाग फराकिलो भएको हुन्छ । यसले जनसङ्ख्याको आयु र काम संरचना परिवर्तन हुन जान्छ । त्यो संकेताङ्कको आधारमा योजनाहरू पनि थप गरिन्छ । उदाहरणका लागि नेपालको वृद्धावस्था सूचकाङ्क १९ प्रतिशत छ भने यसको अर्थ हो प्रत्येक १०० जना मानिसमा १९ जना वृद्ध छन् ।

कुनै देशको वृद्धावस्था सूचकाङ्क बढी छ भने त्यहाँ वृद्ध आश्रितता अनुपात बढ्छ । यसले देशको कुल उत्पादन क्षमता घट्ने सङ्केत पनि दिन्छ । वृद्ध आश्रितता अनुपातमा वृद्धिले निष्क्रिय जनसङ्ख्या बढाउने हुँदा यस्तो भएको वा देखिएको हो । सक्रिय जनसङ्ख्यामा कमी र आश्रित जनसङ्ख्यामा वृद्धिले  देशको उत्पादन क्षमता घट्न जान्छ । वृद्धत्त्वले उत्पादनमा शिथिलता ल्याउन सक्छ । राज्यले ध्यान दिनुपर्ने विषय प्रारम्भमा प्रजननता कम हुँदा बाल आश्रितता अनुपात घट्न गई आउने १० देखि १५ वर्ष भित्र देशको उत्पादन क्षमता बढ्छ । पछि गएर आयु प्रत्याशामा वृद्धि र प्रजननतामा भएको कमीको परिणामस्वरूप प्रौढ आश्रितता सङ्ख्या बढ्छ । तसर्थ बाल आश्रितता समाप्त भए पछि मात्र प्रौढ आश्रितता सुरु हुन्छ । बाल आश्रितता समाप्त भई प्रौढ आश्रितता सुरु नहुञ्जेलसम्मको समयावधिमा युवा जनसङ्ख्याको बढी भूमिका हुन जान्छ । यो अवस्थामा कुल उत्पादन केही समयकालागि बढ्छ । यस अवस्थालाई जनसङ्ख्या अर्थशास्त्रमा जनसङ्ख्या झ्याल (पपुलेशन विन्डो) भनिँदो रहेछ ।

काम अनुपातमा

सामान्यतः महिलाहरूको आयु प्रत्याशा बढी हुने भएकोले बुढ्यौलीले काम संरचना र काम अनुपातमा प्रभाव पार्न सक्छ । वृद्धत्वले काम अनुपात असन्तुलित हुन गई महिलाको अनुपात बढ्न जान्छ ।

जन्मदर

पाका पुस्ता जति बढ्दै जान्छ जन्मदर पनि त्यति नै घटन थाल्छ । जैविकीय कारणले वृद्ध वृद्धामा प्रजननता अभाव हुन्छ । मृत्यु दरमा कमीको प्रभावले वृद्धत्वको घटना हुन्छ । जनसाङ्ख्यिक सङ्क्रमणको अन्तिम अवस्थामा वृद्ध जनसङ्ख्या तीव्र रूपमा बढ्न जान्छ । नेपालमा विगत ३० वर्षको अवधिमा ६५ वर्ष र सो भन्दा माथिको जनसङ्ख्या ५.८ प्रतिशतबाट बढेर ७.४ प्रतिशत भएको छ । सोही अवधिमा कुल प्रजनन दरबाट घटेर चार भन्दा पनि कम हुन पुगेको छ । वृद्ध जनसङ्ख्यामा वृद्धि हुनु अघि मृत्युदरमा कमी आउने र सँगै आयु प्रत्याशामा वृद्धि हुने पनि हुन्छ ।

सन् १९६१ देखि २००१ को अवधिमा नेपालीको आयु प्रत्याशामा दोब्बर वृद्धि भएको देखिन्छ भने कोरा मृत्यु दर २७ प्रति हजारबाट घटेर १० प्रति हजार भएका छ अर्थात् यसमा लगभग तीन गुना प्रगति भएको छ ।

सामाजिक आर्थिक प्रभाव

समाजले वृद्धहरूको स्वास्थ्य हेरचाहमा पारिवारिक र सामाजिक योगदान गर्नु पर्दछ । त्यसैले अहिले वृद्ध अवस्थाको व्यवस्थापन गर्न समाजमा वृद्धाश्रम निर्माण हुँदैछन् । सरकारले वृद्धावस्था भत्ता पेन्शन तथा वृद्धहरूलाई आवश्यक पर्ने अन्य सुरक्षा र सुविधाकालागि केही व्यवस्था गरे पनि नियमित बजेट बनाउनु पर्छ ।

उनीहरूको उमेरको कारण उनीहरू  यथास्थिति र परम्पराप्रिय हुन्छन् भन्ने मान्यता  छ । यस्तो  विचार त्यति वैज्ञानिक मानिँदैन । अनुसन्धानले भनेअनुसार  वृद्धावस्थामा देखिएको यथास्थितिवाद मानिसमा उसको तन्नेरी अवस्थामा रहेको मान्यता र विगतको अनुभव द्वारा निर्धारित हुन्छ । यथास्थितिवाद वृद्धावस्थाको विशेषता होइन । यस्ता अभिव्यक्तिले वृद्धहरूलाई भेद या अपमान गरेको हुन्छ ।

भारतमा आफ्ना वृद्ध आमाबाबुको जिम्मेवारी वहन नगर्ने युवा सन्तानलाई सन् २००६ देखि कानुनी दण्डको प्रावधान प्रारम्भ गरिएको छ।

वृद्धत्वमा स्वास्थ्य सम्बन्धी छुट्टै समस्याहरू हुन्छन् / आउँछन् ।-  जस्तै दृष्टिदोष कमजोरी, छिटो थाक्ने, खुट्टा सुनिने,निद्रा कम लाग्ने, खाना  कम हुने,खोकी, जोर्नी दुख्ने, मुटुको व्यथा, सिरोसिस,खोकी व्यवहार, पार्किन्सन रोग आदि ।

सफल वृद्धत्वका लागि के गर्ने ?

हरेक मानिसका लागि बालपन र युवापन भूतकाल हुनसक्छ तर, वृद्धावस्थाकाहरूको लागि त्यो उमेर र त्यसले दिएका विशेषताहरू अनिवार्य वर्तमान काल हुन भन्ने दृष्टिकोणबाट वृद्धावस्थालाई बुझ्न सक्नु पर्दछ र यो उमेरलाई स्वाभाविक बनाउनु पर्दछ ।

वृद्धावस्थामा निम्न कुराहरूमा ध्यान दिनु पर्दछ;

१. स्वस्थ र सक्रिय रहन निरन्तर प्रयत्न गर्नु पर्छ । निष्क्रिय हुनबाट बच्ने हर सम्भव प्रयास गर्नु पर्छ । यसका लागि कुनै सङ्घ संस्थामा आबद्ध भएर आफूले सक्दो जिम्मेवारी लिने र त्यसलाई पूरा गर्ने प्रयास गर्नु पर्छ ।

२. धेरै चिल्लो, गुलियो र तौल बढाउने खालका खानाहरू ४० वर्षपछि खानु हुँदैन । आवश्यक मात्रामा आराम लिने र निदाउने काम गर्नु पर्दछ।

३. रक्सी,मादक पदार्थ,धूम्रपान बन्द गरेमा धेरै रोगबाट छुटकारा पाउन सकिन्छ ।

४. आफ्नो परिवारका सदस्यहरूको अवस्था हेरी,सकेको सहयोग गर्नु र अनावश्यक असन्तोष व्यक्त गर्ने बानी सुधार गर्नु पर्छ । घरपरिवारमा सबै उमेर समूहको  कुरा सुन्ने र आवश्यक प्रशंसा गरेमा अझ बढी  मेलमिलाप र सेवा प्राप्त गर्न सकिन्छ भन्ने कुरा बुझ्नुपर्छ ।

५. पढेलेखेका मानिसहरूले आफ्नो जीवनका अनुभव शेयर गर्न सक्छन् / गर्नु पर्दछ ।  यस्ता  अनुभवलाई  पत्रपत्रिका र भिडियो सामग्री मार्फत सार्वजनिक गरेको राम्रो हुन्छ ।  स्थानीय सञ्चार माध्यममा वृद्धहरूका लागि केही न केही कार्यक्रमहरू हुन्छन् । त्यसमा भाग लिनु पर्छ ।

६. इजरायलको किबुज समुदायमा आयु प्रत्याशा सबभन्दा बढी पाइएको छ । कारण उनीहरूले सामुदायिक क्रियाकलापहरूमा आफ्ना प्रत्येक सदस्यलाई उसको क्षमता अनुसार केही न केही काम दिन्छन् । त्यो समुदायमा सेवा निवृत्ति भन्ने हुँदैन । बढी वृद्धले अलि सानो र सजिलो काम गर्छन् भने युवाले अलि गाह्रो र बढी खट्नु पर्ने काम गर्छन् । यो समुदाय गठन हुनु अघि किबुजहरूको आयु प्रत्याशा इजरायलमा नै सबभन्दा कम थियो । यसै गरी एकात्मक परिवार भन्दा संयुक्त परिवारमा वृद्धहरूले सुरक्षा अनुभव गर्ने हुँदा उनीहरूको आयुमा वृद्धि हुन्छ । आधुनिक एकल परिवारहरूमा वृद्धहरूले असुरक्षा अनुभव गर्दछन् ।

७. सेवा निवृत्त कर्मचारीहरूले आपसमा मिलेर क्लब गठन गर्ने । त्यहाँ एकअर्काको दुख साट्दा सबैले सन्तोष अनुभव गर्छन् ।उदाहरणका लागि एकल महिला र पुरुषहरू आपसमा भेट्दा निकै आत्मीय अनुभव गर्छन् । किनभने उनीहरूले एउटै खालका समस्याहरू बेहोरेका हुन्छन् ।

८. समूहमा घुलमिल हुन गाह्रो मान्ने वृद्धहरूले घरेलु पशुपक्षी पालेर आफ्नो एकलोपन कम गराउन सक्छन् । जस्तै रुचि अनुसार कुकुर, बिराले आदि पाल्न सक्छन् ।

९. वृद्धहरू प्राय : केटाकेटीहरूसँग घुलमिल हुन्छन् । तसर्थ परिवारमा भएका साना केटाकेटीहरूसँग समय बिताउनु दिनुपर्छ । परिवारमा वा आफ्ना वरिपरिका केटाकेटीहरूलाई माया गर्ने वातावरण बनाउन दिनु पर्दछ । स्वामी रामसुखदासले भनेका छन् – ” तिमीहरू खुसी रहन चाहन्छौ भने केटाकेटीहरूलाई चकलेट बाँड्ने गर । यस्ता साना कामले वृद्धहरूको एक्लोपन हटाउन मद्दत पुग्छ ।

१०. विभिन्न उमेर समूह र तिनीहरूद्वारा गरिएको प्रार्थना सभाहरूमा प्रौढ उपस्थितिको आवृत्तिको एक शोध अध्ययनमा  पाइएको तथ्य- धार्मिक रूपमा बढी संलग्न मानिसहरू बढी स्वस्थ, बढी रोग प्रतिरोध क्षमता, सन्तुष्ट रहने बानी र कम डिप्रेसन पाइएको छ । त्यो आध्यात्मिकताप्रति अप्रत्यक्ष रूपबाट गडेको विश्वासको कारण हो । अध्यात्मबाट बाहिर रहेकाले पनि आफ्नो खुसीको पक्ष पहिचान गरी त्यहीबाट खुसी हुनु पर्दछ ।

मानिसको हुर्काइ र बुझाइको चेतले आध्यात्मिकता ,भौतिकवादी सोच / वैज्ञानिक पक्षको बाटो रोज्नु पर्दछ र खुसी प्राप्त गर्नसक्छ / सकिन्छ । प्रायः  वृद्धहरूलाई धार्मिक कार्यमा संलग्नता गराई उपचार गर्ने गरेको पाइन्छ त्यो चाहिँ मानिसले धर्ममा विश्वास गर्छ भनेर गरेको  हो । तर रुचि र आवश्यकता फरक हुनसक्छ भन्ने विषय  चारमा सकारात्मक प्रभाव देखिन्छ ।

समाजको दायित्व

यो बाहेक वृद्धहरूप्रति समाजको पनि केही दायित्व हुन्छ । उनीहरूसँग ज्ञान र अनुभवको भण्डार हुन्छ ।त्यसलाई युवा पुस्तले हस्तान्तरण गरेर लिन सिक्नु पर्छ । वृद्धहरूलाई वृद्धाश्रम होइन सकेसम्म नजिकबाट स्नेहपूर्वक घरैमा सेवा गर्नु पर्छ -भन्ने भावना विकसित गर्नु पर्छ । परिवारको ममता र स्नेह जस्तो वृद्धश्रम हुन्न भन्ने कुरा परिवार तथा समाजले बुझ्नु पर्छ । सामाजिक आवश्यकता अनुसार वृद्धाश्रमहरूको निर्माण गर्नु पर्दछ तर सेवामूलक व्यावसायिक होइन । वृद्धहरूको स्वास्थ्य सम्बन्धी छुट्टै समस्या हुने भएकोले राज्यले बाल अस्पताल र महिला अस्पताल जस्तै जेरन्टोलोजीसँग सम्बन्धित  छुट्टै वृद्ध अस्पतालहरूको स्थापना गर्नु पर्छ ।

निष्कर्ष

समाजमा वृद्धावस्थाबारे नकारात्मक धारणा हटाउने, वृद्धहरूलाई समाजका हितमा सक्रिय बनाउने र उनीहरूमा रहेको असीम ज्ञान र अनुभवबाट समाजले फाइदा लिन जान्नु पर्दछ ।

समाजले नयाँ पुस्तालाई  वृद्धहरूलाई प्रेम र सम्मान दिनु जरुरी छ, जसले आफ्नो जीवनभर परिवार बनाउने विषयमा र  समाजलाई सकेको र जानेको योगदान गर्‍यो । उसलाई उसको अन्तिम उमेरमा असम्मान प्रदान गर्नु नैतिक दृष्टिले अनुचित र धार्मिक दृष्टिले पाप कार्य हो भन्ने बुझ्नु पर्दछ ।  वृद्धहरूमा भएको सीप, ज्ञान र योग्यताको फाइदा प्राप्त गर्ने चौतारी निर्माण गर्दै आर्थिक सक्रियता प्रदान गर्न सकेमा वृद्धहरू आश्रित हुनपर्दैन साथै समाजले फाइदा  प्राप्त गर्न सक्छ । सफल वृद्धावस्थाको लागि केही सभ्य वृद्ध, घरपरिवार, समाज र केही सरकारद्वारा योगदान गर्नुपर्दछ ।

Tags:

सम्बन्धित समाचार