सोमबार , भाद्र ८, २०८३

घुमघामका कुराः उहिले ‘बटुवा’ भनिन्थ्यो, अहिले ‘पर्यटक’ 

उहिलेको यात्रा बाँच्नको लागि थियो । आनन्द र मनोरञ्जनको लागि थिएन । तर, अहिलेको यात्रा आनन्दको लागि हुने गर्दछन् । उहिलेका यात्रीलाई 'बटुवा' अथवा 'ढाक्रे' भनिन्थ्यो । अहिले 'पर्यटक' भन्दछन् ।

image

पहिले-पहिले अहिले जस्तो सडक तथा हवाई यातायातको सुविधा थिएन । एक ठाउँबाट अर्को ठाउँसम्म पुग्न धेरै समय लाग्थ्यो र कठिन पनि थियो । धेरै टाढा टाढासम्म पुग्न सम्भव हुँदैन थियो । एउटा गाउँबाट अर्को गाउँसम्म पुग्न पनि धेरै समय लाग्थ्यो । त्यसैले उसबेलाका मानिसले आफ्नो गाउँ छोडेर नजिकैका गाउँ या बजारसम्म जाँदा पनि “परदेश गएको” भन्ने गर्थे । परदेश भनेको परको देश हो, अथवा अर्को देश हो । तर, आफ्नो गाउँबाट बाहिर निस्कने बित्तिकै परदेश गएको भन्थे । यसको अर्थ उतिबेलाका मानिसका लागि गाउँ नै देश थियो । यसको एउटा उदाहरण, एकीकृत भएर विशाल नेपाल देश बनिसकेपछि पनि स्थानीयवासीले काठमाडाैं उपत्यकालाई मात्रै ‘नेपाल’ भन्ने गर्थे ।

त्यसबेला अहिलेजस्तो ठाउँ ठाउँमा खाना बस्नका लागि हाेटल, रेष्टुरेन्ट तथा गेष्टहाउसहरूकाे सुविधा उपलब्ध थिएन । अहिले जस्तो जताततै बजारहरूको पनि विकास भएको थिएन । मानिसलाई नुन, तेल, लत्ता-कपडा आदि किन्न बजारसम्म पुग्न पनि धेरै दिनसम्म हिँड्नु पर्थ्यो । अध्ययन, रोजगारी, व्यापार तथा अन्नको खोजीको सिलसिलामा मानिसहरू हिँडिरहेकै हुन्थे । घुमिरहेकै हुन्थे । त्यसरी विविध कामले यात्रा गर्दै गर्दा मानिसहरू बीच बाटोमा बास बस्नु पर्थ्यो, खानु पर्थ्यो । अहिलेजस्तो हाेटल, रेष्टुरेन्ट, गेष्टहाउस जस्ता सेवा सुविधाहरू नहुँदा मानिसहरू यात्राको क्रममा जहाँ पुग्छ, त्यहीँ गाँस-बास मागेर बस्थे । गाउँ बस्ती नभएको ठाउँमा पुगेर रात पर्याे भने ओडार, गुफा, चौतारी, पाटी पौवा आदिमा पनि बास बस्थे ।

उनीहरू खानेकुरादेखि आगो, पानी, नुन तेल, मसलासम्म आफैँ बोकेर हिँड्थे । खाना पकाउने भाँडादेखि पकाउने दाउरा सम्म बोकेर हिँड्नु पर्थ्यो । ‘जहाँ पुगौँला त्यही आगो फुकौँला’ भन्ने भनाइ सायद त्यतिबेला नै प्रचलित भएको हुनुपर्छ । गाउँ बस्तीमा पुगेर रात पर्याे भने चाहिँ मानिसहरूको घरमा बास मागेर बस्थे । घरबेटीहरूले आफ्नो भान्सामा जे पाक्छ त्यही खानेकुरा खुवाउने, जे जस्तो ओढ्ने ओछ्याउने छ त्यही दिएर गाँसबास दिन्थे । यसरी बाटोमा हिँड्नेहरूलाई आफ्नो घरमा गाँसबास दिए बापत घरबेटीले थोरै रुपैयाँ अथवा उनीहरूसँग भएका केही चिजहरू लिने गर्थे । यो कुनै काल्पनिक कथा भने होइन, हाम्रा पुर्खाहरूका भोगाई हुन्, उनीहरूले बाँचेका जीवन र सामाजिक तथा आर्थिक परिवेशका चित्रहरू हुन् । अहिले विश्व अर्थतन्त्रकाे एक महत्त्वपूर्ण क्षेत्रको रूपमा विकास भइरहेको पर्यटनको इतिहास उत्खनन गर्दै जाने हो भने माथि उतारिएको कथासम्म पुग्नैपर्छ ।

विविध कामले यात्रा गर्नेहरूलाई घरमै गाँसबास दिने उबेलाकाे चलनको आधुनिक रूप हुन्, अहिलेका होमस्टे, हाेटल अथवा गेष्टहाउसहरू । सिकारी भोजन र ओडारे बासको जङ्गली जीवनदेखि अहिलेको भौतिक सम्पन्नताको युगसम्म आउँदा पनि मानिसहरू घुमिरहेकै छन् । फरक यति हो कि उहिले जीवनकालभरि हिँड्दा पनि पार गर्न नसकिने दूरी अहिले केही मिनेटमै पार गर्न सकिन्छ । केही घण्टामै पृथ्वीलाई फन्को मार्न सकिन्छ । उहिलेको यात्रा बाँच्नको लागि थियो । आनन्द र मनोरञ्जनको लागि थिएन । तर, अहिलेको यात्रा आनन्दको लागि हुने गर्दछन् । उहिलेका यात्रीलाई ‘बटुवा’ अथवा ‘ढाक्रे’ भनिन्थ्यो । अहिले ‘पर्यटक’ भन्दछन् ।

अहिले यातायात तथा सूचना प्रविधिको विकास र विस्तारले मानिसहरूको बीचमा भौगोलिक दुरीलाई छिचोल्दै मनोवैज्ञानिक निकटता पैदा गरिदिएको छ । जसका कारण पृथ्वीलाई नै एउटै गाउँ र विश्व मानव समुदायलाई एउटै परिवार मान्ने ‘ग्लोबल भिलेज’ को अवधारणा स्थापित भइसकेको छ । मानिसहरू सजिलैसित केही घण्टामै पृथ्वीको एक ध्रुवबाट अर्को ध्रुवमा पुग्न सक्छन् । खासगरी यातायातको विकास र पहुँचकै कारण मानिसहरूबीच आवतजावत पनि बढेको छ । यससँगै पर्यटनले उद्योगको रूप लिएको छ । विश्वको अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदानको हिस्सा बढ्दै गएको छ । संयुक्त राष्ट्रसङ्घीय विश्व पर्यटन सङ्गठनका अनुसार सन् २०१९ मा विश्व अर्थतन्त्रमा पर्यटनको योगदान १० प्रतिशतभन्दा बढी पुगेको थियो । कतिपय देशहरूका लागि पर्यटन नै राष्ट्रिय अर्थतन्त्रकाे मेरुदण्ड बनेको छ ।

मानिसहरूमा घुम्ने संस्कृति बढ्दै गएको छ । फुर्सदको समय बिताउन/सदुपयोग गर्न ‘घुमघाम’ लोकप्रिय र मनोरञ्जनात्मक क्रियाकलापको रूपमा स्थापित भइरहेको छ । पर्यटनका नयाँ नयाँ आयामहरू, विषय र क्षेत्रहरू पनि थपिँदै गएका छन् । पर्यटनको क्षेत्र फराकिलो बन्दै गएको छ । यसले विश्व मानव समुदायलाई एक अर्कासँग जोड्ने काम पनि गरिरहेको छ । मानिसहरूले एकले अर्कालाई चिन्नु, एक अर्काको भाषा, धर्म, समाज र संस्कृतिलाई बुझ्दै जानु मानव जगतकै लागि निकै सुखद कुरा हो । यो कार्य पर्यटनबाट भइरहेको छ ।

नेपालमा चाहिँ सन् १९५० मा जहानियाँ अधिनायकवादी राणा शासनको समाप्त भएर प्रजातन्त्र आएपछि नै पर्यटनको विकास हुन थालेको हो । राणा कालमा नेपाल बाहिरी विश्वसँग सम्पर्कविहीन जस्तै थियो । बाहिरी देशका मानिसहरूका लागि नेपाल खुला पनि थिएन । प्रजातन्त्र आएपछि नै बाहिरी विश्वका लागि नेपाल खुला भएको हो । सन् १९५३ मे २९ मा न्यूजिल्याण्डका सर एडमण्ड हिलारी र नेपालका तेन्जिङ नाेर्गे शेर्पाले विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेपछि विश्वमा नेपालको कीर्ति फैलिन थालेको हो । त्यसपश्चात् हिमाल आरोहणकै लागि नेपाल अन्तर्राष्ट्रिय जगतमा चिनिन थालेका हुन् । त्यसको केही करिब दुई दशकपछि साहसिक जल पर्यटनको विकास भएको देखिन्छ । नेपालमा पहिलो र्‍याफ्टिङ सुरु भएको त्रिशूली नदीमा हो । बेलायती नागरिक कर्णेल जोनले सन् १९७२ मा त्रिशूलीमा र्याफ्टिङ गरेका थिए । जोन र उनको टिमले सो बेला गरेको र्रयाफ्टिङ नै पहिलो मानिन्छ । यसरी हेर्दा नेपालको पर्यटनको इतिहास साहसिक पर्यटनबाट भएको सुरु भएको पाइन्छ । पछि बिस्तारै पदयात्रा, धार्मिक, सामाजिक तथा सांस्कृतिक, शैक्षिक पर्यटनको पनि विकास भएको देखिन्छ । भौगोलिक एवम् जैविक विविधताले भरिएको हुनाले पछिल्लो समय पर्या पर्यटनकाे पनि विकास हुँदै गएकाे छ ।

नेपालमा पछिल्लो दशकमा ग्रामीण पर्यटन पनि फस्टाउँदै गएको छ । ग्रामीण पर्यटन भन्ने बित्तिकै होमस्टे (घरबास) पर्यटनको कुरा जोडिएर आउँछ । खासगरी होमस्टेकै कारण ग्रामीण पर्यटन फस्टाएका हुन् भन्दा अत्युक्ति नहोला । होमस्टे सञ्चालन कार्यविधि २०६७ ले “होमस्टे” भन्नाले पर्यटकलाई आवास, खाना र अन्य सेवा प्रदान गर्ने उद्देश्यले आफ्नै घर समुदायमा निजी वा सामूहिक रूपमा सञ्चालन गरिएको सेवा सम्झनु पर्छ, भनेर परिभाषित गरेको छ ।

स्याङ्जाको सिरुबारीबाट २०५४ सालमा सुरु भएको होमस्टे पर्यटन अहिले देशभर फैलिएको छ । स्याङ्जाको सिरुबारीबाट नेपालमा होमस्टे पर्यटनको आरम्भ भएको मानिन्छ । सिरुबारीपछि भने होमस्टे पर्यटन लमजुङको घले गाउँ, घनपोखरा, भुजुङ, पसगाउँ, सिउरुङ आदि गाउँहरू र रसुवाको बृद्धिम तथा इलामको श्रीअन्तुतिर विस्तार भएको हो । त्यसपछि क्रमशः तराई र पहाड अनि हिमाली जिल्लाहरू मा पनि होमस्टे खोल्ने क्रम सुरु भयो । अहिले देशका थुप्रै स्थानहरूमा होमस्टे सञ्चालनमा आइसकेका छन् र आउने क्रम जारी छ ।

‘ग्रामीण पर्यटनलाई पर्यटन व्यवसायको उपक्षेत्रको रूपमा अघि बढाइने, मुलुकको विकास प्रक्रियामा समेट्न नसकिएका महिला, मधेसी, आदिवासी जनजाति लगायतका विपन्न समूह समेतमा पर्यटन व्यवसायबाट प्राप्त लाभको बाँडफाँड गर्न समावेशी र सहकारीको माध्यमबाट उपयुक्त संरचनाको निर्माण र विकास गरिने’ पर्यटन नीति २०६५ मा उल्लेख छ । यस नीतिलाई कार्यान्वयन गर्न सरकारले होमस्टे सञ्चालन कार्यविधि २०६७ जारी गरेको छ ।

उक्त कार्यविधिकाे प्रस्तावनामा ‘ग्रामीण क्षेत्रका स्थानीय जनसमुदायमा स्वरोजगारका अवसर सिर्जना हुने तथा आम्दानी वृद्धिको माध्यमबाट जीवनस्तरमा सुधार ल्याउने प्रकृतिका ग्रामीण पर्यटन पूर्वाधारको दिगो विकास गर्ने ग्रामीण पर्यटनको माध्यमबाट विपन्न, महिला, मधेसी, आदिवासी जनजाति र हालसम्म समेट्न नसकिएका समूहको समेत संलग्नता रहने गरी पर्यटन व्यवसायबाट प्राप्त हुने लाभलाई समुदायको पहुँचभित्र ल्याउने संरचनाको निर्माण र विकास गर्ने’ उल्लेख छ ।

सरकारकाे स्वामित्वमा रहेको तारा गाउँ विकास समिति, निजी क्षेत्रका व्यवसायीहरूद्वारा स्थापना गरिएको गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटाेफ) नेपाल लगायत सङ्घसंस्थाहरूले ग्रामीण पर्यटनको विकासमा भूमिका खेल्दै आएका छन्। अहिले देशका ५० भन्दा बढी जिल्लाहरूमा हाेमस्टे सञ्चालनमा आइसकेको छ ।

गाउँ नै गाउँले भरिएको, सयौँ जातजाति, भाषाभाषी, संस्कृति, दर्जनौँ धर्मावलम्बी भएको, भौगोलिक एवम् जैविक विविधताले भरिएको देश नेपालमा ग्रामीण पर्यटनको अथाह सम्भावना छ । होमस्टे पर्यटनप्रति धेरै गाउँ ठाउँका बासिन्दाहरू आकर्षित हुन थालेका छन् । होमस्टेमा न्यानो आतिथ्यताका माध्यमबाट गाउँघरका परम्परागत संस्कृति, रहनसहन तथा मौलिक उत्पादन तथा सेवाले पर्यटकलाई आकर्षित गरेको छ । होमस्टे सञ्चालन भएका गाउँमा यातायातको सुविधा भएपछि पर्यटक सिधै होमस्टेमा पुग्ने गरेका छन् ।

तुलनात्मक रूपमा कम रुपैयाँमा स्थानीय समुदायको न्यानो आतिथ्यता ग्रहण गर्दै स्थानीय अर्ग्यानिक खानपानको मजा लिँदै उनीहरूको संस्कृति, रहनसहन, जीवनशैलीको अवलोकन गर्दै घुमघाम गर्ने अवसर होमस्टेले दिएको छ ।

उहिले बाटोमा हिँड्दा हिँड्दै रात परेपछि गाउँघरमा गाँस-बास मागेर बस्ने र बसाउने चलनको आधुनिक रूप हो, होमस्टे । उसबेला पाहुनालाई भगवान सरह मान्थे । संस्कृत श्लोक ‘अतिथि देवाे भव:’ अर्थात् ‘पाहुना भगवान् समान हुन्’ भन्ने मान्यतालाई होमस्टेले जीवित राख्न सक्छन्  र अपवाद बाहेकले राखेका छन् ।

सम्बन्धित समाचार