शुक्रबार , भाद्र १२, २०८३

घुम्ने होइन त छाब्दी बाराही ?

image

तनहुँको पवित्र तीर्थस्थल हो–छाब्दी बाराही । व्यास नगरपालिका–१४, मा अवस्थित मन्दिरमा बाराहीको मूर्ति छ । सुनको टीका भएको माछाको रूपमा जलदेवी बसेकी जनविश्वास गरिन्छ । मन्दिर बाहिर खोलामा पनि हजारौं माछा छन् ।

छाब्दी कुण्डमा स्नान गरी उपवासपूर्वक पूजा गरेमा सबै खाले पापबाट मुक्त भइन्छ र मनोकामना पुरा हुने जनविश्वास छ । तीर्थालुरुले मन्दिर क्षेत्रमा कुखुरा र बोका  बलि चढाउँछन् ।

साउन महिनाभर, औँसी र एकादशीमा छाब्दी बाराहीमा पूजा चल्दैन । त्यतिबेला मन्दिर बन्द हुन्छ । यहाँ मगर समुदायका पूजारीले सेवा गर्दै आएका छन् । मन्दिरलाई धार्मिक पर्यटनको नमुना गन्तव्य बनाउने काममा ‘छाब्दी बाराही विकास कोष’ क्रियाशील छ ।

छाब्दी बाराही यात्रामा दमौली बजारको व्यास गुफा, पराशर आश्रमसहित पराशर मन्दिर पनि घुमफिर गर्नुपर्छ ।

छाब्दी बाराही नजिकै नजिकै बजारमा खाना र बासका लागि रेष्टुराँ, होटल तथा लज सुविधा छ । त्यस्तै फूलप्रसादी बेच्ने थुप्रै पसल पनि छन् । बजारबाट कोसेलीस्वरुप गेडागुडी, केरा, सुन्तला लगायत फलफूल र ताजा तरकारी ल्याउन सकिन्छ ।

कसरी पुग्ने ? 

काठमाडौं–दमौली १५० कि.मी. बसमा ५ घन्टा । दमौली–छाब्दी बाराही ७ किलोमिटर पक्की सडक । दमौलीको गणेशमान चोकबाट छाब्दीसम्म सार्वजनिक गाडी चल्छन् ।

मन्दिरको किंवदन्ती

छाब्दी बाराहीको महिमा ठुलो छ । तीर्थालुहरू मनले चिताएको कुरा पुरा होस् भनेर देवीको पूजा गर्छन् । कोही सुस्वास्थ्यको कामना गदर्छन् । कोही सन्तान माग गर्दछन् । कोही लाहुरे बन्ने कामना गर्दछन् । देवीले मनोकामना पुरा गरिदिनु हुन्छ । भाकल पुरा भएपछि कुखुरा र बोका ल्याउँछन् । काठमाडौं, पोखरा र नारायणगढलगायत देशैभरबाट तीर्थालु आउँछन् ।

सुरुमा खरको छानोबाट सुरु भएको उक्त मन्दिर क्षेत्रमा अहिले पक्की भौतिक संरचना निर्माण गरिएको छ । भक्तजनका लागि लाइनमा बस्ने व्यवस्था, वनभोजस्थल र बलि दिइएका कुखुरा तथा बोका सरसफाइ गर्ने स्थल व्यवस्थित गरिएको छ । कुखुरा सफाइ गर्दा रु एक सय र बोकाको रु पाँच सय शुल्क व्यवस्था गरिएको छ । दान, दक्षिणा र भेटीबाट सङ्कलन भएको रकमले मन्दिर परिसरमा भौतिक संरचना निर्माण कार्य गर्दै गरिदै आएको छ ।

मन्दिर परिसरमा करिब रु स्रोह लाखको लागतमा छाब्दी देवीको आधा देवी र आधा मत्स्यगन्धाको पूर्ण कदको मूर्ति निर्माण गरिएको छ । पुरानो कुण्डलमा मन्दिर निर्माण गरिएको छ । त्यहाँ बिहान बेलुकाको समयमा पुजारीले नित्य पूजा गर्ने प्रचलन रहेको छ ।

सुरुमा जरसिं आलेले छाब्दी देवीलाई प्रत्यक्ष भेट गरेको किंवदन्ती छ । दैनिक गोठालो जाँदा हालको छाब्दी खोला र कुण्डलमा माछा मार्दै आएका आलेलाई एकदिन साँझ पख गोठको छेउमा आगो तापिरहेको अवस्थामा कलकलाउँदो एक बालिकाको भेषमा बास खोज्न पुगेको बताइएको छ ।

गोठाला आलेले खानेकुरा नभएको र बिहानको बासी भात रहेकाले गाईको दूध खाएर बास बस्न आग्रह गरेको किंवदन्ती सुन्न पाइन्छ । साँझ झमक्क पर्दै गएकाले सानो मान्छे कहीँकतै नजान र आफ्नै घरमा बास बस्न आलेले आग्रह गर्नुभएको कुरा अहिले पनि सुन्न पाइन्छ । केही समयपछि म कुण्डलमा बस्छु, मलाई धुपधुमार गरेर पुज्नू भनेर दुई कदम पछाडि फर्केर बालीका बिलिन भएपछि आले झसङ्ग हुँदै निद्राबाट ब्युँझेजस्तो भएको अहिलेका नयाँ पुस्ता बताउँछन् ।

भोलिपल्ट बिहानै उक्त कुण्डमा गई हेर्दा सुन रङको माछा ढुङ्गामा बेरिएर रहेको अवस्थामा देखेपछि अचम्म हुँदै एकाएक बिलिन भएपछि कुण्डलमा रहेका स–साना ढुङ्गा पनि पल्टाएर खोज्ने क्रममा ढुङ्गा पल्टाउनसमेत नसकेपछि देवीको शक्ति रहेछ भनी पूजाअर्चना गर्न थालेको आलेका पुस्ता बताउँछन् । सोही दिनदेखि छाब्दी बाराही मन्दिरमा मगर जातिका व्यक्तिले पूजाअर्चना गर्दै आएको बताइएको छ ।

सम्बन्धित समाचार