सोमबार , फागुण १४, २०८०

थारू जातिमा अनौठो संस्कृति : पानी पार्न गोरु अपहरण

हलो चोरेर ल्याएर गाउँको मुखिया या भेला भएको घरको आँगनमा दुईजना केटीहरू नाङ्गो भई गोरु बन्छन् र एक जनाले उल्टो हलो जोत्छन् । अरू जना कोही कोदालो लिएर खेत खने जस्तो, कोही बीउ छरे जस्तो, कोही जोतेको मिलाए जस्तो, यस्तै यस्तै खेतमा गरिने सबै काम गर्छन् ।

image

विश्वमा अनौठो अनौठो संस्कृति रहेका छन् । जुन संस्कृतिहरू त्यहाँको जाति र समुदायसँग नजिकको सम्बन्ध राख्छन् । अहिले विश्व प्रविधि, सञ्चार तथा यातायातको सुविधाले कतिपय राम्रा संस्कृतिहरू अनुसरण गरी समृद्ध संस्कृतिको गतिमा छ । जसले गर्दा विश्व संस्कृति, मिश्रित संस्कृतिको रूपमा विकसित भइरहेको छ । तर, विश्वमा कतिपय यस्ता संस्कृति पनि छन्, जुन एक अर्को समुदायले विश्वास गर्न पनि गाह्रो हुन्छ । थारु समुदायमा पनि एउटा यस्तो चलन छ, जहाँ खडेरी पर्यो, लामो समयसम्म पानी परेन भने गाई अपहरण गर्ने चलन छ, जसलाई थारु समुदायमा ‘गैया बेहर्ना’ अथवा गोरु बेहर्ना’ भनिन्छ । यस अंकमा हामी ‘गैया बेहर्ना’ चलन बारे चर्चा गर्नेछौँ ।

‘गैया बेहर्ना’ कार्यक्रम विशेषतः जेठ असारमा हुन्छ । धान अथवा मकै बाली लगाउनका लागि किसानहरू तयारी अवस्थामा हुन्छन् । त्यसै समय यदि पानी परेन भने महिलाहरूले गैया बेहर्ना काम गर्छन् । ‘गैया बेहर्ना’ चलनसँग सजना गीतको ठूलो महत्त्व हुन्छ । यो गीत अनिवार्य हुन्छ । ‘सजना’ थारु समुदायमा गाइने एक ऋतु गीत हो । यो गीत पनि लोकगीत अन्तर्गत पर्छ

यो गीत गाउने सुरुवात भने वसन्त पञ्चमीको दिनदेखि हुन्छ । किसानहरू नयाँ खेतीपातीको तयारीको लागि बाँझो बारी अथवा खेतमा हलो जोत्न सुरु गर्छन्, त्यसैबेलादेखि सजना गाउन सुरु हुन्छ । सजना गाउँदा त्यसका भावले खेतीपातीको समय प्रतीत हुन्छ । यो गीत निकै सुरिलो भाकामा गाइन्छ । यो सुनेर सबैको मन फुल्लित हुन्छन्, उता कालो कालो पानी बादल मडारिन थाल्छ । अनि त मानिसको हृदय बडो सन्तोषको सुस्केरा हाल्छ ।

महाभारतसँग गाँसिएको ‘गैया बेहर्ना’ चलन

१.

पौराणिक पृष्ठभूमि हेर्ने गैया बेहर्ना चलनको सम्बन्ध महाभारतसँग गाँसिएको देखिन्छ । कौरवहरूको छलकपटबाट पाण्डवहरूले बाह्र वर्ष वनवासको सजाय पाएका हुन्छन्, जहाँ एक वर्ष गुप्तवास भोग्ने सजाय पनि रहेको हुन्छ । गुप्तावास उलङ्घन गरेको हुनाले पृथ्वीमा सबैतिर खडेरी पर्छ । चारै तिर पानी नपरेर मानववस्ती, वनजंगल, बोट बिरुवा सुक्न थाल्छन् र सबैतिर हाहाकार हुन्छ ।

एक दिन पाण्डवहरूले सपनामा कृष्णको मुखबाट पानी पार्ने उपाय सुने । औँसीको रातमा दुईजना महिलाले हातमा भ्यागुता लिई नाङ्गै हलो जोते पानी पर्ने कुरा सुनाए । दोस्रो दिन सबै भाइ बसेर सपनामा देखेको कुराको छलफल गर्न थाले । नाङ्गै हलो जोत्नु पर्ने हुनाले काम त्यति सजिलो भने थिएन । द्रोपतीले त्यो कुरा सुनी त्यसको अगुवाई म आफैँ गर्छु भनी मञ्जुर हुन्छिन् र सबै जना लामो श्वास लिन्छन् । द्रोपतीको अगुवाईमा कृष्णले भनेँ बमोजिम काम गरे । अनि दोस्रो दिन पृथ्वीलोकमा ठूलो पानी पर्यो । त्यही बेलादेखि थारु समाजमा सजना गाउँदै ‘गैया बेहर्ना’ जाने चलन चलेको हो भनी पौराणिक मान्यता रहेको छ । (सर्वाहारी । २०५७: ५)

२.

त्यसैगरी दोस्रो लोककथामा ‘गोरु बेहर्ना’ चलनको फरक ढंगबाट प्रस्तुत गरिएको छ । जुन लोककथा लमही–३ उत्तर मजगाउँ निवासी पहुनराज चौधरीले यसरी सुनाएँ-

उहिले उहिले एकादेशमा खुबै नाम चलेको राजा थिए । उनी आफ्नो राज्यमा भएको सबैलाई बराबर मान्थे र सबै रैतीहरूबाट हरेक वर्ष पोत उठाउने गर्दथे । जब पोत उठाउने समय आयो, आफ्ना नोकरहरूलाई घर–घर पोत उठाउन पठाए । उनीहरूले पोत उठाए र राजालाई बुझाए । तर एकजनाको घर भने पोत उठाउन गएनन् । ऊ त्यो राज्यको ठूलो तपसी थियो । राजालाई त्यो कुरा थाहा भएन । एक कान, दुई कान मैदान भनेझैँ एक दिन राजाले त्यो कुरा सुने र सोधेछन्, ‘मेरो राज्यको सबै रैतिले पोत बुझाए, तर त्यो तपसीले किन बुझाएन ? सबै जनाले बुझाइसके तर उसलाई मात्र छोड्नु अपराध हो ।’ भनेर राजाले दुईजना नोकरहरूलाई फेरि उनै तपसीको घर पोत उठाउन पठाए ।

राजाको आदेश अनुसार दुवै नोकरहरू त्यस तपसीको घरमा पुग्छन् । उनीहरूलाई देखेर तपसी बडो आदरभावले सोधे– ‘बालकहरू तिमीहरू कहाँ आयो ? तिमीहरूलाई के समस्या भयो ?’ उनीहरूले राजा पोत उठाउन पठाएको कुरा सुनाए । तपसीले उनीहरूको कुरालाई सहर्ष स्वीकार गर्दै नोकरहरूलाई भने– ‘हे ! बालकहरू, लेऊ यो पोको, बाटोमा कहीँ नखोली राजालाई बुझाई दिनु ।’ त्यसमा तपसीले आफ्नो कान्छी औँला काटेर एउटा कपटाको टालोमा रगत पठाएका थिए ।

जाँदाजाँदै बाटोमा तपसीले दिएको पोकोमा के छ ? भनी दुवै नोकरलाई उत्सुकता जाग्न थाल्यो । उनीहरूले त्यो पोकोलाई खोलेर हेर्ने सोच बनाए । मनमनै सोच्न पनि थाले ‘यो पोकोमा पैसा भए त हामीलाई तपसीले देखाएरै दिन्थे होला किन लुकाएर दिए ? कि यो पोको खाली त छैन ? कि हामीलाई ठग्नलाई तपसीले यसो गरे ? उनीहरूको मनमा यस्तै यस्तै कुराहरू उठ्न थाल्यो । अन्ततः दुवै जनाले त्यो पोको खोले । पोको खोलेर हेर्दा, रगतले भिजेको टालो मात्रै देखे । उनीहरूले त्यो देखेर अझै डराउन थाले र आफ–आफै कुरा गर्न थाले । ‘यो रगत लट्पटिएको टालो लिएर जाने हो भने राजाले हामीलाई ‘मैले पोत उठाउन पठाएको थिएँ कि तपसीलाई मारेर ल्याउन भनेको थिएँ ।’ भनेर आरोप लगाउँछन् भन्ने डरले त्यस टोलोलाई त्यही तपसीको चौरमा लगेर गाडिदिन्छन् र उसले बुझाउनु पर्ने पोत दुबैजना मिलेर तिरिदिन्छन् ।

केही दिनमा त्यो राज्यमा ठूलो खडेरी पर्यो । सुख्खा भएर सबैतिर हाहाकार मच्यो । राज्यमा यस्तो समय आयो कि त्यो धर्मी राजाले समेत केही गर्न नसक्ने भए । राजा निराश भएर यसको उपाय खोज्न थाले ।

एक दिन आफ्नो राज्यको भरिको सबै पण्डितहरूलाई बोलाएर खडेरी पर्नुको कारण पत्ता लगाउन सोधे । पण्डितहरू आफ्नो जानेको पाठ, पोठी–पत्र हेरे तर पनि कुनै उपाय लागेन । राजाको अझै आस भने मरेको थिएन र उनले सोधे ‘अरू कुनै पण्डित छन् ?’ त्यहाँ अब एउटै पण्डित बाँकी थियो । ऊ धेरै गरिब थियो । गरिब भएकै कारण उसलाई सबैले हेला गर्थे । हेला गरेकै कारण ऊ राजदरबारमा जान सकेको थिएन । जब राजाले त्यो गरिब पण्डित नआएको कुरा थाहा पाए, उसलाई तुरुन्तै बोलाउन पठाए । नोकरहरू उसको घर पुगे र भने– ‘पण्डित जी ! यो राज्यमा ठूलो खडेरी परेको कुरा त तपाईँलाई थाहै छ । यसको कारण पत्ता लगाउन यो राज्यको सबै पण्डितहरूलाई सोधिसक्यौँ, तर कसैले जवाफ दिन सकेनन् । अब तपाईं मात्रै बाँकी हुनुहुन्छ । त्यसकारण राजाले बोलाउन पठाउनु भएको हो ।’ नोकरहरूको कुरा सुनेर गरिब पण्डितले भने ‘अरे ! म भन्दा त जान्ने बुझ्ने ठूल–ठूला पण्डितहरू तमाम छन् । उनीहरूले जानेनन् भने त म सानो मान्छे, गरिब मान्छे कसरी जान्न सक्छु ?’ तर नोकरहरूको अनुनयविनयले पण्डित राजी भए र राजाको आदेश पालना गर्दै पण्डितलाई राजदरबारमा हाजिर गराए ।
राजाको आदेशबाट ती पण्डितले पनि आफ्नो पोठी–पत्र हेर्न थाल्यो । हेरेर राजालाई भन्यो– ‘राजा साहेब ! म एउटा कुरा भन्छु, त्यो कुरा मान्नु हुन्छ भने पानी पर्न सक्छ, होइन भने कुनै उपाय छैन ।’

पण्डितको कुरा सुनेर राजाले ठाडो कान पार्दै सोधे ‘के कुरा हो ? भन ।’

‘राजा साहेब बेलुकी पख दुईजना कन्या केटीहरूलाई नाङ्गै उल्टो हलो जोत्न लगाउने र भ्यागुता समातेर राख्ने । दोस्रो बिहान उठेर सबै आईमाईहरुलाई पुरुषहरूको पहिरन लगाई दिनभरि घर-घर सजना गाउँदै घर फुला लोहर्ना (बारीमा भएको तरकारी) टिप्न पठाउनोस् । तरकारी टिप्दा उनीहरूलाई कसैको रोकछेक रहने छैन । उनीहरूले स्वतन्त्र रूपमा तरकारी टिप्न पाउनु पर्छ । र, साँझ आएर बाँधेको भ्यागुतालाई दूध भात खुवाएर पानीमा छोडी दिए पानी पर्ने सम्भावना देखिन्छ, अन्यथा अरू उपाय म देख्दिन ।’ भनेर पण्डितले भने ।

पण्डितले भने अनुसार राजाले दुईजना कन्या केटीहरूलाई नाङ्गै भएर गोरुको रूपमा हलो तान्ने र एक जनालाई उल्टो हलो जोत्न लगाए । हलो जोत्दाजोज्दै उही नोकरहरूले रगत सहितको टालो गाडेको ठाउँसम्म आइपुगे । जोत्दा टालो गाडिएको ठाउँ पनि जोतियो । जोत्ने बेला टालो बाहिर निस्कियो । जोत्नेहरूले टालो निस्किएको थाहा पाएनन् । र पण्डितले भने अनुसार सबै काम गरे । अनि दोस्रो दिन त्यस राज्यमा छानो टुट्ने गरी पानी पर्यो । आज यही विश्वास गरेर थारु समाजमा केटी र आइमाई मान्छे गैया बेहर्ना चलन आएको हो ।

gaiya beharna, chhabilal kopila

गैया बेहर्ना कसरी मनाउँछन् ?

यसका लागि गाउँका केटीहरू, अँच्रहिन (विवाह भएको तर, बच्चा नजन्माई सकेकी महिला) र लर्कोर (बच्चा जन्माई सकेकी महिला) साँझ कुनै घरमा भेला हुन्छन् । विशेष गरी गाउँको मुखियाको (प्रधान, बरघरिया, मालिकवा) घर भेला भई सजना गाउँदै आफ्नो छरछिमेकको गाउँमा हलो चोर्न जान्छन् । हलो चोर्न गएको समय उताबाट ठूलो भ्यागुतो पनि समातेर ल्याउँछन् । हलो चोरेर ल्याएर गाउँको मुखिया या भेला भएको घरको आँगनमा दुईजना केटीहरू नाङ्गो भई गोरु बन्छन् र एक जनाले उल्टो हलो जोत्छन् । अरू जना कोही कोदालो लिएर खेत खने जस्तो, कोही बीउ छरे जस्तो, कोही जोतेको मिलाए जस्तो, यस्तै यस्तै खेतमा गरिने सबै काम गर्छन् । बाँकी मान्छे मधुर लयमा सजना गाउने कुरा लमही–३ उत्तर मजगाउँ बस्ने गेदुलाल चौधरीले बताउँछन् ।

यो काम मुखियाको घर मात्रै नगरेर आफूले सकेसम्म छ/सात घरमा जोत्छन् । जोती सकेपछि त्यो घरको ढोकामा ढुंगा, काठ लगायतका चिज तेर्साएर आउँछन् । हलो भने मुखियाको घरमै राख्छन् । बिहान जसको हलो हो, उसले आफैँ खोजेर लैजान्छ ।

दोस्रो बिहान, सबैजना भेला भई छरछिमेकका गाउँबाट गोरु समातेर ल्याई गोठमा बाँधी दिन्छन् । गोरु ल्याउन नसकेको खण्डमा उनीहरूले मान्छेलाई पनि समाएर ल्याउन सक्छन् । यसरी मान्छेलाई अपहरण गरेर स–सम्मान खुवाउँछन्, पिलाउँछन् । मान्छेलाई ल्याएपछि उसलाई मिचिमिचि नुहाई दिन्छन् अनि जाँड–रक्सी सहित सम्मान गर्छन् ।

यता सबैजना कलवा (बिहानको खाना) खाएर पुरुषको पहिरनमा सिँगारिएर आएका केटीहरू गाउँ–गाउँ सजना गाउँदै घर–घर पुग्छन् । यसमा छतरी (बाँसले बुनेको छाता) पनि सबै जनाले ओढेका हुन्छन् । छतरीको बदलामा आजकल छाताले पनि काम चलाउँछन् । जुन घर सजना गाउँदै पुग्छन्, त्यो घरको भान्सेले सजना सुनाए बापत तरकारी दिन आउँछन् । त्यति मात्र नभई उनीहरू आफ्नो गाउँ बाहेक बाहिर गाउँ पनि जान्छन् ।

यता गोठमा बाँधेको गोरु अथवा मान्छे छुटाउनको लागि जुन गाउँको गोरु या मान्छे हुन्, त्यही गाउँको महिलाहरू मलिया (दही जमाउने माटोको भाँडो) मा दही, तरकारी लिएर छुटाउन आउँछन् । जब साँझ पर्छ उताबाट फूला लोह्र्ना जानेहरू पनि आउँछन् । अनि दुवै तर्फबाट सजनामा दोहरी खेल्छन् । दोहरी प्रतिस्पर्धात्मक हुन्छ । यो समय बडो मनोरञ्जनात्मक हुन्छ । जब छुटाउन आउनेहरूको गीत गाएर जिते भने मात्र सबै गोरु या मान्छे छुटाएर लैजान पाउँछन् । यदि जित्न सकेनन् भने उनीहरूले गोरु लैजान पाउँदैनन् । दोस्रो दिन पनि त्यसैगरी सजनामै प्रतिस्पर्धा हुन्छ । जितेर मात्र आफ्नो गोरु लिएर जान्छन् ।

फूला लोर्हना काम दुई तीन दिनसम्म हुन्छ । नसके एकै दिनमा पनि सिद्ध्याउन सक्छन् । सिद्ध्याएको दिन पनि बडो मनोरञ्जनात्मक हुन्छ । जुन दिनलाई ‘फोडा खैना’ दिन पनि भनिन्छ । यो दिन फुला लोह्र्ना जानेहरू सजना गाउँदै घर घर पुग्नुका साथै तरकारी बारीमा पनि पुग्छन् र आफू खुसी तरकारी टिपेर ल्याउँछन् । उनीहरूलाई कसैको रोकछेक गर्दैनन् । गोरु बेह्र्ना कार्यक्रममा सहभागीहरू सबैका घरका एक–एकजना थप व्यक्ति डेरा घर भान्सा गर्न आउँछन् । उनीहरू दिनभरि भान्सा गर्छन् । जब गैया बेर्नेहरू गाउँ पुग्छन् अनि सबै भान्सेहरू उनीहरूलाई लिन ढोल, डमैयाँ बाजागाजा सहित मचिया, हाते पङ्खा लगायतको चिज लिएर जान्छन् ।

जब दुवै तर्फको मान्छेको भेट हुन्छ । लिन जाने भान्सेहरूले खुबै मान सम्मान गर्छन् । भान्सेहरूले उनीहरूलाई घर ल्याउन लाख प्रयत्न गर्छन् । सजना गीत मार्फत उनीहरू पनि हात्ती, घोडा, मोटर, कार, हवाईजहाजमा बसेर घर फर्किने शर्त राख्छन् । उनीहरूको माग अनुसार भान्सेहरूले पनि हुन्छ हुन्छ भन्दै अलिअलि सर्दै घर पुर्याउँछन् । भान्सेहरूले उनीहरूलाई सप्तरङ्गी गुन्द्रीमा बसालेर गोडा धोई दिन्छन् । गोडा धोई सकेपछि उनीहरूले गोडा समाई उचाली दिन्छन् र उनीहरू उत्तानो परी भुईँमा पछारिन्छन् । यो बेला हाँसोले आँगन र चारैतिरको वातावरण गुञ्जायमान हुन्छ । केही बेरसम्म हाँसो ठट्टा चल्छ । साँझपखको बेला भएको हुनाले हेर्नेहरूको पनि भीड हुन्छ । (कोपिला । २०६८: ७) ।

यो काम सकिए पछि पहिलो दिन ल्याएको भ्यागुतालाई दूध, भात खुवाउने काम बाँकी हुन्छ । भ्यागुतालाई दूध, भात खुवाएर पानीमा छोडी दिन्छन् र सबैजना हाँसो खुसीका साथ आफ्नो सुख, दुःख साँट्दै खान्छन् पिउँछन् । यता दूध, भात खाएर छुटेको भ्यागुतो जब ‘गोँ–गाँ, गोँ–गाँ’ बोल्न थाल्छ । अनि बादल मडारिन थाल्छ । भ्यागुतो कराए पानी पर्छ भन्ने जनविश्वास भएकोले गैया बेर्ने (अपहरण) काम गरेपछि पानी पर्छ भन्ने जनधारणा थारु समुदायमा छ ।

यो एउटा विश्वासमा अडिएको चलन हो । चलन हरेक समुदायमा आफ्नो अनुकूलतामा बन्छ । त्यही चलन पुस्तौँ पुस्ता हस्तान्तरण हुँदै यहाँसम्म आइपुग्छ । यसमा सत्यता कति छ ? त्यो विश्वासमा भर पर्ने कुरा हो । पानी पर्ने नपर्ने कुरा वातावरणीय प्रभावमा निर्भर गर्छ । थारु समुदायमा यो चलन कहिलेदेखि सुरु भयो ? यसको कुनै लेखाजोखा छैन । यो चलन आजकल हराउँदै गएको छ । केही ठाउँमा गोरु बेर्न थालेको देखिन्छ तर हिजोको चलनभन्दा केही फरक शैलीमा । समय अनुसार परिवर्तन हुनु स्वाभाविक हो ।

सन्दर्भ-सामग्री

सर्वाहारी, कृष्णराज, (२०५७), थारूनके लोकगीत सजना । बिहान । काठमाडौ, थारु युवा परिवार ।
कोपिला, छविलाल, (२०५७), काकरे हेरैटी जाइटा सजना । बिहान । काठमाडौ, थारु युवा परिवार ।
कोपिला, छविलाल, (२०६७), जहाँ सजना ओ गोरु बेहर््लेसे पानी बर्सठ् । लावा डग्गर । द्यौखर, थारु भाषा तथा साहित्य संरक्षण मञ्च ।
चौधरी, गेदुलाल,  चैलाही–८ उत्तर मजगाउँ, बातचित ।
चौधरी, पहुनराज, चैलाही–८ उत्तर मजगाउँ, बातचित ।
चौधरी, टीकाराम,  चैलाही–६ छुट्की घुम्ना, बातचित ।

भिडियो

सम्बन्धित समाचार