शुक्रबार , मंग्सिर २३, २०७९

छक्कुबक्कु भगवतीको ऐतिहासिक एवं साँस्कृतिक पक्ष:  त्रिशुल यात्रा

आफ्ना प्रतापी गुरु बन्धुदत्त लोप भएको र गुरुको आज्ञा नमानी बन्द गरी राखेको कोठा खोलेर मृतक छोराको लास झिकेको खबर राजा नरेन्द्रदेवले थाहा पाएर धेरै अपसोस गरे । यस्ता पुरुषार्थी पुरुषको कीर्ति कालान्तरसम्म रहोस् भनी देवपाटनमा जात्रा चलाउने बन्दोबस्त गरिदिए ।

image

  • श्यामप्रसाद अर्याल

देवपाटनमा मनाइने विभिन्न यात्राहरूमध्ये त्रिशुल यात्रा विशेष महत्त्व भएको यात्रा हो । प्रत्येक वर्ष आषाढ कृष्ण अष्टमीको दिन अधिकतम वर्षात् हुने योग परेको हुन्छ भन्ने धारणाअनुसार यो अष्टमीलाई भलभलाष्टमी पनि भनिन्छ । त्यसैले भलभलाष्टमीको दिनमा देवपाटनमा सम्पन्न गरिने यो यात्रा पानी माग्न गरिएको यात्रा हो कि भन्ने सम्भावना रहनु स्वाभाविक हो । त्रिशुल यात्राको देवपाटनमा जति महत्त्व र प्रख्याति छ, त्यति देवपाटन बाहिरका मानिसहरूलाई यसको बारेमा थाहा छैन । त्रिशुल यात्रा स्थानीय यात्रा भएपनि काठमाडौंबाट प्रकाशित हुने पञ्चाङ्गहरूमा उल्लेख भएको पाइनाले यसको महत्त्वको बारेमा अवगत गर्न सकिन्छ ।

नेवारी भाषामा यसलाई मतिजात्रा भन्छन् । यो यात्रालाई किन त्रिशुल यात्रा भनिएको हो ? यो नाम रहनुको पछाडि के रहस्य छ ? यसको कहींकतै उल्लेख भएको पाइँदैन । त्रिशुल भगवान् शिवको आयुध हो । यात्रामा यही आयुधको प्रतिनिधित्व हुने भएकोले यसलाई त्रिशुल यात्रा भनिएको हो कि भन्ने भ्रम पर्न सक्दछ । तर सो यात्रामा शिवको आयुध त्रिशुलको नभई देवपाटनका तीनवटा स्थलबाट तीनवटा खटमा शूलले घोचेको भाग पर्ने गरी पाँच जना बालबालिका निकालिने भएको तथा उहिले बच्चाहरूलाई त्यसरी त्रिशुलले उन्ने परम्परा भएकाले यो यात्रालाई त्रिशुल यात्रा भनिएको हो भन्ने कुरा बुढापाकाहरू बताउँछन् ।

त्रिशुल यात्राको प्रचलनको सम्बन्धमा जनश्रुति एवं भाषा वंशावलीहरूमा  भिन्नभिन्न विवरणहरू दिइएका छन् । कुनै वंशावलीले त्यसको सुरुवात लिच्छवि राजा नरेन्द्रदेवको समयमा भएको बताउँछन् त कुनैले मल्ल राजा अमर मल्लको समयमा प्रारम्भ भएको बताउँछन् । त्रिशुल यात्राको सम्बन्धमा जानकारी हासिल गर्न कुन वंशावलीले के भन्छन् ? जनश्रुति के छ ? ती सबैका बारेमा अध्ययन गर्नु उपयोगी हुने देखिएकाले प्राप्त वंशावलीहरूको विवरण तथा जनश्रुतिहरूको आधारमा सो यात्राबारे चर्चा गर्नु सान्दर्भिक हुन्छ ।

त्रिशुल यात्राबारे किम्बदन्ती:

त्रिशुल यात्राको उद्भव बारेमा भिन्न भिन्न जनश्रुतिहरू सुन्न पाइन्छन् ।

एउटा जनश्रुति यस प्रकार छ: उहिले स्वयम्भूको डाँडा वरपर राक्षसहरूको बसोबास थियो । त्यहाँका राक्षसहरू मानिसको बस्ती भएको ठाउँमा बरोबर आएर केटाकेटीहरू लैजान्थे । एक पटक ती राक्षसहरूको देवपाटनका बच्चाहरूलाई धेरै सताउन थालेकाले देवपाटनका प्रजाहरू त्राहित्राहि भए । आफ्ना बालबच्चाहरूलाई बचाउने उपायको खोजी गर्ने क्रममा उनीहरूले राक्षसका बच्चाहरूलाई मारी साटो फेर्ने निर्णयमा पुगे र एक दिन राक्षसका बच्चाहरूलाई समाती मारिदिए र मारिएका राक्षसका बच्चाहरूलाई देवपाटनमा घुमाए । राक्षसहरूले देखुन् भनी देवपाटनको पश्चिममा रहेको सिफलको डाँडाबाट खटमा राखी त्रिशुलले घोचेर प्रदर्शन गरे । त्यस बेलादेखि देवपाटनमा राक्षसहरूले दुःख दिन छाडे । त्यसैको सम्झनामा प्रत्येक वर्ष  यात्रा गर्ने परम्परा बसेको हो ।

दोस्रो जनश्रुति यस प्रकार छ: अर्को जनश्रुति पनि झण्डैझण्डै यस्तै छ तर पनि केही कुराहरू अलग छन् । यस अनुसारको भनाइ यस्तो छ- उहिले दुष्ट राक्षस नागार्जुनमा बस्दथ्यो । ऊ हरेक दिन देवपाटनमा आउँदथ्यो र केटाकेटीहरूलाई चोरेर लान्थ्यो । त्यस घटनाले देवपाटनवासीहरू दु:खित भए । राजा नरेन्द्रदेवले आफ्ना गुरु बन्धुदत्तले आचाजुसँग त्यस राक्षसलाई कसरी मार्ने  भन्ने बारेमा विचार विमर्श गरे । बन्धुदत्तले राजासँग ३०/४० जना सिपाही मागे । उनीहरूलाई अस्त्र/शस्त्र दिई राक्षसलाई समाउन बाटोमा लुकाई राखे । तर यो कुरा थाहा पाएकोले राक्षस आएन । त्यसपछि राजा, बन्धुदत्त र सिपाहीहरू नागार्जुन पर्वतमा गई उक्त राक्षसलाई त्रिशुलले मारे । त्यो थाहा पाई देवपाटनका प्रजाहरू अत्यन्त हर्षित भए र त्यसैको सम्झनामा प्रत्येक वर्ष यात्रा गर्ने चलन शुरु गरे ।

त्रिशुल यात्राको सम्बन्धमा देवपाटनमा मान्छेपिच्छे अलग अलग कथाहरू बताउँछन् । यसो हुनाको मुख्य कारण त्यस यात्राको बारेमा प्रमाणहरू नहुनाले नै हो भन्न सकिन्छ । देवपाटनका प्रजाहरूलाई राक्षसले दुःख दिएकाले देवीदेवताको आराधना गरिएको तथा त्यसको सम्झनामा यात्रा निकाल्ने गरिएको हो । यसमा त्रिशुल यात्रा र देशोद्वार पूजा पर्दछन् । त्रिशुल यात्राको सन्दर्भमा देवपाटनका प्रजाहरूलाई दुःख दिएकाले दुःख दिने राक्षसलाई मारेको भन्ने जनश्रुति एवं तिनीहरूको छोराछोरीलाई देवपाटनका मानिसहरूको अनुरोधमा मारिएको भन्ने दुवै किसिमको जनश्रुतिहरू पाइन्छ । वास्तविकता के हो ? त्रिशुल यात्राको प्रारम्भ हुनाको खास कारण के हो ? स्पष्टसँग भन्न सकिने स्थिति  छैन ।

तस्बीर: राजु झल्लु प्रसाद

यात्रा विधान:

त्रिशुल यात्राको सम्बन्धमा अरू कुराहरू भन्नुभन्दा अघि त्यस अवसरमा गरिने यात्रा विधानबारे संक्षिप्त चर्चा गर्नु आवश्यक देखिन्छ । त्रिशुल यात्राको खास विधान कुमः पूजा देखि सुरु हुन्छ । यो पूजा ज्येष्ठ शुक्ल षष्ठीका दिन सुरु हुन्छ । यस दिनलाई सिठी नखः पनि भनिन्छ । सो दिन त्रिशुल यात्राको निमित्त आवश्यक पर्ने पाँच जना पानी चल्ने जातका केटाकेटीहरू गुठियारहरूले छान्छन् । पाँच जनामा जयवागीश्वरी भण्डार तहबिलको  तर्फबाट दुई जना बालिका र एक जना बालक भुवनेश्वरी गुठी र बज्रघरगुठीबाट क्रमशः एक एक जना बालक छान्ने चलन छ ।  यी केटाकेटी डङ्गोल, महर्जन, थरका नेवार समुदायबाट धेरैजसो लिएको देखिन्छ । केटाकेटीहरू अविवाहित र दोस्रो दाँत आएको हुनुपर्ने चलन छ । यिनै केटाकेटीहरू त्रिशुल यात्राको मुख्य पात्रहरू हुन्छन् ।

त्यसदिन सम्बन्धित देवीदेवता पूजाआजा गरी ती केटाकेटीहरूलाई त्रिशुल यात्राको दिन लगाइने पोसाक र जयबागीश्वरीको परिधानहरू देखाइन्छन् । ती केटाकेटीहरूलाई जयबागीश्वरी भण्डार कोठामा विधिविधान गरी एक रात थुनिन्छ । यिनै केटाकेटीहरूलाई त्रिशुल यात्राको दिन खटमा राखी यात्रा निकालिन्छ । त्रिशुल यात्राभन्दा चार दिन अघि भुवनेश्वरीको कर्माचार्य पुजारी  ‘कवकुयो’ भन्ने स्थानमा पूजा गर्न जान्छन् । यो पूजालाई ‘चाकुपूजा’ भनिन्छ । त्यस्तै, यात्रा सकिएको चार दिनपछि पुनः सोही ठाउँमा पूजा गर्न जान्छन् । यो पछिल्लो पूजालाई बाकुपूजा भनिन्छ । कुवुकुयो भन्ने स्थान भुवनेश्वरीका पूजारी मुनि (भूमि) आचाजु अमृत लिएर फर्कँदा अलप भएको  ठाउँ मानिन्छ । यही चाकुपूजा र बाकुपूजा शब्द अपभ्रंश भई छक्कुबक्कु भएको र कुवुकुयो भन्ने स्थान मन्दिर परिसर वरिपरिको स्थान रहेको जनश्रुति छ ।

भगवतीको मूर्तिसहित अन्य मूर्तिहरू , तस्बीर: राजु झल्लु प्रसाद

माथि उल्लेखित कथावस्तुसँग अर्को कथा मिल्दोजुल्दो ऐतिहासिक कथासङ्ग्रह देवमालामा यस प्रकारको उल्लेख भएको हुँदा त्यसको केही अंश यहाँ उद्धृत गरिएको छ ।

‘एकदिन बन्धुदत्त आचाजुका मनमा भुवनेश्वरीको कृपाले मन्त्र विद्या निकै जाने । अब मरेका मानिस बचाउने  अमृत ल्याउन सक्ने शक्ति पाए हुने थियो भन्ने इच्छा भयो । उनी सधैँ आफ्ना इष्टदेवता भुवनेश्वरीको मन्दिरमा गएर पूजा पाठ गरी, भक्तिभावनापूर्वक भुवनेश्वरीको दर्शन गरी आउने गर्दथे । एक दिन बन्धुदत्त आचाजु भुवनेश्वरीको मन्दिरमा जाँदा उनको ७ वर्षको छोरा पछिपछि लागि आएको रहेछ, यो कुरा बन्धुदत्तलाई थाहा थिएन । उनी भुवनेश्वरीको मन्दिरमा पुग्नासाथ भुवनेश्वरी प्रकट भएर “बन्धुदत्त तिमीसँग केही कुरा माग्दछु, दिन्छौ ?” भनी आज्ञा भयो । ईश्वरीका आज्ञा सुन्ना साथ बन्धुदत्तले हात जोडी “आज्ञा भएको कुरा चढाउँछु” भने । भुवनेश्वरीले ‘तिम्रो पछि जो छ त्यसको बली मलाई देऊ’ भनिन् ।

बन्धुदत्तले पछाडि फर्केर हेर्दा आफ्नो नाबालक छोरा देखे । तैपनि ईश्वरीलाई वचन दिएकोले उत्ति नै खेर आफ्ना छोरालाई शुद्ध गरी पूजाको साथ बलि चढाए । बन्धुदत्तको आफूमा पूर्ण विश्वास देखेर श्री भुवनेश्वरी अति खुसी हुँदै बन्धुदत्तको मनको भाव बुझी आज्ञा भयो “बन्धुदत्त तिमी कामारुप कामाक्षा क्षेत्रमा जाऊ, त्यहाँ तिमीलाई एक कलश अमृत मिल्नेछ, त्यो ल्याएर आफ्ना मृतक पुत्रलाई पिलाऊ, बाँकीबाट लोकको उपकार गर” यति भनि ईश्वरी लोप हुनुभयो । बन्धुदत्तले आफ्नो मरेको पुत्रलाई कसैले थाहा नपाउने किसिमले आफ्नो घरमा लगेर एउटा कोठामा राखी ताल्चा मारिदिए । अनि आफ्नी पत्नीलाई ‘यो कोठा नखोलेस्, एक साताभित्र म आउनेछु’ भनी ईश्वरीका आज्ञा बमोजिम अमृत लिन हिँडे ।

बन्धुदत्त हिँडेको चौथा रातमा बन्धुदत्तकी स्वास्नीले स्वप्न देखिन् । स्वप्नमा शिवजी आएर ‘तिम्रो छोरा मरेको चार दिन भइसक्यो, छोरा मरेको पिरले तिम्रो पोइ बन्धुदत्त  बौलाहा भएर मरेको छोरालाई कोठामा ताल्चा मारेर राखी आफू बेपत्ता भए । मरेको छोरालाई त्यसै सडाएर राख्न हुन्न, आफ्नो जात अनुसार मृतक कर्म गर्नुपर्छ गर’ भनी शिवजी अन्तर्ध्यान भएछन् । बन्धुदत्तकी स्वास्नी स्वप्नबाट  बिउँझनासाथ कोठामा गएर ताल्चा खोली हेर्छिन् त नभन्दै आफ्ना छोरा मरिरहेको देखिन अनि कोलाहल गर्दै रोएर गुठियार र आफ्ना माइती कान्तिपुरमा खबर पठाइन् ।

एक छिनपछि गुठियार र आफ्ना माइती खलक जम्मा भए । बन्धुदत्तकी स्वास्नीले सारा वृत्तान्त कहिन । गुठियारहरूको राय सात दिनसम्म बन्धुदत्तको बाटो हेरौँ अनि मृतक लाशको काजक्रिया गरुँला भन्ने थियो । तर,  बन्धुदत्तकी स्वास्नी र माइती खलकको मृतक लाशलाई सडाई राख्न हुँदैन भनि राय भयो । आखिर बन्धुदत्तकी स्वास्नीको ढिपीले मृतक लाशलाई जातकर्म अनुसार भष्मेश्वर श्मशानमा लगी दाह- संस्कार गराइन् । त्यसबखत बन्धुदत्त वायु वेगले भुवनेश्वरीको मन्दिर देखि केही दक्षिण आइपुगेका थिए ।

त्यसै मौकामा उनले श्री पशुपतिनाथको दर्शन गरेर घरतर्फ जान लागेका ललितपुरका दुई जना मानिस भेटे । तिनीहरूसँग ‘पशुपतितर्फको के हालखबर छ?’ भनि सोधे । तिनीहरूले ‘अरू हाल सबै बेसै छ । तर बन्धुदत्त आचाजुका नाबालक छोरा मरे भनि जलाउन लगेका थिए । बन्धुदत्त आचाजु छोरा मरेको पीरले बौलाहा भई बेपत्ता भएका छन् रे भन्ने हल्ला सुनिन्थ्यो’ भनी ललितपुरतिर लागे । बन्धुदत्त आचाजुका मनमा छोरालाई बचाएर लोकको उपकार गरुँला भन्ने थियो । सो कुरा  पूर्ण हुन पाएन । फेरि एक हप्ता सम्म कोठा नखोल्नु भनेकोमा पोइको आज्ञा नमान्ने त्यस्तो स्वास्नीको मुख हेर्नुभन्दा मर्नु  नै बेस हो भनी त्यही ठाउँमा अमृतको घडा गाडी आफू समेत लोप भए । सो ठाउँ नयाँ बानेश्वरको छक्कुबक्कु क्षेत्र र बन्धुदत्तले अमृत गाडेको स्थान नै श्री छक्कुबक्कु भगवती मन्दिर भएको स्थान हो भन्ने जनश्रुति छ ।

आफ्ना प्रतापी गुरु बन्धुदत्त लोप भएको र गुरुको आज्ञा नमानी बन्द गरी राखेको कोठा खोलेर मृतक छोराको लास झिकेको खबर राजा नरेन्द्रदेवले थाहा पाएर धेरै अपसोस गरे । यस्ता पुरुषार्थी पुरुषको कीर्ति कालान्तरसम्म रहोस् भनी पोइको आज्ञा नमान्दा बाँच्ने छोरा यस किसिमबाट मर्न गयो भनी लास समेत नगरभित्र घुमाइ बन्धुदत्तकी स्वास्नी र माइती कान्तिपुरेलाई गाली गर्ने चलन समेत देवपाटनमा जात्रा चलाउने बन्दोबस्त गरिदिए ।

मन्दिरमा हरेक बिहान ८-९ बजेसम्म भजन चलिरहेको हुन्छ, तस्बीर: राजु झल्लु प्रसाद

(प्रस्तुत लेख सही छक्कुबक्कु भगवती मन्दिर संरक्षण समितिबाट प्राप्त भएको हो- सम्पादक ।)

सम्बन्धित समाचार