शनिबार , फागुण १९, २०८०

छन्त्याल जातिको माघे संक्रान्ति : म्हिलाङे सोङ्ती

नेपाल सरकारले वि.सं. २०६९ पुस २७ गते माघे सङ्क्रान्तिमा छन्त्याल जातिलाई सार्वजनिक बिदा दिने घोषणा गर्नुले माघे सङ्क्रान्तिको महत्त्व छन्त्याल जातिको पहिचानसँग जोडिएको कुरा पुष्टि हुन्छ ।

image

-गोविन्द छन्त्याल

किराँत समुदायमा यलम्बरको शासनकाललाई आधार मानेर किराँत यले सम्वत् प्रचलनमा छ । माघ १ गतेबाट किराँत यले सम्वतको नयाँ वर्ष सुरु हुन्छ । यस २०७९ सालको माघबाट किराँत यले सम्वत् ५०८३ सुरु हुने जनाइएको छ । त्यसैगरी, नेवारहरूले ‘घ्यो–चाकू सँल्हू’ (घ्यु र चाकु खाने सङ्क्रान्ति) भन्दछन्, फेरि कोहीकोही ‘हामो सँल्हू’ (तिलको प्रधानता भएको सङ्क्रान्ति) पनि भन्दछन् । यस पर्वलाई थारु जाति-समुदायका मानिसहरूले अरू चाडपर्वभन्दा विशेष महत्त्वका साथ ‘माघी’ पर्वको रूपमा हप्ता दिनसम्म मनाउँदछन् । यसै दिन थारुहरूले ‘बडघर’ समेत चुन्ने चलन रहेको छ भने मगर समुदायमा ‘माघे पर्व’को नाममा विशेष महत्त्वका माघे सङ्क्रान्ति साथ मनाउने चलन छ ।

नेपाल सरकारले विसं २०६५ माघ १० गतेदेखि यो पर्वलाई मगर र थारुको राष्ट्रिय पर्वको रूपमा मान्यता दिएको छ । यस दिनमा उराँव जातिका मानिसहरूले तिलको लड्डु, बगिया, भुजा, चिउरको लड्डु, सखरखण्ड, तरुल आदि पकाएर पितृ देवतालाई चढाउने भएकाले उराँव समुदायमा ‘माघे सङ्क्रान्ति’ लाई ‘तिले सक्रान्ति भन्दछन् । चेपाङ र माझी आदिवासी जनजातिका मानिसहरूले पनि ‘माघी’ पर्वलाई विशेष महत्त्वका साथ छोरीचेली, ज्वाइँचेलालाई अनिवार्य रूपमा निम्तो गरेर खुवाउने चलन रहेको छ । तामाङ जातिले यस पर्वलाई ‘हो’ पूजाको नामबाट बौद्ध गुम्बा (घ्याङ)मा पूजाआजा गरी मनाउने परम्परा रहेको छ ।

‘माघे सङ्क्रान्ति’सँग ‘छन्त्याल जाति’को सम्बन्ध

मगर, थारु र अन्य जातिले माघे सङ्क्रान्तिलाई कसरी र के नामले मनाउँछन् भन्नेबारे छोटो चर्चा भयो । अब भने छन्त्याल जातिसँग यस पर्वको के-कस्तो सम्बन्ध रहँदै आएको छ त्यसबारे पनि चर्चा गरौँ ।

छन्त्याल र चाडपर्व

परा पूर्वकालदेखि छन्त्यालहरूले विभिन्न चाडपर्वहरू मौलिक किसिमले मनाउँदै आएका छन् । मूलतः छन्त्यालहरूको विशेष महत्त्वका परम्परागत चाडपर्वहरू ‘माघे (म्हिलाङे) सङ्क्रान्ति (सोङ्ती)’ र साउने सङक्रान्ति, भूमेपूजा र कुलपूजा आदि हुन् । साथै, उनीहरूले दसैँ, तिहार, तीज, चैते दसैँ, होली पूर्णिमा, बुद्ध पूर्णिमा, जनै पूर्णिमा आदि पर्वहरू पनि मनाउने गर्दछन् । तथापि, यी पछिल्ला चाडपर्व मनाउँदा पनि छन्त्याल जातिले आफ्नै विशेष मौलिक शैली, आफ्नै रीतिथिति, परम्पराअनुसार मनाउने गरेको पाइन्छ । हिन्दू शास्त्रमा उल्लेख भएको विधिलाई जस्ताको त्यस्तै टिपेको भने देखिँदैन । छन्त्याल समुदायमा देखिएको हिन्दूकरणको प्रभाव पाइए पनि आफ्नो मौलिकता पनि यो जातिले बचाउँदै आएको छ । विशेषतः आदिवासी जनजातिलगायत गैर–हिन्दू समुदायमामाथि राज्यको एकमना सोच ‘एउटै भाषा (खस नेपाली), एउटै धर्म (हिन्दू), एउटै संस्कृति (हिन्दू)’ जबर्जस्ती लादिएकाले हिन्दू धर्म, संस्कृति, मूल्य मान्यतामा आधारित चाडपर्वहरू गैर–हिन्दू समुदायले अबलम्बन गर्न पुगेका हुन् ।

छन्त्याल र माघे सक्रान्ति

‘माघे सक्रान्ति’ पर्वको छन्त्याल जातिसँग ऐतिहासिक, सामाजिक तथा सांस्कृतिक सम्बन्ध रहेको छ । यस पर्वसँग यस जातिको मूख्यतः ‘पितृ पुज्ने’, ‘खानी’ (मूलतः तामाखानी), ‘तारा खेल’, ‘चेलीबेटीलाई तिला सार्ने’ आदिसँग जोडिएको छ । जुन कुरा समग्र छन्त्याल जातिको पहिचानसँग अन्तरसम्बन्धित विषय हुन् ।

यसै सन्दर्भमा छन्त्याल संघका पूर्व अध्यक्ष मनिचन घरब्जा छन्त्याल भन्छन्, ‘छन्त्याल जाति-समुदायका मानिसहरूले ‘माघे सङ्क्रान्ति’लाई परापूर्वकालदेखि नै मनाउँदै आएकाले खानी खन्ने समयावधिमा समेत तत्कालीन राज्य सरकारले एक दिन सार्वजनिक बिदा दिने गरिन्थ्यो ।’ छन्त्याल जातिको ऐतिहासिक पहिचानको आधार भनेको ‘तामाखानी’ नै हो । रातोदिन तामाखानी खन्ने इतिहासको कालखण्डमा समेत छन्त्यालहरूलाई तत्कालीन राज्यसरकारले ‘माघे सक्रान्ति’को दिन सार्वजनिक बिदा दिने गरेको तथ्ययुक्त भनाइले यस चाडसँग छन्त्याल जातिको ऐतिहासिक सम्बन्ध रहेको पुष्टि गर्दछ । तथापि, नेपालका अधिकांश आदिवासी जनजातिहरूको जस्तै छन्त्याल जातिको पनि लिखित इतिहास नभएकाले तामाखानी खन्ने समयावधिमा छन्त्याल जातिका मानिसहरूले यस दिनमा पाउने गरको सार्वजनिक बिदाबारे कुनै लिखित प्रमाण भने छैन ।

यस पर्वमा गरिने अन्य कार्यहरू र प्रयोग हुने सामग्रीहरूको अर्थ, कारण र महत्त्व पनि सांस्कृतिक पक्षले कुनै न कुनै रूपमा छन्त्याल जातिसँग जोडिएका छन् । त्यसैले, छन्त्याल जाति-समुदायले पनि आफ्नो पहिचानका लागि परापूर्व कालदेखि मनाउँदै आएको ‘माघे सङ्क्रान्ति’लाई विभिन्न समयमा ‘छार म्हेङ’ (नयाँ वर्ष), ‘म्हिलाङे सोङ्ती’ नामाकरण गरी मनाउन थालेका हुन् । सामाजिक, सांस्कृतिक पक्षका परम्परा, रीतिथिति, चालचलन, चाडपर्व आदि पक्षहरू अरूभन्दा पृथक शैलीमा अभ्यास गर्ने विश्वव्यापी र नेपालमा चलिरहेको पहिचानजनित आन्दोलनको प्रभाव छन्त्याल जाति-समुदायका मानिसहरूले मनाउँदै आएको ‘माघे सक्रान्ति’मा पनि पर्न गएको देखिन्छ ।

माघे सक्रान्तिमा खेलिने छन्त्यालको मौलिक ‘तारा खेल’

‘ताराखेल’ अर्थात् तारा हान्ने खेल छन्त्यालहरूको थातथलोमा अद्यापि लोकप्रिय छ । छन्त्यालहरूले आफ्नै आदिवासीय ज्ञान, सीपद्वारा इतिहासको कुनै कालखण्डमा विकास-निर्माण गरेर ‘माघे सक्रान्ति’कै दिनमा ‘तारा, धनु, सर पुज्ने’ विशेष कार्यले यसको महत्त्वलाई थप पुष्टि गर्दछ । तत्कालीन खानी खन्ने समयमा मनोरञ्जनको रूपमा अरू कुनै साधनहरू नभएकाले छन्त्यालहरूले खेल साधनको रूपमा ‘तारा खेल’लाई आफ्नै आदिवासीय ज्ञानको शैलीले विकास गरेका हुन् । जुन खेल अहिले एउटा राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरको खेलको रूपमा स्थापित समेत छ ।

‘तारा खेल’ ऐतिहासिक धनुष वाणसँग सम्बन्धित खेल हो । पूर्वीय दर्शनअनुसार त्रेता युगदेखि धनुष वाणको प्रयोग शुरू भएको मानिन्छ । हिन्दू धर्म ग्रन्थहरू रामायण, महाभारतजस्ता कथाहरूमा धनुष वाणको प्रयोगको कुरा यत्रतत्र पाइन्छ । युद्धको एउटा सशक्त हतियारको रूपमा धनुष वाणलाई पौराणिक कथाहरूमा उल्लेख गरेको पाइन्छ । संसारभरि लगलभ ४० करोडभन्दा बढी जनसंख्या ओगटेका र ७२ भन्दा बढी देशमा बसोबास गर्ने आदिवासी जनजातिहरूको कुनै न कुनै रूपले धनुष वाणसँग ऐतिहासिक सम्बन्ध भएकाले धनुष वाणलाई कुनै न कुनै विधि-प्रक्रियाअनुसार पूजा गर्ने र विशेष अवसरमा प्रयोग गर्ने गरेको पाइन्छ ।

खानी खन्ने समयावधिको ऐतिहासिक कालमा छन्त्यालहरूलाई दिइने सार्वजनिक बिदाको तथ्यगत भनाइलाई नेपाल सरकारको वि.सं. २०६९ पुस २७ गतेको निर्णयले माघे सङ्क्रान्तिको महत्त्व छन्त्याल जातिको पहिचानसँग जोडिएको कुरा पुनरावृत्ति तथा पुनर्निर्माण भएको देखिन्छ ।

माघे सक्रान्ति र तिला सार्ने छन्त्याल संस्कृति

माघे सङ्क्रान्तिकै दिन ‘तिला सार्ने’ गर्नाले माइती चेलीबीचको सम्बन्धलाई प्रगाढ बनाउने पर्वको रूपमा पनि छन्त्याल जातिले यस पर्वलाई लिने गरेको देखिन्छ ।

यस दिनमा ‘तिला सार्ने’ परम्परा चेलीबेटीका लागि फलदायी हुने विश्वास गरिन्छ । यही विश्वास र आस्थाका साथ चामल, मासको दाल, नगद रुपैयाँ (भएमा तामाको पैसासहित) तिला सार्ने गरिन्छ । त्यसै कारण माघे सक्रान्तिलाई कतिपय छन्याल समुदायमा तिला सक्रान्तिको नामले पनि मनाइन्छ । यस दिनमा छन्त्याल समुदायमा तिला सार्ने प्रक्रियामा तरुल, भ्याकुर, गिठ्ठा, सखरखण्ड आदि विभिन्न कन्दमुलका परिकारहरू पनि विशेष रूपले महत्वपूर्ण मानिन्छन् ।

मानव इतिहासको प्राचीन जङ्गली, ढुङ्गे युगदेखि नै जीवन बाँच्न प्रयोग गरिएका खाद्यवस्तु रहेका हुँदा पनि माघे सक्रान्ति मनाउँदा छन्त्यालहरू कन्दमुलजन्य परिकारहरू खाएर तिला सक्रान्ति मनाउँछन् ।

विविधतामा सद्भावको बास्ना

नेपालमा पहिचानको आन्दोलनको रस्साकस्सी चलिरहेको समयमा अन्तरसम्बन्धित पहिचानजनित प्रश्नको उत्तर ‘माघे सक्रान्ति’जस्ता चाडपर्वहरूभित्र खोज्नुपर्दछ । एउटा जाति-समुदायले अर्कोलाई निषेध गरेर होइन, विभिन्न सामाजिक, सांस्कृतिक, धार्मिक पर्वहरूमा पारस्परिक सम्बन्ध स्थापित गर्न जरुरी छ । त्यसका लागि राज्यसरकार सबै जाति, धर्म, क्षेत्र, लिङ्ग, समुदायका जनताप्रति उत्तरदायी र न्यायिक बन्नु राष्ट्रिय एकीकृत पहिचानका लागि सबैभन्दा आवश्यकताको विषय हो ।

साथै, नेपाली समाजजस्तो (विविध संस्कृतिसहितको) ‘इन्द्रेणी समाज’मा बसिरहेका र बस्न चाहने जनताहरूले पनि एकअर्काका चाडपर्व रीतिरिवाज, चालचलन, मूल्यमान्यतालाई व्यवहारिक रूपले सम्मान र आदर गरी सभ्य नागरिक बन्नु अर्को आवश्यकता हो । चाडपर्वहरूले ऐतिहासिक, सामाजिक, सांस्कृतिक, धार्मिक आदि महत्त्व बोकेका हुन्छन् । साथसाथै, नेपालजस्तो विविधतायुक्त समाजमा सामाजिक, सांस्कृतिक, धार्मिक सद्भाव र सहिष्णुता कायम राख्न यस्ता साझा रूपमा मनाइने चाडपर्वले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सेतुको भूमिका निभाइरहेका हुन्छन् । जुनसुकै भूगोलविशेष, जाति-समुदायविशेष, धर्मविशेष परम्पराअनुसार मनाउने गरेपनि यस्ता राष्ट्रिय स्तरका चाडपर्वहरूले साझा महत्त्व राख्नुका साथसाथै विभिन्न जातजातिबिचको, धर्म-समुदायबिचको भावनात्मक सम्बन्धलाई प्रगाढ बनाउन समेत भूमिका खेलिरहेका हुन्छन् जहाँ विविधताकाबिच पनि सद्भावको मिठो बास्ना आइरहेको हुन्छ ।

संस्कृति : निर्माण-विनिर्माण-पुनःनिर्माण

समाजभित्र सामाजिकीकरण र परसंस्कृतिग्रहणको प्रक्रियामा एकले अर्को समुदाय-व्यक्तिको देखासिकी तथा नक्कल गर्ने क्रिया-प्रक्रिया चली नै रहन्छ । विज्ञान, प्रविधि र सञ्चारको द्रुत विकासले बदलिँदो समाजमा पर्ने प्रभावले जुनकुनै जाति-समुदाय र व्यक्ति अछुतो रहन सक्दैन । सामाजिक, सांस्कृतिक, भौगोलिक, प्रविधिको सामीप्यले गर्दा एक ठाउँको शैली अर्को ठाउँसँग र एउटा समुदायको अर्को समुदायसँग थोरबहुत मिल्न जानु स्वभाविक हो । ‘माघे सङ्क्रान्ति’को दिनमा गरिने विधिप्रक्रिया पनि एक जाति-समुदायका अन्य जाति-समुदायका मानिसहरूसँग केही न केही मिल्न सक्दछन् ।

सिद्धान्ततः संस्कृति मानवनिर्मित हुन्छ । मानवले संस्कृतिलाई एक पुस्तादेखि अर्को पुस्तासम्म निरन्तर हस्तान्तरण गरिरहन्छ । संस्कृति मानवले एक समाजको सदस्यको हैसियतले आर्जन गरेका ती सम्पूर्ण कुराहरूको योग हो जसमा ज्ञान, विश्वास, मूल्य, मान्यता, भाषा, कानून, प्रथा आदि कुराहरूको संयुक्ति हुन्छ । अर्थात् युग र परिस्थितिअनुरूप कुनै पनि संस्कृति-संस्कारका अङ्ग-भाग-विधिप्रक्रिया तथा शैलीमा निर्माण-विनिर्माण-पुनःनिर्माण घटित हुन सक्दछन् । तथापि, इतिहास, संस्कृति, पहिचान, भाषा, धर्म, आदि संवेदनशील विषयवस्तुसँग जोडिने रीतिथिति, प्रथापरम्परा, चालचलन, मूल्यमान्यता, चाडपर्व, अभ्यास आदि पक्षहरूबारे सबै पक्ष गम्भीर एवं जिम्मेवार हुनु आवश्यक हुन्छ ।

पृथक र मौलिक बनाउने नाममा  निर्माण-विनिर्माण-पुनःनिर्माण गर्दा एकातिर व्यवहारिक कठिनाइ, चुनौति र दुरगामी असरबारे सजग हुनुपर्दछ भने अर्कोतिर सम्बन्धित जाति-समुदायको पहिचानजनित पक्षमाथि पर्न जाने असरप्रति समेत अत्यन्त संवेदनशील हुन जरुरी छ । आधुनिक राज्यसञ्चालनको युगमा राज्यसरकार नै सामाजिक न्यायको स्रोत मानिन्छ ।

त्यसैले, धर्मनिरपेक्ष राज्यको मूल्यमान्यतामा आधारित सबै जाति, भाषा, धर्म, क्षेत्र, लिङ्ग र समुदायका जनताका चाडपर्वहरूलाई समान हैसियत र सहुलियत दिन सके मात्र समग्रमा सिङ्गो ‘नेपाल’ व्यवहारतः विविधतायुक्त सद्भावरूपी इन्द्रेणी समाजको रूपमा विकसित हुन सक्छ ।

सम्बन्धित समाचार