शुक्रबार , मंग्सिर २३, २०७९

छाउपडी प्रथा, धामी र केक कटाई

छाउ बार्नु भनेको कुसंस्कारलाई निरन्तरता दिनु हो । चेलीबेटी, आमा दिदीबहिनीमाथि चरम विभेद हो, दमन हो र सामाजिक धार्मिक र सांस्कृतिक यातना हो ।

image

केही समयअघि एकजना अभिभावकले आफ्नो छोरीको पहिलो रजस्वलाको अवसरमा  केक काटेर उत्सवको रूपमा मनाएका थिए । उनको त्यो पोस्ट सामाजिक सञ्जाल निकै चर्चित भएको थियो । रजस्वलालाई उत्सवको रूपमा मनाइएको विषयमा पक्ष, विपक्षमा टीकाटिप्पणी देखिएका थिए । सायद कुनै पनि अभिभावकले आफ्नो छोरीको पहिलो रजस्वला मनाएको त्यो पहिलो घटना थियो । उक्त घटनाले, जुन समाजमा छोरी पहिलोपटक रजस्वला भए सात दिनसम्म अनुहार हेर्न नहुने कुसंस्कार छ त्यहीँ समाजमा ठूलो हलचल नै ल्याएको थियो । एकातिर समाजमा विस्तारै परिवर्तनका किरणहरू देखिएका छन् भने अर्कोतिर, विशेषगरी कर्नाली तथा सुदूरपश्चिमका विकट जिल्लामा अझैसम्म छाउगोठमा ‘छुँइ बाड्ने कुप्रथा’ विद्यमान रहेको छ ।

छाउपडि प्रथा वा छुँइ प्रथा (महिनावारी विभेद) नेपाली समाजको हरेक घरघरकाे समस्या हो । प्रत्येक हिन्दु धर्मावलम्बी महिला तथा युवतीले प्रत्येक महिना, (रजस्वला) महिनावारिको समयमा विभिन्न प्रकारका विभेदको सामना गर्दै आइरहेका छन् । विभेदको  प्रकृति, ‘छाउ बाड्ने’ तरिका भने भूगोल, समाज अनुसार फरकफरक भएको देखिन्छ । छाउ भएको समयमा महिलाका निम्ति कतै खुकुलो छ भने कहीँ ज्यादै कष्टकर कुसंस्कारको पालना गर्नुपर्छ । सहर बजारका शिक्षित महिलाहरू छाउ अर्थात् रजस्वला भएको समयमा घरको पूजाकोठा र भान्सा छुनबाट वञ्चित हुन्छन् भने अन्य काम सहज रूपमा गर्छन् । भलै बाहिरी आवरण हेर्दा विभेद देखिँदै । जब घरको पूजा, भान्सा वा अन्य धार्मिक कार्यक्रममा छाउ भएकी महिलालाई त्यहाँबाट पर अर्थात् टाढा बस्नुपर्ने परिपाटी छ । नेपालको पूर्वी भेगतिर छाउ बार्ने चलन सुदूरपश्चिम र कर्णाली प्रदेशको तुलनामा केही हदसम्म खुकुलो देखिन्छ । घरबाट टाढा छुट्टै छाउ गोठमा  बस्नुपर्ने बाध्यता पूर्वतिर छैन । निरन्तर पाँच दिन नुहाउनु पर्ने बाध्यकारी नियम पूर्वतिर देखिँदैन । देवी देवताको पूजाआजा, धार्मिक कार्य, मठमन्दिरकाे दर्शन  तथा घरको चुलाेचाैकाबाट टाढा रहनुपर्ने चलन भने छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशमा छाउपडी प्रथाको अवस्था एकदम डरलाग्दो र विकराल छ । छाउ (रजस्वला) भइसकेपछि उक्त महिलालाई घरको गाई गोठ वा घरबाट पर सानो झुपडी, छाउ गोठमा बस्नुपर्ने  कुचलन छ । छाउ भएकी महिलालाई कसैले छुन मिल्दैन, छोएको खण्डमा गौदान, स्नाहान तथा दान दिनुपर्छ । अझैसम्म जुम्ला, कालिकोट, बाजुरा, अछामलगायत अन्य जिल्लामा छोरी छाउ भए सात दिन, बुहारी छाउ भए पाँच दिन घरबाट छाउ गोठमा बस्नुपर्ने कुचलन छ  । उक्त अवधिभर छाउ हुने महिलाले अनिवार्य साजि लगाउने अर्थात् लुगा धुने र नुहाउने चलन छ । छाउ अवधिभर दुग्धजन्य पदार्थ छाउ महिलालाई पिउन दिँदैनन् । बाेट बिरुवा छुन प्रतिबन्ध हुन्छ । दुग्धजन्य पदार्थ छाउ महिलाले पिए गाई भैँसी थाक्ने र ससाना बाेट बिरुवा छोए कुहिन्छ भन्ने अन्धविश्वास रहेको छ ।

छाउ बाड्ने  कुप्रथाले बर्सेनि युवती तथा महिलाले ज्यान गुमाएका धेरै घटना मिडियामा आउने गरेका छन् । छाउ गोठमा अक्सिजनको कमीले, सर्पको टोकाइले र अनियन्त्रित रक्तश्रवणले ज्यान गुमाएका धेरै महिला छन् । यस्तो विकराल अवस्थालाई टेवा पुर्‍याउने एकमात्र तत्त्व भनेको देवता, उसको सेवक धामी र उसले पैदा गरेको डरत्रास हो । कर्नाली तथा सुदूरपश्चिम प्रदेशमा मस्टो तथा अन्य तेत्तीस कोटिलाई मान्ने चलन रहेको छ । सबै देवी देवता तथा उनीहरूका सेवक धामीहरूको एकमात्र सार भनेको छुँइ या छाउ अपवित्र मान्नु हो । छाउलाई नियन्त्रणमा राखिएन भने अनिष्ट हुन्छ भन्ने धामीहरूको भनाइ हुन्छ । ‘छाउ नबाडे’ ठुलो पाप लाग्ने, जनधनको क्षति हुने छाउ भएकी महिलालाई घरबाट छाउ गोठमा नराखे उक्त  घरको भलो कहिल्यै नहुने, घरकाे कुल देवता सदैव उनीहरूसँग रुष्ट हुने अन्धविश्वास धामीले फैल्याएका हुन्छन् । यीनै डरत्रासका कारण छाउबाट सकेसम्म मानिसहरू पन्छिन चाहन्छन् ।

Photo: Time Magzine

कर्नाली प्रदेश र सुदूरपश्चिम प्रदेशका अधिकांश जिल्लामा धामीझाँक्रीप्रति मानिसको विश्वास धेरै देखिन्छ । अझ भनौँ धामीलाई पहिलो र अन्तिम विकल्पका रूपमा मान्ने जमात बाक्लो छ । बिरामी भए, चोरी भए, दोषी पत्ता लगाउनु परे, देवी देवतालाई खुसी पार्नुपरे या कुनै गल्तीको क्षमा याचना माग्नुपर्ने अवस्थामा धामीलाई डाकिन्छ । धामीकै माध्यमबाट मानिसहरू समस्याको हल गर्न रुचाउँछन् । आफ्ना पीडा मर्काको समाधानका उपाय खोज्छन् । यदि कोही वृद्धा, अधबैँसे बिरामी परेर धामीलाई देखाए भने धामीको पहिलो प्रश्न ‘ए तैँले छुई छाइ बाडिनस् , छुँइकाे हातकाे खाइस्’, भनेको बिरामी हुने मानिसले छाउलाई सहज रूपमा घरमा राख्याे, उसले छोएको खाना खायो  भन्नू हो । भलै उक्त बिरामीले त्यसो गरेको हुँदैन तर अधिकांश धामीको भनाइ यस्तो हुन्छ । उनीहरूको निसाना छाउ प्रथा हुन्छ । धामीको नजरमा छुई नबाडेरै (नबारेरै) यो अवस्था भएको हो भन्छन् । यदि यस्तै छाउ नबाडे अनिष्ट हुने तर्क प्राय धामीको हुन्छ । भलै बिरामीलाई अन्य कारणले थला पारेको हुन्छ तर धामीको पहिलो आछेप छाउनै हुन्छ । धामीहरू छाउलाई केन्द्रमा राखेर फुकफाक गर्छन् र बिरामी हुनुको प्रमुख कारण छाउलाई छोइएको वा छाउलाई सामान्यरूपमा लिनुलाई मान्छन् । प्रत्येक धामीको एकल प्रस्ताव भनेको  छाउबाट टाढा बस्न चेतावनी दिन्छन् । यदि बिरामीले छाउबाट टाढा नभए ठुलो दुर्घटना हुने भविष्यवाणी समेत  गर्न पछि पर्दैनन् ।

Photo: Time Magzine

छाउपडी प्रथालाई सबैभन्दा बढी पालना गर्नुपर्छ भनेर डर फैलाउने यी धामी हुन् । अनेक भय डरत्रास फैल्याएर सम्पूर्ण समुदायलाई नियन्त्रणमा राखेर कुसंस्कारलाई टेवा पुर्‍याउनेमा धामीको भूमिका अहम्  देखिन्छ । धामीको पहिलो काम भनेकै छाउ प्रथालाई सकेसम्म कडा निगरानीमा राख्ने हुन्छ । छाउ महिलालाई अछुतको व्यवहार गर्नपर्ने तमाम धामीहरू तर्क राख्छन् । धामीको नजरमा छाउ हुनु भनेको अपवित्र हुनु हो । अछुत हुनु हो, यसकारण छाउ महिलालाई छाउ अवधिभर घरबाट टाढा राख्नुपर्ने कुतर्क कथित धामीहरू राख्छन् ।

के वास्तविकता कथित धामीले भनेको जस्तै हो त ?
निश्चितरूपमा होइन, धामीका यस्ता गलत, भ्रामक र तथ्यहीन तर्कबाट नै मानिसमा भय फैलिएको हो । अशिक्षाको जालोमा बसेको समाजलाई ढोँगीको अफवाहले थप मानिसमा त्रास थपिएको छ । फलतः छाउप्रति कर्णाली र सुदूरपश्चिम प्रदेशका मानिसको मानसिकतामा रुढीवादी कुसंस्कार, कुविचार थपिदिएको छ ।

कर्नाली भेगका धामीहरूको मुलमन्त्र आफू र अन्य मानिसलाई छाउ महिलाबाट कसरी धार्मिक र सामाजिक कार्यमा प्रतिबन्ध लगाउनेमा हुन्छ । यस्तो परिपाटीमा धामीलाई कानुनको दायराभित्र ल्याउन अत्यावश्यक हुन्छ । धामी पनि यहीँ समाजका प्रतिनिधि पात्र हुन्, सुरुवाती चरणमा चेतावनीस्वरुप धामीहरूलाई सामाजिक तथा कानुनी परामर्श दिनुपर्छ । जसले गर्दा धामी आफैँ सचेत हुन्छन् नै साथसाथै समुदायलाई रुढीवादी, कुरीतिप्रति सजग हुन मद्दत मिल्छ पनि । जब मानिसको आस्थामा चेतना आउँछ निश्चितरूपमा उसलाई पछ्याउनेमा स्वतः सचेतना देखिन्छ । यदि यसो गर्दासमेत धामी अटेरी गर्छन् भने सरासर ऐन बनाएर कानुनी कठघरामा उभ्याउनु पर्छ । अनि मात्र छाउप्रति मानिसको बुझाइमा परिवर्तन आउन सक्छ ।

छाउ बार्नु भनेको कुसंस्कारलाई निरन्तरता दिनु हो । चेलीबेटी, आमा दिदीबहिनीमाथि चरम विभेद हो, दमन हो र सामाजिक धार्मिक र सांस्कृतिक यातना हो । छाउ  बारेर न भगवान् खुसी हुन्छन्, न छाउ भएकी महिला । यो त सरासर रुढीवादी, पितृसत्तात्मक पुरातनवादी सोच हो । यस्तै पुरातनवादी सोचलाई निरन्तरता दिँदा आज कर्णाली र सुदूरपश्चिमका छाउ गोठमा कयौँ  महिलाको मृत्यु भएको छ । यी रुढीवादी मानसिकताले कयौँ सानासाना नानीहरू टुहुरा भएका छन् । छाउ गोठहरू चिहान भएका छन् । यसको जिम्मेवारी कसले लिने ? निश्चयै हामी सबैले त्यस्ता घटनाको जिम्मेवारी लिनुपर्छ । हाम्रै विभेदकारी मानसिकताको कारणले यी घटना घटेका छन् । अब चेतनशील न भए कहिले हुने?

छाउपडी प्रथाको विषयमा आम जनसमुदायको छाउ मानसिकतामा परिवर्तन ल्याउन आवश्यक छ । रजस्वलालाई प्रत्येक परिवारले सहज रूपमा स्विकार्नु पर्छ । हरेक स्वास्थ्य महिलाको मासिक तालिकाभित्र पर्ने  रजस्वला न कुनै रोग हो न कुनै पाप,  यो विशुद्ध प्राकृतिक प्रक्रिया हो । हाम्रा आमा, दिदीबहिनीहरू सबै छाउ हुन्छन् । यो नियमित प्रक्रियालाई आम जनसमुदायले सकारात्मक तवरले स्विकार्ने परिपाटी बसाल्नु पर्छ ताकि हाम्रा आमा दिदीबहिनीको अकालमा मृत्यु नहोस् । हाम्रा दिदीबहिनी, आमाले धार्मिक सामाजिक र सांस्कृतिक स्वतन्त्रताको आभास गर्न सकुन् । अर्को महत्त्वपूर्ण तथ्य के छ भने  रजस्वला रोकिएपछि महिलामा गर्भ बस्छ र नवजात शिशुले  धर्तीमा पाइला टेक्ने अवसर प्राप्त गर्दछ । यस्तो पवित्र प्राकृतिक प्रक्रियालाई हेर्न नजरमा र गर्ने व्यवहारमा परिवर्तन ल्याउन सबै महिला पुरुष एकसाथ लाग्नुपर्छ । हिन्दु धार्मिक ग्रन्थमा रजस्वला सम्बन्धी भएका नकारात्मक टिप्पणीलाई  पुनर्लेखन गर्नुपर्छ । के सहर के गाउँ समाजको हरेक कुनाबाट यो कुप्रथालाई निर्मूल पार्नुपर्छ । अनि मात्र सभ्य समाजको कल्पना गर्न सकिन्छ । रजस्वलालाई गोठमा होइन पूजा कोठा, बैठक कोठामा, यज्ञ हवनमा स्थान दिनुपर्छ । कथित चलनलाई चिर्दै , विद्रोह गर्दै सामाजिक क्रान्तिको थालनी गर्नुपर्छ ।

सम्बन्धित समाचार