शुक्रबार , मंग्सिर २३, २०७९

शहिद छेज्यु: एक स्मरण

थप विद्रोह गर्ने मनसायले तुलबहादुर तामाङ र छेज्यु तामाङ सम्झौतामा नआई भारततर्फ भागे । पछि प्रजातान्त्रिक सरकारलाई अपदस्त गरियो ।

image

नेपालको इतिहास रक्तरञ्जित छ । कैयौँ होनहार क्रन्तिकारीहरुले आफ्नो प्राण उत्सर्ग गरिसकेका छन् । प्रगति, उन्नति र मुक्तिका लागि अनेकौँ आन्दोलनहरू भए । ती आन्दोलनहरूमा नेपाललाई माया गर्ने विभिन्न जातजातिको योद्धाहरूको सहभागिता उल्लेख्य रह्यो । २००७ को जनक्रान्ति दौरान १० जना, प्रजातन्त्र पुन:स्थापनाको क्रममा ३३ जना, जनआन्दोलन २ मा १ जना र जनयुद्धका क्रममा ९१९ गरी ९६३ जना तामाङ सपूतहरूले प्राणको उत्सर्ग गरेका छन् । बेपत्ता, अपाङ्ग र पीडितको विवरण डरलाग्दो छ । यी धेरै शहीदहरू मध्येबाट यसपटक राजा महेन्द्रले २०१७ पौष १ गते प्रजातन्त्रको अपहरण गरेपछि गरिएको आन्दोलनको क्रममा साहदत प्राप्त गरेका शहीद छेज्यु तामाङको बारेमा यस आलेखमा समेट्ने प्रयास गरिएको छ ।

छेज्यु तामाङको जन्म हालको धादिङ जिल्ला खनियाबास गाउँपालिका वडा नं ५ (साबिक सत्यदेवी गाविस वडा नं ६ ) मा पिता जितराम वाइबा तामाङ र माता मेनडोल्मो तामाङको कोखबाट जेठो सुपुत्रको रूपमा सन् १९१७ जुन २९ तारिखका दिन गोम्बोङ गाउँमा भएको थियो । हरेक जसो घरका मानिसहरू साहुहरूको घरमा बाधा बस्न विवश थिए । यसले छेज्युको मन कुँडियो । विवशतामा बाँच्न सकिएन । साहुका ऋण तिर्न र पारिवारिक मुक्तिको उद्देश्य बोकेर एक नवयुवाको रूपमा भारत गए । त्यहाँ आठौँ गोरखा राइफलमा प्रवेश गरे । पल्टनमा पसेर ब्रिटिसहरूको लागि दोस्रो विश्वयुद्ध लडिदिए । युद्धमा उनले देखाएका बहादुरीका कारण कैयौँ तक्माहरू पाए । आफ्नो देश, जनता, परिवार र आफन्तहरू सामन्ती व्यवस्था र स्थानीय साहुहरूले पिरोलिरहेको थियो । तर आफू अर्कै देशको रक्षार्थ बन्दुक बोकिरहेको अवस्था उनलाई चित्त बुझेन । यही असन्तुष्टीले गर्दा उनले लाहुरे जीवन छाडिदिए र आफ्नो मातृभूमि जन्मभूमि नेपालको गोम्पोङगाउँमा फर्के ।

सन् १९५५ ताका नै वि.पि. कोइरालाले नेतृत्व गरेको नेपालमा आधारित प्रजातान्त्रिक समाजवादी व्यवस्थाका ‘जसको जोत, उसको पोत’, श्रमिकको अधिकार स्थापना, बिर्ता उन्मुलन र राजारजौटा उन्मुलन लगायतका नारा, नीति तथा कार्यक्रमले उनलाई आकर्षित तुल्याएका थिए । देशमा प्रजातान्त्रिक शासन सुरु भएता पनि सत्यदेवी र आसपासका गाउँहरूमा ‘तमसुक आतङ्क’ जीवित थियो । पछि उनले काजीमान तामाङ, दामन पाख्रिन, तुलबहादुर तामाङ र सेक्के तामाङहरूसँग मिलेर सन् १९६० मा खनियावास विद्रोह गरे । काजीमान तामाङ, दामन पाख्रिन, सेक्के तामाङ जेलमा परेँ । अन्य कैयौँ उत्तरी धादिङका तामाङहरूले जरिवाना तिर्नु पर्‍यो । त्यसबेला रु १,७०० जरिवाना जुटाउन एकदमै गाह्रो भएको आन्दोलनमा सहभागी एक पेमा तामाङका छोरा चिज तामाङको अनुभव छ ।

त्यहाँ पुनः सम्झौता गर्ने र आफूहरू नै दोषी भएको प्रमाणित गर्न खोज्ने राज्यको नीति र त्यसलाई सहस्र स्वीकार गर्ने सहकर्मीहरूको व्यवहार ठीक लागेन । उनी खनियावास विद्रोहपश्चात् भूमिगत भए । थप विद्रोह गर्ने मनसायले तुलबहादुर तामाङ र छेज्यु तामाङ सम्झौतामा नआई भारततर्फ भागे । पछि प्रजातान्त्रिक सरकारलाई अपदस्त गरियो । भारतमा जगत् प्रकाश जङ्ग शाहसँग निकट सम्बन्ध राखी एकतान्त्रिक निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य गर्न नेपाली काङ्ग्रेसले आह्वान गरेको सशस्त्र सङ्घर्षमा सामेल हुन पुगे । उनले खासगरी भारतबाट हातहतियार ल्याउने र दुर्गम गाउँ तथा जिल्लामा पुर्‍याउने काम गर्न थाले । उनले हातहतियारलाई शहीद सिङ्गमान तामाङको सहयोगमा नुवाकोटको चेक्मा भन्ने ठाउँमा लुकाएर राख्ने गर्दथे । जब उनलाई नुवाकोट प्रशासनले खोजी गरिरहेको चाल पाए, तब धादिङ सत्यदेवीको ओडारमा लुकि बसे । उनलाई अराष्ट्रिय तत्त्व घोषणा गरी देख्नसाथ गोली ठोक्ने आदेश लिएर सन् १९६१ मा शाही सेनाले उनको घर खानतलासी लिए । पछि उनको परिवारले केही आर्थिक बन्दोबस्तीको आधारमा नरकटियागञ्जमा बखानसिंह गुरुङले नेतृत्व गरेको नेपाली काङ्ग्रेसको आधार शिविरमा पुगे । त्यसपछि कलकत्ता पुगे ।

कलकत्तामा उनले आफ्ना १८ जना साथीहरूको नेतृत्व गरी ठोरीमा शाही सेनासँग लड्दै र पुलिस चौकीमा अधिकार जमाउँदै चितवन पुगे । चितवन आक्रमणका योजनाकार योगप्रसाद उपाध्याय थिए । उनका योजना मुताबिक वि. स. २०१८ माघ २४ गते देखि आक्रमण थालनी गरेर माघ २६ गते चितवनमाथि मुक्तिसेनाको कब्जा जमायो । तर माघ २८ पछि फेरि षड्यन्त्रपूर्वक चितवनमा शाही सेनाले कब्जामा लियो । त्यसपछि कमान्डर जगत् प्रकाश जङ्ग लगायतका पाँच जना लाई बाँधेर टिकौलीको जङ्गलमा लगेर मारियो । यही क्रममा छेज्यु भागेर पर्सातर्फ लागे । त्यता पनि अनेक आक्रमणमा सहभागी हुँदै भाग्दै गर्दा पर्साको रानीगञ्जमा शाही सेनाको टोलीले भेट्टाई त्यही मारिदिए ।

यसरी नेपाली जनताको मुक्ति र स्वतन्त्रताका खातिर आफ्नो प्राणको बलिदान दिएका छेज्यु तामाङको शाहदत सन् १९६२ जुन २९ तारिखमा भयो । प्रजातन्त्र, समानता र स्वतन्त्रताको लडाइँमा अपूरणीय क्षति बेहोर्नु परेको छ । नेपाली काङ्ग्रेस, चितवन जिल्ला कार्य समितिले वि.स. २०४७ जेठ १ गते अभिनन्दन पत्र प्रदान गरेका छन् । अहिले आएर यस्ता वीर अमर शहीदहरूको कुर्वानी ख्याल गर्न नसकिरहेको देखिन्छ । उनको स्वार्थ त्याग, बलिदानलाई सम्झनु आवश्यक छ र सम्मानको खातिर थप अध्ययन र अनुसन्धान गर्नु आवश्यक छ । वि.सं २०७९ असोज १६ गते ती बहादुर शहीद छेज्युको स्मृतिमा १० किलोमिटरको खुल्ला दौड प्रतियोगिता आयोजना गर्नुलाई पनि असल कार्य मान्न सकिन्छ ।

शहीद छेज्यु स्मृति प्रतिष्ठानको गठन गरी संस्थागत रूपमा लाग्न सके बढी व्यवस्थित हुन्छ । उनको स्मृतिमा खोजमूलक स्मारिका प्रकाशन गर्न सके धेरै जानकारीहरू बाहिर सार्वजनिक हुन्थे, धेरै धन्य हुने थियो ।

Tags:

सम्बन्धित समाचार