सन्तुष्टि पोथ्रा हो, छोटो नै हुन्छ । हुर्कन र ओइलाउन् समय लाग्दैन । म सोही सन्तुष्ट गन्धे झार हुँ । र, ऊ नओइलाउने फेड प्लान्ट । र, 'ऊ' चाहिँ? खैर, मलाई उसको ठ्याक्कै परिचय थाहा छैन ।
ऊ ढोकासम्म छोड्न आउँछे । पहिले आउँदिन थिई । ‘ऊ’ पनि आजभोलि ढोका बाहिरसम्म आउने गर्छ ।
प्रथमतः : म ढोकादेखि निस्किन्छु । त्यसपछि ऊ निस्किन्छे । र, हामी पछिपछि ‘ऊ’ पनि निस्किन्छ । त्यसपछि म गल्लीतर्फ लम्कन्छु । साँघुरा गल्लीहरूमा हिँडिरहँदा मलाई फराकिलो आकाशले गिज्याइरहन्छ । गिल्ला गरोस्, कसको के जान्छ ? मलाई फरक पर्दैन । कमसेकम ढोकादेखि निस्किरहेका छौँ, मलाई यसै कुरामा आत्मगौरव जस्तो केही छ ।
सन्तुष्टि पोथ्रा हो, छोटो नै हुन्छ । हुर्कन र ओइलाउन् समय लाग्दैन । म सोही सन्तुष्ट गन्धे झार हुँ ।
र, ऊ नओइलाउने फेड प्लान्ट ।
र, ‘ऊ’ चाहिँ? खैर, मलाई उसको ठ्याक्कै परिचय थाहा छैन ।
मलाई एउटा कुरा मात्रै छ, धेरै भइसक्यो हामी तीनै जना एकैसाथ ढोकादेखि निस्किएको । ढोकादेखि निस्कनु भनेको ढोकाभित्र अलिकति आफूलाई छाड्नु हो । ढोकाभित्र अलिकति आफूलाई बन्द गर्नु हो । मानव स्वभावतः आफूलाई सम्पूर्णत: बाहिर निकाल्न सक्दैन । मानव सम्पूर्णत: पस्नु जान्दछ तर सम्पूर्णत: निस्कन जान्दैन । यसैले हामी तीन पनि ढोकाभित्र पसेका थियौँ । र निस्किरहेका थियौँ । तर, यो धेरै अघिको कुरा हो ।
धेरै अघि एकदिन अकस्मात् मैले उसको ढोकामा ढकढक गरेको थिएँ । उसले ढोका खोलेकी होइन । अलिक दिनपछि मैले फेरी उसको ढोकामा दस्तक दिएको थिएँ । र, म पूर्णतः विश्वस्त थिए कि यसपटक पनि ढोका उघ्रने छैन । सोही भएन । ढोका उघ्रियो । म भित्र छिरेँ । उसले मलाई आफ्नो भान्छासम्म लिएर गई । म गइदिएँ । उसले मेरो लागि स्वागतार्थ चिया बनाई । मेरो जिब्रोले स्वागत रुचायो । उसले त्यसपछि पनि चिया बनाइरही, मेरो जिब्रोले त्यो स्वाद रुचाइरह्यो ।
अलिपछि एकदिन उसले ओरियो बिस्कुट टक्र्याई । मेरो दाँतहरूले निकैबेरसम्म ओरियो बिस्कुट गिजामा राखिरहे । उसले चाहिँ आफ्ना लाम्चा-लाम्चा औँलाहरूले सोहोरेर गिँजाबीचको बिस्कुट निकाली । अनि चियासम्म घुटुक्क निली । उसको घाँटीको त्यो रुपाकार म आजभोलि पनि खोजिरहेको छु । तर आजभोलि उसमा म त्यो भेट्दिनँ । सायद ऊ त्यो लुकाइरहिछे, जो म खोजिरहेछु । या म त्यो भेटिरहेछु, जो म खोजिरहेछु । जे होस्, आजभोलि ऊ मलाई चिया पिलाउँदिन । म उसबाट चिया खोजिरहेको हुँ ? या ओरियो बिस्कुट ? या चिया पिउन्जेलको एक टुक्रो समय ? खै कुन्नि ? मलाई ठ्याक्कै थाहा छैन ।
उसो त आजभोलि म के खोजिरहेको छु, मलाई पत्तो छैन । उसलाई चाहिँ पत्तो हुँदो हो कि ? र, ‘उसलाई’ पनि । स्वयम् म आफूलाई सोधिरहेको हुन्छु, ‘म कहिलेसम्म चिया बनाइरहूँ ?’ मलाई आफूले बनाएको चिया निको लाग्दैन भन्ने उसलाई थाहा छ । तर, ऊ थाहा नपाएजस्तो गर्छे । बरू ‘ऊ’ चाहिँ यो सब रमिता चुपचाप नियालिरहन्छ । ‘ऊ’ आजभोलि खुबै ओरियो बिस्कुट खाइरहेको हुन्छ ।
शहरमा आजभोलि कुरा चल्छ, चियाको लत त्याग्नुपर्छ । यसका लागि हड्ताल गरौँ, अनशन गरौँ । तर, हड्तालकर्ताहरूको मुख्य खुराक नै चिया भएकाले सो सम्भव हुन् सकिरहेको छैन । चिया सुरुवाती स्वागत हो । प्रथमतः चिया दिनेले आफ्नै स्वादको चिया पस्केर दिन्छ । त्यसपछि विस्तारै विस्तारै चिया पिउने स्वादअनुसारको चिया पस्कन थाल्दछ । सम्बन्धको नजिक्याइले चियाको स्वादमा फेरबदल ल्याउँछ । जस्तो मलाई पहिलेपहिले चिनी ज्यादा भएको चिया मनपर्थ्यो । तर ऊ चिनी कम राखेर चिया बनाउँथी । उसलाई मैले मलाई ‘चिनी कम राख्देऊ’ भनिनँ । यसैले उसले चिनी धेरै राखेर नै मलाई चिया टक्र्याइरही ।
यो लामै समय चलिरह्यो । मैले कहिल्यै पनि किचकिच गरिनँ । सोचेँ, “चिनी कम खानु बानी न हो, अब चिनी बढी खाने बानी बस्छ । यसमा थप गनगन गरेर ऊमाथि हैकमवादी चरित्र किन लाद्नु ?’ मलाई लागेको थियो, ‘मलाई चिनी कम राख्देऊ’ भनेकै दिनदेखि मैले उसमाथि प्रश्न गरेको ठहरिन्छ । उसको चिनी बढी राखेर खाने बानीमाथि संशय गरेको प्रमाणित हुन्छ । मलाई त्यो गर्नु नै थिएन । भन्नैपर्दा, आगामी तीन/चार महिनाभित्र नै म गुलियो चियाको पारखी भइसकेको थिएँ ।
त्यो दिन अकस्मात् म खङ्ग्रङ्ङ भएको थिएँ, जब उसले मेरो ढोकामा दस्तक दिँदै भनेकी थिई, ‘मलाई चिनी कम राखेर चिया बनाँ ल ।’ मैले थप प्रश्न गरिनँ । उसले भनेबमोजिम नै चिनी कम राखेर चिया बनाइदिएँ । मैले बनाएको चियाको पहिलो घुट्को पिइसकेर उसले भनी, ‘तँलाई थाहा छ, मलाई चिया नै मनपर्दैन नि ।’ म दोस्रोपटक पुनः खङ्ग्रङ्ङ भए ।
त्यति नै बेला ढोकामा पुनः दस्तक आयो । मैले गएर आफ्नो घरको ढोका खोलेँ । ‘ऊ’ थियो । ‘ऊ’ हाँस्दै भित्र छिर्यो र भन्यो, ‘मलाई गुलियो चिया मनपर्छ । अलिकता चिनी थप ल ।’
म ‘ऊ’ भित्र छिर्दा उदाङ्गो रहेको ढोकालाई नियालिरहेँ, जहाँ फराकिलो आकाश उसैगरी विराजमान थियो । जो बरोबर मेरो गिल्ला गरिरहेको थियो ।