मंगलबार , कार्तिक ११, २०८३

‘चुरोट स्वास्थ्यको लागि हानिकारक छ’ भनिरहेका नेपालका पुराना चुरोटहरू

image

नेपालमा सुरु सुरुमा तम्बाकुको प्रचलन बढी भए पनि विस्तारै भारतीय चुरोटहरूले पुरै बजार ओगटेको थियो । चुरोटको अम्मलीहरू पनि बढ्न थालेको थियो । भारतीय चुरोटले बजार ओगटे पछि नेपालमा नै चुरोट फैक्ट्री राख्ने जमर्को गरियो । सोभियत सङ्घ र नेपालको दौत्य सम्बन्ध भएको उपलक्षमा सोभियत सङ्घ ले नेपालमा नेपालको आफ्नै निर्भरतामा चलाउन सकिने दुई उद्योग खोलिदिने वचन दिएको थियो । जसको लागि नेपालले चिनी कारखाना र चुरोट कारखानाको लागि अनुरोध गरेको थियो । जसको फलस्वरूप: विरगञ्ज चिनी कारखाना र जनकपुर चुरोट कारखाना स्थापनाको तयारी भएको थियो । दुवै उद्योग २०२१ सालमा तयारी भएर उत्पादन गर्न थालेको थियो ।
राजा महेन्द्रले २०२१ पौष २९ मा उद्घाटन गरेको यो चुरोट उद्योगले वार्षिक २ अरब ३६ करोड खिल्ली चुरोट उत्पादन गर्दथ्यो । सुरुमा गरुड, चुचुरा, सिंह, ज्वाला, जानकी नामका चुरोट उत्पादन हुन्थ्यो । पछि कोसेली, मुनाल, दोभान, कस्तुरी, हिमचुली, आशा उत्पादन भए । पछिल्लो चरणमा देउराली, उपहार, गैँडा, याक, सयपत्री तथा लालीगुराँसहरू पनि उत्पादन गरेको थियो ।
२०४३ सालमा निजी स्तरमा सूर्य टोबाको कम्पनी खुल्यो । निजी कम्पनीको तीव्र व्यापारिकरणमा व्यापार ओगट्नु मात्र उद्देश्य रहेन । जनकपुर चुरोट कारखानाको उत्पादनलाई प्रभाव पार्नु पनि रह्यो । जसले गर्दा विस्तारै यस उद्योगका प्रब न्धक तथा उच्च पदस्थ कर्मचारीको अकर्मण्यता बाहिर आउन थाल्यो । २०४७ सालपछि देशमा राजनैतिक पार्टीको हालीमुहाली हुन थाले पछि यस कम्पनीको प्रमुखमा राजनैतिक नियुक्ति हुन थाल्यो । विस्तारै राजनैतिक नियुक्तिको लागि पार्टीका ठुलाठालुलाई चढावा चढाउँदै नियुक्ति लिने होड चल्यो । जसले गर्दा उद्योगको उत्पादन र बजारको महत्त्व भन्दा आफ्नो निजी स्वार्थ प्रमुख रहन थाल्यो । यसरी कारखाना घाटामा गएको बहानामा सरकारले यो सहित २३ सरकारी उद्योगलाई सरकारीकरण गर्ने बहानामा विस्तारै बन्द गर्न थाल्यो ।
यहाँ रहेको प्रिन्टिङ प्रेस तथा जेनरेटर निकै उच्च स्तरको भए पनि सो पनि बिस्तारै कवाडी बन्दै गयो । देशकै मेरुदण्डको रूपमा रहेको एउटा उद्योग धराशायी भयो ।
तस्बिरमा यसका केही उत्पादनहरू साथमा नेपाल टोबाको कम्पनीको केही उत्पादन पनि रहेका छन्, हेरौँ तस्बिरहरू,

सम्बन्धित समाचार