आजबाट प्रसारणमा आउने भनिएको हास्यव्यङ्ग्य कार्यक्रम ‘कमेडी हब’को प्रसारण रोकिएको छ
काठमाडौं । आजबाट प्रसारणमा आउने भनिएको हास्यव्यङ्ग्य कार्यक्रम ‘कमेडी हब’को प्रसारण रोकिएको छ । कलाकार केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’को निर्देशन रहेको कार्यक्रम प्राविधिक तयारी नपुगेका कारण रोकिएको बताइएको छ ।
कार्यक्रम जेठ १८ गतेबाट मात्र प्रसारणमा आउने निर्देशक घिमिरेले बताएका छन् । यो कुराको जानकारी उनले सामाजिक सञ्जालमार्फत दिएका हुन् । उनले लेखेका छन् ” आजदेखि प्रसारण हुने भनिएको ” कमेडी हब” १८ गते मात्र प्रसारण हुने जानकारी गराउनु पर्दा दुःख लागेको छ। १८ गते राति ८ बजे एपी वन टिभी ।” गत सोमबार एक कार्यक्रमका बिच कार्यक्रम जेठ ११ गतेदेखि प्रसारणमा आउने बताइएको थियो ।
कलाकार राजा राजेन्द्र पोखरेलको परिकल्पना रहेको कार्यक्रममा माग्ने बुढा, राजा राजेन्द्र पोखरेल, सुबोध गौतम, हिमेश पन्त आदि कलाकारहरूको प्रस्तुति रहनेछ । कार्यक्रम जेठ १८ गते बुधवार राति ८ बजेबाट प्रसारणमा आउनेछ ।