काग तिहारको दिन कागको पूजाआजा नगरेमा 'पापको भागी भइन्छ र मृत्युपछि नर्कमा पुगिन्छ' भन्ने धार्मिक विश्वास रहेकाले पनि कागलाई घरआँगनमा बोलाई घरमा बनेका खाद्यान्न परिकार खान दिइने गरिन्छ ।
हिन्दू धर्मावलम्बीहरुको महान पर्व बडादशैं सकिएको लगभग दुई सातापछि नै आउने तिहारको पहिलो दिनमा यमराजको दूत कागको पूजा गरिने गरिन्छ । उक्त दिनमा यमराजको सन्देश वाहकको रुपमा कागलाई सम्मानको साथ पूजाआजा गरेर खानेकुरा दिइने चलन छ ।
हाम्रो नेपाली समाजमा कागलाई सन्देश वाहक प्राणीको रुपमा लिइन्छ । अझै पनि गाँउघरमा आफ्नो घर अगाडि आएर काग करायो भने केही सन्देश ल्याएको वा घरमा पाहुना आउने जानकारीको दिएको मानिन्छ ।
काग तिहारको दिन कागको पूजाआजा नगरेमा ‘पापको भागी भइन्छ र मृत्युपछि नर्कमा पुगिन्छ’ भन्ने धार्मिक विश्वास रहेकाले पनि कागलाई घरआँगनमा बोलाई घरमा बनेका खाद्यान्न परिकार खान दिइने गरिन्छ ।
किम्बदन्ती:
कागोऽसि यमदूतोऽसि वायोसोऽसि माहामते ।
ईहं बलिं गृहाण त्वां त्रायस्व यमसङ्कटात् ।।
धर्मशास्त्रहरूका अनुसार यमराजले पृथ्वीलोकमा भएका मानिस लगायत सम्पूर्ण जिवित प्राणीको जन्म मृत्युको विवरण राख्ने गर्दछन् । त्यस्तो विवरण ल्याउने र लैजाने काम भने कागले गर्ने मान्यता रहेको छ । आकाश मार्गबाट छिटो सन्देश ल्याउने लाने भएकाले यमराजले कागलाई आफ्नो दूत नियुक्त गरेको जनश्रुति अहिले पनि रहेको छ । तर काग तिहारमा भने यी सबै नकारात्मक मान्यताहरुलाई बिर्सिएर कागको पूजा गरिन्छ ।
रामायणको उत्तरकाण्डका अनुसार, एकपटक बृहस्पतिका भाइ सम्वर्तले राजा मरुतका लागि महेश्वर यज्ञ गर्न लागे । बृहस्पति देवताका गुरु भएकाले उक्त यज्ञमा सबै देवगणको उपस्थिति थियो । त्यही वेला रावण यज्ञभूमिमा प्रवेश गरे । ब्रह्माको आशीर्वादले तीनवटै लोक विजय गर्न हिँडेका रावणले मरुतलाई युद्धका लागि लल्कारे । रावणका अगाडि आफ्नो हार सुनिश्चित देखेका देवताहरू आतंकित भएर विभिन्न पशुपक्षीको रूप धारण गर्न तिर लागे ।
यही क्रममा इन्द्रले मयूरको रूप धारण गरे भने यमराजले कागको रूप धारण गरे । अन्य देवता यसैगरी कुनै न कुनै जनावर बने । रावणले यज्ञमा विनाशलीला मच्चाए । विभिन्न पशुपक्षीको रूप धारण गरेका देवता जोगिए । आफूलाई जोगाउन आफूले जुन पशुपक्षीको स्वरूप धारण गरेका थिए, देवताले तिनैलाई आशीर्वाद दिए ।
काग बनेका यमराजले कागलाई नै आशीर्वाद दिँदै भने, ‘हे पक्षी म तिमीसँग प्रसन्न भएँ । अरू पशुपक्षीका जस्तो प्रतिकूल नियति तिमीले भोग्नुपर्ने छैन । मान्छेले तिम्रो हत्या नगरेसम्म तिमीमाथि मेरो दृष्टि पर्ने छैन । मृत्युलोकमा अतृप्त भएर छटपटाएका पितृहरूलाई तिनका सन्तानले पृथ्वीलोकमा तिमीलाई खाना खुवाएपछि ती पितृहरू पनि तृप्त हुनेछन् ।’ यसरी काग पृथ्वीलोक र यमलोकलाई जोड्ने सेतु बन्यो ।
काठमाडौंको कागेश्वरी महादेव
यस्तै, काठमाडौंको कागेश्वरी महादेवमा सुनको काग देखाइन्छ । महादेवका ६४ लिंगमध्ये कागेश्वरी महादेव पनि एक भएकाले यसको दर्शन गर्दा मनोकामना पूर्ण हुने आस्थाका साथ यहाँ भक्तजनको भीड लाग्ने गर्दछ । कागको रूपमा रहेका कागेश्वर महादेवको स्नान गरी जल चढाई पूजाआजा गरेमा मनोकांक्षा पूरा हुने विश्वास छ ।
कागेश्वर महादेव उत्पत्तिका सम्बन्धमा पनि विभिन्न किम्बदन्ती छन् । प्राचीनकालको एक किम्बदन्ती अनुसार महादेव कैलाशबाट हराएपछि ब्रह्मा, विष्णु, इन्द्र र पार्वती महादेवलाई खोज्न विभिन्न स्थानमा गएका थिए । तर, कहि भेटाउन सकेनन् । पछि कागले सूचना दिएपछि महादेव यही स्थानमा भेटिएका थिए । कागको सूचनाका आधारमा महादेव फेला परेपछि यो स्थानलाई कागेश्वर महादेवका रुपमा स्थापित गरिएको स्थानीयको भनाइ छ । त्यसैले, भदौ शुक्ल अष्टमीका दिन मन्दिरपरिसरमा सुनको कागको प्रतिमूर्ति राखिने र त्यसको विधिवत तरिकाले पूजा गरिन्छ ।
काग र कोईलीको पनि अत्यन्त प्रसिद्ध कथा र चलन त हामी सबैले सुनिआएकै छौँ, कोईलीले आफ्नो अण्डा गएर कागको गुँडमा पार्ने अनि कागले त्यस अण्डा कोरलेर कोईलीको बच्चालाई आफ्नै सन्तान भनेर हुर्काउने गर्दछ । यस अर्थमा चर्कोस्वरमा नमिठो गरि कराउने कालो काग नै सुरिलो स्वर भएका हरेक कुहु कुहु गरेर वसन्तमा कराउने कोइलीको जिवनरक्षार्थक अभिभावक हो, काग र कोईलीको यो सहअस्तित्वले हामीलाई धेरै सकारात्मक कुराहरुको उदहारण दिएको छ ।
मृत्यूका देवता यम आफ्नी बहिनी यमुनासँग धेरै समयदेखि भेट्न पाएका थिएनन्, यमुनालाई आफ्नो दाजुसँग भेट्ने धेरै इच्छा भएर विभिन्न माध्यमहरुमार्फत दाजुलाई भेट्न आउन निम्तो पठाईन्, उनले यम समक्ष शुरुमा काग अनि कुकुर, गाई अनि अन्त्यमा आफैँ गएर दाजुलाई भेटेको प्रसगं छ । दाजुलाई भेटेपछी उनले दाजुलाई टीका, फूलमालाले पूजा गरि रङ्गीन टिका निधारमा लगाएकी थिइन । तोरीको तेलले दाजु वरिपरि रेखा कोरेर मखमली फूलको र दुबोको माला लगाइदिई पूजा गर्दै भाईटीका लगाएकी थिइन् । त्यही क्रमलाई यमपञ्चकको पाँचौ दिनमा भाईटीका लगाएपछि तिहारको विधीवत अन्त्य हुन्छ ।
कागसँग जोडिएका केही रोचक तथ्यहरू :
प्रकृतिको लागि पनि काग नभई नहुने पन्छी हो । यसले हाम्रो ‘इकोसिस्टम’मा पनि ठूलो योगदान पुर्याएको पाइन्छ । हामीले लगाएको बालीनालीलाई हानीनोक्सानी पुर्याउने किरा फट्याङ्ग्राहरूलाई नष्ट गरेर बाली जोगाउन मद्दत गरेको छ । त्यसैगरी, पर्यावरणलाई स्वच्छ राख्न पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको पाइन्छ ।
सन्दर्भसूचि :
१. काग हामीसँगै सहर पस्यो – विकास बस्नेत
२.यस्तो छ काग तिहारको धार्मिक तथा पौराणिक महत्व – लोकपथ
३.कागबारे १० रोचक तथ्य – निशान न्यूज
४.काग बारे रोचक कुरा – राजनीति