काठमाडौँं । जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार विज्ञप्ति जारी गरी आफ्नो चिनजान भएको स्थानमा मर्यादित एवं सभ्य तवरले रातको नौ बजेसम्म देउसीभैलो खेल्न अनुरोध गरेको छ ।
सुख, शान्ति, समृद्धि र आपसी सद्भावका साथ मनाइने तिहारको समयमा रातको नौ बजेसम्म मात्र देउसीभैलो खेल्न प्रहरीले अनुरोध गरेको हो ।
प्रहरीले आफ्नो टोल छरछिमेकमा जुवातास खेलेमा वा पटाका पड्काएमा तत्काल प्रहरीलाई खबर गर्न समेत आग्रह गरेको छ । मुलुकी अपराध संहिता, २०७४ को विष्फोटक पदार्थ (पटाका) सम्बन्धी कसुरमा तीन वर्षसम्म कैद र रु ३० हजारसम्म जरिवाना हुनसक्ने व्यवस्था रहेको छ ।
छतमा चढेर यात्रा नगर्न, सडकको दायाँबाया जथाभावी पार्किङ नगर्न, ट्राफिक नियमको पालना गर्न सँगै मादक पदार्थ सेवन गरेर सवारीसाधन नचलाउन, सार्वजनिक स्थानमा मद्यपान, धुम्रपान नगर्न, नगद बहुमूल्य सामान, गरगहना लकरमा राख्न, विद्युतीय माध्यमबाट मात्र आर्थिक कारोबार गर्न समेत प्रहरीले काठमाडौँवासीलाई आग्रह गरेको छ ।