बुधबार , साउन ९, २०८१

डाकिनीका रूपमा नृत्य गरिरहेका पुष्प बाटाजु रहेनन्

बाह्र भैरव नाच तान्त्रिक शक्तिमा आधारित नाच भएको हुँदा यस नाचका क्रममा कुनै पनि हेलचेक्र्याइँ गरिनुहुँदैन ।

image

हिजो बाह्र भैरव नाचको तालिमका क्रममा पुष्प बाटाजूको असामयिक निधनले केही कुरा भैरव समितिले बुझ्नु अवश्य पर्दछ । भैरव नाचप्रति धेरैको भावना र आस्था जोडिएको हुँदा आफ्नो शारीरिक कमजोरी हुँदा पनि नाच्ने हिम्मत जुटाइरहेका हुन्छन् । अघिल्लो पटक भन्दा यसपटक युवा जोश अझ बढेको छ । यो भैरव सांस्कृतिक संरक्षण समितिका लागि सकारात्मक सन्देश पनि हो । अर्को तर्फ उमेर बढ्दै गरेकाहरूमा पनि त्यो जोशको कमी भएको छैन ।

भैरव सांस्कृतिक संरक्षण समितिले तालिमको क्रममा वा नाचको क्रममा कम्तीमा दुई जना स्वास्थ्यकर्मीको व्यवस्था गर्नु अति आवश्यक देखिएको छ । नाच्ने इच्छुकहरूको शारीरिक परीक्षण गरेर मात्र नाच्नका लागि अनुमति दिइनुपर्दछ । शारीरिक रूपले कमजोरहरूलाई नाचका लागि अनुमति दिइनुहुँदैन । यसमा केवल नृत्य गर्नेहरू मात्रै होइन । नाचमा रहने बाजा टोली तथा गायन टोलीको पनि शारीरिक परीक्षण गरिनुपर्दछ । यसका लागि कुनै पनि अस्पतालसँग निःशुल्क सहकार्य गर्न सकिन्छ ।
दोस्रो बाह्र भैरव नाच तान्त्रिक शक्तिमा आधारित नाच भएको हुँदा यस नाचका क्रममा कुनै पनि हेलचेक्र्याइँ गरिनुहुँदैन । विगतमा पनि अनुष्ठानका हेलचेक्राइहरूले गर्दा व्यवधानहरू आएको धेरैलाई अवगत नै छ । किंसली चढाउने दिन दुई चार जनाको सल्लाहले होइन, तान्त्रिकसँगको सल्लाहले चयन गरिनुपर्दछ । किंसली चढाउने दिन, किंसली चढाउने ठाउँ, किंसली चढाउने दिशा सबै तान्त्रिकहरूका आफ्नै पद्धति हुने गर्दछ । यसमा पनि विशेष ध्यान दिनुपर्दछ ।

नाचको औपचारिक शुभारम्भको दिन नाचको सबैभन्दा अगुवाका रूपमा बाटो देखाउने डाकिनीका रूपमा नृत्य गरिरहनु भएका पुष्प बाटाजूको असामयिक निधनले कतै हामीमा जानी नजानी कुनै कमी कमजोरी त भएन भनी क्षमा पूजा गरेर मात्र नाचको तालिमलाई निरन्तरता दिनु नितान्त आवश्यक छ । यसमा भैरव सांस्कृतिक संरक्षण समितिलाई विशेष ध्यान दिनेछ भन्ने आशा राखेको छु ।

Tags:

सम्बन्धित समाचार