खनाल परिवारका एक पूर्वजलाई देवीले सपनामा आई हाल मन्दिर रहेको स्थानमा आफ्नो दाँत रहेको बताएकी थिइन् । सपनामा बताए अनुसार नै ती व्यक्तिले दाँत फेला पारे र सानो मन्दिरको स्थापना गरे ।
पूर्वी नेपालको सुन्दर सहर धरानको विजयपुरस्थित ‘दन्तकाली मन्दिर’ नेपालमा मात्र नभएर भारतमा समेत प्रख्यात रहेको छ । हिन्दु धर्मावलम्बीको विशेष आस्था जोडिएको यो मन्दिर एक शक्तिपीठ हो । विश्वभरि रहेका करिब ५१ शक्तिपीठमध्ये दन्तकाली मन्दिर विशेष शक्तिपीठ हो । यसबाहेक पृथ्वीमा सतिदेवीका अङ्गहरू पतन भएर ७,५०,००,००० (सात करोड पचास लाख) सिद्धपीठहरू उत्पन्न भएको जानकारहरू बताउँछन् ।
सतिदेवीको शरीर टुक्रिएर खसेका ५१ टुक्रा मध्ये एक टुक्रा दाँत धरानको विजयपुरस्थित दन्तकालीमा खसेको मानिन्छ । सो ठाउँमा सतिको दाँत खसेकाले नै सो ठाउँलाई दन्तकाली भनिएको मन्दिरका पुजारी लालबाबु खनालले बताए । हिन्दु धर्मावलम्बीको विशेष आस्था रहेको यस स्थानमा नेपाल तथा भारतको विभिन्न स्थानबाट श्रद्धालुहरू आउने गरेका छन् । विशेषगरि साउन महिना तथा दशैंको समयमा मन्दिरमा श्रद्धालुहरूको भिड लाग्ने गरेको छ ।
स्थापनादेखि नै दन्तकाली मन्दिरको रेखदेख तथा पूजापाठको काम स्थानीय खनाल परिवारले गर्दै आइरहेको छ । खनाल परिवारका एक पूर्वजलाई देवीले सपनामा आई हाल मन्दिर रहेको स्थानमा आफ्ना दाँतहरू रहेको बताएकी थिइन् । सपनामा बताए अनुसार नै ती व्यक्तिले दाँत फेला पारे र सानो मन्दिरको स्थापना गरे । मन्दिरमा अझै पनि ती दाँतका टुक्राहरू देख्न सकिन्छ । मन्दिरमा नौ दुर्गाको प्रतिरूप अनुसार ९ वटा दाँतका टुक्रा रहेका छन् । हाल मन्दिरका मुख्य पुजारी लाल बाबु खनाल रहेका छन् ।
१८६८ इस्वी गीर्वाण युद्ध विक्रम शाहका पालामा खनाल वंशहरूलाई लाल मोहर लगाएर ताम्रपत्रमा ‘तपाईँका सन्तान दरसन्तानले भोगचलन गर्नु र सञ्चालन गर्नु’ लेखेर मन्दिरको जिम्मा लगाएका थिए । अहिलेसम्म पनि मन्दिरमा राजसी तरिकाले पूजाआजा हुने गरेको पुजारीले बताए । गुठी संस्थाले प्रत्येक वर्ष मन्दिरको लागि ४० हजार दिने कुरा भए तापनि अहिलेसम्म प्राप्त नगरेको गुनासो पुजारीले गरेका छन् ।
मन्दिरमा आउने भेटीबाटै मन्दिर सञ्चालन भइरहेको छ । घण्टी बजाउने तथा आफ्नो परिवारमा जुठो पर्दा काम लाग्छ भनी राखिएको अतिरिक्त पुजारीको तलब पनि भेटीबाटै दिइने गरिएको छ । प्रत्येक अष्टमीमा (महिनाको दुई पटक) मन्दिरमा बोकाको बलि दिनु पर्ने हुन्छ । यो खर्च पनि भेटीबाटै धानिएको छ ।
लाल बाबु खनालका ७ जना भाइ भतिजा/दाजुभाइले पालो गरेर १/१ वर्ष मन्दिरको पुजारीको पद सम्हाल्ने गरेका छन् ।
सती पतनको कथा
विभिन्न पौराणिक कथा अनुसार सतिदेवीका पिता दक्ष प्रजापतिले सतीका पती शिवलाई रुचाउँदैन थिए । मौका मिल्नासाथ दक्ष प्रजापति शिवको निन्दा गरिरहन्थे । भाङ-धतुरो सेवन गर्ने, सर्पको माला लगाउने, बाघको छालाको पहिरन बनाउने, नन्दी-भृङ्गी-भूतप्रेत आदिसँग सङ्गत गर्ने, शम्सानघाटमा बस्ने भन्दै दक्ष सधैँ शिवसँग ठुस्किरहे, घृणा गरिरहे । विभिन्न देवदेवीले बिन्ती गर्दा पनि दक्ष प्रजापतिले आफ्नी छोरीको विवाह शिवसँग गर्न चाहेका थिएनन् । उनी विष्णुसँग आफ्नी छोरीको विवाह गर्न चाहन्थे र विष्णु पनि तयार थिए । तर शिवले जोगीको रूपमा आएर सतिलाई विवाह गरेर लागेको विभिन्न पुराण अनुसार बुझ्न सकिन्छ ।
सतिका पिता दक्ष प्रजापतिले आयोजना गरेको विशेष यज्ञमा सती र उनका पति महादेवलाई डाकिएको थिएन । निमन्त्रणा बिना नै उनी यज्ञस्थल पुगिन् र आफ्नो पतीलाई नबोलाएकोमा गुनासो गर्न थालिन् । तर प्रतिउत्तरमा दक्ष प्रजापतिले उल्टै शिवको निन्दा गरेपछि सहन नसकी सतिदेवीले यज्ञकुण्डमा हाम फाली प्राण त्याग गरिन् ।
सतिको मृत्युको खबर पाएपछि शिवले वीरभद्रद्वारा त्यस यज्ञको विध्वंस गरे । वीरभद्रले दक्ष प्रजापतिको शिर समेत काटे । पछि ब्रह्माले प्रार्थना गरेपछि शिवले दक्ष प्रजापतिलाई उनको शिरका बदलामामा बोकाको शिर प्रदान गरेर त्यस यज्ञलाई सम्पन्न गराए । दक्ष प्रजापति जीवित भएर बोकाको भाषामा ‘बम-बम-बम’ गरेर भगवान् शिवको प्रार्थना गर्न थाले । सोहीकारण आज पनि शिवलाई भक्तहरूले बम-बम-बम भन्ने गर्छन् ।
दक्षयज्ञ विध्वंस परेपछि शिव मृत सतिदेवीलाई बोकेर यत्रतत्र हिँड्न थाले । यसरी भगवान् शिवले बोकेको हुनाले धेरै दिनसम्म सतीदेवीको देह कुहिएन । शिव यसरी हिँडेपछि सृष्टिको काम रोकिने भएकाले देवताहरूले भगवान् विष्णुसँग यसको उपाय निकाल्न आग्रह गरे । देवताहरूको आग्रह सुनेपछि विष्णुले सतिदेवीको देहमा औंसा (किरा) उत्पन्न गराए । किराले खान थालेपछि सतिदेवीका अङ्गहरू पृथ्वीका विभिन्न ठाउँहरूमा खस्न थाले र जहाँ-जहाँ सतिका अङ्ग पतन भए त्यहाँ-त्यहाँ सिद्धपीठहरू उत्पन्न भए । कतै भगवान् विष्णुले शिवलाई ज्ञात नहुने गरी सुदर्शन चक्रको प्रयोग गरी सतीका अङ्ग पतन गराएको पनि भन्ने गरिन्छ । सोहिक्रममा हाल दन्तकाली मन्दिर रहेको स्थानमा सतिदेवीको दाँत खसेको बताइन्छ ।
मन्दिरसम्बन्धी जानकारी लामो समयबाट मन्दिरमा काम गर्दै आएका टिकाराम परियारले दिएका हुन् । यो कथा सविस्तार उनैले सुनाएका हुन् । टिकारामको परिवारले पुस्तौँदेखि मन्दिरको रेखदेखको काम गर्दै आएका छन् ।
स्वस्थानी व्रत कथामा पनि यस मन्दिरको बारेमा उल्लेख गरिएको छ । यस स्थानमा सर्वप्रथम गङ्गा आदि नदीहरू आई पूजा-आराधना गरी वरदान प्राप्त गरेको उल्लेख शास्त्रहरूमा पाइन्छ ।
विभिन्न मनोकामना लिएर टाढा-टाढाबाट भक्तजनहरू मन्दिरसम्म पुग्ने गरेका छन् । मन्दिरसम्मको यात्राको दौरान देखिने मनमोहक धरान बजारको दृश्यले यात्रा अझ सुमधुर बनाउँछ । धार्मिक तथा प्राकृतिक पर्यटनको प्रबल सम्भावना बोकेको यस दन्तकाली मन्दिर परिसरमा मन्दिरसँग सम्बन्धित संस्थाद्वारा सर्वसाधारणका लागि धर्मशाला समेत निर्माण गरिँदैछ ।
कसरी पुग्ने ?
काठमाडौंबाट धरान पुगिसकेपछि भानुचोकबाट सिधा अगाडी १५ मिनेट हिँडेपछि दाहिनेतिर विजयपुर जाने उकालो आउँछ । उकालो २० मिनेट हिँडेपछि दन्तकाली मन्दिर पुगिन्छ । धरानदेखि ३ किमिको दूरीमा यस मन्दिर पुग्न सकिन्छ ।