शुक्रबार , अषोज २३, २०८३

दसैँ विशेष : यसरी बनाउनुहोस् खसीको हरेक भाग स्वादिलो

image

दसैँ भन्ने बित्तिकै मासु पनि सँगै जोडिएर आउँछ । यो चाडमा आ-आफ्नो समुदाय र संस्कृति अनुसार मांसाहारीहरुले विभिन्न पशुपक्षीका मासु खाने गर्छन् । दसैँमा अझ खसीको मासु विशेष रूपमा खपत हुने गर्छ । यसका विभिन्न परिकारले मुख मिठ्याउँदै खुसीयाली साटासाट गर्ने गरिन्छ । आज दसैँ विशेष रहेर खसीको मासुको केही स्वादिला परिकारको कुरा गर्न गइरहेको छु । खसी काट्नासाथ त्यसको विभिन्न भागबाट के-कस्तो परिकार बनाउन सकिन्छ भन्ने बताउन गइरहेको छु । या भनौँ सिङ्गै खसीलाई पाककलासँग जोड्ने कोसिस गर्दैछु । खसी काट्ने बित्तिकै आउने रक्तीदेखि त्यसको खुट्टासम्मलाई के-कसरी बनाउन सकिन्छ भन्ने बारे कुरा गर्नेछु ।

यसमा मैले सानैबाट आफ्नो भान्सामा देखेको आधारमा यी परिकारहरूको विधिवत् पाककला बताउने जमर्को गर्दैछु ।

रक्ती :

खसी काट्नासाथ पहिला हात लाग्ने बस्तु भनेकै रक्ती हो । विशेषगरि खसी भुत्ल्याउने आदि काम गर्दै-गर्दा रक्ती तयार गरिन्छ । दसैँको पहिलो खान्कीको रूपमा रक्ती सेवन गरिन्छ भन्दा फरक नपर्ला ।

सामग्री :

उपलब्ध रक्ती, ज्वानो, बेसार, नुन स्वाद अनुसार

बनाउने विधि :

रक्ती खसीको परिकारमध्ये बनाउन सबैभन्दा सजिलो परिकार हो । एउटा सफा भाँडोमा ज्वानो, बेसार र रक्ती राखेर मिच्ने । मिच्ने बेला त्यसमा खसीको रौँ परेको छ कि भनेर ध्यान समेत दिनुपर्छ । रक्तीमा ज्वानो हालेपछि अन्य मर–मसला राख्न जरुरी छैन । उपलब्ध रक्ती पकाउन पहिला कराहीमा तेल तताउने । मध्यम आगोमा मिचेको रक्ती राख्ने । स्वाद अनुसारको नुन राख्ने र भुटिरहने । रक्तीको रङ्ग परिवर्तन भएर मजाले भुटिएपछि यो तयार हुन्छ ।

कान :

दसैँ र खसीको कान सम्झिने बित्तिकै धेरै जनाको मस्तिष्कमा बाल्यकालका मिठा सम्झनाहरूले परेड खेल्न थाल्छन् । मेरै दाजु-भाइमा कान कसले फुत्क्याउने भन्ने एक किसिमको मिठो सङ्घर्ष हुन्थ्यो । पाउने उत्साहित भएर आगोको भुङ्ग्रोतिर दौडिहाल्थ्यो । विशेषगरि कान पोलेर खान नै स्वादिलो हुन्छ ।

सामग्री :

साँधेर खान : खसीको कान, तेल आधा चम्चा, जिराको धुलो, नुन स्वाद अनुसार, रातो खोर्सानीको धुलो (पिरो खानेलाई)
(साधारण खानेलाई नुन मात्र भए पनि पुग्छ)

बनाउने विधि :

खसीको कानलाई राम्रोसँग सफा गरेर उसिन्ने या सिधै पोल्ने (दाउराको आगोमा भए अझ स्वाद भरिन्छ) । उसिनेको भएपनि एकपटक पोल्दा स्वादिलो हुन्छ । त्यसपछि त्यसलाई कुड्क्याउने । र, उल्लेखित सामग्री राखेर साध्ने या नुन मात्र राखेर साँधेपनि हुन्छ । यसरी सजिलै खसीको कान तयार गरेर तृप्तता लिन सकिन्छ ।

पक्कु

दसैँमा पाक्ने खसीको निकै विशेष परिकारमा पक्कु पर्ने गर्छ । स्वादले भरिपूर्ण यस परिकारले मैले सम्झँदासम्म मनाइएको प्रत्येक दसैँमा हाम्रो भान्सामा स्थान पाउने गरेको छ ।

सामग्री :

टाउको-खुट्टाका अलावा अन्य कुनै भागको मासु (फिला र ढाडको मासु उचित), जिरा धनियाँको धुलो, खोर्सानीको  धुलो (पिरो आवश्यक लागे मात्र), गरम मसलाको धुलो, नुन स्वाद अनुसार, बेसार तेजपात, तोरीको तेल (एक किलो मासुका लागि एक पाउ)

बनाउने विधि :

पक्कु बनाउन विभिन्न किसिमका पाककला प्रयोग गरिन्छ तर यो जति साधारण तरिकाले पकाइन्छ त्यति नै स्वादिलो हुन्छ । यसलाई पछि सम्म खान मिल्ने बनाउन यसमा अदुवा-लसुन, प्याज आदि बस्तु नराखेकै राम्रो ।

खसीको मासुमा तोरीको तेल, नुन, बेसार, जिरा धनियाँको धुलो, खोर्सानीको धुलो र गरम मसलाको धुलो राखी मोलेर ४५ मिनेट जति छोपेर राख्ने । त्यसपछि कसौँडीमा तोरीको तेल तताउने र मासु ओइरिने । कसौँडीमा ढकनीले छोपेर करिब ४५ मिनेट निकै सानो आगोमा पकाएपछि स्वादिलो पक्कु तयार हुन्छ ।

यो पक्कु बनाउने परम्परागत शैली हो । दसैँमा मासु धेरै हुने र सो समयमा फ्रिज नहुने भएकाले मासुलाई पछिसम्म पनि खान मिलोस् भनेर यसरी सामान्य तरिकाले बनाइन्थ्यो । यसरी राखेको मासु एक डेढ महिनासम्म पनि बिग्रँदैनथ्यो ।

तास

खसीको विशेष परिकारमध्ये एक तास पनि हो । यसले सर्वसाधारणमाझ राम्रो लोकप्रियता कमाइसकेको छ । दसैँको खसीको मासु प्रशस्त उपलब्ध हुने हुनाले यो परिकार पनि आफ्नै भान्सामा बनाएर चाख्न सकिन्छ ।

सामग्री :

खसीको फिलाको फल मासु एक किलो, सुकेको खुर्सानीको धूलो एक सय ग्राम, बेसार दुई चम्चा, तोरीको तेल चार चम्चा, जिरा पचास ग्राम, धनियाँ पचास ग्राम, लसुन सय ग्राम, अदुवा सय ग्राम, सुकुमेल दस वटा, ल्वाङ दस वटा, नुन स्वादअनुसार

बनाउने विधि :

पहिला उल्लेखित मसलालाई मसिनो हुनेगरि कुट्ने । त्यसपछि छाला नभएको मासुलाई स-साना टुक्रामा काटेर कुटेको मसला राखी तेलमा मोलेर एक घण्टाजति राख्ने । त्यसपछि थोरै तेलमा तावामा रातो नहुन्जेल मन्द आँचमा मासु भुट्ने र रातो भएपछि निकाल्ने । यसरी स्वादिलो तासको मजा आफ्नै भान्सामा लिन सकिन्छ ।

खसीको मासुको ग्रेभी (लेदोबेदो)

खसीको मासुको ग्रेभी आजकाल साधारण समयमा समेत खाने गरिन्छ । दसैँको बेला झन् खानासँग यो अनिवार्य जस्तै हुन्छ । धेरै मिहिनेत नपर्ने गरी यो परिकार पनि सजिलै भान्सामा पकाउन सकिन्छ । विभिन्न क्षेत्रमा आ-आफ्नै पारम्परिक पाककलाद्वारा यो पकाउने गरिन्छ । मैले जानेको विधि भने म बताउने छु ।

सामग्री :

खसीको ह्याकुला (करङसहित) को मासु एक किलो या अन्य कुनै भागको मासु (हड्डी सहितको भए अझ राम्रो), खुर्सानीको धूलो एक चम्चा, बेसार दुई चम्चा, तेल चार चम्चा, जिराको धूलो एक चम्चा, धनियाँको धूलो एक चम्चा, अदुवा-लसुनको लेदो डेढ चम्चा, प्याज आधा किलो, गोलभेँडा आधा किलो, हरियो धनियाँ मसिनो काटेको एक मुठा, नुन स्वादअनुसार

बनाउने विधि :

पहिला कराइमा तेल तताएर प्याजलाई रातो हुन्जेल भुट्ने । त्यसमाथि टुक्रा पारिएको मासु राखेर केही बेर भुट्ने । त्यसपछि नुन, मसला राख्ने र चलाउने । एकछिन छोप्ने-चलाउने गरिरहँदा मासु स्वादिलो हुन्छ । अन्त्यमा गोलभेँडा हाल्ने(नराख्दा पनि हुन्छ) र फेरि केही बेर छोपेर पकाउने । करिब आधा घण्टा छोप्ने पकाउने गरेपछि मासु तयार हुन्छ । तयार भएको मासुमा हरियो धनियाँ छर्किदा अझ स्वाद आउँछ । यसलाई खाना, चिउरा या भुजा (मुरी/मुरइ)सँग लिन सकिन्छ ।

खसीको खुट्टा :

खसीको खुट्टा दसैँमा सम्भवतः सबैभन्दा अन्तिमसम्म रहने भाग हो । यसको सूप बनाएर खाए स्वाद त दिन्छ नै स्वास्थ्यमा लाभदायक हुने गर्छ । आज खसीको खुट्टाको विशेष सूप बनाउने विधि जानौँ ।

सामग्री :

खसीको खुट्टा (४ पिस), नुन स्वाद अनुसार, १ पिस छिलेर लाम्चो आकारमा काटेको अदुवा, आधा चम्चा मेथी र ज्वानो, ३ ग्लास पानी, १ ठुलो चम्चा तेल, २ दाना मझौला खालका प्याज, २-३ केस्रा खोर्सानी, १ चम्चा अदुवा लसुनको पेस्ट, आधा चम्चा कालो मरीच, आधा चम्चा जिरा- धनियाँको धुलो, १ सानो चम्चा बेसार, २ चम्चा मसिनो काटेको धनियाँ

बनाउने विधि :

प्रेसर कुकरमा बनाएको स्वस्थ खसीको खुट्टाको सूपले हड्डी बलियो बनाउने काम गर्छ । प्रोटिन युक्त यो सूपले शारीरिक निर्माणमा मदत समेत गर्छ ।

प्रेसर कुकर तातिसकेपछि तेल राख्ने र तेल तातेपछि मेथी फुराउने र मेथी कालो हुनासाथ ज्वानो फुराउने । लगतै काटेको अदुवा, प्याज, खोर्सानी, अदुवा-लसुनको पेस्ट आदि राखेर एकछिन् भुट्ने । त्यसपछि खसीको खुट्टा (कुड्क्याएको) राखेर एकछिन् चलाउने । एकछिन् भुटेपछि बेसार, नुन, जिरा- धनियाँको धुलो, मरीचको धुलो, अदुवा लसुनको पेस्ट राखेर एकछिन चलाउने । ५ मिनेट जति मध्यम आगोमा खुट्टा चलाएपछि पानी राख्ने र प्रेसर कुकरमा ३-४ सिट्ठी लगाउने । प्रेसर कुकरको हावा गएपछि तयार भएको सूपमा धनियाँ छर्किएर पिउन या खानासँग लिन सकिन्छ ।

Tags:

सम्बन्धित समाचार