बिहिबार , जेठ ७, २०८३

रौनकतामा सकियो तामाङको दसे (दशैं)

जाँड पकाइ रक्सीको तयारी पनि यही समयदेखि गरिन्छ । औँसीको दिनदेखि बाटो सरसफाइ, भत्केका स्थानहरूको पुनर्निर्माण गर्नुका साथै घर सरसफाइ तथा लिपपोत गर्ने गरिन्छ ।

image

तामाङ जातिको एक महत्त्वपूर्ण सांस्कृतिक पर्व दसे(म्हेनिङ) हर्षोल्लासका साथ सम्पन्न भएको छ । खेतीपातीको समयबाट थोरै समय भएपनि खुशी र फुर्सदमा रही आफ्नो परम्परा ल्हप्सङकर्पो (गणेश हिमाल फेदी) का तामाङहरूले यो वर्ष पनि रौनकताका साथ मनाएका छन् ।

अन्ततः महान् पर्व ‘दसे’ सकिएको छ । दसेकाे तयारी गर्न गोने ङ्या (भदौ पूर्णे) देखि गोठ तल झार्ने, वस्तुभाउ परिवार बालबच्चा र महिलाको भरमा छाडी छोङ (मजदुर, व्यापार) मा जाने गरिन्छ । जाँड पकाइ रक्सीको तयारी पनि यही समयदेखि गरिन्छ । औँसीको दिनदेखि बाटो सरसफाइ, भत्केका स्थानहरूको पुनर्निर्माण गर्नुका साथै घर सरसफाइ तथा लिपपोत गर्ने गरिन्छ । अहिले माटो लिप्नु पर्ने घरहरू खासै नभएकाले घर लिपपोत गरिरहनु परेन । तर बाटो सरसफाइ भने सबैतिर एकदमै राम्रोसँग भएको छ ।

सप्तमीका दिन खेप्पासुङको प्रतीक स्वरूप भित्रिवारीमा भएको ल्ह थानमा पूजा-पाठ गरी वर्ष दिनदेखि पाल्दै आएको भाले लम्बुले सबै घर, परिवार र सबैको लागि सुख, शान्ति र समृद्धिको कामना गरी बलि चढाइन्छ । त्यही दिन पितृ स्मृति गरिन्छ । मासुको लागि पोसेर राखिएको राँगा वा भैँसी काटी मासु सङ्कलन गरिन्छ । बिहानी छाक कुखुराको मासु खाने गरिन्छ । नजिकको आफन्तलाई समेत प्रसादको रूपमा वितरण गरिन्छ । बेलुकीदेखि पर्याप्त मासु पाइन्छ । लामाहरू पूजापाठमा लाग्दछन् ।

अष्टमीका दिन लामाको घरमा ज्यङ्मेन पूजा गरी आफ्ना कुलको सम्झना र सम्मान गरिन्छ ।

नवमीको दिनमा खाली भन्ने चलन छ । त्यस दिनमा टिकाको लागि थप तयारी गर्दछ । गोठ व्यवस्थापन, घाँस व्यवस्थापन गर्दछन् । दशैंमा पिङ खेल्नु, म्हाने नाच्नु सामान्य झैँ लाग्छ ।

दशमीलाई टिकाको रूपमा चिनिन्छ । बिहानै मामाघरमा गई टिका थाप्न जाने गरिन्छ । छोराको छेवर भए उनको मावलीमा थप निमन्त्रणा पोङ पुर्‍याउनु पर्दछ । त्यस्तै कुनै अपशकुन कार्य गर्न पर्ने भएका पनि फुत सप(पाेङ पुर्‍याउन) मावलीमा जानु पर्दछ । यसपाला ल्हप्सङकर्पो क्षेत्रमा झरी परेकाले टिकाको रौनकतामा सुख साट्ने र दुःखको पोको फुकाउनेको भिड देखियो ।

टिकाको दिन लामाले आफ्ना जिन्दालाई वाङ पनि दिने हुनाले लामाको घर तथा गुम्बाहरूमा भीड देखिन्छन् । त्यसदिन पर्वको नाममा बिना कसुर मारिनु परेका पशु तथा जनावरको मृतात्माको लागि तथा मानव जातिको पापको पश्चात्ताप स्वरूप मयी क्रइ म्हाने कुल्सी (भैसीकाे अर्गुङ)समेत गरिन्छ । दिग्प म्हने नाचिन्छ । त्यही अवसरमा विभिन्न चेमाहरू देखाउने चलन छ । बेलुका दिग्पा (दाहसंस्कार) म्हाने नाच्ने चलन छ । कतिपय भने ती मृत पशुहरूको लागि ङ्युङ्ने व्रत बस्ने गरिन्छ । कहीँ कतै किर्पा ख्लङ्वा (ताराे हान्ने), छेलाे हान्ने प्रतियोगिता आयोजना गरी पुर्खाको पेसा तथा कर्म स्मरण गर्ने गरिन्छ । यस वर्ष पनि यसले निरन्तरता पाएको छ ।

टिका पश्चात् म्हाबुसिङ क्योङ्पा (छाेरीज्वाइँ खुवाउने) तामाङको एक अनिवार्य संस्कार रहेको छ । यसमा आफ्नो कुलका छोरी र ज्वाइँहरूलाई एक छाक भाग खुवाउने गरिन्छ । यसकै कारण जस्तो कार्य भएपनि आफ्ना काम छाडेर ती घरहरूमा सगुन, अपसगुनमा काम गर्न दिन रात नभनी ज्वाइँहरू खटिनु अनिवार्य मानिन्छ । अर्को बेलाको बो (भतेर)भन्दा यसपालाको महत्त्वपूर्ण छ । यो साढुभाइ, साढुदाइ चिन्ने अवसरका साथै छोइबार्नु पर्ने सासुदिदीहरु चिन्न सकिन्छ । यो क्रम लगातार पूर्णेसम्म चल्दछ । पूर्णेको दिन टसी म्हने नाचेपछि औपचारिक रूपमा दसे सकिन्छ ।

त्यसपछि आइमाईहरू कोदो टिप्ने कार्यमा लाग्दछ भने पुरुषहरू दशैको मासु मोल तिर्न छोङमा जाने गर्दछन् । यो वर्ष विदेश, भर्ती र जागिर बाहेक लावल, लदाकमा गएर कमाउन जाने क्रम बढेको छ । काम गर्न सक्ने पुरुषहरू सबैजसो कमाउन जाने गर्दछन् । अहिले पनि पाकेको बाली भित्र्याउने जिम्मा घरका आमाहरूको नै विशेष हुने गर्दछन् ।

पछिल्ला दशैंहरूमा केही नौलोपनहरू देखिँदै आएका छन् । मासु जहाँसुकैबाट लिने, पिङ जहाँसुकै लगाउने, मौखिकरूपमा गाएर नाच्नुपर्नेमा क्यासेटकोमा नाच्ने, तास खेल्ने, खेलकुदका आयोजना गरी झगडा गर्ने आदि । यसले दसे युवायुवतीको लागि मात्र आएको महसुस हुन्छ । युवायुवतीहरूले बुढाबुढी र बालबालिकाको लागि समेत पर्वको महसुस गराउन सक्नुपर्दछ । यो वर्ष आमाहरूको फुटबल र पुरुषहरूको १० किमी म्याराथन भने विशेष नै रह्यो ।

दशैका अवसरमा सार्वजनिक बिदा दिने हुनाले शहरी परिवेशमा हुर्केकाहरूको सङ्गतले तामाङ मौलिकताको दसे बिदा मनाउने बहाना मात्र र पितृ पूजन गर्ने सांस्कृतिक पर्वलाई डिजे कन्सर्टको रूपमा लिने मानसिकताको विकास भइरहेको छ, यो कतिपयलाई आफ्नो दादागिरी देखाउने र दुस्मन साध्ने माध्यम भइरहेको छ । यसकै कारण ल्हप्सङकर्पो क्षेत्रमा घटनाहरू घट्न गई कोही प्रहरीको खोरमा त कोही अस्पतालको बेडमा पुग्नुपर्ने अवस्था आउने गरेको तितो यथार्थ पनि छ। यो दु:खत घटना हो । यो आफैमा तामाङ संस्कृतिको क्षयीकरण र परसंस्कृतिको पक्षपोषण मात्र हो । हामीले आफ्ना मौलिकता, रैथाने विधि र पहिचान गुमाउँदै गएका छौ । यसबारेमा सचेत हुनु जरुरी छ ।

आगामी दिनमा तामाङ दसेको बारेमा थप चर्चा, खोज र अनुसन्धान गरी किन, कसरी र के मिथकमा आधारित भएर तामाङ जातिले यस पर्वलाई अनुसरण गरेका हौ भन्ने निचोडमा पुग्न जरुरी छ । जे होस् यो दशैं खुसी, रौनकता र मेलमिलापका साथ सम्पन्न भएको छ ।

Tags:

सम्बन्धित समाचार