सोमबार , जेठ १४, २०८१

दशैँको जमरा र इरानी नयाँ वर्षको जमराबीच यस्ता छन् समानता

image

काठमाण्ठूका नरेश श्रेष्ठ सन् १९९२ को मार्चमा पहिलो पटक इरानको राजधानी तेहरानस्थित आफ्नो ससुराली पुगेका थिए ।

विवाहको करिब चार वर्षपछि फरक संस्कृतिको ससुराली देश पुगेको श्रेष्ठले आफ्नो ससुराली घरमा एउटा टेबलमा विभिन्न कुराहरूको साथमा जमरालाई पनि सजाएर राखेको देखे ।

उनीहरू त्यहाँ पुग्ने बित्तिकै नरेशकी श्रीमती शोले मासूमपुरका मातापिता र मान्यजनहरूले उनीहरूका नाममा एक-एक वटा मैनबत्ती बाले र दीर्घायुको कामना गरे ।

अनि दुवैजनालाई केही दक्षिणा दिए र आशीर्वाद पनि ।

धर्म र संस्कृति नै भिन्न भएको देशमा पुग्दा पनि नरेशलाई नेपाल छाडेको जस्तो अनुभूति भएन ।

उनलाई तेहरानस्थित आफ्नो ससुराली घरमा टीका नलगाइने दशैँ मनाइरहेको जस्तो लाग्यो ।

इरानी नयाँ वर्ष

“इरान पुगेर त्यस्तो कुरा पहिलो पटक देख्दा मलाई निकै नै अनौठो लागेको थियो। मलाई त इरानीहरूले पनि दशैँ नै मान्छन् कि जस्तो लाग्यो,” उनले बीबीसीसँग भने ।

इरान पुगेपछि दशैँकै जस्तो चलन भएको कुन चाड रहेछ भन्ने खुलदुली मेटाउने क्रममा नरेशले त्यो इरानी नयाँ वर्ष अर्थात् नौरोज भएको थाहा पाए ।

कसैले नौरोज, कसैले नौरुज त कसैले नवरोज भन्ने उक्त पर्वमा नेपालको दशैँसँग मिल्ने मुख्य कुरा भनेको नै त्यसमा प्रयोग गरिने सब्जी भनिने जमरा हो ।

नरेशका अनुसार नौरोजमा ‘स’बाट नाम उच्चारण सुरु हुने विभिन्न सातखाले चिजहरू राखेर एउटा टेबल सजाइएको हुन्छ ।

त्यसलाई हाफ्सिन टेबल भनिन्छ र त्यसमा सब्जी अनिवार्य हुन्छ ।

तर इरानीहरूले सब्जी सजाउन मात्र प्रयोग गर्छन्, नेपालीले जस्तो लगाउने गर्दैनन् ।

नौरोजलाई इरानी नयाँ वर्षका रूपमा चिनिए पनि यो त्यहाँ मात्र मनाइँदैन ।

संयुक्त राष्ट्रसङ्घको शिक्षा, विज्ञान तथा संस्कृति सङ्गठन युनेस्कोले विश्व सम्पदा सूचीमा राखेको नौरोज इरानसहित युरेशियन र मध्य एशियाली देशहरूमा पनि मनाइन्छ ।

दक्षिण एशियाका अफगानिस्तान, पाकिस्तान, भारत र बाङ्ग्लादेशका केही स्थानमा पनि नौरोज मनाइने युनेस्कोको आधिकारिक वेबसाइटमा उल्लेख छ ।

जमरा

नौरोजमा जमराको चलन

नौरोजमा नेपालमा जस्तो बालुवा वा माटोमा जमरा राख्ने चलन नभएको श्रेष्ठ बताउँछन् ।

“सुरुमा उनीहरूले जौलाई भिजाएर एउटा सेतो कपडामा पोको पार्छन्। केही दिनमा त्यो टुसाउन थाल्छ र डल्लो पर्छ,” श्रेष्ठले भने, “त्यसलाई एउटा थालमा राख्छन् र त्यही त्यो बढ्न थाल्छ। नछोपिने हुनाले त्यो पहेँलो होइन हरियो देखिन्छ ।”

युनेस्कोको आधिकारिक वेबसाइट र नौरोजबारे लेखिएका अन्य सन्दर्भ सामग्रीहरूमा जनाइए अनुसार नौरोज मनाउने तरिका पनि नेपालमा दशैँका बेला गरिने नवरात्री पूजासँग मिल्दोजुल्दो देखिएको छ ।

नौरोजका लागि तयार पारिने सब्जी अर्थात् जमरा पनि नौ दिन राखेर नै तयार पार्ने चलन रहेको छ ।

दशौँ दिन त्यसलाई एउटा टेबलमा सजाएर राखिन्छ । अनि आफन्तहरू कहाँ जाने र भोजभतेर गर्ने चलन हुन्छ ।

त्यसअघि दशैँको टीका जस्तै हाफ्सिन टेबल अगाडि गएर आएका आफन्तका नाममा मैनबत्ती बाल्ने गरिन्छ ।

दशैँ घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म १५ दिन चल्छ, तर नौरोज भने १३ दिनको हुने नेपालका लागि इरानका अवैतनिक महावाणिज्य दूत समेत रहेका श्रेष्ठले जानकारी दिए ।

“१३ दिनका दिन त्यो जमरा पनि नजिकैको नदीमा लगेर हामीले कोजाग्रत पूर्णिमामा गरेको विसर्जनजस्तै विसर्जन गर्ने चलन रहेछ,” उनले भने ।

जमरा

जमरा कहाँबाट सुरु भयो ?

नरेशले वर्णन गरेको नौरोज र नेपालको नवरात्रि पूजाको विवरण मिल्दोजुल्दो देखिएको छ ।

के त्यसले नेपालको दशैँ र इरानको नयाँ वर्षबीच कुनै सम्बन्ध देखाउँछ त ?

पूर्वीय धर्म र संस्कृतिको अध्ययन गरेका इतिहासकारहरू भन्छन्- नेपालमा अहिले चलनचल्तीमा रहेका धेरै सांस्कृतिक र धार्मिक प्रथाहरूको जरा खोज्दै जाने हो भने इरान-इराक वा आसपास पुग्ने गरेकाले जमराको चलन पनि उतैबाट आएको हुन सक्छ ।

युनिभर्सटी अफ अक्सफोर्डमा पूर्वीय धर्म र नीति अध्यापन गराउने प्राध्यापक दिवाकर आचार्यका अनुसार दक्षिण एशियामा पश्चिमबाट पूर्वतर्फ सभ्यता सरेकाले जमरा पनि इरानबाट नेपाल आएको हुन सक्छ ।

उनी भन्छन्, “शतपथ ब्राह्मणमै हेर्ने हो भने पनि पश्चिमबाट पूर्वतर्फ अर्थात् अध्यारोबाट उज्यालोतर्फ सरेको भन्ने देखिन्छ । त्यसमा सुरुमा अग्नि त्यसपछि पुरोहित र अनि मिथी राजा पूर्वतर्फ लागेको भन्ने विवरण छ। जसको नामबाट पछि मिथिला बनेको हो । यस हिसाबले नेपालमा अहले चलनचल्तीमा रहेका धेरै कुराहरू पश्चिमबाट पूर्व नै सरेका हुन् ।”

जमरा

उनी उहिलेको भारतवर्षभित्र इरान पनि पर्ने भएकाले धेरै संस्कृतिहरू मिल्ने दाबी गर्छन् ।

तर अहिले राजनीतिक कारणले फरक देशहरू बनेको र ऋग्वेदिक धर्ममा धेरै परिवर्तन आएका कारण फरक देखिएको आचार्यले बताए ।

मुस्लिम धर्मको प्रभावसँगै धेरै कुराहरू हराए पनि पुरानो संस्कृतिका कतिपय कुराहरू अहिले पनि जीवित पाइने आचार्य बताउँछन् ।

आचार्यका अनुसार नेपालका लिच्छवीहरूको पुर्ख्यौली थलो खोज्दै जाँदा सिरिया, इरान र इराकतिर पुग्ने गरेको छ ।

त्यसले पनि कतिपय सांस्कृतिक कुराहरू त्यताँबाट आएका थिए भन्ने देखाउँछ ।

दिवंगत भइसकेका भाषाशास्त्रका एक प्राध्यापक बालकृष्ण पोखरेलले विभिन्न भाषाका शब्दहरूको निर्वचनको अनुसन्धान र व्याख्या गरेर लेखेको खस जातिको इतिहासमा पनि नेपालका खसहरू इरान, इराक, सिरियातिर बाटै आएको लेखेका छन् ।

उनले त ऋग्वेदको रचना र दुर्गा वा देवीको परिकल्पना नै त्यस क्षेत्रमा भएको दाबी गरेका छन् ।

दुर्गाको परिकल्पना नै त्यस क्षेत्रमा भएको र दुर्गा उपासना त्यहीबाट सुरु भएको उनको तर्कले जमरा र नवरात्र विधि उतैबाट आएको देखाउन खोजको छ ।

वनस्पतिविद्को तर्क

वनस्पतविद् तीर्थबहादुर श्रेष्ठ चाहिँ जमराको चलन कहाँबाट सुरु भयो भन्ने बुझ्न जौको खेती कताबाट सुरु भयो भन्ने खोज्नुपर्ने बताउँछन् ।

उनका अनुसार जौको खेती अहिलेको इजिप्ट, इराक र इरानतिर बाटै भएको भन्ने आधार पाइएकाले जमराको चलन उतैबाट आएको हुन सक्छ  ।

“नेपालमा खेती हुने जौ उतैबाट आएको भन्ने लेखहरू भेटिन्छन्। रारा तालमा जापानीहरूले गरेको अनुसन्धानका क्रममा त्यहाँको पिँधमा रहेको माटोमा जौको परागकणहरू भेटिएको छ,” उनले भने ।

“त्यसले पनि नेपालमा पश्चिमतिर बाटै जौ आएको भन्न सकिन्छ ।”

श्रेष्ठका अनुसार धेरै अन्नहरूलाई कहिले मानिसले जङ्गली अवस्थाबाट आफैँले घरेलु खेतीका रूपमा अपनाए भन्ने खोज्दै जाँदा इरान-इराक तिरै पुगिन्छ ।

अन्योल

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा संस्कृतिविद् जगमान गुरूङचाहिँ इरानतिर बाटै जमरा नेपाल आइपुगेको हो भनिहाल्न नसकिने बताउँछन् ।

उनी भन्छन्, “प्रसार त भएको हो तर यताबाट उता गयो कि उताबाट यता आयो भन्न सकिन्न । भारतीय सभ्यता निकै प्रभावशाली भएकाले यताबाट उता गएको पनि हुन सक्छ ।”

तर प्राध्यापक आचार्य भने भारतीय सभ्यताभित्रै इरान, मध्य एशिया र युरेसियाका कतिपय देशहरू पनि पर्ने भएकाले यो तर्कसँग सहमत छैनन् ।

उनी ऋग्वेदकाल र त्यसपछि रचना गरिएका वेदका कथाहरूलाई पनि पुराणहरू रचना गर्दा बङ्ग्याइएको बताउँछन् ।

त्यसैले वैदिक भारतवर्षलाई बुझ्न वेदहरूका कथाहरूमा खोजबिन गरिनुपर्ने उनको तर्क छ ।

भारतमा किन लगाइँदैन ?

अहिले नेपालीभाषीहरूको बसोबास रहेको क्षेत्र वा उत्तर भारतको हिमाली तथा पहाडी क्षेत्र बाहेक अन्यत्र दशैँको टीका र जमरा लगाउने चलन देखिँदैन ।

त्यसको कारणबारे गुरुङ भन्छन्, “भारतमा लामो समयसम्म मुसलमान र त्यसपछि अङ्ग्रेजको शासन रह्यो । त्यसको प्रभावका कारण यो प्रचलन हराएको हो। पहिले त भारतीयहरूले पनि लगाउँथे ।”

त्यसको प्रमाणका रूपमा कालिदासले रचना गरेको रघुवंशलाई पनि लिन सकिने कतिपय इतिहासकारहरूको तर्क छ  ।

उक्त पुस्तकमा कालिदासले लङ्का जितेर आउने क्रममा पुष्पक विमानमा राम र सीताले यव-अङ्कुर अर्थात् जौको अङ्कुर लगाएको उल्लेख गरिएको उनीहरू बताउँछन् ।

जमरा

‘नेपालको धार्मिक इतिहास’ पुस्तकका लेखक समेत रहेका अर्का इतिहासकार जगदीशचन्द्र रेग्मीका बुझाइमा चाहिँ जमरा संस्कृति भनेको उर्वराशक्तिको प्रभावलाई पहिल्याउने विधि हो ।

संस्कृत साहित्य र पुराना ग्रन्थहरूमा यव अर्थात् जौलाई नै सबैभन्दा पुरानो अन्न मानिएकाले यव-अङ्कुर अर्थात् जमराको चलन धेरै अघिदेखि चलेको उनको कथन छ ।

उनी नेपालका खस र आर्यहरू इरानतिर बाट आएका प्रमाणहरू पाइएकाले जमरा उतैबाट ल्याइएको भन्ने आधार भेटिनु नौलो नभएको तर्क गर्छन् ।

तर यथार्थ पत्ता लगाउन यस विषयमा अझै गहन अध्ययन र अनुसन्धान आवश्यक पर्ने रेग्मी बताउँछन् । बीबीसीबाट साभार

सम्बन्धित समाचार