धन तेरसको दिन किनमेल गर्नु शुभ हुने भनेर व्याख्या गरिँदा गरिँदै यस दिन अनिवार्यरुपमा महँगा सामान किन्नुपर्दछ भन्ने आमविश्वास स्थापित गराउन व्यापारिक समूह सुस्पष्ट ढंगले परिचालित भएका छन् ।
तिहारको बेला प्राय केही सामान, भाँडा, गर गहना आदि किन्ने दिन भन्दै ‘धन तेरस’को चर्चा गरेको सुनिन्छ या देखिन्छ । कार्तिक कृष्ण त्रयोदशीको यो दिन धन्वन्तरि त्रयोदशी अर्थात् धन्वन्तरि जयन्तीको दिन हो । धन्वन्तरि त्रयोदशीलाई छोटकरीमा ‘धन त्रयोदश’ र उत्तर भारतीय लवजमा ‘धन तेरस’ भनिएको पाइन्छ । यसप्रकार धन्वन्तरि र त्रयोदशी मिलेर आ-आफ्नो महत्त्व बोकेको दुई शब्द धनसँग जोडिने धन तरेस बन्न पुग्यो ।
यस दिन रत्न, आभूषण वा बहुमूल्यका गरगहना किनमेल गर्नुपर्छ भन्ने प्रचलन भए पनि यो प्रचलन कहिले र कसरी आरम्भ भयो भन्ने विषयमा कुनै निश्चित प्रमाण छैन । तर, यस दिन सुनचाँदी पसलमा मानिसको भीड देखिन्छ भने नेपाल राष्ट्र बैंकको टक्सार विभागले सुनका असर्फी र चाँदीका सिक्का बिक्रीको लागि सूचना समेत जारि गरेको पाउँछौं । सुनचाँदी व्यवसायी महासंघका अनुसार हरेक वर्षको तिहारमा ३ हजार केजीको हाराहारीमा चाँदीको कारोबार हुने गर्छ । यस दिन कालो रङका सामान र कपडा किन्न नहुने आमविश्वास पनि देख्न/भेट्न पाइन्छ ।
यस दिन आयुर्वेदका प्रवद्र्धक धन्वन्तरि तथा धनका देवता कुबेरको जन्मोत्सवका रूपमा मनाउने गरिन्छ । आजको दिनलाई आयुर्वेदका चिकित्सकहरुले सत्सङ्कल्प गरी शुभकार्य प्रारम्भ गर्ने अवसरका रुपमा समेत लिएको पाउँछौँ । काठमाडौँको नरदेवीमा आयुर्वेद क्याम्पसको स्थापना भएपछि नेपालमा विधिवत् धन्वन्तरि जयन्ती मनाउन थालिएको इतिहास छ । आयुर्वेद क्षेत्रका व्यक्तिहरूको पहलमा वि.सं. २०५६ देखि धन्वन्तरि जयन्तीको दिनलाई ‘आरोग्य दिवस’का रुपमा पनि मनाउन थालिएको छ ।
किम्बदन्ती:
धनतेरस पर्वसँग जोडिएको एउटा लोककथा छ । जसबमोजिम एकपटक राजा हिमालयले आफ्ना छोराको जन्मकुण्डली निर्माण गराउने क्रममा ज्योतिषीका मुखबाट विवाह गरेको ठिक चौथो दिन सर्पले टोकेर छोराको मृत्यु हुने कुरा थाहा पाए । विवाह त भयो तर जब हिमालयकी बुहारीले यो कुरा थाहा पाइन्, त्यसपछि उनले जुनसुकै तरिकाले आफ्ना पतिलाई यमराजको प्रकोपबाट मुक्त तुल्याउने विचार गरिन् ।
विवाहको ठिक चार दिनका दिन उनले आफ्ना पतिको कोठाबाहिर घरका सबै गहनागुरियाको थुप्रो बनाएर पहाड झैं अग्लो चुली बनाइन् र आफू स्वयं सँगै बसेर पतिलाई अनेकौं गीत, भजन र कथा सुनाउँदै लोग्नेलाई निद्रा नआओस् भनेर भुलाउन थालिन् । राति यमराज सर्पको रूप धारण गरी हिमालयका छोरालाई डस्ने विचारले त्यही ठाउँमा आइपुगे, तर गहनाको पहाडलाई तिनले नाघ्न सकेनन्, जसैतसै सर्पका रूपमा यमराज त्यस थुप्रोको टुप्पामा त पुगे, तर त्यहाँ पुग्दा निक्कै थकाइ लागेकाले उनी थकाइ मेट्ने विचार गरे ।
थकाइ बिसाउने क्रममा उनको कानमा भित्र राजकुमारीले गाएका मिठा–मिठा गीत र भजनको ध्वनि गुन्जियो, जसलाई सुनेर उनी मन्त्रमुग्ध भए । ती गीत, भजन र कथाहरू सुन्दासुन्दै उज्यालो भयो । भोलिपल्ट बिहान सर्पका रूपमा त्यहाँ आएका यमराजले खाली हात फर्कनुपर्यो । यसरी राजकुमारीले आफ्नो पतिको जीवनरक्षा गरिन् । यसै घटनापछि मानिसले आफ्नो घरका सदस्यहरूको आयु, आरोग्य र सुख समृद्धिका निमित्त धन त्रयोदशीका दिन सध्याकालमा आफ्ना घर बाहिर यमराजलाई बाटो छेक्न एउटा दियो बाल्ने प्रचलन रहेको धार्मिक मान्यता छ ।
धन्वन्तरिका तीन रुप
समुद्र मन्थनबाट उत्पन्न धन्वन्तरि प्रथम, धन्वका पुत्र धन्वन्तरि द्वितीय र काशिराज दिवोदास धन्वन्तरि तेस्रा धन्वन्तरि हुन् ।
धन्वन्तरिको प्रादुर्भाव देव र असुर मिली नागको नेती र मन्दराचल पर्वतको मदानी बनाइ गरिएको समुद्र मन्थनबाट भएको पौराणिक कथन रहेको छ । धन्वन्तरि उत्पन्न हुँदा उनले हातमा अमृतले भरिएको कलश लिएर आएका हुनाले उनलाई पियुषपाणि धन्वन्तरि पनि भनिन्छ । विष्णु पुराणका अनुसार धन्वन्तरि दीर्घतथाका पुत्र थिए । यसमा भनिएको छ कि उनी थोरै पनि विकारले रहित मान्छे हुन् । आत्मा र इन्द्रिय तथा सबै जन्ममा सर्वशास्त्रका ज्ञाता उनलाई भगवान् नारायणले पूर्वजन्ममा वरदान दिएका थिए ।
पुराणबाहेक अन्य ग्रन्थमा समेत धन्वन्तरि प्रथम र द्वितीयको वर्णन देख्न सकिन्छ । उनको बारेमा आयुर्वेद शास्त्रमा पनि धेरै उल्लेख पाइन्छ । जसमध्ये आयुर्वेद आदि ग्रन्थमा सुश्रुत संहिता, चरक संहिता, काश्यप संहिता तथा अष्टाङ्ग हृदयमा उनको वर्णन पाउन सकिन्छ । यसका अतिरिक्त अन्य आयुर्वेदिक ग्रन्थहरू भाव प्रकाश, शार्गधर तथा उनको नै समकालीन अन्य ग्रन्थमा आयुर्वेदावतरणमा समेत उनको प्रसंग उद्धृत छ । यसमा भगवान् धन्वन्तरिको सम्बन्धमा समेत प्रकाश पारिएको छ ।
महाकवि व्यासद्वारा रचित श्रीमद्भागवतपुराणका अनुसार धन्वन्तरिको भगवान विष्णुका एक अंश हुन् । धन्वन्तरिको आयुर्वेद, सुश्रुत संहिता, चरक संहिता, कश्यप संहिता र अष्टांग हृदय जस्ता विभिन्न साहित्यमा विभिन्न रुपमा उल्लेख गरिएको छ । पुराण एवं सोही सरहका ग्रन्थहरूमध्ये महाभारत, विष्णु पुराण, अग्नि पुराण, श्रीमद्भागवत महापुराण आदिमा धन्वन्तरिको वर्णन पाइन्छ । देव र असुर एकै बुबा कश्यप ऋषिको सन्तान रहेको कुरा पौराणिक कथामा पाइन्छ । तर तिनीहरूको वंश बढ्दै जाँदा उनीहरूमा सत्ता संघर्ष सुरु भयो ।
तीनै जनाले संसारमा सार्वभौमिकता चाहेका थिए । असुरहरू वा राक्षसहरूका गुरु शुक्राचार्य थिए, जसले सञ्जीवनी विद्याको बलमा मरेका असुरहरूलाई पनि बचाउँदै लगे । यसबाहेक दानव राक्षसहरू स्वस्थ र मांसाहारी भएको कारण ईश्वरीय हतियारको बारेमा जानकार पनि थिए । त्यसकारण युद्धमा देवताहरूको पराजय बढी भयो ।
काशीको राजाहरुको वंश परम्परामा राजा दीर्घ तपा अथवा राजा धन्वको पुत्रको रुपमा पनि धन्वन्तरिलाई व्याख्या गरिएको पाउँदछौँ । ‘मिलिन्द प्रश्न नामक एउटा पालि ग्रन्थमा दोश्रो शताव्दी इ. पूर्वमा मिलिन्दको प्रति नाग सेनको उक्तिमा चिकित्सकानां पूर्वका आचार्यबाट प्रारम्भ गरेर गणना गरिएका आचार्यहरुमा धन्वन्तरिको नाम उल्लेख छ (डा. रमेश मिश्र)।’
धन्वन्तरि काशिराज, दिवोदास, अश्विनी कुमार, नकुल र सहदेवहरू हाम्रा प्राचीन ग्रन्थहरूले वर्णन गरेका चिकित्सक हुन् । प्राचीन साहित्य वेदमध्ये पनि अथर्व वेदको उपवेदको रूपमा रहेको आयुर्वेदको सिर्जना गर्ने श्रेय पनि कतिपयले धन्वन्तरिलाई नै दिएका छन् । पछि उनकै आशीर्वाद लिएर चरक, सुश्रुत जस्ता ऋषिहरूले विभिन्न संहिताहरूको रचना गरे भन्ने कथनहरू पनि भेटिन्छ ।
अन्त्यमा,
धन तेरसको दिन किनमेल गर्नु शुभ हुने भनेर व्याख्या गरिँदा गरिँदै यस दिन अनिवार्यरुपमा महँगा सामान किन्नुपर्दछ भन्ने आमविश्वास स्थापित गराउन व्यापारिक समूह सुस्पष्ट ढंगले परिचालित भएका छन् । आजको दिन खरिद गरेका सामग्रीहरू राखेर लक्ष्मी पूजा गरेमा लक्ष्मी माता खुसी हुने भन्ने मिथकको मिथकीकरण हुँदा धन तेरसमा आयुर्वेदका प्रवर्तक धन्वन्तरिको नाम गायब भएको हो । व्यापारीहरूकै लहैलहैमा महँगा सामान किन्ने दिनको रूपमा ‘धन तेरस’ स्थापित हुँदै जानु सांस्कृतिक विचलन हो । धन तेरस धन, पैसा र सामानको तेरस होइन, धन्वन्तरिको सम्मान र आयुर्वेदको साधनाको रूपमा मनाउने तेरस हो ।
दैलोमा आइपुगेको तिहारलाई लक्षित गरि यस दिन आफ्नो गच्छेअनुसार आवश्यक सामान किन्न सकिन्छ तर धनकी देवी लक्ष्मीलाई प्रसन्न पार्न भन्दै अनिवार्य रुपमा महँगा मूर्ति, महंगा भाँडाकुँडा खरिद गर्नु आवश्यक छैन । भगवान् धन्वन्तरी देवताका वैद्य हुन् । उनको भक्ति र पूजाले स्वास्थ्य लाभ दिन्छ ।