सोमबार , भाद्र ८, २०८३

धनतेरस: व्यापरीहरूद्वारा आयुर्वेदका प्रवर्तक काशिराज धन्वन्तरि छायाँमा

धन तेरसको दिन किनमेल गर्नु शुभ हुने भनेर व्याख्या गरिँदा गरिँदै यस दिन अनिवार्यरुपमा महँगा सामान किन्नुपर्दछ भन्ने आमविश्वास स्थापित गराउन व्यापारिक समूह सुस्पष्ट ढंगले परिचालित भएका छन् ।

image

  • सुरज पराजुली, राजु झल्लु प्रसाद

तिहारको बेला प्राय केही सामान, भाँडा, गर गहना आदि किन्ने दिन भन्दै ‘धन तेरस’को चर्चा गरेको सुनिन्छ या देखिन्छ । कार्तिक कृष्ण त्रयोदशीको यो दिन धन्वन्तरि त्रयोदशी अर्थात् धन्वन्तरि जयन्तीको दिन हो । धन्वन्तरि त्रयोदशीलाई छोटकरीमा ‘धन त्रयोदश’ र उत्तर भारतीय लवजमा ‘धन तेरस’ भनिएको पाइन्छ । यसप्रकार धन्वन्तरि र त्रयोदशी मिलेर आ-आफ्नो महत्त्व बोकेको दुई शब्द धनसँग जोडिने धन तरेस बन्न पुग्यो ।

यस दिन  रत्न, आभूषण वा बहुमूल्यका गरगहना किनमेल गर्नुपर्छ भन्ने प्रचलन भए पनि यो प्रचलन कहिले र कसरी आरम्भ भयो भन्ने विषयमा कुनै निश्चित प्रमाण छैन । तर, यस दिन सुनचाँदी पसलमा मानिसको भीड देखिन्छ भने  नेपाल राष्ट्र बैंकको टक्सार विभागले सुनका असर्फी र चाँदीका सिक्का बिक्रीको लागि सूचना समेत जारि गरेको पाउँछौं । सुनचाँदी व्यवसायी महासंघका अनुसार हरेक वर्षको तिहारमा ३ हजार केजीको हाराहारीमा चाँदीको कारोबार हुने गर्छ । यस दिन कालो रङका सामान र कपडा किन्न नहुने आमविश्वास पनि देख्न/भेट्न पाइन्छ ।

यस दिन आयुर्वेदका प्रवद्र्धक धन्वन्तरि तथा धनका देवता कुबेरको जन्मोत्सवका रूपमा मनाउने गरिन्छ । आजको दिनलाई आयुर्वेदका चिकित्सकहरुले सत्सङ्कल्प गरी शुभकार्य प्रारम्भ गर्ने अवसरका रुपमा समेत लिएको पाउँछौँ । काठमाडौँको नरदेवीमा आयुर्वेद क्याम्पसको स्थापना भएपछि नेपालमा विधिवत् धन्वन्तरि जयन्ती मनाउन थालिएको इतिहास छ । आयुर्वेद क्षेत्रका व्यक्तिहरूको पहलमा वि.सं. २०५६ देखि धन्वन्तरि जयन्तीको दिनलाई ‘आरोग्य दिवस’का रुपमा पनि मनाउन थालिएको छ ।

किम्बदन्ती:

धनतेरस पर्वसँग जोडिएको एउटा लोककथा छ । जसबमोजिम एकपटक राजा हिमालयले आफ्ना छोराको जन्मकुण्डली निर्माण गराउने क्रममा ज्योतिषीका मुखबाट विवाह गरेको ठिक चौथो दिन सर्पले टोकेर छोराको मृत्यु हुने कुरा थाहा पाए । विवाह त भयो तर जब हिमालयकी बुहारीले यो कुरा थाहा पाइन्, त्यसपछि उनले जुनसुकै तरिकाले आफ्ना पतिलाई यमराजको प्रकोपबाट मुक्त तुल्याउने विचार गरिन् ।

विवाहको ठिक चार दिनका दिन उनले आफ्ना पतिको कोठाबाहिर घरका सबै गहनागुरियाको थुप्रो बनाएर पहाड झैं अग्लो चुली बनाइन् र आफू स्वयं सँगै बसेर पतिलाई अनेकौं गीत, भजन र कथा सुनाउँदै लोग्नेलाई निद्रा नआओस् भनेर भुलाउन थालिन् । राति यमराज सर्पको रूप धारण गरी हिमालयका छोरालाई डस्ने विचारले त्यही ठाउँमा आइपुगे, तर गहनाको पहाडलाई तिनले नाघ्न सकेनन्, जसैतसै सर्पका रूपमा यमराज त्यस थुप्रोको टुप्पामा त पुगे, तर त्यहाँ पुग्दा निक्कै थकाइ लागेकाले उनी थकाइ मेट्ने विचार गरे ।

थकाइ बिसाउने क्रममा उनको कानमा भित्र राजकुमारीले गाएका मिठा–मिठा गीत र भजनको ध्वनि गुन्जियो, जसलाई सुनेर उनी मन्त्रमुग्ध भए । ती गीत, भजन र कथाहरू सुन्दासुन्दै उज्यालो भयो । भोलिपल्ट बिहान सर्पका रूपमा त्यहाँ आएका यमराजले खाली हात फर्कनुपर्यो । यसरी राजकुमारीले आफ्नो पतिको जीवनरक्षा गरिन् । यसै घटनापछि मानिसले आफ्नो घरका सदस्यहरूको आयु, आरोग्य र सुख समृद्धिका निमित्त धन त्रयोदशीका दिन सध्याकालमा आफ्ना घर बाहिर यमराजलाई बाटो छेक्न एउटा दियो बाल्ने प्रचलन रहेको धार्मिक मान्यता छ ।

धन्वन्तरिका तीन रुप

समुद्र मन्थनबाट उत्पन्न धन्वन्तरि प्रथम, धन्वका पुत्र धन्वन्तरि द्वितीय र काशिराज दिवोदास धन्वन्तरि तेस्रा धन्वन्तरि हुन् ।

धन्वन्तरिको प्रादुर्भाव देव र असुर मिली नागको नेती र मन्दराचल पर्वतको मदानी बनाइ गरिएको समुद्र मन्थनबाट भएको पौराणिक कथन रहेको छ ।  धन्वन्तरि उत्पन्न हुँदा उनले हातमा अमृतले भरिएको कलश लिएर आएका हुनाले उनलाई पियुषपाणि धन्वन्तरि पनि भनिन्छ । विष्णु पुराणका अनुसार धन्वन्तरि दीर्घतथाका पुत्र थिए । यसमा भनिएको छ कि उनी थोरै पनि विकारले रहित मान्छे हुन् । आत्मा र इन्द्रिय तथा सबै जन्ममा सर्वशास्त्रका ज्ञाता उनलाई भगवान् नारायणले पूर्वजन्ममा वरदान दिएका थिए ।

पुराणबाहेक अन्य ग्रन्थमा समेत धन्वन्तरि प्रथम र द्वितीयको वर्णन देख्न सकिन्छ । उनको बारेमा आयुर्वेद शास्त्रमा पनि धेरै उल्लेख पाइन्छ । जसमध्ये आयुर्वेद आदि ग्रन्थमा सुश्रुत संहिता, चरक संहिता, काश्यप संहिता तथा अष्टाङ्ग हृदयमा उनको वर्णन पाउन सकिन्छ । यसका अतिरिक्त अन्य आयुर्वेदिक ग्रन्थहरू भाव प्रकाश, शार्गधर तथा उनको नै समकालीन अन्य ग्रन्थमा आयुर्वेदावतरणमा समेत उनको प्रसंग उद्धृत छ । यसमा भगवान् धन्वन्तरिको सम्बन्धमा समेत प्रकाश पारिएको छ ।

महाकवि व्यासद्वारा रचित श्रीमद्भागवतपुराणका अनुसार धन्वन्तरिको भगवान विष्णुका एक अंश हुन् । धन्वन्तरिको आयुर्वेद, सुश्रुत संहिता, चरक संहिता, कश्यप संहिता र अष्टांग हृदय जस्ता विभिन्न साहित्यमा विभिन्न रुपमा उल्लेख गरिएको छ । पुराण एवं सोही सरहका ग्रन्थहरूमध्ये महाभारत, विष्णु पुराण, अग्नि पुराण, श्रीमद्भागवत महापुराण आदिमा धन्वन्तरिको वर्णन पाइन्छ । देव र असुर एकै बुबा कश्यप ऋषिको सन्तान रहेको कुरा पौराणिक कथामा पाइन्छ । तर तिनीहरूको वंश बढ्दै जाँदा उनीहरूमा सत्ता संघर्ष सुरु भयो ।

तीनै जनाले संसारमा सार्वभौमिकता चाहेका थिए । असुरहरू वा राक्षसहरूका गुरु शुक्राचार्य थिए, जसले सञ्जीवनी विद्याको बलमा मरेका असुरहरूलाई पनि बचाउँदै लगे । यसबाहेक दानव राक्षसहरू स्वस्थ र मांसाहारी भएको कारण ईश्वरीय हतियारको बारेमा जानकार पनि थिए । त्यसकारण युद्धमा देवताहरूको पराजय बढी भयो ।

काशीको राजाहरुको वंश परम्परामा राजा दीर्घ तपा अथवा राजा धन्वको पुत्रको रुपमा पनि धन्वन्तरिलाई व्याख्या गरिएको पाउँदछौँ । ‘मिलिन्द प्रश्न नामक एउटा पालि ग्रन्थमा दोश्रो शताव्दी इ. पूर्वमा मिलिन्दको प्रति नाग सेनको उक्तिमा चिकित्सकानां पूर्वका आचार्यबाट प्रारम्भ गरेर गणना गरिएका आचार्यहरुमा धन्वन्तरिको नाम उल्लेख छ (डा. रमेश मिश्र)।’

धन्वन्तरि काशिराज, दिवोदास, अश्विनी कुमार, नकुल र सहदेवहरू हाम्रा प्राचीन ग्रन्थहरूले वर्णन गरेका चिकित्सक हुन् ।  प्राचीन साहित्य वेदमध्ये पनि अथर्व वेदको उपवेदको रूपमा रहेको आयुर्वेदको सिर्जना गर्ने श्रेय पनि कतिपयले धन्वन्तरिलाई नै दिएका छन् । पछि उनकै आशीर्वाद लिएर चरक, सुश्रुत जस्ता ऋषिहरूले विभिन्न संहिताहरूको रचना गरे भन्ने कथनहरू पनि भेटिन्छ ।

अन्त्यमा,

धन तेरसको दिन किनमेल गर्नु शुभ हुने भनेर व्याख्या गरिँदा गरिँदै यस दिन अनिवार्यरुपमा महँगा सामान किन्नुपर्दछ भन्ने आमविश्वास स्थापित गराउन व्यापारिक समूह सुस्पष्ट ढंगले परिचालित भएका छन् । आजको दिन खरिद गरेका सामग्रीहरू राखेर लक्ष्मी पूजा गरेमा लक्ष्मी माता खुसी हुने भन्ने मिथकको मिथकीकरण हुँदा धन तेरसमा आयुर्वेदका प्रवर्तक धन्वन्तरिको नाम गायब भएको हो । व्यापारीहरूकै लहैलहैमा महँगा  सामान किन्ने दिनको रूपमा ‘धन तेरस’ स्थापित हुँदै जानु सांस्कृतिक विचलन हो  । धन तेरस धन, पैसा र सामानको तेरस होइन, धन्वन्तरिको सम्मान र आयुर्वेदको साधनाको रूपमा मनाउने तेरस हो ।

दैलोमा आइपुगेको तिहारलाई लक्षित गरि यस दिन आफ्नो गच्छेअनुसार आवश्यक सामान किन्न सकिन्छ तर धनकी देवी लक्ष्मीलाई प्रसन्न पार्न भन्दै अनिवार्य रुपमा महँगा मूर्ति, महंगा भाँडाकुँडा खरिद गर्नु आवश्यक छैन । भगवान् धन्वन्तरी देवताका वैद्य हुन् । उनको भक्ति र पूजाले स्वास्थ्य लाभ दिन्छ ।

सम्बन्धित समाचार