शुक्रबार , अषोज १४, २०७९

धनकाे ‘एक्स’ फ्याक्टर

धन सम्पत्ति आर्जन गर्नु नराम्रो हाेइन । तर आर्जन गर्याे कसरी ? हाम्रो समाजमा व्यक्तिले कसरी त्यत्रो सम्पत्ति आर्जन गर्याे, रातारात कसरी ऊ राेडपतिबाट धनपति भयो, त्यसमा कसैको चासो रहँदैन ।

image

विद्यालय तहका पाठ्यपुस्तकमा “धन ठूलो कि मन ठुलो” विषय उपरका वादविवाद तथा लेखन प्रतियोगितामा प्रत्येक विद्यार्थीले कहि न कतै अवस्य सहभागिता जनाएका थिए । परिक्षामा साेधिने “धन ठूलो कि मन, कलम ठूलो कि तरबार” प्रश्नमा लामा उत्तर अवस्य लेखेको हुनुपर्छ । कक्षामा हामीले धनभन्दा मनलाई ठूलै स्थान दियौं हाेला । शिक्षक शिक्षिकाले मन र कलमलाई बढी टेवा पुर्‍याउने तर्कहरु दिनुभयो हाेला । विडम्बना वर्तमानमा हाम्रो भाेगाइ र सिकाइमा गुरुहरुले सिकाए जस्तो भाव देखिएको छैन । हाम्रो धनप्रतिकाे भाष्य हामीले जे पढ्याैं, लेख्याैं; त्याेभन्दा ठ्याक्कै विपरीत देखिन्छ । अझ भन्नुपर्दा आम मानिसको धनप्रति पुरातनवादी बुझाइ मस्तिष्कमा जब्बर तरिकाले गाडिएर बसेको छ । वर्तमान अवस्था र आस्था अलि फरक रहेको छ । धेरै मानिस धनका दास भएका छन् । कलम र मनप्रति रुखा भएका छन् ।

केही समयअघि एकजना मित्रले उनको आफन्तसँग परिचय गराउनुभयाे । परिचयपश्चात् उनका आफन्त एकछिन कतै अल्मलिए । त्यहीँ अल्मलिएकाे क्रममा मेरो मित्रले, उनको धन सम्पत्तिबारे बेलिबिस्तार लगाए । दुईचार वटा घर, गाडी, घडेरी लगायतका भाैतिक वस्तुसँगै उनको परिचय दिए । मैले उनीबारे खासै जानकारी लिन चाहेको थिइन । उनी काे हुन्, के गर्छन्, त्यसमा खासै रुचि राखेकाे पनि थिइन । उनका भाैतिक विलासी वस्तुले अन्यलाई केही आवस्यक हुँदैन पनि । उनको व्यक्तिगत धन सम्पत्ति उनलाई काम लाग्ने हाे । तर मेरो मित्रले उनको धन सम्पत्तिको यसरी वर्णनन् गरेकी, मानौँ उक्त व्यक्तिको  सम्पत्तिले उनलाई ठूलै राहत मिलेको छ भन्ने भान हुन्थ्यो ।

वास्तवमा, माथि उल्लेख गरिएका मित्र एक प्रतिनिधि पात्रमात्र हुन् । दक्षिणी एसियाली समाजमा मान्छेको ज्ञान, आचरण, व्यवहार, संस्कार, सभ्यताभन्दा धन सम्पत्तिले ठूलो प्रभाव पारेको हुन्छ । फलानोकाे बजारमा तीनवटा घर छ, पैसा त कति हाे कति छ, यी वाक्य हाम्रा समाजमा धेरै सुनिन्छन् । भन्ने र सुन्ने धेरै  मानिसलाई यी वाक्य धेरै प्रिय लाग्ने गरेको छ । विडम्बना ! हाम्रो समाजमा, नैतिकता कुरा, ज्ञानका कुरा, सदाचार र विचारका कुराले खासै महत्त्व राखेको देखिँदैन । आजसम्म कति आफन्तले उसका निकटतमकाे ज्ञान र विचारबारे चर्चा गरे हाेलान् ? कतिले उसका समालोचनात्मक चिन्तनसँगै परिचय गराए हाेलान् ? सायदै छैनन् हाेला, यदि काेहि भए पनि एकदम कम हाेलान् । तर धन सम्पत्ति र शक्तिलाई मान्यता दिने व्यक्ति समाजमा व्याप्त छन् । विना काम र कारण अरूको धनबारे चर्चा गर्ने धेरै छन् ।

पूँजीवादी समाजमा धनकाे चर्चा गर्नु नयाँ हाेइन । धन आवस्यक छ । गार्‍हो-अफ्ट्यारोमा चाहिने आवस्यक साधनमध्ये धन पनि एक हाे । यसको मतलब याे हाेइन की व्यक्तिकाे परिचय उसको धनबाट गर्नुपर्छ । अझ अर्को राेचक पक्ष के छ भने, हाम्रो समाजमा मानिसका कयौं कमजोरी अपराधलाई ढाकछोप धनमार्फत गरिने भाष्य पुरानै परम्परा जस्तै हाे ।  जुन भाष्य र अभ्यास एकदम गलत छ । स्वार्थ र पुँजीवादले भरिएको छ । पुँजीवादकाे जस सार उदेश्य भनेको खरिद गर्ने, चाहे त्यो मान्छेको विचार हाेस् या साथ । पूँजीवादकाे अर्को नियत भनेको कसरी हुन्छ आफूलाई  ठूलो बनाउने नै हाे । कमजोरलाई प्रभावमा पार्नु नै हाे । नेपाली समाजमा मान्छे धनकाे आधारमा ठूला राम्रा धेरै कहलिएका  छन् ।

धन सम्पत्ति आर्जन गर्नु नराम्रो हाेइन । तर आर्जन गर्याे कसरी ? हाम्रो समाजमा  व्यक्तिले कसरी त्यत्रो सम्पत्ति आर्जन गर्याे, रातारात कसरी ऊ राेडपतिबाट धनपति भयो, त्यसमा कसैको चासो रहँदैन । आम व्यक्तिलाई “thinking out of the box” अवधारणाले केही प्रभाव पारेकाे छैन पनि । आम मानिसलाई  सिधै प्रतिफलसँग सम्बन्ध रहेको देखिन्छ । वर्तमानमा ऊ सँग के छ, त्यसै कुराले धेरै महत्त्व राख्ने गरेको आभास हुन्छ । मान्छेलाई ती धनाड्यले चाेरी गरेर कमाए कि ? भ्रष्टाचार गरेर कुम्लाए कि ? अत्याचार गरेर जाेडे कि ? यसमा कसैलाई केही मतलब हुँदैन । मान्छेलाई उसको आजको सम्पत्ति नै प्रमुख उपलब्धि र उत्तर भएको देखिन्छ  ।

नेपाली समाजमा धन सम्पत्तिले मान्छेका  कयौं कमजोरी, अपराध ढाकछोप गरेकाे देखिन्छ । भ्रष्टाचारी, कालो बजारी शानका साथ विना कुनै संकाेच सार्वजनिक पदमा बसेका हुन्छन् । तिनको अपराध कुकर्म धनले ढाक्न सक्षम भएको छ । समाजमा त्यस्ता अकुत सम्पत्ति भएका धेरै मान्छे छन् । कालाे धन भएका कयौं  छन् । उनीहरू प्रगतिशीलकाे नजरमा  नैतिकरुपले पत्तित हाेलान्, हिंस्रक अभद्र हाेलान् तर बहुमत समाजले यी यावत असमाजिक अनैतिक पक्ष देख्दैन । आम मानिसले उसलाई उसको सम्पत्तिकै कारणले सहर्ष स्विकारेकाे देखिन्छ । अझ सम्मान गरेको देखिन्छ । उसको परिचयसँगै उसका भाैतिक बस्तुहरु जस्तै घर गाडी धन सम्पत्ति जाेडिएका हुन्छन् । ताकि उक्त व्यक्ति धेरै धनी छ, ऊसँग सबै थाेक छ, उसलाई धनी भएकै आधारमा समाजले सम्मान गर्छ भनेर देखाउन खाेजिएकाे हुन्छ । समग्रमा उसको धनले उसका काला गतिविधि ढाक्न सफल भएको छ । त्यसको एक ज्वलन्त उदाहरण मिटर व्याजी हुन् ।

एउटा तिताे सत्य के हाे भने, मान्छेलाई धनले क्षणिक सम्मान दिलाउँला । हाम्रै समाजका केही धनभक्तले केही समय भक्ति भजन गाउलान् । तर उसको असली परिचयले इतिहासका पानामा स्थान पाउँदैन । ऊसँग धन भएकै आधारमा उसको चर्चा हुँदैन । आज गुरु प्रसाद मैनाली, विलियम सेक्सपियर, न्यूटन, राइट दाजुभाइ, मदर टेरेसा, दयाविर कंसाकारकाे चर्चा किन हुन्छ ? किन उनीहरूका समकालीन धनाड्य घुमनान छन् ? त्यसताका धनाड्यसँग धेरै धन सम्पत्ति थियो हाेला, शक्ति थियो हाेला । किन इतिहासमा उनीहरूकाे नाम छैन । किन दयाविर, टेरेसा, न्यूटनकाे आजसम्म चर्चा हुन्छ ? इतिहासमा नाम दर्ता  हुन, अमर हुन धनकाे भूमिका हुँदैहुँदैन । अमर हुन, सधैं जिवित हुन, काम, आचरण, सेवा भाव  र समाजप्रति देन हुनुपर्छ । अनि मात्र व्यक्तिको चर्चा हुन्छ ।

धन सम्पत्ति समयक्रमसँगै घट्ने बढ्ने भइरहन्छ । हिजो अनिल अम्बानीकाे अवस्था के थियो । २०१२ तिर उनी एसियाका धनी व्यक्तिको सूचिमा थिए । आजको कथा अर्कै छ । हिजोका कयौं करोडपति आज राेडपतिकाे अवस्थामा छन् । हिजोका महलमा बस्नेहरु आज सडक किनारमा बास भएको कयौं उदाहरण हाम्रै अगाडि  छन् । आजका गरिब भाेलिका धनी नहाेलान् भन्न सकिन्न । समय परिवर्तनशील छ । तर बहुमत मानिसलाई प्रस्तुत गरिएका तर्कसँग कुनै लिनुदिनु छैन । आधुनिक  मानिसहरु धनप्रति यति लिप्त छन् । धन नै सर्वथाेक हाे भन्ने चिन्तनमा छन् । पुँजीवादी  मानिसलाई याे थाहा छैन कि साथ विना धनकाे केहि काम हुँदैन । व्यक्ति अरबपति छ तर ऊ बिरामी भएको बखत उठाउने मान्छे छैन भने त्यो अर्ब के काम ? घर गाडी विलासी वस्तुले भावना त दिँदैन । पीडा र अभावको आँसुलाई धनले कदापि पुछ्दैन र सक्दैन पनि ।

अन्त्यमा, आजकाे पुँजीवादी युगमा, मानिसको मस्तिष्कमा धनलाई सर्वथाेक मान्ने जुन बुझाइ छ, त्यो विशुद्ध  दास मानसिकताको उपहज हाे । मानिसको परिचय उसको धन सम्पत्ति गर्नु नै वस्तुवादी र लालची प्रवृत्ति हाे । संसारमा कसका विचारहरू पढिन्छ । मार्क्स धनी थिए कि ज्ञानी थिए ? लियाेनार्दाेदा भिन्ची धनी थिए कि कलाकार थिए ? सुकरात धनी थिए ? देवकोटा धनाड्य थिए ? निश्चितरूपमा थिएनन् । आज धन अमर छ कि ज्ञान र सीप ? त्यो बुझ्न देवकोटा, दाभिन्ची र  मार्क्सकाे कार्य र आज हुने चर्चाले उत्तर दिएको छ । त्यसकारण धनलाई व्यक्तिको परिचयसँग जाेड्ने परिपाटी त्याग्न अत्यावश्यक देखिन्छ । अन्यथा दोषी चस्माकाे पीडाले मानिसलाई दास बनाउनेमा कुनै दुइमत छैन  ।

Tags:

सम्बन्धित समाचार