सोमबार , साउन १८, २०८३

धरान : अथाह पर्यटकीय सम्भावना, भव्य आतिथ्यता

भेडेटारमा ‘चार्ल्स पोइन्ट’ नामक भ्यु टावर समेत रहेको छ । जहाँबाट सप्तकोशीको मनोरम दृश्य, पूर्वी तराईका फाँटहरूका साथै सगरमाथा, मकालु, कञ्चनजङ्घा, कुम्भकर्ण जस्ता हिमशृङ्खलाहरूको अवलोकन गर्न सकिन्छ ।

image

पूर्व मेचीदेखी पश्चिम महाकालीसम्म भौगोलिक तथा सांस्कृतिक विविधता रहेको देश नेपालमा अनेकौँ पर्यटकीय गन्तव्य रहेका छन् । धार्मिक, प्राकृतिक, ग्रामीण, साहसिक तथा खाद्य पर्यटनको राम्रो सम्भावना बोकेका स्थानहरू छन् पूर्वी नेपालमा । केही पहिल्यैबाट चर्चित छन् भने केही भर्खर चर्चाको विषय बनिरहेका छन् । अथाह पर्यटकीय सम्भावना बोकेका यस्तै स्थानहरूमध्ये नेपालको पूर्वी भेगमा रहेको रमणीय शहर ‘धरान’ पनि एक हो । धरानमा धार्मिक, प्राकृतिक, स्वास्थ्य, साहसिक, खाद्य तथा सांस्कृतिक पर्यटनका निम्ति आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् ।

धरानको छोटो मीठो कथा

कुनै समय सालघारीका रूपमा रहेको धरानमा वि.सं. १९५० पछि फँडानी भएको थियो । त्यतिबेला गंगाप्रसाद श्रेष्ठ र माल अड्डाका सुब्बा रत्नप्रसाद श्रेष्ठले राणाहरूबाट रूख काट्ने जिम्मा पाएका थिए । उनीहरूले काठ काट्न सजिलोका लागि जङ्गलभरि धरान (काठ चिर्न बनाइएको अड्याउने टाँड) बनाएका थिए । काटिएका सालका काठ इस्ट इन्डिया कम्पनीले रेल्वेलाइन विस्तार गर्न लगेको थियो (स्रोतः सुब्बा रत्नप्रसादका नाति मुकुल कायस्थ) । काठ चिर्न बनाइएको धरानबाट नै अन्ततः बस्तीको नाम ‘धरान’ रहन गएको पाइन्छ ।

धार्मिक पर्यटन

धार्मिक पर्यटनका लागि यात्रा गर्न चाहने पर्यटकका लागि धरान एक विशेष शहर साबित हुनसक्छ । धरानको विजयपुरमा भगवान् शिवको विशेष मन्दिर ‘पिण्डेश्वरी’ रहेको छ । पौराणिक कथाअनुसार देवता र दानव मिलेर समुद्र मन्थन गर्दा अमृतले भरिएको घडा निस्किएको थियो । सो घडा दानवहरूबाट जोगाई हाल मन्दिर रहेको स्थानमा ल्याएर शिवलिङ्गको रूपमा स्थापना गरिएको विभिन्न पुराण एवं धर्मशास्त्रमा उल्लेख गरिएको पाइन्छ । यस मन्दिरमा अमृतपिण्ड पिण्डेश्वरका रूपमा भगवान् शङ्करको पूजाअर्चना गरिन्छ । अन्य दिनमा श्रद्धालु दर्शनका लागि पुगे तापनि मन्दिरमा श्रावण महिनामा भने विशेष भिड देख्न सकिन्छ । चतराको कोशी नदीमा स्नान गरी कोशीको जल चढाउन देश विदेशबाट लाखौँ भक्तजनहरू पुग्ने गरेका छन् ।

विजयपुरमै ‘बुढासुब्बा’ मन्दिर पनि रहेको छ । जुन किराँती तथा गैरकिराँतीहरूका लागि महत्त्वपूर्ण मन्दिर मानिन्छ । बुढासुब्बा मन्दिरभित्र दुईवटा माटाका ढिस्काहरू छन् जसलाई बुढासुब्बाको रूपमा पूजाआजा गर्ने गरिन्छ । यो मन्दिरको थप विशेषता भनेको टुप्पो नभएको बाँस हो । उक्त बाँसमा ‘प्रेमी प्रेमिकाको नाम लेखे प्रेम सफल हुन्छ’ भन्ने मान्यता रहिआएको छ । यद्यपि, अहिले बाँसको संरक्षण गर्ने हेतुले नाम लेख्न भने मनाही छ । अहिले बाँसमा या बाँसले घेरिएको तारजालीमा धागो बाँध्ने चलन छ । यसरी धागो बाँध्दा पनि प्रेमी प्रेमिकाहरूको प्रेम सफल हुन्छ भन्ने विश्वास गरिन्छ ।

विजयपुरमा अर्को मन्दिर ‘दन्तकाली’ पनि रहेको छ । सो स्थानमा सतीदेवीको दन्त पतन भई शक्तिपीठको रूपमा स्थापित भएको मानिन्छ । दन्तकाली क्षेत्रमा दशैंको नौरथा, तीज र स्वस्थानी पूर्णिमाका अवसरमा मेला लाग्ने गर्दछ । दन्तकाली मन्दिरका आठौँ पुस्ताका पुजारी विश्वराज खनालसँग वि.सं. १८६८ मा राजा गीर्वाणयुद्ध विक्रम शाहले उनका पुर्खा तुलाराम खनाललाई दिएका ताम्रपत्र, लालमोहर अझै पनि सुरक्षित छन् । ताम्रपत्रमा खनालहरूले सेनका पालादेखि नै पुजारीको काम गरिआएको उल्लेख छ । विश्वराजको भनाइमा उनका पुर्खा विजयपुरमा वि.सं. १५०२ तिर आएका हुन् ।

विजयपुरमै ‘पञ्चकन्या’ नामको अर्को मन्दिर र त्यसको छेउमा भताभुङ्गे राजाको दरबार रहेको छ । जुन धार्मिक तथा ऐतिहासिक हिसाबले महत्वपूर्ण छन् । पञ्चकन्या क्षेत्रमा पञ्चकन्या र पाथीभरादेवीका मन्दिर स्थापना गरिएका छन् । भताभुङ्गे राजाको दरबार क्षेत्रमा भने किराँतहरूले साकेला थान निर्माण गरेका छन् । धरानको सौन्दर्य अवलोकन गर्न सकिने यो स्थान एकान्त वन क्षेत्र भएकाले पर्यटकको मन नलोभ्याइरहन सक्दैन ।

साथै, धरानमा इस्कन मन्दिर, गीता भवन, दर्जनौँ गुम्बा, साकेला थान तथा मस्जिदसमेत रहेका छन् ।

प्राकृतिक पर्यटन

प्राकृतिक पर्यटनका लागि भ्रमणमा निस्किने इच्छा भएकाहरू धरान पुग्नैपर्छ । धरान पुगिसकेपछि यात्रा विजयपुर डाँडाबाट सुरु गर्दा हुन्छ । रुद्राक्षारण्यमहात्म्यमा विजयपुर क्षत्रलाई धेरै रुद्राक्ष पाइने वन भएकाले “रुद्राक्षारण्यनाम” दिएको पाइन्छ । साथै, शीतल हावा बहने ठाउँ भएकाले यस क्षेत्रलाई शीतशैल भनी वर्णन गरिएको पनि पाइन्छ । धरानको मुख्य शहरी क्षेत्रलाई छोडेर विजयपुरतिर हाइकिङ जाँदा दिन खेर जाँदैन । धरानको मनोरम दृश्यलाई आँखामा सजाउँदै वनैवनको शीतल यात्रा गर्दा हृदय तृप्त भएर आउँछ ।

धरानबाट १७ किलोमिटरको यात्रा गरेर १४२० मिको उचाइमा रहेको सुन्दर हिल स्टेसन भेडेटार पुग्दा आनन्द महसुस हुन्छ । सर्पाकार बाटो छिचोल्दै शान्त भेडेटार पुगेर त्यहाँको सुन्दरतामा हराउँदा समय बितेको पत्तो हुँदैन । सन् २०३८ मा ब्रिटिस राजकुमार चार्ल्सले पनि यो ठाउँको भ्रमण गरेका थिए । भेडेटारमा ‘चार्ल्स पोइन्ट’ नामक भ्यु टावर समेत रहेको छ । जहाँबाट सप्तकोशीको मनोरम दृश्य, पूर्वी तराईका फाँटहरूका साथै सगरमाथा, मकालु, कञ्चनजङ्घा, कुम्भकर्ण जस्ता हिमशृङ्खलाहरूको अवलोकन गर्न सकिन्छ । गर्मी छल्न तथा पिकनिक खानका लागि नेपाल तथा भारतका विभिन्न स्थानबाट पर्यटकहरू भेडेटार पुग्ने गरेका छन् ।

भेडेटारबाट करिब ९ किलोमिटरको दूरीमा रहेको ‘नमस्ते झरना’ पनि एक पर्यटकीय आकर्षणको बिन्दु हो । झरना अवलोकन गर्न र नुहाउन विभिन्न स्थानबाट आन्तरिक तथा बाह्य पर्यटकहरू नमस्ते झरना पुग्ने गरेका छन् । त्यसैगरी, धरानको शिवधारा चौकबाट करिब ३ किलोमिटर उत्तर पूर्वमा रहेको ‘शिवजट्टा झरना’ले पनि त्यहाँ पुग्ने हर कोहीको मन लोभ्याउँछ ।

धरानमा फुस्रेबाट साँघुरीगढी, बीपी पार्कबाट चिन्डे डाँडा, विजयपुरबाट दानाबारी आदि रुटको प्रयोग गरी रमणीय पैदल यात्रा गर्न सकिन्छ । यी स्थानका यात्रा गर्दा भेटिने खोला-खोल्सा, रुख वृक्षसँग गफ गर्दै, शहरको कोलाहलबाट शान्त वातावरण हिँड्न पाउँदा शरीरमा ऊर्जा भरिन्छ ।

स्वास्थ्य पर्यटन

स्वास्थ्य पर्यटनका लागि पनि धरान एक विशेष स्थान हो । पूर्वी नेपालका विभिन्न स्थानबाट उपचारका लागि मानिसहरू धरान पुग्ने गर्छन् । ‘बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान’ धरानको मात्र नभएर नेपालकै स्वास्थ्य पर्यटनको प्रमुख आकर्षण हो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान १९९३ मा स्थापना भई सन् १९९८ स्वास्थ्य विश्वविद्यालयको रूपमा परिणत भएको हो ।

साहसिक पर्यटन

पछिल्लो समय, धरान साहसिक पर्यटनका लागि पनि चिनिन थालेको छ । धरान पुगिसकेपछि साहसिक तथा रोमाञ्चक ‘जिपलाइन’को आनन्द नलिई फर्किन यतिबेला कसैको मन मान्दैन । धरानका ‘चिन्डे डाँडा’ र ‘भेडेटार’ जिपलाइनका लागि सुपरिचित गन्तव्य हुन् ।

करिब ५ वर्षदेखि धरानमा ‘प्याराग्लाइडिङ’को रोमाञ्चक उडान भर्न समेत पाइन थालेको छ । चिन्डे डाँडाबाट प्याराग्लाइडिङ गरेर सेउती बगर तथा धरान १६को फुटबल ग्राउण्डमा अवतरण गरिने गरिएको छ । भेडेटारबाट पनि प्याराग्लाइडिङमार्फत उड्न सकिन्छ ।

पछिल्लो समय युवा पुस्तामाझ आन्तरिक पर्यटनमा आकर्षण बढाउन यस्ता साहसिक खेलहरूले पनि महत्वपूर्ण भूमिका खेलेका छन् । मनोरञ्जन प्राप्त हुनुका सथसाथै बहादुरी समेत प्रदर्शन गर्न सकिने भएपछि युवाहरू यस खेलतर्फ निकै नै आकर्षित छन् ।

खाद्य पर्यटन

खाद्य पर्यटनका लागि पनि धरान एक विशेष शहर नै हो । अहिले विभिन्न ठाउँमा पाइने भए तापनि धरान नै पुगेर धराने कालो बङ्गुरका विभिन्न परिकारको स्वाद लिँदा जिब्रो पक्कै सन्तुष्ट हुनेछ । साथै, पहाड र तराई दुवै क्षेत्रका विभिन्न परिकारहरूको स्वाद पनि धरानमै बसीबसी लिन सकिन्छ ।

राई, लिम्बु, नेवार आदि जातजातिका पारम्परिक परिकार समेत धरानको मेनुमा भेटिनेछन् । यतिबेला ‘फुड भ्लगिङ’कै लागि धरान पुग्ने पर्यटकको सङ्ख्या पनि बढ्दो पाउन सकिन्छ ।

सांस्कृतिक पर्यटन

बहुजातिको बसोबास रहेको धरान सांस्कृतिक रूपमा पनि धनी छ । धरानमा उँधौली, उभौली, चासोक तंगनाम्, धान नाच, ल्होसार, लाखे नाच, बोलबम आदि चाडबाड नजिकबाट अवलोकन गर्न सकिन्छ ।

सुन्दर नगरी धरानको सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नयाँ नेतृत्वको टोलीले विभिन्न आयामहरूमा काम गरिरहेका छन् । नयाँ नेतृत्वले धरानमा पर्यटन प्रवर्द्धन गर्न प्रचारप्रसारमा नयाँ रणनीति अपनाउनेमा पर्यटन शाखा धरान उपमहानगरपालिकाकी सुशीला प्रसाईँ विश्वस्त छिन् ।

यस्तै, धरान उपमहानगरका वर्तमान मेयर हर्क साम्पाङले श्रम गर्ने बानी बसाउन समत सुरु गरेका छन् । उनीबाट प्रभावित भएर पनि कतिपय व्यक्तिहरू धरान आउने गरेको उनले बताइन् । मेयर साम्पाङले अप्रत्यक्ष रूपमा धरानको पर्यटनमा सहयोग पुर्‍याइरहेका उनको भनाइ छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रत्येक वर्ष पुस २० गते धरान स्थापनाको उपलक्ष्यमा ‘धरान डे’ विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने गरिन्छ ।

पर्यटकको सहायताका लागि धरानको १४ नं वडामा पर्यटन सूचना केन्द्र राखिएको छ भने भानु चौक, घण्टाघर नजिकै रहेको बुथबाट पनि पर्यटकहरूले सहयोग लिन सक्नेछन् । सुशीला भन्छिन्, ‘धरान घुम्न आउने पर्यटकलाई आवश्यक सहयोग गर्न तयार छौँ, कुनै पनि पर्यटक धरान पुगेर अलमलिनु पर्दैन ।’

नेपाल पर्यटन बोर्डले नेपालको पूर्वी भेगको पर्यटन प्रवर्द्धन गर्न बजेट समेत छुट्याएको छ । जसको नेतृत्वको जिम्मा पनि धरानले नै पाएको छ । यसले बाह्य पर्यटक भित्र्याउन सहयोग गर्ने सुशीलाले विश्वास लिएकी छिन् ।

कसरी पुग्ने ?

धरान पुग्नका लागि नेपालका ठूला शहरबाट सर्वसुलभ तरिकाले सार्वजनिक यातायात पाउन सकिन्छ । काठमाडौँबाट हवाईमार्ग हुँदै विराटनगर विमानस्थल ओर्लिएर पनि धरानतर्फ अघि बढ्न सकिन्छ । होटेल तथा रेस्टुराँको राम्रो सुविधा भएको धरानमा ग्रामीण पर्यटनअन्तर्गत होमस्टेमा बसोबास गर्न इच्छा भएमा त्यसको सुविधा पनि पाउन सकिन्छ ।

ती होमस्टेबाट पूर्वी नेपालको अर्गानिक गाँसबास सँगसँगै स्थानीयको भव्य आतिथ्यता समेत प्राप्त गर्न सकिन्छ ।

सम्बन्धित समाचार