बुधबार , भाद्र १०, २०८३

जब गोरखाको लस्कर विरुद्ध मैधीका सिपाईहरू धनुकाड लिई जाइलागे !

गोरखाको लस्कर लडाइँ गर्न आयाको देखि मैधीका सर्दार सिपाईहरु पनि हतियार धनुकाड लिई जाइँ लाग्या । दुवै तरफको फौजले परस्पर तिरको हानाहान गर्दा अगँ–अगँमा तिर लागि कोहि मर्य । कोहि घाइँते भया ।

image

  • प्रमोद भट्ट

साविकको ढोला गाविस अन्तर्गत वडा नम्बर २ मा अवस्थित गढी डाँडो (मैधी/मैदी राज्यको राजधानी) ऐतिहासिक महत्त्वको ठाउँ हो । यहाँ वि.सं. १५०० साल भन्दा अगाडि घले राजाहरूले राज्य गरेको इतिहास छ । यस ठाउँमा पाइने ईट्टा, पुराना तामाका पैसा, तिरका टुक्रा, लिङ्गे ढुङ्गो आदिले त्यसको पुष्टि गर्दछ । यहाँ तिन वटा गढी रहेको छ, जुन गढीमा घले राजाहरूले आफ्नो वासोस्थान बनाएका थिए ।

गोरखा राज्यको संस्थापक द्रव्य शाहका छोरा पूर्ण (पुरन्दर) शाह वि.सं. १६२७ सालमा राजा भए पछि पूर्वतर्फ राज्य विस्तार गर्ने सिलसिलामा बुढीगण्डकी तरी सर्वप्रथम सल्यानको घले राज्यमा हमला गरी विजय प्राप्त गरे । त्यसपछि खरी, मैधी, धादिङ, चरङ्गे आदि थुमथुममा रहेका घले राज्यहरूमाथि हमला गर्न गोरखाबाट फौज पठाए । खरी, मैधी लगायत अरू स्वतन्त्र थुमका राज्यहरूलाई गोरखा राज्यमा मिलाएर उनीहरूको स्वतन्त्र अस्तित्व गुमाइदिए ।

खरी जितेपछि मैधीतर्फ आक्रमण गर्न जाँदा गोरखाली र मैधेली फौजबिच भएको लडाइँबारे इतिहासमा यस्तो लेखिएको छ- ‘खयालहरुलाई कत्तल गरि त्यहाको चिज वस्तु लि सरासर मैधी तरफ गया । गोरखाको लस्कर लडाइँ गर्न आयाको देखि मैधीका सर्दार सिपाईहरु पनि हतियार धनुकाड लिई जाइँ लाग्या । दुवै तरफको फौजले परस्पर तिरको हानाहान गर्दा अगँ–अगँमा तिर लागि कोहि मर्य । कोहि घाइँते भया । फेरि गोरखाको तरफबाट र मैधीको तरफबाट खुकुरीको हानाहान हुँदा कसैको सिर, कसैको गर्धन, कसैको हात, कसैको कम्मर, कसैको गोडा काटिई मर्या । कोहि घाईते भया । फेरि गोरखालीबाट तरबार खुडा, खुकुरी, वाकला गर्दा मैधालहरु कत्तल भया । वाकि रह्याकालाई लखेट्दै मैधी पुयाई ताहा अम्मल गरि जो भयाको चिज वस्तु लि श्री ५ पुरन्दर शाहका हजुरमा दाषिल भै खरी, मैधीको चिज वस्तु नजराना (उपहार) राषि दर्शन गर्दा श्री ५ महाराज प्रशन्न हुनु भै स्यााबसि दिनु भयो ।’ यो ऐतिहासिक अंश आफ्नो माटो बाट साभार गरिएको हो ।

मैधेलीले अत्यन्त बहादुरीपूर्वक लडी गोरखाली फौजको निकै नोक्सानी पुर्याइदिएको र पछि गोरखालीहरू धेरै भएकोले उनीहरूको अगाडि टिक्न नसकी पछि हट्दै गएको र आखिर हार स्विकार्नु परेको देखिन्छ । अरू ठाउँहरूभन्दा मैधी जितेकोमा राजा विशेष खुसी भएका रहेछन् ।

त्यस वेला मैधी राज्य बलियो थियो भन्ने कुराको प्रमाण जुटाउँदा त्यहाँ सिपाहीलाई तिर हान्ने तालिम दिने उद्देश्यले गाडिएको करिब दस टन जतिको लिङ्गे ढुङ्गा (जसलाई ७ दिनको सुत्केरीले गाडेको भनिन्छ), घोडालाई दाना पानी खुवाउने चार वटा ढुङ्गाको डुँड पाइनु, इट्टाद्वारा बनाइएको दरबार हुनु, तामाको पैसा चलनमा ल्याइनु आदि बाट अहिले त्यस कुराको पुष्टि गर्छ । किनकि आज भन्दा ६०० वर्ष पहिले नै ती कुराको निमार्ण गरिनु भनेको सजिलो कुरा थिएन । यसरी अध्ययन अनुसन्धान गर्दा हालको ढोला गा.वि.सलाई पनि मैधीको नाम बाटै चिनिन्थ्यो । पछि विस्तारै बस्ती बढेपछि यी ठाउँहरू विभाजित भएको पाउन सकिन्छ । यसरी हेर्दा ढोला र मैधीको सम्बन्ध नङ र मासुको जस्तो पाउन सकिन्छ ।

दारे गौडाको ऐतिहासिक महत्त्व:

साविकको ढोला गा.वि.स. ऐतिहासिक महत्त्व बोकेको ठाउँ हो । यस ठाउँको ऐतिहासिकतालाई अध्ययन, अनुसन्धान गर्नु आवश्यक छ । यी कुराको अध्ययन, अनुसन्धानले ढोलालाई पर्यटकीय क्षेत्रको रूपमा चिनाउन मद्दत गर्दछ । यसैबिच दारे गौडाको पनि आफ्नो छुट्टै महत्त्व रहेको यहाँको बुढापाकाहरू बताउँछन् ।

साविकको ढोला गा.वि.स. र मैदी गा.वि.स. लाई पहिले ‘मैधी गाउँ’को रूपमा चिनिन्थ्यो र अहिले मैधीको इतिहास केलाउँदा ढोलाको इतिहास पनि त्यसैसँग जोडिएर आउने गरेको पाइन्छ ।

वि.स.९३६ देखि १८२६ साल सम्मलाई नेपालको मध्यकाल मानिन्छ । नेपालको पूर्व मध्यकाल ४४४ अथवा पाँचौँ शताब्दीको मध्यतिर त्यसभन्दा पनि अघि नेपालको मध्य पहाडी भागतिर मङ्गोल जातिका मगर, गुरुङ र घलेहरूको शासनको बाहुल्यता थियो । त्यसैगरि धादिङका खरी, मैधी, रामकोट, धुवाँकोट, चरङ्गे आदि ठाउँमा घले राजाले राज्य गरेका थिए । यसरी किटान गरी भन्न नसके पनि १५०० सालतिरबाट घलेहरूले यस ठाउँलाई आफ्नो राज्य बनाएको मान्न सकिन्छ । यसै बिच घलेहरूले आफ्नो मैधि राज्यको राजधानी चाहिँ अहिले ढोला, वडा नम्बर-१ मा अवस्थित गढी डाँडोलाई बनाएको इतिहास छ ।

यसरी मैधी राज्यमा प्रवेश गर्ने मुख्य नाकाको रूपमा दारे गौडा रहेको बताइन्छ । त्यहाँ पाउने तिरका टुक्रा, पुराना तामाको पैसाले त्यस कुराको पुष्टि गर्छ । ढोला-५ निवासी विष्णुलाल श्रेष्ठसँग त्यहाँ पाउने पैसा सुरक्षित रहेको छ । तिरको टुक्रा चाही हराएको उहाँ बताउनुहुन्छ । अग्लो डाँडो हुन सबै तिर अवलोकन गर्न सक्ने ठाउँ भएकोले पनि त्यहाँ घले राजाले आफ्नो सुरक्षाको लागि त्यहाँ सुरक्षा कर्मी राखी अन्यत्र राज्यबाट त्यस राज्यमा आक्रमण गर्न वा अन्य उद्देश्यले केही आए नआएको सूचना लिन त्यस ठाउँलाई प्रयोग गरेको बुझ्न सकिन्छ ।

यसरी हेर्दा ढुङ्गिनि डाँडोमा मान्छे सुत्न मिल्ने खालको ढुङ्गा पाउनु र त्यस ठाउँबाट विभिन्न हिमशृङ्खलाको साथै मनोरम दृश्य देख्न सकिनुले घले राजाहरू मनोरञ्जन लिनको लागी पनि त्यस ठाउँमा आउने गरेको बुझ्न सकिन्छ । यसरी अनुसन्धान गर्दा ढकाल चौतारो हुँदै सुनखानी जाने र गढी डाँडासम्म आउने बाटो सम्भवत: ढोलाकै पुरानो बाटो अन्तर्गत पर्न सक्दछ । किनकि ढोलाको इतिहासलाई नियाल्दा ढोलाको अधिकांश अहिले बस्ती बसेका ठाउँहरू १७०० साल भन्दा पछि बस्ती बसेको अनुमान गर्न सकिन्छ ।

लिङ्गे ढुङ्गा:

साविकको ढोला गा.वि.सको वडा नम्बर २ मा अवस्थित यस ढुङ्गाको ऐतिहासिक महत्त्व रहेको छ । यो ढुङ्गालाई कसैले सात दिनको सुत्केरीले गाडेको भन्छन् भने कसैले पहिले त्यहाँ रहेको घले राजाले आफ्नो सिपाहीलाई तिर हान्ने तालिम दिन गाड्न लगाएको भन्ने गर्दछन् । हामीले गरेको अध्ययन अनुसार पनि सिपाहीलाई तिर हान्ने तालिम दिने उद्देश्यले गाड्न लगाएको भन्ने तथ्य फेला पारेका छौ । करिब १० टन जतिको उक्त ढुङ्गा १०० जना मानिस घटिले बोक्न नसक्ने खालको छ ।

अहिले सो ढुङ्गा जमिनबाट ८ फिट अग्लो छ भने त्यति नै मात्रामा गाडिएको बुढापाका बताउँछन् । सो ढुङ्गा कहाँबाट ल्याइएको हो भनेर अहिले सम्म कुनै प्रमाण फेला पार्न सकिएको छैन । त्यहाँ पुग्ने जो कोहीले पनि एक पटक यो ढुङ्गा अवलोकन गर्न छुटाउन नमिल्ने खालको छ । यस क्षेत्रबाट विभिन्न हिमाली,र टाढा टाढाका मनोरम दृश्य देख्न सकिने भएकाले यहाँ आन्तरिक तथा बाह्य पर्यटक भित्र्याई आम्दानीको नयाँ विकल्प खोज्न सकिने छ ।

(प्रस्तुत सामग्री आवश्यक सम्पादन सहित ‘हाम्रो ढोला’ पुस्तकबाट साभार गरिएको हो भने ब्यानरमा प्रयोग गरिएको फोटो जेम्स बेली फ्रेजरद्वारा कोरिएको गोर्खा सेनाको प्रारम्भिक (१८१५) चित्रण हो- सम्पादक ।)

सम्बन्धित समाचार