यी बाहेक डेङ्गी संक्रमण हुन नदिन यसको रोकथाममा ध्यान दिन जरुरी हुन्छ ।
अहिले काठमाण्डू उपत्यकासहित नेपालका विभिन्न स्थानमा डेङ्गीको प्रकोप फैलिएको छ। अधिकांश जिल्लामा डेङ्गीका बिरामी फेला परेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यो रोग नेपालमा पहिलोपटक विसं २०६१ मा चितवनमा देखा परेको सरकारी अभिलेख छ भने डेङ्गी लागेका बिरामीलाई कामज्वरो आउने, आँखा दुख्ने, शरीर गल्ने र पखाला लाग्ने लक्षणहरू देखिएका छन् । यो वर्ष १६,५८७ लाई डेङ्गी भइसकेको र २० जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ ।
यस्तोमा एक पटक डेङ्गी भइसकेकाहरूको मनमा एक किसिमको उत्सुकता छ कि एक पटक त बल्ल तल्ल मृत्यु जितेर बाँचिएको छ । फेरि पनि यही रोगको शिकार हुन पर्यो भने ? अर्थात् एक पटक डेङ्गी लागेको व्यक्तिलाई अर्को पटक डेङ्गी लाग्छ कि लाग्दैन ? भन्ने प्रश्नमा भाइरोलोजिस्ट रेश्मा तुलाधर भन्नुहुन्छ, ‘एक पटक डेङ्गी लागेका व्यक्तिलाई फेरि डेङ्गी लाग्दछ, तर जुन वर्ष डेङ्गी लागेको हो त्यो वर्षमा भने फेरि लाग्ने सम्भावना कम हुन्छ ।’
यस्तै अर्का फिजिसियन डा. निरज बम भन्नुहुन्छ, ‘यो राेग रिपिटियट्लि लाग्न सक्छ । केही वर्ष अघि डेङ्गी संक्रमण काठमाडौँमा फैलिएको थियो त्यो बेलामा डेङ्गी पोजिटिभ देखिएका बिरामी अहिले पनि डेङ्गी संक्रमण भयो भन्दै आउने गर्नुहुन्छ ।’
दोस्रो पटक डेङ्गी भएमा कस्तो लक्षण देखा पर्दछ भन्दा रेश्मा तुलाधर भन्नुहुन्छ, ‘एउटा डेङ्गी भाइरस विरुद्ध बनेको एन्टीबडीले पछि गएर अर्को डेङ्गी भाइरस प्रजातिलाई संक्रमण गर्यो भने यो एन्टीबडीले अर्को प्रजाति विरुद्ध काम नगरी कोष भित्र छिर्न उल्टो मद्दत गर्छ । जसले एक पटक एक प्रजातिले संक्रमण गर्दा भन्दा दोस्रो पटक भिन्दै प्रजातिको डेङ्गी भाइरसले संक्रमण गर्दा बिराीलाई झन् गाह्रो हुन्छ ।’
यही प्रश्नमा डा. निरज बम भन्नुहुन्छ, ‘शरीरको विभिन्न भागमा रगत बग्ने समस्या देखिन सक्छ । आँखामा, दिसामा र खकारमा रगत बग्ने समस्या देखिन सक्छ भने छालामा छिर्काहरु देखिन सक्छ यस्तोमा तुरुन्त स्वास्थ्य चौकी जानु पर्दछ ।’
डेङ्गीको उपचार कसरी गर्ने भन्दा डा. निरज बम भन्नुहुन्छ, ‘टाउको दुख्ने, ज्वरो आउने जस्ता सामान्य लक्षण देखिएमा प्यारासिटामोल लिनुपर्दछ । यी बाहेक शरीरका विभिन्न भागबाट पानी बग्ने, वान्ता हुने अर्थात् जटिल लक्षण देखिएमा भने अस्पताल जानुपर्ने हुन्छ । चिकित्सकको सल्लाहमा घरमै पनि आराम गरेर बस्न सकिन्छ । यी बाहेक डेङ्गी संक्रमण हुन नदिन यसको रोकथाममा ध्यान दिन जरुरी हुन्छ ।’
(यो न्युज बीबीसीले तयार पारेको भिडियोको आधारमा तयार पारिएको हो ।)