जिन्दगि गणित पनि त होइन, हिसाब गर्दै बस्नलाई । सन्तुलन अपरिहार्य छ जीवनमा तर जरुरी छैन कि पाएका र गुमाएका कुराको ब्यालेन्स सिट बनाउँदै बसौं ।
लेख्न मन लागिरहेछ । तर, के लेख्ने थाहा छैन । टुंगै छैन । अझ भनौं, सुदुरसम्म कुनै नामोनिसान छैन । अँ, बडिमालिका जति सुदुर पनि होइन । अब छुस्स यहाँ बडिमालिका कसरी आयो भन्नुहुन्छ भने यो मेरो मनपसन्द ठाउँ हो । यद्यपि गएको छैन । लाग्यो त लाग्यो । मनै त हो । मन, चित्त, दिल, हृदय यावतयावत शाब्दिक छनोटको अध्ययनतर्फ लाग्दिन म । अब केही लेखौं ? म अनुमति माग्छु आफैँसँग । किनकी म औपचारिकताप्रेमी हुँ । तपाईं नि ? खैर ! छाड्नुस् । तपाईंका मनपसन्द कुरा पछि सुन्छु है त ।
अँ त कुरा सुरु गरौँ क्यारे, दाइ मसँग रिसाएको छ । दिमाग मेरो खराब छ । आहा ! कस्तो मीठो सम्बन्ध भन्न नहतारिनुस् । दाइलाई ‘त’ भन्ने भनेर कस्तो कूसंस्कारी पनि भनि नटोपल्नुस् । दाजु बहिनीको सम्बन्ध यस्तै हुन्छ । यति भन्छु, दाइ मेरो जिन्दगी हो । तपाईंको दाइ पनि तपाईंको जिन्दगी हो भने यो दामी कुरा हो ।
आज सहरमा झरी पनि परेको छैन । फेरि, काठमाडौंका फोहोर गल्ली चाल्दा तथाकथित “कन्टेन्ट” भेटिएको पनि त होइन । यहाँ त दुर्गन्धले भेटिएको कन्टेन्ट पनि हराउन बेर लाग्दैन । हाहा । बालेन दाइले पिच गर्दिन्छन् रोड भन्दै नाच्नेहरू कता छन् कुन्नी ।
मन विचलित पनि छैन्, अविचलित पनि होइन । मन भन्नुस्, हृदय भन्नुस्, दिल भन्नुस् मैले माथि भनेसके शब्दसँग मलाई सरोकार छैन । ए तर, चित्त विचलित छ भनेको प्राय: सुनिदैन नि है ? याद गर्नु भाछ ? सुन्नु भाछ भने नि ठिकै छ त्यसलाई आठौँ आश्चर्यमा लिनु पर्दैन । यी सब शब्दका कमाल हुन् । शब्दका तामझाम हुन् ।
कसैको याद अचाक्ली आएको पनि छैन । कसैको याद नआएको पनि होइन । यसै यसै अनायासै शब्दहरू कति प्रिय लागेका । खेलाईरहुँ, चलाईरहुँ जस्तो । शहर अहिले मौन छ । पत्याउनु भएन ? शहर र मौनता आफैंमा विसंगत हो भनेर भने म गलत हुन्छु ? यो निर्क्यौल गर्ने जिम्मा तपाईंको हो । यस्तो झन्झटमा को फसोस् । तपाईंलाई नि अल्छी लाग्छ भने छोडिदिँदा हुन्छ । धन्दा नमान्नुस् म चित्त पित्त केहि दुखाउने छैन । ढुक्क हुनुस् ।
तर, पत्याउनुस् शहर यतिबेला साच्चीकै मौन छ । नपत्याए, राति तीन बजे उठेर हेर्नुस् । उठ्न अल्छि लाग्छ भने कुम्भकर्ण बनिरहनुस्, त्यसमा मलाई कुनै आपत्ति छैन । हाहा । मजाक गरेको । सिरियस नहुनुस् । सिरियस भन्दा एउटा कुरा याद आयो, मेरो मम्मी भन्नुहुन्छ आज सिरियलले सिरियस बनायो । बुवा र म मरीमरी हाँस्छौ । परन्तु, म यहाँ सिरियल हेर्दै छैन । म त शहरको रातलाई नियालीरहेछु । चियासँगै । सुरुप्प सुरुप्प । घुटुक्क घुटुक्क ।
तथापि, मलाई यो क्रुर मौनता मन परिरहेको छैन । फिटिक्कै । अहँ ! रत्तिभर पनि । मौनतालाई चिथोर्न मन लाग्छ, बिरालोले जस्तै । मौनतालाई मलाई कोतर्न मन लाग्छ, उल्टे काँडाले जस्तै । लुछिरहन मन लाग्छ, गिद्दले सिनो लुछे जस्तै । गिजोल्न मन लाग्छ, मासु र भात जस्तै ।
शहर यति प्रचुर मौनतामा किन छ ? दाइ मौन थियो । म मौन छु । कोठा मौन छ । भित्ता मौन छ । ढलिरहेका, पल्टिरहेका, ठडिइरहेका सबका सब सामान मौन छन् । कोही किन मलाई आवाज दिँदैनन् ? अब एउटा काम गर्छु, नेपाल आइडल सिजन दुईमा नीलिमा थापाले गाएको मलाई आवाज देउ भन्ने प्रश्न शाक्यको गीत सुन्छु अनि विन्दास बस्छु । तपाईं सुन्ने हो ? हो भने आउनुस्, साइडमा स्न्याकर पनि राख्नुस् । चकलेट र संगीतको मिश्रण बबाल हुन्छ । दामीयस्ट हुन्छ । छक्क नपर्नुस्, दामीयस्ट भनेको दामी शब्दको अपभ्रंश मात्रै हो ।
तर, खै किन हो । यसरी नि चित्त बुझेन । अँ, एउटा कुरा भनिहाले है । मनलाई किन जहिले दुखाईको रुपमा प्रयोग गरिन्छ ? चित्त किन सधैँ बुझ्ने र नबुझ्नेमा अल्झिन्छ ? हृदय कहिल्यै किन जम्दैन ? सधैं सधैं किन पग्लिरहनु परेको यसलाई ? तपाईंलाई अचम्म लाग्दैन ? मौनताले अझै मै हुँ भनिराछ । म निस्सासिए, अतालिए । अझै केही दिन यस्तै मौन रहे सबथोक म बहुलाउछु । सत्ते ।
मलाई मौनतादेखि यति रिस उठ्छ । म चिच्याई चिच्याई कराउँछु । तर, कहाँ बिलाईरहेछ मेरो आवाज ? फगत, एक ऐठनमा जस्तै ? मौनतासँग रिस प्रचुर मात्रामा बढीरहेछ । म अब क्रुर हुन बेर लाउँदिन । मलाई निर्ममतापूर्वक हत्या गरिदिन मन लाग्छ मौनताको बलात्कारीले सानी बच्चीको बलात्कार गरेर मारिदिए जस्तै ।
चिया खाँदै गर्दा चुरोटको तलतल लाग्छ । म आधा बाँकी रहेको चिया बाल्कनीमै छोडेर चुरोट लिन कोठामा छिर्छु । आज किन किन मलाई चुरोटको बट्टा सुमसुम्याई रहन मन लाग्छ । बट्टादेखि छुट्टै किसिमको माया लागेर आउँछ । म हेरिरहन्छु, “बट्टामा लेखिएको थियो धुम्रपानमा नाईट्रोसोमाईन र बेन्जोपाईरिन जस्ता क्यान्सरको कारक तत्त्वहरू हुन्छन्, धुम्रपान गर्न छोडौं ।”
मलाई कता कता छोडौं छोडौं लाग्छ, उ पनि यही भन्छ कि म चुरोट पिउन छोदिदिउ । पिउन कि तान्न ? आ ! जे सुकै होस् । म यसो सोच्छु, बीस खिल्ली रहेको एउटा बट्टा मलाई बीस दिनलाई पनि पुग्दैन । मतलब, दिनको एकपटक भन्दा बढी चुरोट चाहिन्छ मलाई । साथीसर्कल त्यस्तै भएर हो कि ? फेरी चिया खाँदा नि चाहियो, पानी पर्दा नि चाहियो, कहिलेकाहीँ यसो रमाइलो गरेर एक दुई पेग लगाउँदा नि चाहियो । अझ, प्राय: त खाना खाइसकेर भुँडीलाई
आराम दिँदै गर्दा पनि चाहिने । हाय जिन्दगी । यार, जिन्दगी यति चुरोटमय किन छ ?
म कुनबेला बाल्कनी पुगेँ, मलाई थाहा छैन । मलाई लाग्छ, एक सर्को तानिहाल्नु पर्छ । म तान्छु । यो जान्दा जाँदै कि चुरोटमा लगभग सात हजार रसायन हुन्छन् । यी रसायनहरूसँगै चुरोट बल्दा धुलोका कण, निकोटिन, कार्बोनमोनोअक्साइड र सल्फरडाइअक्साइड जस्ता हानिकारक ग्यास पनि निस्किछन् । ती सात हजार रसायनमध्ये ६९ वटा रसायन क्यान्सरको लागि जोखिम बढाउने किसिमका हुन्छन् । निकोटिनको काम लत बसाउने हो, जसको क्यान्सरका लागि कुनै भूमिका हुँदैन । लत हटाउन ‘निकोटिन प्याच’ प्रयोग गरौँ कि भन्ने पनि नसोचेको होइन । तर, मनको अगाडि दिमागको के काम ।
भनिन्छ, कसैले जीवनको कुनै कालखण्डमा एक सय खिल्ली भन्दा बढी चुरोट सेवन गरेको छ भने उसलाई नियमित चुरोट खाने व्यक्त्तिको सूचीमा राखिन्छ । सायद, यसमा म पनि पर्छु । यसमा मलाई कुनै आपत्ति छैन । म सत्य स्वीकार्छु । यसै पनि झुटो बोल्नेहरूसँग मेरो घोर भर्त्सना छ । मलाई झल्याँस्स याद आउँछ, आधा कप चिया । हेर्छु त राखेको ठाउँमा छैन ।
यो आधा रातमा आधा कप चिया कसले खाइदिन सक्छ ? फेरी, दुध पनि त होइन बिरालोले खाइदिन । म सोचेरै हैरान हुन्छु । यही हैरानीमा म एक सर्को तानेर बाँकी रहेको चुरोट सरसर्ती तानिदिन्छु । मलाई हराएको आधा कप चिया खोज्न जाँगर चल्दैन । जिन्दगीको आधा यात्रासम्म आईपुग्दा कति चिज चोरिए, कति चिज हराए, कति चिज छोडिए र कति चिज गुमे । ती हिसाब गर्न थाल्ने हो भने, एउटा तन्दुरुस्त मानिस डिप्रेसनमा पुग्न सक्छ । फेरी, जिन्दगि गणित पनि त होइन, हिसाब गर्दै बस्नलाई । सन्तुलन अपरिहार्य छ जीवनमा तर जरुरी छैन कि पाएका र गुमाएका कुराको ब्यालेन्स सिट बनाउँदै बसौं ।
म बाल्कनीकै बारमा चुरोटको ठुटो घिसार्छु । निर्मोही पाराले । हामी किन यति निठूर छौँ । जिन्दगीमा हामी उसैलाई जलाउँछौँ र कति प्यारसँग चुम्छौँ । अघिसम्म तानेको चुरोट जब ठुटो बन्छ तब कति क्रुर भएर थिच्छौँ । यसैबीच, मलाई पाटनमा रहेको एउटा ब्यानर याद आउँछ, जसमा लेखिएको थियो, ‘आज म जलिरहेको छु तपाईंको कारणले भोलि तपाईं जलिरहनु हुनेछ मेरो कारणले ।’
एकदिन भरीमा कति थिचाई सहँदो हो त्यो एस्ट्रेले ? साथीहरू भन्छन् –चुरोटको अन्तिम सर्को बबाल मिठो हुन्छ । कोहीलाई भने बाल लाग्दैन । मलाई के लाग्छ कुन्नी । मलाई नै थाहा छैन । होस्, के लाग्छ भनेर सोचेर के टाउको दुखाइरहनु । कहिलेकाहीँ न्युट्रल बस्न अनुमति छ नि भो । प्राय: चुरोट समातिएका हात अरुलाई धुवाँ नजाओस् भने पर राखिन्छन् । कति बिझ्दो हो त्यो एकान्तपन उसलाई । हामीलाई यो सम्म हेक्का रहँदैन कि एकदिन प्यार गर्नेहरूले नै एकाएक गर्न छोडे भने । अँगालोमा रहिरहेकाहरू एकाएक छुटिदा कस्तो होला ?
माया गर्नेहरूलाई नै घृणा गर्नुपर्ने यो कस्तो तरिका हो ? हामी तथाकथित भद्र प्राणी किन यस्तो अभद्र व्यवहार गर्छौं ? यो कुन विश्वविद्यालयले दिएको शिक्षा हो ? कुन परिवारले सिकाएको संस्कार हो ? कुन आमाले दिएको आशीर्वाद हो ? कुन बुवाको विश्वासको प्रतिफल हो ? कुन दिदीले प्रकट गरेको सहानुभूति हो ? कुन गुरुले देखाएको बाटो हो ? कुन शत्रुले दिएको श्राप हो ?
कसैले सोचेको छ, चुरोटको ठुटाहरूले कुनै दिन अपमान गरेको आरोपमा मानहानीको मुद्दा लगाईदिए भने ? या, आन्दोलनका लागि सडकमा उत्रिए भने ? प्याकेटभित्रका चुरोट, कारखानामा बन्दै गरेका चुरोट, भर्खर सल्काएका चुरोट, तान्दा तान्दैका चुरोट, निभाइसकेर एस्ट्रेमा राखेका चुरोट सबका सब माइतीघर गएर धर्ना बसे भने ? सबका सब सिंहदरबारतिर हुर्रिए भने ? तपाईं हाम्रो के लाग्छ ?
यी सब अध्यारोका वकवास थिए । घामले चर्को गरी मुखमा पोल्दा बाल्कनीकै कुर्सीमा रहेछु । बाल्कनीको रेलिङमा चुरोटको ठुटो थिचेको कालो थियो । टाउको गह्रौ भएर सिलौटो जस्तै भाथ्यो । राम्रोसँग आँखा पनि नउघारी म भान्सातर्फ लाग्छु । जब हिजो साँझ ल्याएको दुध तताएर ताप्केमै राखेको देख्छु तब छाँगाबाट खसेजस्तै हुन्छु । राति खाएको चिया ? आधा कप चिया ? हराएको आधा कप चिया ? दिमाग घुमीरहन्छ । जिन्दगी चलिरहन्छ । जय होस् ।