शुक्रबार , अषोज १४, २०७९

कहिल्यै पनि धमिलो पानी नबग्ने गाईघाट झरना पर्यटकको आकर्षण बन्दै

दसैं, तिहारको बेलामा एक दिनमै तीन सय बढी पर्यटक गाईघाट पुग्ने स्थानीयको भनाइ छ ।

image

काठमाडौँ । बागलुङको गलकोट र ताराखोलाको सङ्गमस्थलमा रहेको गाईघाट झरना पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको छ । ताराखोला गाउँपालिकाको प्रवेशद्वारका रुपमा रहको झरनामा पछिल्लो समय आन्तरिक पर्यटकको आगमनमा निकै वृद्धि भएको छ ।

गत साउनदेखि हालसम्म करिब १२ हजार पर्यटकले यसको भ्रमण गरेको स्थानीयको भनाइ छ । कहिल्यै पनि धमिलो पानी नबग्ने यो झरनाको सौन्दर्य हो  ।

प्राकृतिक सुन्दरयुक्त यस गाईघाट झरनालाई गण्डकी प्रदेश सरकारले पर्यटकीय गन्तव्यका रुपमा सूचीकृतसमेत गरेको छ । ५० मिटर अग्लो झरनाको भित्रपट्टी रहेको गुफाले पनि पर्यटकलाई लोभ्याउँछ । गुफामा पूजाआजा समेत हुन्छ । झरनादेखि नजिकै रहेको भूताह गल्छी पनि त्यहाँको अर्को आकर्षण हो ।

झरनामा छाँगावरोहण ‘क्यानोनिङ’ को पनि राम्रो सम्भावना रहेको छ । गर्मी याममा झरना अवलोकनसँगै छाँगावरोहण र प्राकृतिक तलाउमा पौडी खेल्ने गरी पूर्वाधार विकास गर्ने योजना बनाइएको छ । झरनालाई ताराखोला गाउँपालिका छिर्ने प्रवेशद्वारको रुपमा समेत लिइन्छ ।

पछिल्लो समय पूर्वाधारको विकास र प्रचार प्रसारले गर्दा गलकोट पुग्ने पर्यटक पाहुनाका लागि गाईघाट झरना रोजाइको गन्तव्यमा पर्न थालेको छ । झरनाको रेखदेख र व्यवस्थापन ताराखोला गाउँपालिकाले गर्दै आएको छ । चाडबाड र बिदाका बेला झरनामा बढी चहलपहल हुन्छ ।

दसैं, तिहारको बेलामा एक दिनमै तीन सय बढी पर्यटक गाईघाट पुग्ने स्थानीयको भनाइ छ । गत आर्थिक वर्षमा झण्डै २० हजारले झरनाको अवलोकन गरेका थिए । गाउँपालिकाले गाइघाट झरना हेर्न र तस्बिर खिच्न गत आर्थिक वर्षदेखि ३० रुपैयाँको टिकट व्यवस्था गरेको छ । विद्यार्थीलाई आधा छुट र १० वर्षमुनिको बच्चालाई निःशुल्क गरिएको छ ।

सम्बन्धित समाचार