सोमबार , फागुण १४, २०८०

जनकपुरको महागङ्गा आरती ‘शब्द होइन, मन्त्र हो’- राम आशिष यादव (अन्तर्वार्ता)

'धार्मिक तथा सांस्कृतिक सहर जनकपुरको महागङ्गा आरती शब्द होइन, मन्त्र हो । जनकपुरधामको संस्कृति र समृद्धि मन्त्र हो ।'

image

  • राम आशिष यादव

धार्मिक तथा सांस्कृतिक सहर जनकपुरको महागङ्गा आरती शब्द होइन, मन्त्र हो । महागङ्गा आरती जनकपुरधामको संस्कृति र समृद्धि मन्त्र हो । गङ्गासागरको किनारमा आरती हुने हुनाले ‘गङ्गा आरती’ नाम परेको हो तर, यो समग्र जनकपुरधामको आरती हो । महागङ्गा आरती वास्तवमा जलकी देवी माता गङ्गा र थलकी देवी माता सीताको आराधना हो । यस आरतीमा आराध्य देव भगवान् शिव, गङ्गा माता र जानकी माताको एकसाथ आराधना गर्छौँ ।

हरेक दिन साँझपख करिब डेढ घण्टा गङ्गासागर तटमा आरतीको रौनक हुन्छ । तीन जना पण्डितहरूले धार्मिक धुनका साथ आरती गर्नुहुन्छ । आरतीको थाली आराध्यसमक्ष विशेष विधिपूर्वक घुमाइन्छ । आरतीको टुकीमा घ्यू वा तेलको दियो राखिएको हुन्छ । उक्त टुकीमा कपुर पनि मिश्रण गरिएको हुन्छ । आरतीका क्रममा गङ्गास्तुती मात्र नभई सबै देवी-देवताको मन्त्र जाप गरिन्छ । यस आरतीबाट मैथिली संस्कृतिको संरक्षणको आह्वान गरिएको छ ।

सर्वविदित कुरा हो, मिथिला संस्कृति अध्यात्म र विज्ञानको सम्मिश्रण हो । यहाँका छठ, झिझिया, दिवाली, होली लगायत पर्व अन्ध परम्परामा आधारित नभई पूर्णतः वैज्ञानिक रहेको छ । संस्कृतिलाई धर्मसँग जोड्नु हुँदैन, संस्कृति सामान्य कुरा हुँदै होइन । संस्कृति परिबन्धन हो, धर्म बन्धन हो । अतः गङ्गा आरती बन्धन नभई परिबन्धन हो । वृहत् पुराण, विष्णु पुराण, वायु पुराण, शतपथ, भागवत, वाल्मीकि रामायण जस्ता धार्मिक ग्रन्थमा पुण्यभूमि, तपोभूमि र सर्वश्रेष्ठ तीर्थस्थलका रूपमा उल्लेख गरिएकाले पनि गङ्गा आरतीको धार्मिक महत्त्व छ । जैनहरूका गुरु २४औँ तीर्थङ्करको जन्मस्थलको रूपमा समेत यस स्थलको महत्त्व रहेको छ । सो महत्त्वलाई आत्मसात् गर्दै महागङ्गा आरतीले प्रकृति र संस्कृतिको संरक्षण र संवर्द्धन विशेष जोड दिएको छ ।

म पत्रकार महांसघमै आबद्ध थिएँ, त्यतिबेला यहाँको दुर्गन्ध एवम् इतिहास र संस्कृतिको बेवास्ताले प्रताडित थिएँ । यहाँका वातावरण अभियन्ता, बुद्धिजीवी, लेखक, पेसाकर्मी एवं उद्योग व्यवसायीहरूलाई पनि सोहीप्रकार जनकपुरधामको चिन्ताले सताइरहेको थियो । यसपश्चात् ‘सेभ द हिस्टोरिकल जनकपुरधाम’ महाअभियान सतहमा आयो । त्यतिबेला हामीलाई जानकी मन्दिर संरक्षण गर्नुपर्छ कि भन्ने पनि नलागेको होइन, तर त्यहाँ हाम्रो सोचाइ अनुरूप काम हुँदैन थियो किनभने त्यहाँ महन्तहरू हुनुहुन्थ्यो, गुठी थियो । यसपछि हामी बेवारिस रूपमा रहेको गङ्गासागरलाई नै संरक्षण एवं सरसफाई गर्नुपर्छ भन्ने अठोटमा पुग्यौँ  ।

यसप्रकार २०७० साल फागुन ११ गते  विधिवत् रूपमा ‘स्वच्छता अभियान’को शुभारम्भ भयो । मधेसी आयोगका अध्यक्ष माननीय डा. विजय कुमार दत्त, अधिवक्ता राजकुमार महासेठ, समाजसेवी अमरचन्द्र अनिल, अशोककुमार जालन, तत्कालीन एस.पी. शिव लामिछाने, स्थानीय  व्यापारी विजय झुनझुनवाला, तत्कालीन सिडिओ कृष्ण ढुङ्गाना, नेपाली सेनाका कर्णेल डिजन पिआर तथा मेजर कपुर सिंह,  नेपाल प्रहरीका एस. पी. उत्तम सुवेदी लगायतका पेसाकर्मीका साथसाथै युएनडिपीमा कार्यरत ब्रिटिस नागरिक सेन्ड्रमबाट ठुलो साथ र हौसला प्राप्त भयो । यस अभियानमा विस्तारै स्वतःस्फूर्त रूपमा महिला, युवा क्लब एवं नवपुस्ताको साथ सहयोग प्राप्त भयो, जसको हामी ऋणी छौँ । अभियानमा राजनीतिक दलका नेताबाहेक सबैलाई जोड्यौँ । पछि, असल नेतागणहरू पनि आफ्सेआफ हाम्रो अभियानमा जोडिन आइपुग्नुभयो । जनकपुरधाम वरपरका विभिन्न गाउँबाट आज १० जना आउनुभयो, भोलि २० जना आउनुभयो, पर्सि १०० जना आउनुभयो । यसो हुँदै जाँदा यो अभियान कुनै एक व्यक्तिको नभई सम्पूर्णत: जनसमुदायको हुन् पुग्यो ।

‘सेभ द हिस्टोरिकल जनकपुरधाम’ महाअभियान अन्तर्गत ‘स्वच्छता अभियान’ सिङ्गो मानव सभ्यता र वातावरणीय दृष्टिकोणले महत्त्वपूर्ण रहेकाले सबैबाट स्वतःस्फूर्त सहयोग प्राप्त भएको महसुस गरेका छौँ । हाल यस अभियानमा जनसमुदायले स्वत:स्फूर्तरूपमा सहभागिता जनाउँदै आउनुभएको छ । जनकपुरधामको गङ्गा आरती  पनि जनकपुरवासीको सहयोगको प्रतिफल हो, जो अहिले नवौँ वर्षमा हिँडिरहेको छ । सन् १९८४ मा गङ्गा नदीको सफाइ राज्यको सम्पूर्ण साधन स्रोतबाट भएको, बाग्मतीको सफाइ नेपाल सरकारको साधन स्रोतबाट भए पनि धार्मिक महत्त्वका गङ्गा सागरको सफाइमा राज्यबाट कुनै आर्थिक सहयोग नलिई जजमानको चढावा (डोनेसन) बाट निरन्तर सञ्चालित छ । यो आफैँमा यहाँको विशिष्टतम विशेषता हो ।

पवित्र गङ्गा सागरको संरक्षण जनसमुदायको हातमा पुगिसकेपश्चात् हामीले हरिद्वारा, बनारस, पशुपतिमा गङ्गा आरती किन गरियो होला, आरती गर्नुको फाइदा के रह्यो होला भन्ने कुरामा खोजिनिधी गर्‍यौँ । त्रेतायुगमा जनक महाराजले पण्डितहरू सभा यस भूमिमा गर्नुभएको थियो, कलियुगमा त्यो मौका हामीले पायौँ । हामीले मिथिलाको सबै प्रतिनिधिलाई डाक्यौँ । उहाँहरूसँग ‘हामी गङ्गा आरती गर्न चाहन्छौँ, कुन दिन गर्दा राम्रो हुन्छ ? जनकपुरको लागि यो शुभ हुन्छ कि अशुभ हुन्छ ? ’ भनेर सोध्यौँ । उहाँहरूले ‘यो राम्रो सुरुवात हो, गङ्गा दशहराको दिन गङ्गा आरती गरेर यस कार्यको शुभारम्भ गर्नुस्’ भन्नुभयो । बनारसबाट पूजारी लिएर आयौँ, उहाँहरू ७ दिनसम्म यहाँ बसेर यहाँका पूजारीहरूलाई आरतीको पूजाविधि सिकाउनुभयो । यसपछि  ०७१ जेठ २५ बाट नियमित रूपमा गङ्गा आरतीको सुरुवात भयो ।

महागङ्गा आरती सुरुवातसँगै ‘स्वच्छता अभियान’मा क्रान्ति नै आएको महसुस गरेका छौँ । यस अभियानको प्रतिफलस्वरूप सिराहाको दुर्गा पोखरीमा दुर्गा आरती सुरु सुरु भएको छ भने महोत्तरीको जलेश्वरनाथ मन्दिरमा शिवगङ्गा आरती, वीरगन्जको घरिघर्वा पोखरीमा सूर्य गङ्गा आरतीको शुभारम्भ हुन् पुगेको छ । मिथिला बिहारी नगरपालिकामा अवस्थित परशुराम तलाउमा परशुरामको मूर्तिको पुनर्निर्माण पनि यसै अभियानको प्रतिफल हो । हाल प्रादेशिक महोत्सवको रूपमा चिनिएको जानकी नवमी महोत्सव (राष्ट्रपति विद्यादेवी भण्डारीको समेत सहभागिता रहेको)  पनि यसै अभियानको प्रतिफल हो । यस अभियानपश्चात् जनकपुरधाममा सनातन हिन्दू धर्म संस्कृतिको जगेर्ना, विकास र संरक्षणको साथसाथै ‘पर्यटनको विकास र पर्यावरणको रक्षा’ अर्को महत्त्वपूर्ण नारा बन्न सफल भएको छ । जलको संरक्षण र प्रकृतिको पूजा नै गङ्गा आरतीको विशेषता हो ।

भारतको हरिद्वारा, बनारसको गङ्गा आरती र बागमती किनारको पशुपति आरती सरह नै जनकपुरधामको गङ्गा आरतीले ख्याति प्राप्त गर्न सफल भएको छ, यसमा स्थानीयवासीदेखि सहभागी सम्पूर्णलाई धन्यवाद भन्न चाहन्छौँ । नेपालको प्रथम राष्ट्रपति रामवरण यादव, तत्कालीन प्रधानन्यायाधीश रामकुमारप्रसाद साह, भारतको विहारका पूर्व मुख्यमन्त्री सुशील मोदी, प्राय: शंकाराचार्यहरू, अमेरिका, अस्ट्रेलिया, जापान, श्रीलङ्का र कतारका राजदूतहरूको साथसाथै मन्त्रीगण, विशिष्ट व्यक्तिहरूले यस आरतीमा सहभागिता जनाइसक्नु भएको छ ।

यसैगरि, जनकपुर उपमहानगरपालिकाले गरेको नागरिक अभिनन्दन समारोहमा आफू भारतीय प्रधानमन्त्री भन्दा पनि ‘प्रधान तीर्थयात्रु’ भएर यहाँ आएको बताउनुभएको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गङ्गा आरतीको मुक्तकण्ठाले प्रशंसा गर्नुभएको थियो । नेपाल र भारतबिच अतिविशिष्ट र बहुआयामिक सम्बन्ध विस्तारमा मोदीको भ्रमणलाई पर्यटकीय सम्भावनाको रूपमा लिन सबैलाई आग्रह समेत गर्दछु ।

गङ्गा आरती सुरु भएपछि जनकपुरमा पर्यटकको आगमन क्रमिक रूपले बढ्दै गएको देखिन्छ । पहिलेपहिले पर्यटकहरू जानकी मन्दिर हेरेर मात्रै फर्किन्थे तर, अहिले आरती हेर्न पर्यटकहरूले थप एक रात यहाँ बिताउने गरेका छन् । गङ्गा आरती शुरु भएपछि फोहोर र दुर्गन्धित रहँदै आएको गङ्गासागर पोखरी अहिले सफा छ । जनसमुदायमा जल संरक्षण चेतनाको वृद्धिविकासमा पालिकाले समन्वय गर्ने हो भने गङ्गा सागर अझ सफा र पवित्र हुनेछ । जनकपुरलाई अन्तर्राष्ट्रियकरण एवम् विश्व सम्पदा सूचीमा सूचिकृत गर्नतर्फ थप बल मिल्नेछ ।

‘सेभ द हिस्टोरिकल जनकपुरधाम’ महाअभियान अन्तर्गत रही आरती सञ्चालन, जल, जमिन र वायु प्रदूषण नियन्त्रण नियमित रूपमा सञ्चालनमा आइरहेका छन् । यस महाअभियानको अर्को घटकको रूपमा ‘महिला उत्थान कार्यक्रम’ सञ्चालित अवस्थामा छ भने भने ‘शिक्षा सुधार अभियान’ पछिल्लो डेढ वर्षदेखि सञ्चालित छ । यी विविध अभियानहरू हामीले सुरुवात गर्ने र सरकारले यसको स्वामित्व लिने गरि सञ्चालनमा आइरहेका हुन् । गरिब, दलित र सीमान्तकृत बालबालिकाको शिक्षाको लागि विभिन्न स्कुल र कलेजमा निःशुल्क वा न्यूनतम शुल्कमा अध्ययन गराउनु हाम्रो मूल ध्येय रहेको छ ।

ganga sagar aarati

अन्तमा, पर्यटन क्षेत्रमा सरकारले जुन काम गर्नुपर्थ्यो, त्यो सेभ द हिस्टोरिकल जनकपुरधामले गरेको छ तर हामीलाई सरकारले एउटा ‘धन्यवाद पत्र’ समेत दिएको छैन । मलाई जहाँसम्म लाग्छ, नेपाल पर्यटन बोर्डलाई हाम्रो नाम समेत थाहा छैन । बोर्डलाई जनकपुरधाममा गङ्गा आरती सुरु भएको थाहा छ कि छैन ? म यहीँदेखि प्रश्न सोध्न चाहन्छु । राज्यले जनकपुरमाथि यसप्रकारको व्यवहार देखाउनु राम्रो संकेत होइन।

तस्बीर: राजु झल्लु प्रसाद


(प्रस्तुत सामाग्री जनकपुरको स्वच्छता अभियन्ता, पर्यावरण रक्षक, सनातन संस्कृतिका संरक्षक, एवं प्रदेश सभा सभासद् राम आशिष यादवसँग कुराकानीमा आधारित रही हिमाल दर्पणका लागि राजु झल्लु प्रसादले तयार पारेका हुन्- सम्पादक ।)

सम्बन्धित समाचार