बिहिबार , जेठ २१, २०८३

गर्भ छिटा, कुटिरो, लिभिङ टुगेदर र पुरुषवाद

लिङ्ग शारीरिक पहिचान हो । निश्चित एक लिङ्गलाई निर्णायक स्थान दिनु भनेको मानवअधिकारको हनन पनि हो ।

image

नेपाली समाजमा आधुनिकताको प्रवेशसँगै सम्बन्ध विच्छेदका घटना दिनानुदिन बढिरहेका छन् । सामान्य कलहदेखि शंका-आशंका, अनैतिक-अवैध सम्बन्ध र हत्याले वर्षौको वैवाहिक सम्बन्धलाई दम्पतीहरू जतिसक्दो छिटो टुङय्याउने पक्षमा देखिन्छन् । प्रेम विवाह, मागी विवाह, भागी विवाह गरे पनि समस्या हलको निम्ति दम्पतीहरू जोड्ने भन्दा तोड्ने पक्षमा धेरै  तम्सिएका छन् । साउन महिनाभित्र काठमाडौं र चितवनमा पारिवारिक असमझदारीका कारण  श्रीमती, छोराछोरी र आफ्नै  विभत्स हत्या गरेका दुई भयानक घटनाहरू घटेका छन् ।

चितवनमा श्रीमान्ले श्रीमतीलाई खुकुरी प्रहार गरी हत्या गरेर भाग्ने क्रममा घरको तीन तला माथिबाट हाम फाल्दा मृत्यु भएको थियो । त्यस्तै काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार सदस्य, श्रीमान्, श्रीमती छोरा छोरीको हत्या भएको घटना सार्वजनिक भएको छ । कारण खोज्दै गर्दा पारिवारिक असमझदारीले घटना निम्त्याएको देखिन्छ ।

आधुनिक वैवाहिक सम्बन्धकै चर्चा गरिरहँदा कर्णाली भेगमा पहिला विवाहको निम्ति छोरी चेली माग्ने कुरीति, गर्भ छिटा र कुटिरोले जोडेको सम्बन्ध कति टिक्दो हो ? त्यसताका महिलाको अवस्था कस्तो थियो ? त्यस्तै पश्चिमा जीवनशैलीमा आधारित नेपाली समाजको लागि नवीन अभ्यास, सहमतिमा सँगै बस्ने  लिभिङ टुगेदरको अवस्था कस्तो छ ? लिभिङ टुगेदरको उदेश्य के हो ? प्रस्तुत लेखमा यिनै पुराना र आधुनिक सम्बन्ध गाँस्नको लागि तयार पारिएका कथित सम्बन्ध संरचना उपर चर्चा गरिनेछ ।

गर्भ छिटा गर्भभित्रको विवाह हो । यस कुलचनमा दुई पुरुषले आपसी सहमतिमा आ-आफ्ना श्रीमती गर्भास्थामा रहेको बेला भविष्यमा जन्मेका छोराछोरी विवाह गरिदिने गर्ने प्रस्ताव राख्छन् । पछि त्यही वचन र सहमतिलाई आधार मानेर आ-आफ्ना छोरा छोरीको विवाह गरिने  कुपरम्परा नै गर्भ छिटा हो ।

कुटिरो यस्तो कुपरम्परा हो जहाँ बाल्य अवस्थामा परिवारको सुख, समृद्धि र ग्रह शान्तिको निम्ति कुटिरो लिएर कन्यादान दिने गरिन्थ्यो । छोरो भएको पुरुष अभिभावकले छोरी हुने पुरुष अभिभावकलाई छोरी माग्ने र पछि विवाह गरिदिने वचनसहित देवी देवताको नामको कोसेली कुटिरो (पोको) दिने कुरीति नै कुटिरो हो । कुटिरो छोरी मागेको प्रमाण पनि हो । यदि कुटिरो लिने व्यक्तिले कुटिरो दिने व्यक्तिलाई छोरी नदिएको खण्डमा भविष्यमा उक्त युवतीलाई ठूलो संकट आउने अन्धविश्वास पनि जोडिएको हुन्छ ।

लिभिङ टुगेदर विशेषगरी युवायुवती वा समलिङ्गी जोडि मौखिक सहमतिमा सँगै बस्ने आधुनिक अवधारणा हो । सहमतिमा बसुन्जेल जोडिले एकले अर्कोलाई बुझ्ने, आनीबानी थाहा गर्ने, यदि राम्रो भए मन मिलेको खण्डमा विवाहको लागि अगाडि बढ्ने र असमझदारी वा समस्या उत्पन्न भए खट्पट् मनमुटाव बढ्दै गए सहमतिमै आ-आफ्नो बाटो लाग्ने सम्बन्ध लिभिङ टुगेदर  हो ।

झट् हेर्दा गर्भ छिटा, कुटिरो र लिभिङ टुगेदर फरक देखिएपनि तर यिनै तीन सम्बन्धबीच एउटा साझा समानता छ । त्यो समानता भनेको यी तीनै शब्दावली सम्बन्धसँग जोडिएका छन् । अझ भनौँ- विवाह, घरबार नतासँग सम्बन्धित छन् । गर्भ छिटा र कुटिरो कर्नाली भेगमा धेरै पहिले विवाहको निम्ति गरिने टोकन मगनी जस्तै हो भने लिभिङ टुगेदर पश्चिमा  जीवनशैली आधारित नेपाली युवायुवतीले आफ्नो समाजको संरचना नबुझी आधुनिकताको नाममा लहलहैमा  गरिने कच्चा अभ्यास हो । अर्को समानता भनेको यी  सम्बन्ध संरचनाभित्र पुरुषवाद हाबि हुन्छ ।

गर्भ छिटा र कुटिरोमा महिलाको राय नबुझेर पुरुष सर्वेसर्वा हो भन्ने हेतुले दुई परिवारको सम्बन्ध विस्तारको लागि अगाडि बढाइएको हुन्थ्यो । छोरी दिने र बुहारी बनाउनेमा पुरुषको निर्णय पहिलो र अन्तिम हुने गर्थ्यो । आमा र छोरीको भूमिका यी दुई कुप्रथामा विशुद्ध वस्तुको जस्तो देखिन्थ्यो । छोरी र आमाको रायलाई कहिल्यै यी सम्बन्धले स्थान र सम्मान दिएन । भविष्यमा ती गर्भ छिटा र कुटिरो गरिएका बालबालिका बढ्दै गए पछि परिवर्तन आउनसक्थ्यो । बालबालिकालाई विवाह नगर्ने इच्छा हुनसक्थ्यो अथवा एकले अर्कोलाई मन नपराउने सक्थे होलान् ! वैचारिक मतभिन्नता हुन्थ्यो होला ।

विडम्बना ! जन्मनु अघि पारिवारिक समझदारीमा तय गरिएको गर्भ छिटा र बालिक अवस्थामा परिवारको सुख, समृद्धिको लागि ग्रह शान्तिको निम्ति कुटिरो लिएर कन्यादान दिन सुझाउने पृतिसत्ताले महिलाका अनेक इच्छा र योजना कहिल्यै स्विकार्न सिकेन ।  पुरुषले गरेको  निर्णय पहिलो र अन्तिम हुन्थ्यो  र महिलाले सहर्ष स्विकार्नुको विकल्प हुँदैन । त्यस्तै नेपाली समाजमा लिभिङ टुगेदरले पुरुषलाई भन्दा महिलालाई धेरै समस्या निम्त्याएको देख्न सकिन्छ । चरित्रहत्यादेखि शारीरिक मानसिक समस्या महिलामा बढी देखिएको छ ।

लिभिङ टुगेदर सम्बन्ध जतिखेर पनि कुनै कानुनी र समाजिक उपचार विना टुङ्गिने सम्भावना धेरैले हुन्छ । हाम्रो जस्तो पृतिसत्तामा आधारित समाजमा लिभिङ टुगेदरले  विशेषगरी  महिलामा  सकारात्मकभन्दा धेरै नकारात्मक परिणाम सृजना गरेको देखिन्छ । महिलाको गर्भमा रहेको भ्रुणको हत्या गर्ने, धोका दिने, निश्चित स्वार्थको लागि बस्ने, स्वार्थ परिपुर्ति भएपछि छोड्ने जस्ता कार्यहरू देखिएका छन् । यसको अर्को डरलाग्दो  पक्ष भनेको युवायुवती अफवाह र मनोरञ्जनको लागि सँगै बसेको तथ्य भेटिएको छ । भोलिको योजना के हो ? भविष्यमा आइलाग्ने समस्याका विषयमा धेरै लिभिङ टुगेरदमा बस्ने जोडि सचेत देखिदैनन् । हनि ट्रयाप, सुगर ड्याडी जस्ता समाजमा अपराध घटाउने सक्ने माध्यमको एक अंश लिभिङ टुगेदर बनेको देख्न पनि सकिन्छ ।

पुलिङ्ग भएकै कारणले समाजको संरचनात्मक लाभांश प्राप्त गरि पृतिसत्ताको संरक्षणमा लिङ्गवादको रजगजमा हुर्किएको समाजले महिलालाई स्वतन्त्रता कहिल्यै दिएन । महिला भएकै कारण दमन गर्दै आफ्नो लिङ्गको अधिनायकवाद लाद्ने सिकाउने समाजिक संरचना हाम्रो  छ । कुटिरो र गर्भ छिटामा बकाइदा पितृसत्ता र पुरुषवाद हावी रहेको हुन्छ । एकाध बाहेक सहमतिदेखि निर्णायसम्म पुरुषको एकल निर्णय भएको देखिन्छ।

यी दुई कुपरम्परामा महिलालाई अस्तित्वहिन तरिकाले लिइएको पाइन्छ । जबकि गर्भ छिटा र कुटिरोमा महिलाहरूको बढी भूमिका हुनुपर्थ्यो । छोरी जन्माउनेले छोरी कसलाई, किन दिने निर्णयमा पुरुषको भन्दा महिलाको सक्रियता हुनुपर्थ्यो । त्यस्तै नेपाली समाजको पुरुषवादी चिन्नतनले लिभिङ टुगेदरबाट अलग भएकी महिलामाथि  मानसिक समस्यादेखि हिंसा हुने गरेको विभिन्न घटनाक्रमले पुष्टि गरेको छ ।

सम्बन्ध विछोडपछि पनि पुरुष स्वतन्त्र हुन्छ । ऊ हिजो कोसँग बसेको थियो त्यसमा कसैको सरोकार रहँदैन । उसको चरित्र हिजो जे थियो सम्बन्ध विछोड पछि त्यही हुन्छ । तर जब महिलाको लिभिङ टुगेरबाट एकल जीवन फर्किन्छन्, तब पहिलो खुड्किलामा उसलाई आफ्नै घरले सहर्ष  स्विकार्न सक्दैन । दोस्रो खुड्किलामा समाजले  उसलाई पृतिसत्ताका नजरले चरित्र चित्रण गरेको देखिन्छ । फलतः असफल लिभिङ टुगेदरबाट बाहिर आएका महिलाहरू डिप्रेसन जस्तो मानसिक समस्याको सिकार बन्ने क्रम बढेको छ ।

अन्त्यमा, सम्बन्ध विस्तारले गर्दा एकले अर्कोलाई स्विकार्न जान्नुपर्छ र सिक्नुपर्छ । प्रत्येक सम्बन्ध स्थापनाअघि सकारात्मक र नकारात्मक पक्षको मिहिन ढंगले व्याख्या र विश्लेषण हुनुपर्छ । अर्को कुरा सम्बन्ध विस्तार गर्दा लिङ्गलाई आधार मान्नुभन्दा समझदारीलाई बढी प्राथमिकताका  साथ हेरिनुपर्छ ।

लिङ्ग शारीरिक पहिचान हो । निश्चित एक लिङ्गलाई निर्णायक स्थान दिनु भनेको मानवअधिकारको हनन पनि हो र पुरातनवादी रुढिवादी सोच पनि हो । कुटिरो र गर्भ छिटा लगभग विलय भइसकेको छ । तर समाजमा स्थापित कथित लिङ्गवादी संरचनाले विशेषगरी कर्नालीका महिलालाई अझै पनि सामाजिक र धार्मिक कार्यमा उचित स्थान दिनसकेको छैन ।

पुरुषवादी अहंकारी रबैयाले महिला “Yes Man” रूपमा उपस्थिति रहेको छ । त्यस्तै लिभिङ टुगेदरभित्रको लिङ्गवादी संरचनालाई महिलाहरू विभिन्न कोणले व्याख्या विश्लेषण गर्न आवश्यक देखिएको छ  । ताकि भविष्यमा कोही कसैको हिंसाको पात्र नहोस् । निश्चित लिङ्ग भएकै आधारमा समाजको निश्चित परिधिभित्र रहने परिपाटीको अन्त्य गरि  यस्ता गैरजिम्मेवारी र गैर सामाजिक कुसंस्कारलाई जतिसक्दो छिटो अन्त्य गर्नुपर्छ ।

सम्बन्धित समाचार