सोमबार , जेठ १४, २०८१

सुदूरपश्चिमको सान : गौरा पर्व र देउडा

यस पर्वमा शिव र पार्वातीको प्रेम र विवाहलाई स्मरण गर्दै पाँच दिन सम्म महिला र पुरूषले विभिन्न भाकामा देव महिमा, आफ्ना जीवनमा घटेका सुख दुःखका घटनालाई लोकभाकामा लय हालेर व्यक्त गर्ने गरिन्छ ।

image

विभिन्न चाडमध्ये विशेष धार्मिक महत्व बोकेको गौरा पर्व भविष्योत्तर पुराणको हेमद्रीगत खण्डमा उल्लेख भए अनुसार कहिले भाद्र शुक्ल पक्षमा पर्छ भने कहिले भाद्र कृष्ण पक्षमा पर्छ ।

यसै आधारमा भाद्र शुक्ल पक्षमा पर्ने गौरालाई उज्याली गौरा भनिन्छ भने कृष्ण पक्षमा पर्ने गौरालाई अँधेरी (अन्यारी गोरा) गौरा भनिन्छ । उजेली गौरालाई धार्मिक महत्वको दृष्टिले शुभ, फलदायी र राम्रो भनिन्छ। विवाहित महिलाले आफ्नो अटल सौभाग्य, सन्तान र परिवारको सुख, शान्ति, उन्नति प्रगतीका लागि यो ब्रत लिने गर्छन् ।

ब्रत प्रारम्भ गर्दा नवविवाहित जोडीले (दुई जना विवाहित) उजेली गौराबाट नै ब्रत बस्नु पर्छ भन्ने मान्यता छ । सुदूरपश्चिमको विशेष मौलिकता बोकेको गौरा पर्व त्यहाँका नौं वटा जिल्लामा नै मनाइन्छ । ब्रतका पारम्परिक कठिन नियमप्रतिको विशेष आस्था र श्रद्दाले यो पर्वप्रति ब्रतालुको, अमिट भक्तिभाव देख्न पाइन्छ । किनकि, यसको विशेषता ब्रत बस्नु मात्र नभएर गौरा देवीको नियमित पूजाअर्चना, देवी देवताका धार्मिक गीत गाउने, डेउडा नाच लाउने र गौरा देवीलाई खुसी पारी विर्सजन नगरून्जेलसम्म गौरास्थलमा (खला) जानु पनि हो ।

पञ्चमीका दिन पाँचथरी गेडागुडी (गहत, गुँरूस, मास, कलौ (सानो केराउ), गहुँ) मिसाएर तामा अथवा पितलको भाँडालाई गाई गोबर, दुबो, अबिर केसरीले सिँगारेर विधिवत पूजा अराधना गरी भिजाउने चलन छ । यस दिनलाई बिरूडा पञ्चमी भनिन्छ । बिरूडा भिजाउँदा गाइने गीत जसलाई त्यहाँको सार्वजनिक भाषामा फाग भनिन्छ, जुन यस प्रकार छ ।

‘औंसीका दिन बठेइ निन्ना चोखा रया
तृतियाका दिन गँहु, गहत, मास, गुँरास, कलौ बिरुडाकीलाई खोज्या
चौथीका दिन ईजु बिरूडा गेडी केलाया देउरानी जेठानी मिलि कलश सिंगार्य
पञ्चमीका दिन ईजु बिरुडा भिजाया
षष्टीका दिन ईजु नोला लैजाई बिरुडा धोया
सप्तमीका दिन ईजु म माइत बोलाया।’
काँ तम् होल्यू लोली काँ हाम आँउला
धानगडी साउ बोट वाई बसी रौउँला 

षष्टीका दिन गाउँ घरको सार्वजनिक पधेरो, कुँवा अथवा धारामा गई ब्रतालु महिला मिली उक्त गेडागुडी (बिरुडा) पखाल्ने (पानी फेर्ने गर्छन्) । जसलाई नोला कि गोरा भनिन्छ । (पानीको स्रोतलाई नोला भन्ने प्रचलन छ) बिरूडा पखाल्दा गाईने फाग ।

‘एकै पानी धोया बिरुडा
दुबै पानी धोया।
तिनै पानी धोया बिरुडा
चारै पानी धोया।
पाँचै पानी धाय बिरुडा
पञ्च पखाली ल्याँय्।

सप्तमीका दिन ब्रतालुले गौरा देवीलाई नजिकको मठ मन्दिरमा भित्राएर सहु (सौं) , काँस, तिल, धान र कुशलाई रातो कपडाले बेरेर गौरीको आकृती बनाई कन्याको रुपमा पूजा गर्ने परम्परा छ र रातो, पहेँलो धागो मिसाएर बनाइएको दुबधागो (डोरी) देवीमा अर्पण गरी,कुनै ठाउँमा सप्तमी धागो भनेर सप्तमीका दिन नै लगाइन्छ भने कुनै ठाउँमा अष्ठमीका दिन गोरा खलामा (स्थल) शिव पार्वतीको पूजा अर्चना पश्चात दुबधागो लगाउने चलन छ र गौरा महेश्‍वरको प्रति मुर्तिलाई शिरमा राखेर नचाउनुपर्छ ।

पुरूषले जनै धारण गरे झै महिलाले दुबधागो लगाउने गर्छन् र नियमीत रुपमा जप ध्यान गरी यसको महत्वलाई मान्य गर्ने चलन छ । प्रत्येक वर्ष पूजा गरेर नयाँ दुबधागो लगाउनुपर्छ । अष्टमीका दिन घर घरमा बिरुडालाई प्रसाद स्वरुप वितरण गर्ने गरीन्छ भने बैतडी, दार्चुलामा घरकी ब्रतालु महिलाले आफ्नो श्रीमान, जेठो छोरा लगायत परिवारका सम्पूर्ण सदस्यको बिरुडाले शीरदेखि पाउँसम्म पूज्ने र बिरुडा कै टिका लगाउने चलन छ । कतै बिरूडालाई क्वाटीको रुपमा पकाएर खाने चलन छ ।

‘माटी खण्ड माटी छन्ज्या जी जागिरएइ,
हिमाल हिउँ छन्ज्या जी जागिरएइ,
दुबाकी चौड जी जागिरएइ,
समुद्र जल छन्ज्या जी जागिरएइ,
केलाकी थमेली जी जागिरएइ गोरा महेश्‍वर फली बसुन्’ 

भनी फाग गाएर आशिष दिइन्छ । सामान्यतया ५ दिनसम्म मनाइने यो पर्व आफ्नो कामको व्यस्तता र समाजको माग अनुसार १०, १५ दिनसम्म पनि देउडा नाँच खेलेर मनाइन्छ भने डडेल्धुराकै निनाली गाउँमा अनिवार्य २२ दिनसम्म गौरा पर्व मनाउने चलन छ ।

यस पर्वमा शिव र पार्वातीको प्रेम र विवाहलाई स्मरण गर्दै पाँच दिन सम्म महिला र पुरूषले विभिन्न भाकामा देव महिमा, आफ्ना जीवनमा घटेका सुख दुःखका घटनालाई लोकभाकामा लय हालेर व्यक्त गर्ने गरिन्छ । गौरा प्रारम्भ गर्दा बिरूडा पञ्चमीबाट अनिवार्य रुपमा प्रारम्भ गर्नुपर्छ भने विसर्जन गर्दा फल फटकाउने परम्परालाई कायम राखी फेरि अर्को वर्ष यस्तै हर्षोल्लासका साथ स्वागत गर्ने वाचासहित विसर्जन गरिन्छ ।

फल फट्काउने अर्थात गौरा देवीलाई नित्य चढाइएका बिरूडा, फलफूल, जनै, सुपारीलाई शुद्ध चारपाटे कपडामा राखेर दुई जना पुरूषले चार कुना समातेर आकाशतिर उफार्ने गर्छन् र फल तल झर्नु पूर्व जसले ति फलफूल आदि पाउँछन् तिनलाई भाग्यमानी मान्ने मान्यता पनि छ । आफैमा समृद्ध साँस्कृतिक, साँगितिक महत्व र गाथा बोकेको गौरा पर्व सुदूरपश्‍चिमको बेग्लै धरोहर र पहिचान हो । जसले त्यस क्षेत्रको लोक संस्कृति, शिष्टता, सभ्यतालाई उजागर गरेको हुन्छ ।

गाउँघरमा असार, साउनको खेतीपातीको कामबाट केही विश्राम पाएको फुर्सतिलो यो समयमा गौरा पर्वले महिलामा नयाँ जोश र उत्साह भर्दछ । गौराका ब्रतालुहरुले अनिवार्य रूपमा नयाँ लुगा लगाउने (चोखो) चलन छ ।

‘घाँस काट्न हात काटियो कञ्चनी रगत
घीउ बेची कपडा ल्याउँला गौराकी बखत’ 

गौरामा देउडा

पुरूषहरू भने गौरामा देउडा खेल्ने चलन छ । सबै पुरूषले यसदिन गौरा हुने ठाउँ (गौरा खलो) मा टेक्न अनिवार्य जस्तै हुने स्थानीय बताउँछन् । त्यही दिनबाट पुरूषहरूले पनि खेल, चैतालो, धुमारी, देउडा खेल्छन् । समूहमा मिलेर खेल र चैतालोमा बिभिन्न देवीदेउताका कथा, धार्मिक तथा सांस्कृतिक इतिहास गीतका रूपमा गाउने चलन छ । अठेवालीका दिनबाट लगातार एक सातासम्म पालैपालो गाउँ गाउँ पुगेर खेल्छन् ।

काली कर्णाली क्षेत्रमा देउडा कुनै एक चाडपर्व विषेश मात्र नभएर सिंगो संकृति रहेको छ । लोक संस्कृतिको एक भाग देउडा पनि हो । समुहमा होस् या एकल हुँदा पनि मनमनै देउडा गीत गुनगुनाएर गाउने प्रचलन छ ।

बिभिन्न चाडपर्वहरु आ–आफ्नै विधि प्रक्रियाअनुसार मनाइन्छ तर अन्तिममा रमाइलोका लागि अनिवार्य देउडा खेलिन्छ । सामाजिक उत्पीडन, जनजीविका, भोगाइ, पुरातात्विक महत्व, माया प्रेमका कुराहरु देउडाको माध्ययमबाट व्यक्त गरिन्छ । देउडा गीत पश्चिम नेपालका मेला, चाडपर्व, जात्रामा गाइने एक प्रकारको नृत्य प्रदान गीत हो ।

यस गीतमा गरिएको नृत्यलाई डेउडा खेल अथवा न्याउले खेल भनिन्छ । यो गीत विशेष गरी समूहमा प्रस्तुत गरिन्छ । डेउडा खेल र गायन  प्रक्रिया दसैं, तिहार, होली, गौरा पर्व, मेला, पुतला, रत्यौली, विवाह आदिमा प्रस्तुत गरिन्छ  ।

यस गीतलाई एकल रूपमा पनि गाउन सकिन्छ । नृत्यसँग डेढ कदम उचालेर गोलो घेरा बनाइ प्रस्तुत गरिने भएकाले यस गीतलाई डेउडा नामकरण गरिएको मानिन्छ । संस्कृत भाषाको देउंदुराय शब्दबाट देउदुरा हुँदै डेउडा शब्द बनेको हो भन्ने पनि छ । डेउडा गीतमा वैयक्तिक जीवनका विभिन्न पक्षहरूलाई उद्धघाटित गरिएको हुन्छ ।

मान्छेको जीवनमा आउने सुख दुःखका अनुभुती र मिलन बिछोडको पक्षलाई डेउडाले सङ्केत गरेको हुन्छ ।

सम्बन्धित समाचार