शुक्रबार , मंग्सिर २३, २०७९

नेपाली राजनीतिमा घण्टी बजेकै हाे त ?

रविकाे छवि नेताको नभई सेलिब्रेटीकाे हो । उनको त्यहीँ सेलिब्रेटी छवि र मुख्य राजनीतिक दलको पुरातनवादी गतिविधिबाट घण्टीले साथ पाएको देखिन्छ । घण्टी राम्रो भएर जनताले मत दिएका होइनन् ।

image

  • मिम बहादुर परियार

नेपाली समाजमा निकै बिम्बात्मक वस्तु हो- घण्टी । मठ मन्दिरदेखि विद्यालयमा घण्टीको निकै प्रयोग भएको हुन्छ । धार्मिक मिथकिय दृष्टिकोणबाट घण्टी बज्नु भनेको देवीदेवतालाई  बिउँझाउनु हो । बाहिर दुःखी पीडित प्राथनामा छ है भनेर जनाउनु हो । त्यस्तै विद्यालयका घण्टीले सुरु र अन्त्य भएको सन्देश  दिएको हुन्छ भने अन्य गतिविधिमा घण्टी बज्नु भनेको चनाखो हुनु भन्ने अर्थ लाग्छ । अहिले नेपाली राजनीतिक वृत्तमा पनि घण्टी देखिन थालेको छ । मंसिर चार गतेको निर्वाचन अघि र पछिका घटनाक्रमले घण्टीको चर्चा धेरै चुलिएको  छ । बजारको हल्ला अनुसार यसपटक संसद्मा घण्टी बज्ने सक्ने सम्भावना प्रवल रहेको अनुमान प्रारम्भिक मतगणनाबाट गर्न सकिन्छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह हो- घण्टी । स्थापना भएको एक वर्ष नबित्दै राजनीतिक वृत्तमा स्वतन्त्र पार्टीले पुराना पुरातनवादी राजनीति दल विरुद्ध आफ्नो उपस्थितिको जनाउ घण्टी राम्रैसँग बजाउन सफल भएको देखिन्छ । निर्वाचनमा जित हार आफ्नो ठाउँमा छ । एउटाले जित्ने र अर्कोले हार्ने निश्चित हुन्छ । यसपटकको निर्वाचनमा भलै घण्टी धेरै ठाउँमा पराजित हुनसक्ला तर केही ठाउँमा जित भने अवश्य दर्ता गर्नेछ, गर्दैछ । सहरी इलाकातिर अप्रत्याशित ढङ्गले घण्टी देखिएको छ । यसको सोझो अर्थ भनेको पुराना दलप्रति जनता रुष्ट छन् भन्नू हो । जनता परिवर्तन चाहन्छ र उनीहरूसँग विकल्प छ भनेर पुराना दलको पुरानै राजनीतिक फोहरी खेललाई चुनौती दिएको पनि हो ।

नेपाली राजनीतिक वृत्तमा जनताले सधैँ नयाँ र परिवर्तन चाहेको देखिन्छ । वि.सं. २००७ भएको राजनीतिक क्रान्तिपछिको निर्वाचन होस् कि दस वर्षीय जनयुद्ध लडेको विद्रोही शक्ति माओवादी शान्ति प्रक्रियामा सहभागी भएपछि निर्वाचनमा जनताले बहुमतका साथ विजय गरेका थिए । त्यस्तै गत वर्षको स्थानीय निर्वाचनमा पनि बालेन्द्र शाह, हर्क साम्पाङ लगायतका केही नयाँ शक्तिलाई अवसर दिएका थिए । यी घटनाक्रमले के पुष्टि गर्छ भने नेपाली जनता नयाँ र परिवर्तन चाहन्छन् ।

किन राजनीतिमा नयाँ घण्टीहरू बजिरहन्छन् ?

विश्व राजनीतिक वृत्तमा परिवर्तनका घण्टी बजिरहेका दृश्य धेरै देखिन्छन् । भारतमा आम आदमी पार्टीले भारतीय राजनीतिक शक्तिलाई ठूलै चुनौती दिइरहेको छ । पाकिस्तानमा इमरान खानकाे नेतृत्वमा रहेको ‘पाकिस्तान तेहिरिक ऐ इन्साफ’ पार्टीले परिवर्तनको घण्टी बजाएको छ । त्यस्तै श्रीलङ्कामा पनि परिवर्तनको घण्टीले वर्षाैकाे राजापाक्षेहरुकाे राजनीतिक विरासत भत्काइदिएको छ । घण्टी बज्नु परिवर्तनको सङ्केत पनि हो । नेपाली राजनीतिक वृत्तमा बेलाबेलामा जनताले परिवर्तनको घण्टी बजाइरहेका छन् । यसपटकको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको नामबाट जनताले आफ्नो आक्रोश घण्टीलाई मत दिएर परिवर्तन चाहेको सन्देश व्यक्त गरेका छन् । खासमा धेरै नागरिकलाई घण्टीको पृष्ठभूमि, राजनीतिक दर्शन र चुनावी घोषणापत्रमा के छ त्यो पनि थाहा छैन । जनतामा आक्रोश र परिवर्तनको चाहाना भने पक्का छ । यिनै जनताका आक्रोश र परिवर्तनको चाहानालाई पोख्ने र राख्ने ठाउँको रूपमा रवि लामिछानेको नेतृत्वमा रहेको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी भइदियो ।

वास्तवमा रवि लामिछाने र उनको पार्टीको  राजनीतिक देन केही छैन । रविकाे इतिहास मिडियामा काम गरेको, पहिला रङ्ग पत्रकारिता गरेको, त्यसपछि अमेरिकी नागरिक भएको र पछि गिनिज बुकमा नाम लेखाउन म्याराथन अन्तर्वार्ता लिएको। यहीँ क्रममा उनको जिन्दगीमा जनतासँग सिधा कुरा कार्यक्रम आयो, यहीँ कार्यक्रमले उनलाई नागरिकसँग चिनाउने काम गरेको देखिन्छ । एक हदसम्म यहीँ कार्यक्रमले उनको राजनीतिक जग बसालेको हो पनि भन्न सकिन्छ । उक्त कार्यक्रममार्फत रविले विदेशमा अलपत्र परेका मजदुरका कथा, राजनीतिक हिनामिना, विकासमा भएको  भ्रष्टाचार लगायतका विषयमा खोज अनुसन्धानका तथ्य  कार्यक्रममा देखाउँथे ।

रविकाे छवि नेताको नभई सेलिब्रेटीकाे हो । उनको त्यहीँ सेलिब्रेटी छवि र मुख्य राजनीतिक दलको पुरातनवादी  गतिविधिबाट घण्टीले साथ पाएको देखिन्छ । घण्टी राम्रो भएर जनताले मत दिएका होइनन् । जनताले मत दिने ठाउँ नभेटेर घण्टीलाई रोजेका हुन् । यदि नेपाली राजनीतिक दल र नेतृत्वले सही काम गरेका हुन्थ्यो भने रविहरूले आजको मत परिणाममा स्थान पाउने थिएनन् । राजनीति दलदेखि आजित भएर, थाकेर नयाँ दललाई रोजेर परिवर्तन चाहन्छौँ भनेर नागरिकले घण्टी रोजेको देखिन्छ । अर्कोतिर रवि र उनको पार्टीले जनताले चाहेको काम गरेनन् भने अर्को वर्ष राजनीतिक वृत्तमा नयाँ घण्टी अवश्य बज्ने छ । जसरी अहिलेका दलहरू खुम्चिएका छन्, त्यसरी रवि पनि खुम्चिने छन् ।

अन्त्यमा, प्रजातान्त्रिक व्यवस्थामा जनता जनार्दन हुन्छन् । यस व्यवस्थाको मुटु मानिएको निर्वाचन प्रणालीका निर्णायक मत हो । यहीँ मतबाट नागरिकले उम्मेदवारको चारित्रिक  हिसाबकिताब राखेको हुन्छन् । प्रत्येक निर्वाचनमा जनताले मत मार्फत  उम्मेदवार प्रतिनिधिलाई मौका दिने कि बिदाइ गर्ने निर्णय गर्छन् । उम्मेदवार जो कोही हुनसक्छ, सन्तदेखि खर्वपतिसम्म तर चुनावमा चयन हुन जनताकै सरणमा पुगेका छन् । राम्रो कम गरे पुनः दोहोरी सक्छन् भने नराम्रो भए परिवर्तनकारी घण्टी अवश्य बज्ने छ ।

सम्बन्धित समाचार