शुक्रबार , अषोज १४, २०७९

गाउँ पर्यटनमा क्रान्ति ल्याउने याेजना छ, कार्यान्वयन हुँदै छ: गाेपाल थापा (अध्यक्ष, भिटाेफ नेपाल)

image

गाउँ नै गाउँले भरिएको देश नेपालमा साना ठुला गरी हजारौँ गाउँहरू छन् । प्राकृतिक सुन्दरताले भरिएका गाउँहरू सांस्कृतिक रूपले पनि धनी छन् । गाउँहरूमा फरक फरक जाति, समुदायको बसोबास छ । त्यससँगै सांस्कृतिक विविधताले पनि भरिएका छन् । गाउँहरूका आफ्नै मौलिक पहिचान छन् । ती गाउँहरूलाई पर्यटकीय आकर्षणको रूपमा विकास गरी गाउँ र गाउँलेका विकास गर्न र त्यहाँका मौलिक संस्कृतिलाई पनि पर्यटनसँग जोड्ने कार्यमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको संस्था हो, गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपाल । 

यस संस्थाले नेपालमा ग्रामीण पर्यटन खासगरी घरबास( होमस्टे) पर्यटनलाई प्रवर्द्धन गर्दै आएको छ । यस संस्थाको नेतृत्वमा सयौँ होमस्टेहरू सञ्चालनमा आएका छन् । जसमार्फत दूरदराजका गाउँ बस्तीहरू संसारभर चिनिएका पनि छन् । भिटोफ नेपालले ग्रामीण पर्यटनको विकासका लागि स्थानीय निकायसँग सहकार्य गर्दै प्रचारप्रसार गर्ने, मौलिक संस्कार संस्कृतिको अध्ययन अनुसन्धान गर्ने, पर्यटकीय सम्भावना अध्ययन गर्ने, घरबास सञ्चालकहरूलाई तालिम आयोजना गर्ने लगायतका थुप्रै कार्यक्रमहरू गर्दै आएका छन् । 

भिटोफ नेपालका अध्यक्ष गोपाल थापासँग संस्थाको पछिल्लो गतिविधि, कार्यक्रम र भावी योजना, समसामयिक पर्यटकीय गतिविधि लगायत विषयमा केन्द्रित रहेर सहकर्मी चन्द्र तामाङले गरेको कुराकानीको सम्पादित अंश:

भिटोफ नेपालको पछिल्लो गतिविधि के-के छन् ? जानकारी दिनुस् न । 

म जब निर्वाचित भएर आएपछि कोभिड लगायत विभिन्न कारणले रिन्यु हुन नसकेको संस्थालाई रिन्यु गर्ने काम गरेँ । त्यसपछि हामीले ३/४ वटा कार्यक्रम गर्याैँ । जसअन्तर्गत पहिला हामीले वार्षिक क्यालेन्डर निकाल्यौँ । त्यसपछि केही ठाउँमा अर्की गर्‍यौँ । विभिन्न गाउँ पालिकासँग समन्वय गरेर दसैँपछि त्यहाँ जाने सल्लाह गरिरहेका छौँ । हामीले गोरखाको गण्डकी गाउँपालिका वार्ड नम्बर ७ मा भव्य रोपाइँ कार्यक्रम गर्‍यौँ । विशेषगरी पहिला भिटाेफको वार्षिक साधारण सभा जुलाई ३१ तारिखमा हुने गर्थ्यो, कोरोनाका कारण केही वर्ष यसमा ढिलो हुन पुग्यो । सोही दिन पर्यटनको सम्भावना बोकेको ललितपुरको देवीचौर भन्ने ठाउँमा हाइकिङको कार्यक्रम राख्यौँ । यस लगतै हामी केही अन्यमा ठाउँमा समेत जाँदै छौँ ।

भर्खरै तपाईँ नयाँ कार्यसमितिसहित नेतृत्वमा  आउनुभएकाे छ, तपाईँका मुख्य योजनाहरू के-के छन् ?

विशेषगरी हामीले पुराना साथीहरूले गरेका कामलाई निरन्तरता दिने (जुन वार्षिक क्यालेन्डरमा उल्लेख छ)। भिटाेफको काम भनेकै दूरदराजमा रहेका पिछडिएका गाउँलाई पहिचान दिलाउने हो । विभिन्न सञ्चारमाध्यम लगायतको मद्धत लिएर यो काम गर्नेछौँ । बाँकी वार्षिक क्यालेन्डरमा उल्लेख भए अनुसार गर्ने नै छौँ ।  गाउँ पर्यटनलाई नयाँ उचाइमा पुर्‍याउन स्पष्ट योजना बनाएका छौँ । काम गर्दै जाऊँ ।

गाउँ नै गाउँले भरिएको देश नेपालमा हजारौँ गाउँहरू छन् ।  तपाईँहरूले विभिन्न  तपाईँहरूलाई घरबास(हाेमस्टे) कार्यक्रम मार्फत प्राेमाेट पनि गरिरहनुभएको छ । गाउँकाे छनौट चाहिँ  के-को आधारमा  गर्नुहुन्छ ?

विशेषगरी हामीले सम्बन्धित ठाउँको संस्कृति, उक्त ठाउँको पर्यटकीय स्थल र सम्भावना आदिलाई विचार गरेर यो निर्णय लिइन्छ । सम्बन्धित ठाउँसँग कृषिसँग जोडिन सकिन्छ कि, त्यहाँको  पर्यटकीय सौन्दर्यतालाई जोडिन सकिन्छ कि, पाककलासँग जोडिन सकिन्छ कि भनेर विचार गर्छाैँ ।

कुनै गाउँमा पर्यटनकाे विकासका लागि सुरुवात गरिसकेपछि त्यसलाई पछ्याउनुहुन्छ कि हुँदैन ?

कुनै पनि ठाउँमा हामी पहिला ३ देखि ४ पटक रेकी जान्छौँ, जसअन्तर्गत उक्त गाउँलाई पहिला गन्तव्य गाउँ घोषणा गरिन्छ, त्यसपछि उक्त ठाउँलाई पुरष्कृत गरिन्छ, विभिन्न माध्यमको सहयोगले त्यसलाई फार्म ट्रिपको नाममा त्यसलाई प्रचार गरिन्छ । उनीहरू (गाउँलेहरू)लाई राम्रो गरेबापत पुरस्कृत गरिन्छ । र, उक्त ठाउँ जान योग्य छ भनेर घोषणा गरिन्छ ।

भिटोफले प्रचार गरेको ठाउँ जति सफल हुन्छ भनेर सोचिन्छ तर, त्यसअनुसार कतिपय ठाउँमा भएको पाइँदैन, किन होला ?

सम्बन्धित ठाउँलाई छान्न नसक्नु नै यसमा अग्रजहरूको गल्ती देखिन्छ, गाउँ नै गाउँले भरिएको नेपालमा यही  सेप्टेम्बर २७ मा तीन गाउँ घोषणा गरिँदैछ । तर उक्त ठाउँहरू छनोट गरे बेलामा सबै बिचार गरिएको भने हुन्छ । सम्बन्धित ठाउँ सांस्कृतिक र पर्यटकीय रूपमा छनोट गर्न मिल्ने ठाउँ रहेको छ भने भिटोफले त्यसलाई सुचीको अग्रस्थानमा राख्ने नै छ । भिटोफको उद्देश्य सम्बन्धित ठाउँलाई नै प्रतिफल दिनु रहेकाले विशेषगरी त्यसमै केन्द्रित रहनेछ ।

सम्बन्धित ठाउँमा रहेका होमस्टे आदिलाई भिटोफले तालिम पनि दिन्छ ?

दिन्छ, हामी विशेष गरी कम्युनिटीलाई विश्वास गर्छौँ, जसले गर्दा धेरैले लाभ लिने मौका मिल्छ । हामी कम्युनिटीमा जाँदा पहिला रेकी गर्दछौँ र कामको मूल्याङ्कन गरेर सम्बन्धित कम्युनिटीलाई पुरस्कृत समेत गर्ने गरिएको छ ।

विभिन्न विदेशी पर्यटक भित्रिँदा स्थानीय संस्कृतिमा केही परिमार्जन हुने खतरा पनि देखिन्छ, यसमा भिटोफको कस्तो भूमिका रहन्छ ?

पहिलो कुरा- गाउँको पर्यटन भन्नासाथ गाउँमा के छ भन्ने कुरा ध्यानमा राखिन्छ । मौलिक संस्कृति, परिकार र भेषभूषामा गाउँ प्रस्तुत हुने हो किनभने पर्यटक त्यही हेर्न जाने हो । त्यसैले यसमा परिमार्जन पर्यटकले चाहँदैनन् र गाउँलेले समेत गर्नु हुँदैन भन्ने कुरा बुझाइन्छ ।

नेपालमा घरबास (हाेमस्टे) पर्यटनको सम्भावना कस्तो देख्नुहुन्छ ?

धेरै गाउँ भएको नेपालमा सम्भावना धेरै छ । तर, गाउँ पर्यटन भनेको होमस्टे मात्र होइन त्यसलाई व्यवस्थित रूपमा परिचालन गराउन खटिएको संस्था हो । सम्भावना बोकेको ठाउँलाई पहिचान दिलाउनु पनि गाउँ पर्यटनको उद्देश्य रहेको छ ।

पर्यटन व्यवसायीलाई के भन्न चाहनुहुन्छ ?

सङ्कटको अवस्थामा रहेको पर्यटन व्यवसायको आँकुरा पलाउने क्रममा रहेको छ । भूकम्प, कोरोना लगायत विभिन्न कारणले सुस्ताएको पर्यटन व्यवसायलाई दुई किसिमले जोड्न पर्छ भन्ने मलाई लाग्छ । मास टुरिजममा जाने हो कि ? भुटान जस्तै क्वालिटी टुरिजममा ध्यान दिने कि भन्नेबारे सोच्नुपर्ने हुन्छ । अहिले पर्यटन व्यवसायी निकै मारमा परेका छन् र यसको हल खोजिनु पर्छ भन्ने लाग्छ ।

आफ्नो देशमा भएको स्रोत-साधनकै प्रयोग गरेर देशलाई स्वाभिमान बनाउन सकिन्छ । पर्यटनको धेरै सम्भावना बोकेको देशको आर्थिक उन्नतिका लागि पर्यटन व्यवसायलाई विशेष ध्यान दिनुपर्छ । यसमा गाउँ पर्यटनलाई विशेष ध्यान दिए सम्बन्धित गाउँ पनि स्वरोजगार हुने नै छन् ।

घरबासकाे उद्देश्य भनेकाे स्थानीय माैलिक संस्कृति, खानापानले पर्यटकलाइ लाेभ्याउने हाे । तर, खेत नै नभएको ठाउँकाे होमस्टे, जहाँ ढिँडाे मात्रै पाइन्छ, त्यहाँ बजारबाट चामल किनेर भात खुवाउने चलन छ नि, यसलाई हाेमस्टे भन्न मिल्छ ? यसका मापदण्ड छैनन् ?

पर्यटकले सम्बन्धित ठाउँको बारेमा विशेष खोज गरेर आउने हुनाले उक्त ठाउँमा चामल नभएर स्थानीय रूपमा उब्जनी भएको अन्न नै ख्वाउनु नै उचित हुन्छ । किनभने गाउँमा पिजा-बर्गर खोज्दै पर्यटक गएको हुँदैन, त्यहाँको स्थानीय मौलिकतामा रमाउन गएको हुन्छ । यस्ता सहरिया ढर्राका विकृतिलाई रोक्नुपर्छ । गाउँले परिवेश बाहिर गएर सहरिया विकृतिलाई अङ्गाल्न खोज्ने जो-कोहीलाई यसमा सचेत गरेन जरुरी छ । यसको लागि भिटोफले बेला-बेला आवाज उठाउँदै आइरहेको छ ।

भिडियो

सम्बन्धित समाचार