मंगलबार , साउन ८, २०८१

थारू समुदायमा बाल पर्व ‘गुरही’

‘गुरही’ र नाग पञ्चमी एउटै हो भन्ने धेरैको बुझाई रहेको छ । तर यो संयोग मात्रै हो, वास्तविकता होइन ।

image

भूमिका

संस्कृति हरेक समुदायको आफ्नो मौलिक पहिचान हो । कुनै पनि जातिको जातीय पहिचान कला, संस्स्कृति र भाषासँग जोडिएको हुन्छ । थारू समुदायमा पनि यस्ता धेरै संस्कृतिहरू रहेको छन् । जुन अहिले प्रायः लोप हुने अवस्थामा छन् । केही रूपमा भएपनि ती संस्कृतिहरू बाह्य संस्कृतिको प्रभावमा मौलिकता माथि पनि प्रश्न उठिरहेको छ । यस्तै धेरै कुरा थारू समुदायका द्विविधा रही आ–आफ्नै किसिमको तर्क- वितर्कले समाज भित्रै अन्यौलको स्थिति सिर्जना भएको यथार्थ पनि हामीसँग छ । त्यसमध्ये थारू समुदायको एक महत्वपूर्ण चाड हो- ‘गुरही ।’

थारू समुदाय प्रकृति पुजक अथवा प्राकृत धर्म समूह भित्रको एक जाति हो । प्रकृतिप्रति विश्वास गर्ने समुदाय भएकोले प्राकृत धर्म नै थारू जाति हो, प्राचीन धर्म हो भन्ने कुरा धेरै इतिहासकारले उल्लेख गरेका छन् । तर पछिल्लो समयमा हिन्दू धर्मको प्रभावले आफूहरू हिन्दू भएको दाबी गर्नेहरूको संख्या पनि छ । त्यसकारण कतिपय हिन्दू धर्मका पौराणिक मान्यताहरू पनि अनुसरण स्वभाविक लाग्छ । मिश्रित बसाईका कारण पनि एक अर्काका धर्म, आस्था र संस्कृतिप्रति सद्भाव तथा समान व्यवहारका कारण अन्य समुदायका सांस्कृतिक प्रभावले कतिपय संस्कृतिहरू थारू समुदायको लागि मौलिक भइसकेको छ ।

के हो गुरही ?

‘गुरही’ थारू समुदायको एक बाल पर्व हो । यसलाई धेरैले ‘लुतो फाल्ने पर्व’को रूपमा पनि लिन्छन् । यो पर्व साउन महिनाको शुक्लपक्षको पञ्चमीको दिन पर्दछ । यसैदिन हिन्दूहरूको नामपञ्चमी पनि पर्छ । त्यसकारणले ‘गुरही’ र नाग पञ्चमी एउटै हो भन्ने धेरैको बुझाई रहेको छ । तर यो संयोग मात्रै हो, वास्तविकता होइन । थारू समुदायको ‘गुरही’ पर्वको आफ्नै सामाजिक मूल्य र मान्यता छ भने नागपञ्चमीको आफ्नै छ । नागपञ्चमीमा सर्प र विषालु किराहरूको पूजा गरिन्छ तर, गुरहीमा न सर्पको पूजा हुन्छ, न विषालु बिच्छी, गोजरको । यस पर्वको मूल्य मान्यता र लोक बुझाईहरू पनि अलग-अलग भएकोले यो भिन्न-भिन्नै पर्व हो भन्ने कुरा बुझ्न जरुरी छ ।

‘गुरही’ पर्व एक ‘गुरही’ नामको किरासँग जाडिएको छ । गुरही नेपाली भाषामा ‘गाइने किरा’ भनेर पनि चिनिन्छन् । गुरही एक उड्ने किरा हो । यसले मच्छर, भुस्ना लगायत शुक्ष्म किराहरूलाई खाने गर्छन् । यिनीहरूको संरक्षणले मच्छर (लामखुट्टे) र भुस्ना लगायत किराहरूको कमी हुने र रोगव्याधी कम लाग्ने वैज्ञानिक धारणा छ । र, यिनै किराहरूको पूजाले विभिन्न किसिमका रोग व्याधीहरू कम हुने जनविश्वास पनि थारू समुदायमा छ ।

लोकमान्यता

गुरही पर्वसँग सम्बन्धि लोककथा पनि छ । उहिलेको ‘जवाना’मा नरकमा विभिन्न किसिमका किराहरूको संख्या बढ्यो र रोगहरू पनि फैलियो । रोगका कारण मान्छेहरूको अकालमा मृत्यु हुन थाल्यो । स्वर्गलोकका देउताहरू पनि आश्चार्यचकित परे र, सबै कुरा बुझ्नका लागि एक दूतलाई पृथ्वीलोकमा पठाए ।

उनले एक साधारण परिवार जन्म लिइन् । उनको बाल्यकाल निकै रमाइलोसँग बित्यो । उनको भाउजूले निकै दुःख दिन्थन् । उनलाई खाने कुरा पनि दिदैन थिइन् । तर उनी सहेर बस्थिन् । उनलाई आमाले भने निकै माया गर्थिन् । उनी ससाना बालबालिकाहरूसँग खुब खेल्न मन पराउँथिन् र खेल्थिन् । उनी निकै माया पनि गर्थिन् । उनलाई बालबालिकाहरूले पनि निकै माया गर्थे । उनी कपडाका खेलौना ‘गुडिया’ खुब मन पराउँथिन् । उनी निकै जिज्ञासु स्वभावकी पनि थिइन् । यसकारण रोग र रोग सार्ने किराहरूको कुराको बारेमा समयमै जानकारी पाइन ।

एक दिन आफूले खेलाउने ‘गुरही’ जस्तै किराको उत्पत्ति गरिन् । कालान्तरमा त्यसलाई गुरही भन्न थालियो । जसले मच्छर, भुस्ना लगायत शुक्ष्म किराहरूलाई खाने र मार्ने गर्न थाले र रोगव्याधीहरू पनि कम भयो । यता मान्छेहरूमा अकालमा मृत्यु रोकियो । समाजमा शान्ति छाएपछि उनी फेरि स्वर्गलोक जानू पर्ने भयो । उनसँगको उठबसले उनका बालसखाहरू यति मोहित भइसकेका थिएकी उनलाई कुनै हालतमा पनि जान नदिने जिद्धी गर्न थाले । तर, उनी जानै पर्ने भएकोले कसैले रोक्न सकेन र जाने बेलामा गाउँका सबै बालबालिकाहरूले उपहार स्वरूप गुडिया र बाटोमा भोक लागे खानको लागि चना लगायतका खाने कुरा दिएर बाजा सहित बिदाई गरे ।

बिदाईमा उनका भाउजूले आफ्नो छोरालाई गुडिया खोस्न पठाएकी थिइन । तर उनलाई पठाउन गएका बालिकाहरूले चना दिएर खुशी बनाएर फर्कादिएका दिए र उनलाई गाउँसम्म ससम्मान बिदाई गरेर सबै बालबालिकाहरू फर्किन्छन् । उनी बाटो लाग्छिन् । एक्लै बाटो हिड्दा थकाई महसुस गर्छिन् । इमिलीको रुखमुनी बसेर उनी आफ्नो गुडिया र आमालाई सम्झिन्छन् । भावना यसरी गुनगुनाउँछिन् ।

दाङ बोले टिम्कि, महदेवा बोले ढोल
अमलिक रुखवाटिर बैठहिं मोर गुरहि ।

यस्ता जाँदा जाँदै असना भन्ने रूपमुनी बसेर थकाई मार्न थाल्छिन् र फेरि सम्झिन्छिन्, आफ्नो डेहरीमुनी लुकाएर राखेको गुरही र आमालाई राखी दिन आग्रह गर्दै यसरी बिरह पोख्छिन्;

दाङ बोले टिम्कि, महदेवा बोले ढोल
असनक रुखवाटिर बैठहिं मोर गुरहि ।

त्यहाँबाट फेरि आगाडि बढ्छिन् । केही हिडिसकेपछि फेरि गुलरको रुखमुनि बसे फेरि आफ्नो विरह पोख्छिन्;

दाङ बोले टिम्कि, महदेवा बोले ढोल
गुलरिक रुखवाटिर बैठहिं मोर गुरहि ।

यसरी उनी धेरै ठाउँमा आफ्नो घर, आमा, साथी–संगी, गुडिया सम्झिदै अनि भाउँजूले निकै दुःख दिएको सम्झिदै उनी स्वर्गलोकमा हाजिर हुन्छिन् ।

कसरी मनाइन्छ ?

शुक्लापक्षको चौथीको चौकीदरले गाउँमा हाँक हाल्छ । ‘घुघरी भिजाउ रे घुघरी भिजाऊ’ ।

गाउँका सबैले साझा चनाको घुघरी (कोहरी, चानक एक विशेष प्रकारको परिकार) भिजाउँछन् ।

अर्को दिन पञ्चमीको दिन साँझ चना पकाउँछन् । यता चौकिदारले पुनः हाँक हाल्छ । ‘गुरही अस्राई चालो रे, गुरही खस्राई ।’

हाँक पछि गाउँका सबै घरका ससाना बालिकाहरू कपडाका टुक्राको गुरहीको प्रतीकको रूपमा गुडिया, चनाको घुघरी (चनाको एक बिशेष परिकार) चना नभए केराउ अथवा दलहन बालीको कोंहरी (घुघरी) र केटाहरू भने सोँटा (कोंर्रा) लिएर जान्छन् । सोँटा काँसको एक झप्पे अथवा दुई झुप्पे बनाएर लैजान्छन् । यता बालबािलकाहरूलाई नयाँ नयाँ कपडाले पुतली जस्तै सजाइन्छ ।

साँझतिर गाउँको चौकिदारल फेरिे हाँक हाल्छ । ‘अरे ! गुरही अस्राइ चलो रे, गुरही अस्राइ ।’

तब गाउँका बालबालिका घर–घरबाट थालमा गुरही र घुघरी लिएर निस्कन्छन् । यता गुरही अस्राउन (विसर्जन, सेलाउन) निस्कन्छन् र गाउँका घरमुली भान्सेहरू थाल र सुपा ठटाउँदै ‘खाँज खुजली सक्कु लैजा, रोग बिरोख सक्कु लैजा’ (लूतो सबै लैजा, रोगव्याधी सबै लैजा) भन्दै घर भित्रबाट निस्कन्छन् र बाटोसम्म गुरहीसंगै रोगव्याधी पठाउन आउँछन् ।

त्यसैगरि पृथ्वीलोक छोडेर स्वर्गलोक जाँदा ती चेलीले पोखेको विरहको भावलाई गीत मार्फत यसरी गाउँछन्
‘दाङ बोले टिम्की महदेवा बोले ढोल,
अमलिक रुखवाटिर.. गुरही ।’

जब गौर्ही (गाउँभरिका गाइ–गोरु जम्मा हुने ठाउँ) मा गाउँ भरिक बालबालिका र कन्याहरू जम्मा हुन्छन् । तब गाउँको पन्हेरवाले एउटा निशाना गाड्छ । त्यसको एक छेउमा सबै केटाहरूलाई पंक्तिपद्ध गरेर उभ्याउँछ । यता केटीहरूलाई थालमा ल्याएको गुडिया त्यहाँ फाल्छन् र केटाहरूले सोंटाले ठटाउँदै ‘दे घुघरी, दे घुघरी’ भन्छन् ।

थालमा ल्याएको घुघरी माग्न जान्छन् । साना साना बच्चीहरूले आफ्नो आमा, दिदीहरूको सहयोगमा सक्भर धेरैलाइृ पुग्ने गरि घुघरी बाँड्छन् र बाँड्दै गाउँको भुइह्यारथान (गाउँभरिको देउथान) मा जान्छन् । त्यहाँ गाउँको ग्राम देउताहरूलाई प्रसाद चढाई मर्वाको छाप्रो छिटेर घर फकिन्छन् । र घर आएर पनि आफ्नो घरमाथि, अनाज राख्ने धनसार र बारीमा लगाइएका तरकारीहरूमा छिट्ने गर्छन् । यसो गर्दा घरमा भूतप्रेत नआउने, रोगव्याधी र लुतो नलाग्ने, भकारी धानमा बृद्धि हुने । बारीको तरकारी फल्ने जस्ना जनविश्वास छ ।

त्यसैगरि केटाहरूले ठटाउन लगिएको सोंटा कसैले नदेख्ने गरि लुकाएर ल्याइन्छ । त्यो पनि तरकारी बारीमा बाँढिन्छ । यसो गरे किरा फट्याङ्ग्रा नलाग्ने र फल पनि राम्रो लाग्ने कुरा थारू समुदायमा सामाजिक धारणा छ । त्यस्तै, त्यही सोंटालाई धूप लगाई घोटेर घाउ, खटिरामा सञ्चो हुने, पेट दुखाई र ज्वरो आएमा पनि यसले औषधीको काम गर्ने कुरा जानकारहरूले बनाउँछन् । यसरी गुरही पर्व विधिवत् सकिन्छ । यो विशेष गरेर बालबालिकाहरूको एक पृथक पर्व हो । जुन पर्व लुतो फाल्नेदेखि लिएर बालीनाली सप्रिने मान्यताका साथ मनाइन्छ ।

Tags:

सम्बन्धित समाचार