शुक्रबार , मंग्सिर २३, २०७९

शिक्षक र शिक्षाको सम्बन्ध !

पौरस्त्य दर्शनका वाल्मीकि, वृहस्पति, वेदव्यास, कालीदास, शुक्राचार्य, द्रोणाचार्य जस्तै पश्चिमको ज्ञानको प्रवाहसँग जोडिएका सोक्रेटस, प्लेटो, अरस्तु सबै त्यो समयका योग्य शिक्षक हुन र थिए ।

image

गु’ को अर्थ हो- अन्धकार एवं ‘रु’ को अर्थ हो- प्रकाश ।
‘गिरति अज्ञानं इति गुरूः’ अर्थात् ‘अज्ञानलाई हटाएर ज्ञान प्रदान गर्नेलाई गुरु भनिन्छ ।
ब्रह्म भनेको अन्तिम सत्य/ ज्ञान हो । त्यसैले  गुरु नै यथार्थ ब्रह्म हो ।

आफ्ना शिष्यहरूलाई उज्यालो ज्ञानको शिक्षा प्रदान गरेर उनीहरूमा रहेको अन्धकाररूपी अज्ञानता हटाउने गुरु ब्रह्मा, विष्णु, महेश्वर र साक्षात् परब्रह्मस्वरूप मानिन्छ । हिन्दु मान्यताअनुसार सङ्गीत लगायत ६४ कला सिकाउने, गायत्री-दीक्षामन्त्र-वेदमन्त्र दिने आचार्य, उमेर-बुद्धि-बल-अनुभवले पाका व्यक्ति, मातापिता,सासू र ससुरामामा र बाजे बजै,काका र ब्राह्मण  समेतलाई गुरुको रूपमा मानिन्छ ।

पौरस्त्य (पूर्वीय) दर्शनलाई आदर्श मान्नेहरूले गुरुपूर्णिमालाई  वेदव्यास जयन्तीको रूपमा लिने र मनाउने गर्छन् । संस्कृतमा ‘व्यास’को अर्थ ‘लेखक’ हो । वेदको लेखनमा धेरै लेखकहरू जोडिनु भएको छ । वेदको अन्तिम लेखनमा जोडिएको व्यक्ति पराशर र मत्स्यगन्धाका  छोरा महर्षि वेदव्यास हुन् । उनले वेद-वेदान्त, अठार पुराण, उपनिषद्हरूको लेखनलाई अन्तिम रूप दिए ।  सनातन धर्म संस्कृतिलाई जोगाए । यी ग्रन्थहरू नै हिन्दु धर्म र दर्शनका मार्गदर्शक सिद्धान्तहरू हुन् ।

गुरुको वर्तमान सन्दर्भ

आजकाल अध्यापन गर्ने व्यक्तिलाई  गुरु, शिक्षक, टिचर, लेक्चर, प्रोफेसरको रूपमा सम्बोधन गरिन्छ । पौरस्त्य दर्शनका वाल्मीकि, वृहस्पति, वेदव्यास, कालीदास, शुक्राचार्य, द्रोणाचार्य जस्तै पश्चिमको ज्ञानको प्रवाहसँग जोडिएका  सोक्रेटस, प्लेटो, अरस्तु सबै त्यो समयका योग्य शिक्षक  हुन र थिए ।

फाबेलले शिक्षार्थीलाई बिरुवा, शिक्षकलाई माली, विद्यालयलाई बगैँचाका रूपमा उपमा दिएको भेटिन्छ ।  रूसो एक प्रकृतिवादी शिक्षाशास्त्री थिए । उनले बालक स्वतन्त्र जन्मिन्छ, उसलाई स्वतन्त्र रूपमा सिक्न दिनुपर्छ भने विषयलाई महत्त्व दिँदै शिक्षकले पथप्रदर्शकको रूपमा कार्य गर्नुपर्छ भन्ने मान्यता स्थापित गरे । विकसित  र धनी राष्ट्र कहलिएका अमेरिका र अस्ट्रेलियाले मन माफिक धन खर्च गरेर पनि मन माफिक शैक्षिक सुधार गर्न सकेनन् ।

यो कुरा प्रसिद्ध बेलायती साप्ताहिक ‘दी इकोनोमिस्ट’मा अक्टोबर १८, २००७ मा शिक्षासम्बन्धी एउटा विचारोत्तेजक लेखमा प्रकाशित भएको थियो ।  त्यो लेख अध्ययन सोधपत्रमा आधारित थियो । त्यही लेखलाई आधार मानेर अर्को पनि अध्ययन गरियो । त्यो अध्ययन आर्थिक सहयोग र विकास सङ्गठनले विकास गरेको शिक्षाको मापन प्रणालीअनुसार क्यानडा, फिनल्यान्ड, जापान, कोरिया र सिङ्गापुरमा पनि गरिएको थियो । त्यहाँ त्यो मापनले श्रेष्ठता हासिल गरेको पाइयो । उक्त परामर्शदाता संस्थाले त्यो अध्ययनमा तीन महत्त्वपूर्ण बुँदामा छुट्याएर प्रस्तुत गरेको भेटिएको छ ।

पहिलो- योग्यतम शिक्षकहरूको व्यवस्था गर्नु,
दोस्रो- योग्यतममध्ये पनि योग्यतम शिक्षकहरूको छनोट गरी बहाली गर्नु,
तेस्रो- विद्यार्थीहरू जहाँनेर पछि पर्छन् तत्काल, कार्यस्थलमै उनीहरूलाई शैक्षिक सहयोग उपलब्ध गराउनु ।

यी तीन बुँदालाई शिक्षाक्षेत्रमा  व्यवहारिक रूपमा कार्यान्वयन गर्ने वातावरण बनाउन सक्ने हो भने शैक्षिक क्षेत्रमा कम लगानीमै  ठूलो सुधार हुने निश्चित छ ।

बेलायत, अमेरिका र अस्ट्रेलियाले शिक्षामा ठूलो लगानी गरे तर इच्छाअनुसार सुधारको उपलब्धि  हासिल गर्न सकेको देखिन्न । त्यही प्रक्रियाको अनुसरण गर्दा दक्षिण कोरिया, सिङ्गापुर र हङकङ आदि देशमा उत्कृष्ट स्नातक र स्नातकोत्तरलाई मात्र शिक्षकमा बहाली गरिएकाले  कामकाजी, व्यवहारिक, जनउत्तरदायी  र जीवन उपयोगी शिक्षा बन्न सकेको कारण गुणस्तरीय शिक्षाको रूपमा परिभाषित गरियो ।

जबसम्म शिक्षण सिकाइमा भौतिक साधन र शैक्षिक सामग्रीको समुचित प्रयोग गर्ने दृष्टिकोण विद्यालयका व्यवस्थापक, प्रशासक र शिक्षकहरूमा विकास हुँदैन, यो क्षमताको प्रयोगको चेत शिक्षकहरूमा खुल्दै खुल्दैन । चेत नखुलेसम्म त्यो व्यक्तिमा साधनको समुचित प्रयोगको सक्षमता विकास भएकै हुँदैन । त्यो चेत नखेलेको अवस्थामा शैक्षिक दर्शन, तालिम, ज्ञानका अन्य प्रचुरताले शिक्षण सिकाइमा उल्लेखनीय परिवर्तन ल्याउन सकिँदैन ।

छिमेकी राष्ट्र भारतका पूर्वराष्ट्रपति सर्वपल्ली राधाकृष्णनले भनेका छन्- ‘देशको उत्तम मन र मस्तिष्क भएका व्यक्तिहरूलाई मात्र शिक्षक बनाउनुपर्छ ।’  त्यस्तै पूर्वराष्ट्रपति एपीजे अब्दुल कलामका शब्दमा-  ‘शिक्षकहरू राष्ट्रका मेरुदण्ड हुन् ।’ अर्थात् योग्य र श्रेष्ठ शिक्षकहरूद्वारा नै विकसित राष्ट्रको निर्माण हुन सक्छ।

सय वर्षपूर्व शैक्षिक सुधार गर्ने उद्देश्यले अमेरिकामा शिक्षक सङ्घ र समुदायले शिक्षकहरू स्वयंले पालन गर्नुपर्ने आचारसंहिता पारित गरेका थिए । त्यसको मूल उद्देश्य शिक्षकहरूमा व्यक्तिगत, सामाजिक र पेसागत विकासका लागि न्यूनतम  गुणहरू हुनुपर्ने विषय उल्लेख गरिएको थियो।

व्यक्तिगत गुण

  • राम्रो स्वास्थ्य,आकर्षक व्यक्तित्व, मधुर स्वर, रुचि र उत्साह, धैर्य र सहनशीलता, प्रेम र सहानुभूति, आत्मविश्वास, नैतिकता र चरित्रवान् आदि ।
  • सामाजिक गुणमा पक्षपातरहित, स्पष्ट वक्ता, मानवीय सम्बन्ध कायम गर्ने, सेवाभाव-क्रियाशील, विनोदप्रिय, नेतृत्व गर्ने क्षमता र समुदायको ज्ञान आदि ।

पेसागत गुण

  • शिक्षकको प्रमुख गुण भनेको पेसागत गुण हो।
  • विषयवस्तुको उच्च ज्ञान, शिक्षण कौशल, बालमनोविज्ञानको ज्ञान, शिक्षण पद्धति, विधि र प्रविधिको ज्ञान, उत्तरदायित्व बोध, जिज्ञासु र अध्ययनशील, खोज आदि।

निष्कर्षमा, शिक्षक या गुरुका विषयमा स्थापित मूल्य मान्यता र आदर्शलाई पश्चिमी देशहरूले शतप्रतिशत स्वीकार गरे र मात्रै शिक्षामा परिवर्तन गर्न सकेका हुन्  । अहिले पश्चिमी देशहरूले शिक्षाको क्षेत्रबाट बौद्धिकताको आर्जन मात्रै होइन आर्थिकसामाजिक पक्षको पनि उल्लेख्य लाभ लिएका छन् ।

पौरस्त्य दर्शनले गुरुको विषयमा यसरी चर्चा गरेको पाइन्छ;

  • देव गुरु बृहस्पति
  • असुर गुरु शुक्राचार्य ।

शिक्षक देशको निर्माता हुन् भने जस्तै शिक्षक विनाशकर्ता पनि बन्न सक्छन् । गुरुलाई ब्रह्मा भन्नुको अर्थ हो- बालबालिकाको सर्वाङ्गीण विकासमा शिक्षकले सिर्जनात्मक शक्तिको विकास गर्न तथा विष्णु जस्तै हेरचाह, रेखदेख, पालनपोषण गर्न तथा महेश्वरले जस्तै अज्ञान, गलतमार्ग, गलत विचारको नाश गर्नु,गराउनु र कुशल नागरिक / मानिस बनाउन सक्नु हो । शैक्षिक सुधार चाहनेले अभावमा आवश्यकताको प्रचुरताले सु-स्वाद परिकार सम्भव नभएजस्तै असल, योग्य शिक्षकको अभावमा असल शिक्षा सम्भव छैनभन्ने कुरा पहिचान गर्नैपर्छ ।

गुरुपूर्णिमा:

गुरुपूर्णिमा हिन्दु पौरस्त्य जगतको ज्ञान विज्ञानका साधकको लागि  महत्त्व पर्व हो । हिन्दुहरूले महाभारत, श्रीमद्भागवत, अठार पुराण र विष्णु सहस्रनामका रचयिता तथा अपौरूषेय वेदलाई चार भाग लगाउने वेदव्यासको जन्मजयन्तीलाई सम्झेर गुरुपूर्णिमालाई ज्ञानको साधनाका आदर्शको रूपमा  मनाउँछन्। यो दिन विद्यार्थीहरूले गुरुलाई फूलमाला अर्पण गर्ने,आशीर्वाद लिने र गुरुहरूबाट टीका थाप्ने चलन छ ।  द्वापर युगको अन्त्यतिर कौरव, पाण्डवभन्दा अघि उत्तरायण नक्षत्रपूणिर्मा अर्थात् गुरुपुर्णिमाको दिन ऋषि पराशर र माझीपुत्री मत्स्यगन्धाका पुत्रका रूपमा व्यासको जन्म भएको थियो ।

आफ्ना छोरा शुकदेवसहित सम्पूर्ण ऋषिलाई वेदवेदाङ्ग पढाएकाले व्यासलाई सर्वश्रेष्ठ गुरु मानिन्छ । आफूलाई शिक्षा दिने गुरुलाई सम्मान गर्न साथै व्यासलाई सम्झना गर्ने दिनको रूपमा गुरुपुर्णिमालाई लिएको भेटिन्छ ।

पहिले विद्योपार्जन लागि पहिले २५ वर्षको उमेरसम्म ब्रह्मचार्य पालन गरेर गुरुकुलमा गई पढ्ने चलन थियो । त्रेता युगमा  रामसहित उनका भाइ र द्वापरमा श्री कृष्णले पनि गुरुकुलमै अध्ययन गरेको विषय पौरस्त्य शास्त्रमा उल्लेख छ ।

पहिले गुरुहरू विद्वान् हुनाका साथै विद्यार्थीहरू पनि विनयी, गुरुभक्त र विद्याव्यासनी थि ए। गुरुको मान्यता अरूले होइन, स्वयंले प्राप्त गर्ने हो भन्ने कथन रहिआएको छ । गौतम बुद्धले आफ्नो ज्ञानको पहिलो उपदेश गुरुपूर्णिमाकै दिन दिएको भन्ने तथ्य पढ्न पाइन्छ । त्यसै दिनलाई धर्मचक्र प्रवर्तन दिवसका रूपमा बौद्ध धर्मावलम्बीहरूले मनाउने गरिआएका पनि छन् ।

सम्बन्धित समाचार