काठमाडौं उपत्यकाका आदिवासी, रैथाने समुदायको रूपमा परिचित नेवाहरू महिनैपिच्छे कुनै न कुनै चाडपर्व वा जात्रा मनाइरहेकै हुन्छन् ।
नेवाहरूले सालाना मनाउने विभिन्न जात्रापर्वहरूमा मकुण्डो नाचको विशेष महत्व छ । नेवारहरूले निकाल्ने मकुण्डो नाच तान्त्रिक विधिविधान अनुसार जीवित देवताहरू नै प्रस्तुत गर्ने गरिन्छ । यस्तै नेवारहरूको ठूलो जात्रा इन्द्रजात्रामा पनि विभिन्न मकुण्डो नाच निकालिने गरिन्छ । भाद्र शुक्ल द्वादशीको दिनमा हनुमानढोकामा कालभैरवको अगाडि यःसिं उठाइएपछि इन्द्रजात्राको विधिवत् शुरुवात हुने गर्दछ । इन्द्रजात्राको क्रममा जीवित देवी श्री कुमारीको साथमा श्री गणेद्यः र श्री भैरवको पनि रथयात्रा हुने गर्दछ । साथै यसै समयमा पुलुकिसि, लाखय्, दीप्याखं (देवी नाच), महाकाली नाच र श्री हल्चोक आकाश भैरवको नाच पनि निकालिन्छ ।
आकाश भैरव, चण्डी र कुमारीको मकुण्डो निकालिने यस हल्चोक आकाश भैरव नाचलाई स्थानीय नेवारहरू सवःभग्गु भन्ने गर्छन् । नेवाः समुदाय भित्र हल्चोकमा बसोबास गर्ने पुतुवार थरी समुदायले आकाश भैरव अथवा सवः भग्गु निकाल्ने गर्छन् । श्री हल्चोक आकाश भैरवको जात्राको इतिहासको सम्बन्धमा ठोस प्रमाण नभए तापनि नेपाल संवत् १०७ ताका राजा गुणकामदेवले शुरू गरेको जनश्रुति भने छ ।
राजा गुणकामदेवलाई महालक्ष्मी देवीले दर्शन दिइन् र देवीको आज्ञाअनुसार आफ्नो राज्यलाई शत्रुको भयबाट मुक्त बनाउन हल्चोकमा श्री आकाश भैरवसहित विभिन्न देवीदेवतालाई तान्त्रिक विधिबाट उत्पन्न गरेको वंशावलीमा उल्लिखित छ । हल्चोक आकाश भैरवको १२ वर्षे जात्रा भने राजा अमर मल्लले शुरू गरेको बताइन्छ ।
पञ्चतत्वमध्ये एक वायु तत्व पनि हो । श्री हल्चोक आकाश भैरवलाई वायुको रूपमा लिने गरिन्छ । आजको दिनमा पनि कसैलाई वायु लागेको वा वायुको समस्या भयो भनिएमा हल्चोकमा आकाशभैरवको पूजा जाने चलन छ । इन्द्रजात्राको क्रममा जात्रा शुरू गर्नुअघि भाद्र शुक्ल पारुको दिनमा आकाश भैरव, भैरव र चण्डी तीनै जना देवदेवीको मकुण्डो मर्मत आदिको लागि काठमाडौं महाबौद्धको चित्रकारको घरमा पुर्याइन्छ । मकुण्डो सबै एउटा सन्दुकभित्र राखेर हलचोकको आगम घरबाट बोकेर मांसगल्ली पुर्याइन्छ ।
मकुण्डोको मर्मत गर्ने यस प्रक्रियालाई स्थानीय नेपाल भाषामा ‘लंपू छायेगु’ भनिन्छ । लंपू छायेगु काम सम्पन्न भएपछि भाद्र शुक्ल एकादशीको दिनमा चित्रकारबाट विधिवत पूजा गरी गुठीयारका नाइकेलाई मकुण्डो हस्तान्तरण गरिन्छ । चित्रकारको घरबाट मकुण्डो हल्चोकमा फिर्ता लग्ने क्रममा अगाडि मसाल बालेर पित्तलको एउटा सन्दुकमा मकुण्डो राखेर बोकेर लगिन्छ ।
सोही दिन हल्चोक पुगेपछि आकाशभैरवको द्यःछेँ (देवघर) अगाडि विशेष पूजा गरिन्छ । त्यहाँ १२ वर्षे जात्राका १० जना देवीदेवता श्री हल्चोक आकाश भैरव, चण्डी, कुमारी, पार्वती, गंगा, महादेव, बाराही, आकाशदेवी, दक्षिणकाली र महाकालीको मकुण्डोको विशेष पूजा हुन्छ ।
सो क्रममा गुठीका नाइकेबाट पूजा भएपछि अरूले पनि पूजा गर्ने गर्छन् । गुठीबाट बलि दिएर पूजा गरेपछि पूजा सम्पन्न हुन्छ । त्यसपछि त्यहाँ इन्द्रजात्रा बेला देउता बन्नेहरू मकुण्डो र पोशाक नलगाइन एकपटक नाच्ने गर्छन् । यो एक प्रकारको नाचको रिहर्सल भन्न सकिन्छ । भाद्र शुक्ल द्वादशीको दिन गुठियारहरू हल्चोकस्थित देवघरमा भेला भई चण्डी, कुमारी र हल्चोक आकाश भैरवको मकुण्डो र पोशाक एउटा सन्दुकमा राखेर त्यहाँबाट बोकेर काठमाडौंको किलागलस्थित काय्गःननिको एउटा घरमा पुर्याइन्छ । इन्द्रजात्राको अवधिभर सोही घरबाट आकाश भैरव देवगण निकालिने गरिन्छ । आकाश भैरव र काय्गःननि घरको सम्बन्ध के छ भन्ने विषय भने खुलेको छैन ।
श्री आकाश भैरवको नीलो मकुण्डो, नीलै जामासँगै हातमा खड्ग हुन्छ भने चण्डी र कुमारीले रातो मकुण्डो र रातै जामा लगाउने गरिन्छ । काय्गःननिबाट आकाशभैरव देवगण निस्किँदा सबभन्दा अगाडि मसाल हुन्छ भने त्यसपछि क्रमशः चण्डी, कुमारी र हल्चोक आकाश भैरव पछि बाजा खलक हुन्छ । शुरूमा काय्गःननिमा देवगण नाच्ने गर्छन् । यसलाई ‘द्यः ल्हाय्गु’ भनिन्छ । त्यसपछि चण्डी र कुमारी नाच्ने गर्छन् भने भैरव एक्लै नाच्छन् ।
त्यसपछि काय्गःननिबाट निस्केर काठमाडौंको विभिन्न क्षेत्रमा घुमेर नाच देखाइसकेपछि अन्तिममा काय्गःननिमै फर्किन्छ र काय्गःननिमा फेरी ‘द्यः ल्हाये’ गरेर सो दिनको नाच सम्पन्न गरिन्छ । विगतमा श्री हल्चोक आकाश भैरवलाई इन्द्रजात्राको क्रममा हनुमानढोकाको नासः चोकमा राँगो पनि दिने गरिन्थ्यो । २०४६ साल पछि यो चलन भने बन्द भएको छ ।
इन्द्रजात्राको अन्तिम दिन भाद्र कृष्ण तृतीयाको दिन काय्गःननिबाट देवगण निस्केर नगर परिक्रमा गरिसकेर काय्गःननिमै फर्किन्छ । सो दिनमा काय्गःननिको घरपतिले आकाश भैरव, चण्डी र कुमारी तीनै जनालाई विशेष पूजा गर्छन् । त्यसपछि देवगण हल्चोक फर्किन्छन् । सो क्रममा देवगण मकुण्डो र पोशाक लगाएरै जाने गर्छन् । फर्किंदा बाटोमा पूजा लिँदै जाने गरिन्छ । हल्चोकको पूजारीले लसकुस (स्वागत) गरी तीनै जना देउतालाई भित्र्याउँछन् । यसपछि जात्रा औपचारिक रूपमा सम्पन्न हुने गर्दछ ।
नृपेन्द्रलाल श्रेष्ठ