भारदहमा मानव बस्ती बसाल्ने क्रममा जग्गा खनन गर्दा दुर्गाको ढुङ्गे प्रतिमा फेला परेपछि त्यही ढुङ्गे प्रतिमालाई कङ्कालिनी देवीका रूपमा स्थापना गरिएको ऐतिहासिक किंवदन्ती पाइन्छ ।
एकजना साथीले मधेशमा के घुम्ने कता घुम्ने सबैतिर एउटै हुन्छ भनी गुनासो पोख्ने गर्थे । म उनलाई सधैँ अग्लो ठाउँबाट मात्र संसार हेर्ने होइन कहिलेकाहीँ समानतामा पनि रमाउन सक्नुपर्छ, होचो स्थानबाट माथि हेर्दा कस्तो देखिन्छ भन्ने थाहा पाउनु पर्छ भन्दै बुझाउँथेँ । पहाडको शीतलता र हिमालको चिसोपना मात्र होइन जीवनमा तराईको तापको पनि आनन्द लिनुपर्छ ।
ढिँडो र गुन्द्रुक मात्र चाखेका जिब्रोमाझ उसिना चामलको भात र तरुवा पनि पुर्याउनुपर्छ । हिम चितुवा र डाँफे देखेका आँखालाई अर्ना र मयुर देखाउनुपर्छ भन्दै म व्याख्या गर्थेँ ।
विविधताले भरिपूर्ण देश नेपालमा पूर्वदेखि पश्चिमसम्म अनगिनत पर्यटकीय क्षेत्र रहेका छन् । कतिले अन्तर्राष्ट्रिय स्तरमा लोकप्रियता कमाएका छन् भने कति ओझेलमा परेका छन् । यस्तै ओझेलमा परेको एक स्थान मधेश प्रदेशको सप्तरी जिल्लामा रहेको हनुमाननगर कङ्कालिनी नगरपालिका पनि हो । धार्मिक, सांस्कृतिक, ऐतिहासिक, प्राकृतिक तथा खाद्य पर्यटनको राम्रो सम्भावना बोकेको यस नगरपालिका घुम्न निकै कम पर्यटकहरू पुग्ने गरेका छन् ।
हनुमाननगरमा रहेको प्रसिद्ध हनुमान मन्दिरका पुजारी गोविन्द मिश्रका अनुसार हनुमाननगर बजार राणाकालिन समयमा राणाहरूले बाहिरबाट मानिसहरू ल्याएर बसाएको पुरानो बजार हो । त्यसअघि, हनुमाननगर बजार के कस्तो थियो भन्ने जानकारी आफूलाई नभएको उनले बताए । उनले सुने अनुसार सो समयमा बत्तीस कोठी नामको भवन निर्माण गरिएको थियो । गाउँलेहरू थपिँदै जान थाले र बिस्तारै बजारको विकास हुँदै गएर विभिन्न आरोह–अवरोह पार गर्दै अहिलेको स्थितिमा हनुमाननगर आइपुगेको हो ।
तराईका अन्य भूभाग झैँ हनुमाननगर बजार परिसर पनि जङ्गल थियो । उनका अनुसार त्यतीबेलाको समयमा जित बहादुर कर्णेल घोडामा आएर भारतको नरपतगंजतिरबाट व्यापारीहरू ल्याएर यहाँ बसाएका हुन् । सो ठाउँको सुरक्षाका लागि होमगार्डहरूको व्यवस्था गरिएको उनले बताए ।
लिल्जा मोजे (लोल्ज्या गाउँ)सँग सिमाना गाँसिएको हनुमाननगर बाहिरबाटै आएका मारवाडीहरूले बसालेको बस्ती मानिन्छ । लिल्जा भन्ने गाउँमा नौ लाख रूख थिए, जसलाई नौलख्खी बाग भन्ने गरिन्थ्यो । लिल्जा गाउँसँगै त्यसलाई पनि कोशीले कटान गरेर लग्यो । त्यहाँ रहेका हजारौँ मानिसहरू विस्थापित भए र अन्यत्र स्थानमा बसाइँ सर्न बाध्य भए । लिल्जाका धेरै मानिसहरू राजविराजतिर पनि लागे, जहाँ अहिले लिल्जा टोल नै रहको छ ।
हनुमान नगरमा सम्भवतः नेपालको पुरानो भन्सारमध्ये एक भन्सार पनि रहेको थियो । कोशी नदीले छोएको हुँदा अधिकांश आयातनिर्यात समेत कोशी नदीमार्फत हुने गर्दथ्यो । डुङ्गाकै माध्यमबाट बनारस, भागलपुर लगायतका स्थानबाट आयात निर्यात हुने भएकाले हनुमाननगर सो समयको एक ठूलो व्यापारिक केन्द्र थियो । पछि कोशीमा ठूलो बाढी आएपछि हनुमाननगर बजारको निकै ठूलो भूभाग कोशीले कटान गरेर लग्यो । त्यसपछि योजना बनाएर बजार राजविराजमा सारियो । सुनसरीको लौकही, सप्तरी र सिराहासम्मको ठूलो क्षेत्रफल ओगटेको सप्तरीको सदरमुकाम हनुमाननगर रहेको थियो । तर, कोशीमा बाढी आएपछि सदरमुकाम राजविराज सर्यो । त्यसैगरी, विभिन्न कारणले सप्तरीको क्षेत्रफल पनि खुम्चियो ।

वि.सं. १९९९ भन्दा केही अघिदेखि नै कोशीको प्रभावले गर्दा हनुमाननगर बजार राजविराजतिर लागेको स्थानीय अशोक शर्माले बताए । त्यसैगरी, आजभन्दा ५० वर्षअघिको जस्तो चहलपहल हनुमाननगरमा नरहेको पुजारी मिश्र बताउँछन् । ‘वरिपरि रहेका लहान, कञ्चनपुर, भारदह, राजविराज, विराटनगरसम्म कतै हनुमाननगर जत्रो बजार थिएन ।’ उनी भन्छन् ‘मान्छेहरू टाढा–टाढाबाट हनुमाननगर बजार सामान खरिद बिक्रीका लागि आउने गर्थे ।’ हनुमान नगर सो समयको एउटा ठूलो बन्दरगाह थियो भन्दा फरक नपर्ला । व्यापारी तथा सर्वसाधारणहरू डुङ्गाबाट हनुमाननगर आई बजार भर्ने गर्थे ।
इतिहासकार स्व.हरिकान्त लाल दासको अनुसन्धानमूलक पुस्तक ‘सप्तरीको राजनैतिक इतिहास तथा प्रमुख धार्मिक स्थलहरू’ का अनुसार भने वि.सं. १९२८ अघि पूर्व सदरमुकाम हनुमाननगर अस्तित्वमा थिएन । दासले वर्तमान हनुमाननगर नयाँ बसालिएको नगर मात्र नभएर प्राचीन नगर ‘हनुमानगढी’ रहेको समेत उल्लेख गरेका छन् । उनले हनुमानगढी कम्तीमा पनि ७०० वर्ष पुरानो बजार भएको कालान्तरमा विधर्मीको आक्रमणमा परी वा अन्य कुनै कारणले हनुमानगढी ध्वस्त भएको वा विस्थापित भएको र पछि नरहाबजार स्थानान्तरित हुँदा पुनः नगर बसेको हुनसक्ने धारणा राखेका छन् ।
इतिहासकार दासले आफ्नो पुस्तकमा– ‘हनुमाननगरभन्दा तीन–चार माइलपूर्व नरहा भन्ने ठाउँमा सरकारी अड्डाहरू थिए । त्यो ठाउँ भारतीय सीमा नजिक रहेकोले त्यहाँ बजार अड्डा थियो । त्यहाँ एउटा जेलखाना पनि थियो’ लेखेका छन् । जसबाट हनुमाननगरअघिको ठूलो बजार ‘नरहा बरहा’ रहेको बुझ्न सकिन्छ । इतिहासकार दासका अनुसार कोशी नदीको बाढीले गर्दा त्यहाँका अड्डा र बजार त्यहाँदेखि ३–४ माइल पश्चिम हनुमानगढीमा सारियो । हनुमानगढी क्षेत्रमा त्यतिबेला जङ्गल रहेकोले बस्ती थिएन । पुरातत्व विभागको प्रतिवेदनमा हनुमाननगर बजारको स्थापना वि.सं. १९२८ मा भएको देखिन्छ । त्यसैबेला हनुमाननगरलाई सप्तरी जिल्लाको सदरमुकाम पनि घोषणा गरिएको पुस्तकमा उल्लेख छ ।

हनुमाननगर जोड्ने सम्पर्क सडकहरूको अवस्था नराम्रो भएका कारणले गर्दा पनि विभिन्न गाउँबाट हनुमाननगर आउने चाह राखेका मानिसहरू आउन नसकेर अन्यत्र पुग्ने गरेको पुजारी मिश्रले सुनाए । ‘फाइलमा १५-२० वर्षदेखि राष्ट्रिय सडकदेखि गाउँ विकासको बाटो हुन्जेलसम्म बाटो पूर्णरूपमा बनेका छैनन्’ पुजारी गुनासो गर्छन् । लोहजाराबाट हनुमाननगर जोड्ने बाटो, बरमझियादेखि हनुमाननगर सडक आदि निर्माण भएपनि हनुमाननगर बजार पुनः फस्टाउने विश्वास पुजारीले लिएका छन् ।
हनुमाननगर कङ्कालिनी नगरपालिकामा कोशी ब्यारेजको आधा क्षेत्र, प्रख्यात कङ्ंकालिनी मन्दिर, अद्भुत हनुमान मन्दिर, ऐतिहासिक हनुमाननगर बजार, स्थानीय खानाका विशेष परिकारहरू आकर्षणका प्रमुख बिन्दु रहेका छन् ।
कोशी ब्यारेज
नेपालको सप्तकोशी नदीमाथि सुनसरी र सप्तरी जिल्लाको बिचमा बनेको यो बाँध नेपाल–भारतीय सीमा नजिकै रहेको छ । सन् १९५८ देखि सन् १९६२ को बिचमा बनाइएको बाँधमा ५६ ढोकाहरू रहेका छन्, जसलाई पानीको बहावको आधारमा खोल्ने र लगाउने गरिन्छ ।
चीनको ह्वाङहो नदीपछि तीव्र गतिमा बग्ने विश्वको दोस्रो ठूलो नदी सप्तकोशी नदीलाई मानिन्छ । जसका सहायक नदीहरूमा अरुण, तमोर, सुनकोशी, दूधकोशी, लिखु, तामाकोशी र इन्द्रावती रहेका छन् ।
कोशी ब्यारेजको दृश्यावलोकन गर्नु या नजिकै रहेको कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्र घुमफिर गर्नु या कोशीका स्वादिला माछा चाख्नु यहाँ आउनेहरूका लागि आकर्षणका केन्द्र मानिन्छन् । ब्यारेज पुगिसकेपछि डुङ्गामा सयर गर्दै बृहत् कोशी नदीको अवलोकन गरी आनन्द लिन सकिन्छ ।
कङ्कालिनी मन्दिर
कङ्कालिनी मन्दिर हनुमाननगर कङ्कालिनी नगरपालिकामा रहेको अर्को एउटा प्रमुख आकर्षणको बिन्दु रहेको छ । धार्मिक पर्यटनको राम्रो सम्भावना बोकेको यस मन्दिरमा नेपाल तथा भारतका विभिन्न स्थानबाट भक्तजनहरू आउने गरेका छन् ।
ऐतिहासिक किंवदन्तीअनुसार भारदहमा मानव बस्ती बसाल्ने क्रममा जग्गा खनन गर्दा दुर्गाको ढुङ्गे प्रतिमा फेला परेको थियो । त्यसै प्रतिमालाई मन्दिरमा स्थापना गरेर स्थानीयले पूजा सुरु गरेका हुन् । नेपाली प्यागोडा शैलीमा निर्माण गरिएको यस मन्दिरमा दिनहुँ भक्तजनहरू बोका, भेडा, परेवा, हाँस र माछा आदि बलिदान सामग्रीसहित पुग्ने गर्छन् । मनोकामना पूरा भएकाहरूले पञ्चबलि समेत दिने गर्छन् । स्थानीयले देवीले “मुखले कङ्काल च्यापेको” देखेर कङ्कालिनी देवी भन्न थालिएको बुझिन्छ ।
मनोकामना पूरा गर्ने शक्तिपीठहरूमध्ये एक शक्तिशाली पीठ कङ्कालिनी मन्दिर धार्मिक पर्यटनका लागि यात्रा गर्ने पर्यटकका लागि विशेष हुनेछ ।
हनुमान मन्दिर
हनुमाननगर कङ्कालिनी नगरपालिकाको अर्को आकर्षण भनेको हनुमाननगर वडा नं ७ मा रहेको हनुमान मन्दिर हो । शालिग्राम (कसौटी) पत्थरले बनेको हनुमानको दुर्लभ मूर्तिका दुवै हात आशिर्वादी छन् । स्व. मुक्तिनाथ मण्डलले आफ्नो सप्तरी दर्पण नामक पुस्तकमा विक्रमादित्यको उज्जैन र हनुमानगढी (हनुमाननगर)को बाहेक कालो शालिग्राम पत्थरका हनुमान मूर्ति संसारमा अन्यत्र नरहेको उल्लेख गरेका छन् ।
इतिहासकार स्व. हरिकान्त लाल दासको अनुसन्धानमूलक पुस्तक ‘सप्तरीको राजनैतिक इतिहास तथा प्रमुख स्थलहरू’ का अनुसार नयाँ नगर बसाल्न जङ्गल फडानी गरिरहँदा हनुमानको मूर्ति भेटिएको थियो, हनुमाननगरको हनुमान मन्दिरमा स्थापित मूर्ति त्यही मूर्ति हो । दासका अनुसार हनुमाननगरको हनुमानको मूर्ति शक्रसिंहको सखडामा रहेका मूर्तिहरूकै समकालीन हो ।
धार्मिक तथा ऐतिहासिक पर्यटनका लागि यात्रा गर्ने पर्यटकका लागि यो मन्दिर पनि एक विशेष गन्तव्य साबित हुनसक्छ ।
स्थानीय खाना
खानाका पारखीहरूका लागि पनि हनुमाननगर कङ्कालिनी नगरपालिका राम्रो गन्तव्य बन्न सक्छ । मधेशको विशेष पाककलाद्वारा बनाइएको अधिकतम् खानाहरूको स्वाद हनुमाननगरमा लिन सकिन्छ ।
हनुमाननगरमै परेवाको विशेष परिकारले तृप्त हुन सकिन्छ भने माछाका विभिन्न परिकारमा समेत रमाउन सकिन्छ । हनुमाननगरमा शाकाहारी भोजन खोज्न पनि गाह्रो छैन । बजारमा रहेका विभिन्न भोजनालयले विशेष आतिथ्यका साथ पाहुनाहरूलाई उपलब्ध खाद्य परिकार पस्किने गर्छन् ।
यी बाहेक ऐतिहासिक हनुमाननगर बजार, कोशी टप्पु, बरमझियाको पेडा, भारतीय बोर्डर आदि हनुमाननगर पुगेपश्चात् घुम्न सकिने ठाउँहरू हुन् । यद्यपि, पर्यटकहरू उल्लेखनीय मात्रामा किन आइरहेका छैनन् भन्ने जिज्ञासालाई मेटाउँदै स्थानीय अशोक शर्माले प्रचारप्रसारको कमीले यसो भएको बताए । उनका अनुसार अर्को मुख्य समस्या भनेको बासको रहेको छ, हनुमाननगर पुग्ने पर्यटकलाई बासको सुविधा उपलब्ध गराउनबाट हनुमाननगर चुकिरहेको छ ।
स्थानीय सरकारलाई यसप्रति ध्यान दिन आग्रहसमेत गरिएकाले निकट भविष्यमा यसको समाधान हुनेमा उनी विश्वस्त छन् । उनले भने, ‘कुनै समय हनुमाननगर कङ्कालिनी नगरपालिकाको पर्यटनलाई कसरी प्रवर्द्धन गर्ने छलफल समेत भएको थियो तर, त्यो छलफल छलफलमै सीमित भएकोमा हनुमाननगरका स्थानीयवासी दुखी छन् ।’

बदलिँदो समयसँगै सामाजिक सञ्जालको प्रयोग गरी हनुमाननगर कङ्कालिनी नगरपालिकाको प्रचारप्रसार गरिँदैछ । जसले केही पर्यटकहरूलाई आकर्षित समेत गरिरहेको छ तर अझ बृहत् रूपमा यस क्षेत्रको प्रचार भए अझ बढी पर्यटक भित्रिनेमा उनी विश्वस्त छन् । स्थानीय सरकारले यस क्षेत्रको पर्यटन प्रवर्धनमा उचित ध्यान नदिएकाले पनि पर्यटकहरूलाई आकर्षित गर्न नसकिरहेको र आएका पर्यटकलाई पनि उचित सेवा सुविधा प्रदान गर्न नसकिरहेको उनले सुनाए ।
हनुमाननगरमा अहिले जैन भवन अतिथि सदन तथा धर्मशाला छन् तर होटेलको भने सुविधा छैन । त्यसको लागि केही दूरीमै रहेका योगिनिया, राजविराज आदि ठाउँसम्म पुग्नुपर्ने हुन्छ ।
पहिला हनुमाननगर योगिनी माइ नगरपालिका थियो, त्यसपछि हनुमाननगर योगिनी माइ नगरपालिकाको क्षेत्र बढाएर हालको हनुमाननगर कङ्कालिनी नगरपालिका बनाइएको हो । २०७२ देखि २०७४ सम्म हनुमाननगर योगिनी नगरपालिका थियो र त्यसपछि उक्त नगरलाई हनुमाननगर कङ्कालिनी नगरपालिका नामाकरण गरियो ।