बुधबार , साउन ९, २०८१

हरितालिका तीज र यसको ऐतिहासिक महत्व

आधुनिकता भित्र फेसन र आडम्बरको रुपमा शहरका होटल, पाटी प्यालेसमा भट्किलो र खर्चिलो बनाउने प्रचलनलाई हामी महिलाहरुले नै त्याग्न सक्नु पर्दछ ।

image

हिन्दु धर्म संस्कृति भित्रको हरितालिका तीजले ऐतिहासिक, सामाजिक महत्व राख्दछ ।हरितालीका तीजसँग नेपाली जनताको भावनात्मक सम्बन्ध जोडिएको उमङ्गता छ । यसको ऐतिहासिक सांस्कृतिक, सामाजिक, मनोवैज्ञानिक र पारिवारिक आयामहरूको गाडा सम्बन्ध छ । नेपाली समाजमा विवाहित महिलाका निमित्त विशेष सम्बन्ध राख्ने यो चाडले नयाँ घर परिवारको संरचनाभित्रको प्रवेश, परिचय, पहिचान सहित माइतीसँगको सम्बन्धलाई प्रगाढ बनाउने ऐतिहासिक प्रचलन तीजको विशेषता हो । यसले चाडको एकैरक्त सम्बन्ध र फरक रक्तसम्बन्ध बीचको पहिचानलाई अघि बढाउन महत्वपूर्ण भूमिका खेलेको देखिन्छ ।

हरितालिका तीजसँग गाँसिएको अति प्राचीन सत्य युगका शिव र पार्वतीको विवाहसँग गासिएको संघर्षपूर्ण जीवन कथाका रूपमा बुझ्ने बुझाउने चलन नै प्रमुख रूपमा देखिएको छ । त्यस बेलाको समाज, समाजको विकाशक्रम भिन्न-भिन्न जाती, समूहहरूका आ–आफ्ना रीतिरिवाजहरूको मान्यताका आधारमा चलन चल्दै गयो । आर्य, किराँत, आष्ट्रिक, द्रविड आदि जस्ता भिन्न-भिन्न जाती समूहका मुलका मानिसहरूको आ–आफ्नै रिवाजहरू चलनका रूपमा कायम थिए । एक समूहका रीवाज अर्को समूहका लागि मान्य थिएनन् ।

भावनात्मक सम्बन्धको निकटता नभएको अवस्थामा विश्वासिलो वातावरण हुने कुरै भएन । एक अर्का जातीमा परस्पर युद्ध चल्दथ्यो । अस्तित्व स्वीकार्य हुँदैन थियो । चेतनाको विकाश भएका थोरै व्यक्तिहरू मित्रवत् वातावरण र सदभावका कुरा पनि गर्दथे । तर त्यो विचार समूहका व्यक्तिहरू थोरै हुन्थे । पश्चिम क्षेत्रतिर रहेका आर्य जातीका दक्षप्रजापति आफ्नो जाती समूहलाई निकै सव्य सुसंस्कृत ठान्दथे । तर उनकी छोरी सतीदेवी तात्कालिन हिंसा युक्त समाजमा मातृत्व र सहिष्णुता सहितको मानवता चाहान्थीन् ।

त्यो पूर्वी हिमाली भेगतिर रहेका अनार्य जातीका शिवसँग देखेकी थिइन् । शिवसँग भएको तन्त्र, यो नृत्य शास्त्राश्त्र आदिले त्यो समाजमा वर्चस्व कायम राखेका थिए । त्यो दक्षता र मानवताले तात्कालिन समाजमा सन्तुलन कायम गर्दै सुसंस्कृत समाज निर्माणमा महत्वपूर्ण भूमिका राख्ने विषयले सतीदेवीलाई अगाडि बढाई रहेको थियो । यस प्रकृतिको विवाहले मानवजातीलाई एकता डोरीमा बाँधेको महान् अभियानका रूपमा लिन सकिन्छ । आफ्ना पिताको अपमानलाई सतीदेवीले यज्ञकुण्डमा होमिएर यज्ञ आत्मदाह गरेको र पछि हिमालय पुत्रीका रूपमा पुनः जन्म लिई पुन शिवसँग पार्वतीको  नामले ठूलै तपस्या गरी विवाह गरेको पौराणिक किम्बदन्ती अझै नेपाली समाजमा ताजै झैँ छ ।

पार्वती पिताका लागि मन्जुर नभए पनि सतीदेवीले विवाह गरी छाडिन । संगिनीहरूको साथ लिएर परिवारबाट सखीहरूले हरण गरेर शिवसँग विवाह गराए (शिवलाई पतीका रूपमा स्वयं वरण गरिन्) कारण नै हरितालिका रहेको ऐतिहासिक धार्मिक महत्व कथाले पुष्ट्याउँछ । तीनै सती या पार्वतीलाई आर्यमुलको वैदिक समाजले पुज्यदेवीहरूमध्ये अग्रस्थानमा राखेर ‘प्रथमम् शैलपुत्री च” किरात समुदायले पार्वतीलाई सुम्निमा र शिवलाई पारुहाङ्गका रूपमा गर्दै आएको देखिन्छ ।

यसरी हेर्दा तीजपर्वले अन्तरजातीय विवाह, सामाजिक सदभाव र धार्मिक सहिष्णुताको प्रतिकका रूपमा र सफल दाम्पत्य जीवनको प्रमुख उदाहरण अर्थ नारेश्वरको रूपलाई सुक्ष्म ढङ्गले अध्ययन गर्न बाध्य गराउँछ । अर्धनारेश्वर शिव र पार्वतीको समान पहिचान स्थान मान र मर्यादाको प्रतिकका रूपमा स्थापित रूप वा पहिचान अर्को महत्वपूर्ण विषयका रूपमा जोडिएको छ । यो रूपले भिन्न वंश र मुलुकका मानव समुदायमा साँस्कृतिक, अस्थित्व सहितको विलिनीकरण भई विश्वास मैत्री सम्बन्धका रूपमा तलको वाक्यले बुझाउँछ ।

माता च पार्वतीदेवी पिता दवो महेश्वरः

वान्धव वा शिवमआश्रम स्वदेशो भुवनत्रमम् ।।

(आमा पार्वती र बुबा शिवका रूपमा)

यसले शिवभक्त मानवजातीको एकता र बन्धुत्वका रूपमा तिनैलोकको सम्बोधन गरेको देखिन्छ । तीजको लगतै पश्चिम नेपालका विभिन्न जिल्लामा मनाईने गौरा पर्वको सम्बन्ध पनि हरितालिका तीजसँगै जोडिएको छ । गौरा पर्वमा पार्वतीले आफ्नो स्वेच्छाले शिवलाई वरण गरेको सन्दर्भ जोडिएको छ । यस्ता ऐतिहासिक घटनालाई महिलाले स्वतन्त्रता स्व-निर्णय पहिचानसँग सम्बन्ध राखी चाडपर्व मनाउने चलन पनि देखिन्छ । अहिले पनि यी प्रचलनले त्यत्तिकै महत्व राख्दछ । हरितालिका तीजको ऐतिहासिक गाँसिएको मानव र वनस्पतिको सम्बन्ध र महत्वको स्थान पनि महत्वपूर्ण छ ।

तीजपर्वको विशेष महिना भाद्र नै छानिनुमा विशेष सांस्कृतिक र प्राकृतिक पक्षको महत्व देखिन्छ । खेतीपाती सकेर नदिनाला खड्ीएको, चारैतिर हरियाली छाएको मौसम भएकोले नै हो । यो मौसम प्राय: सबै प्राणी, वनस्पति जातीको प्रजनन क्षमता बढी भएको रसिलो भरिलो याम, मानिसको मन मस्तिष्कमा मनोवैज्ञानिक रूपमै मुस्कान भरिएको रमणीय प्राकृतिक सौन्दर्यसँग प्रत्यक्ष सम्बन्ध राख्दछ । हिन्दुहरूका अरु पर्वहरू पनि विशेष रूपमा जोडो याममै पर्दछन् । यसको छुट्टै वैज्ञानिक कारण हुन सक्दछन् । तर वर्षमा रित्तिएका अनाज, तरकारीहरू विस्तारै प्रसस्त हुने पहाडी क्षेत्र भएका कारण पनि यो महिना रोजिएको देखिन्छ ।

तीजको सन्दर्भ शिव पार्वती सँगै श्री कृष्णअष्टमीसँग पनि गाँसिएको छ । विष्णुको पूर्ण अवतारका रूपमा मानिने कृष्णको जन्मदिनलाई भव्यताका साथ मनाउने प्रचलन हामी हिन्दूहरूमा अझै पनि छ ।  कृष्णको जन्मदिनको दिनबाटै चेलिबेटी बोलाई तीज बनाउने प्रचलन पनि नेपाली समाजमा प्रसस्तै  पाईन्छ । यस सन्दर्भमा लुम्बिनी अञ्चल अर्घाखाँची खिदिमका महापण्डित दधिराम मरासिनीले आफ्नो श्लोकमा यसो भन्नु हुन्छ–

“ई हुन् शंमुइ विष्णु हुन् इ दुईको नाम् काम् सबै भिन्न हो

यिी कम्ती इ बडा भनीकन वृथा भेद्ज्ञान भयाको छ जो,

अज्ञान् हो सब त्यो परन्तु शिव जुनस्वँ विष्णु हुन विष्ण जुन्

सोही शङ्कर हुन् फरक इ दुइको मानुँ नमानी भजुन् ।

सिंगो दक्षिण एसिया बहुजातीय भएकोले विभिन्न जातीका फरक-फरक देवता हुँदै गए । हुँदाहुँदा देवताहरूको संख्या ३३ कोटि र प्रकार या करोड ! हुन पुग्यो । त्यसलाई घटाउने अभियान क्रममा ‘गणेश, विष्णु, शिव, सूर्य, काली’ यी पाँच देवता (पाञ्चायन देवता) लाई सबैका साझा देवता बनाउने प्रयत्न चल्यो अहिले त्यो संख्या घटाउँदै लगी ‘शिव र विष्णु एउटै हुन्’ भन्ने चिन्तन, क्रमशः विकसित हुँदै आएको छ । जे होस् शिव र पार्वतीको महिमा भित्र मान सम्मान र मानवताको सहअस्तित्व झल्कन्छ । यसलाई समस्त मानवजातीले बुझ्नु जरुरी छ ।

यी ऐतिहासिक प्रचलन सहित पछिल्लो काल खण्डमा पटक-पटक मुसलमान जातीको आक्रमणमा परेका हिन्दुहरूले आफ्ना छोरीहरूको कुमारीत्व जोगाउन एक वर्षभन्दा मुनि नै सिन्धु र पोतेले सजाईं रक्षा गर्ने सुरक्षाको प्रचलनसँग पनि सम्बन्ध राखेको देखिन्छ । सानै उमेरमा विवाह गरेका आफ्ना छोरीवेटी वर्ष याममा कामका कारण खानपिनमा ख्याल नपुगेको अवस्थामा कमजोर भएका हुने, खेतीपातिको काम सकिए पछि जन्मघर गएर मिठो मसिनोमा परिवारै रम्ने र हरितालिका तीजको व्रतले पुन घर, परिवार र पति पत्निको सम्बन्धको न्यानो सम्बन्ध कायम गराउने कुरा प्रति पनि महत्व राख्दछ ।

जेहोस् परापूर्वकालदेखि प्रचलनमा आएको हरितालिका तीजको आफ्नै ऐतिहासिक महत्व छ । यसलाई आधुनिकता भित्र फेसन र आडम्बरको रूपमा शहरका होटल, पाटी प्यालेसमा भट्किलो र खर्चिलो बनाउने प्रचलनलाई हामी महिलाहरूले नै त्याग्न सक्नु पर्दछ । यस्ता विकृतिले धार्मिक सांस्कृतिक र ऐतिहासिक मौलिकता नष्ट भई समाजमा कमजोर नागरिकलाई चाडवाड र संस्कृति मनाउने, सुख दुःख साट्ने प्रचलनमा दरार सिर्जना भई विभेदको अर्को रूप विकाश हुन सक्छ । यस्ता विषयमा विचार नपुर्याएर समाजमा विविध अपराध पूर्ण घटनाले प्रश्रय पाउँछ । महिलाहरूले यस्ता धार्मिक सांस्कृतिक महत्वका चाडपर्व मनाउँदा विशेष होस् पुर्याउनु उत्तम हुनेछ ।

सम्बन्धित समाचार