मंगलबार , भाद्र ९, २०८३

यस्ता छन् हृदयाघातका लक्षण

पुरुष-महिला दुवै जनालाई असर पार्ने यो रोग अहिले पनि बढ्दो क्रममा छ । मुटु रोग प्राणघातक भए तापनि ८० प्रतिशत हृदयाघात रोकथाम गर्न सकिन्छ ।

image

हृदयाघात अर्थात् हर्ट अट्याक भनेको मुटुको कुनै पनि धमनीहरूमा अवरोध भई मुटुको मांसपेशीले काम गर्न नसक्नु र अन्त्यमा सो भागको मृत्यु हुनु हो । यो हृदयाघात यदि मुटुको देब्रे मुख्य धमनीमा अवरोध भएमा प्राणघातक पनि हुन सक्छ ।

पुरुष-महिला दुवै जनालाई असर पार्ने यो रोग अहिले पनि बढ्दो क्रममा छ । मुटु रोग प्राणघातक भए तापनि ८० प्रतिशत हृदयाघात रोकथाम गर्न सकिन्छ । विश्व मुटु महासङ्घका अनुसार मुटु रोगका कारण विश्वभर बर्से १ करोड ८० लाख मानिसको मृत्यु हुने गर्छ । मृत्यु हुनेहरूमध्ये ८० प्रतिशतभन्दा बढी विकासोन्मुख देशका विपन्न वर्गका जनता पर्छन् । विश्व स्वास्थ्य सङ्गठनले सन् २०२० सम्ममा विकासोन्मुख राष्ट्रहरूमा मुटु रोग महामारीकै रूपमा फैलिने भविष्यवाणी गरेको छ ।

नेपालमा मुटु रोग बढ्ने क्रममा छ । हाल करिब १५ प्रतिशत जनतालाई कुनै न कुनै प्रकारको मुटु रोग भएको अनुमान गरिएको छ । नेपालमा १० वर्षयता मुटु रोगीहरूको सङ्ख्यामा पाँच गुणाले वृद्धि भएको छ । हाल नेपालमा १८ वर्ष उमेरमाथिका करिब ३ प्रतिशतलाई कोरोनरी मुटुको रोग छ । यस्तै स्कुल जाने उमेरका करिब ०.२ प्रतिशतलाई बाथ मुटुको रोग र त्यत्ति नै अनुपातमा जन्मजात मुटुको रोग छ ।

हृदयाघातका केही लक्षणहरू यस्ता हुन्छन् :

  • छाती दुख्ने, छाती गह्रौँ हुने, कस्सिएको जस्तो हुने
  • शरीरका अरू भाग दुख्ने- छातीबाट अरूतिर दुखाइ सर्दै जानु खास गरी पाखुराहरूमा दुखाइ खास गरी बायाँ हात प्रभावित हुन्छ
  • सास फेर्न गाह्रो हुने
  • पसिना आउने
  • रिँगटा लागेको जस्तो हुने
  • बिरामी जस्तो महसुस हुने वा थकान बढ्ने
  • खोकी लाग्ने वा सास घ्यार्र घ्यार्र हुने
  • महिलाहरूमा सास फेर्न गाह्रो हुने वा बान्ता आएजस्तो वा पिठ्युँ र चिउँडोमा दुखाइ महसुस हुने ।

हृदयाघातबाट बच्ने उपाय

  • प्रशस्त फलफूल, हरियो सागसब्जी खाने साथै चिनी, नुन र चिल्लो एकदम कम खाने
  • नियमित शारीरिक कसरत / व्यायाम गर्ने
  • धूम्रपान साथै सुर्तीजन्य पदार्थको सेवन नगर्ने
  • नियमित स्वास्थ्य परीक्षण गर्ने
  • धेरै तनाव नलिने ।

सम्बन्धित समाचार