मंगलबार , जेठ १६, २०८०

हेलिकप्टरमा घुम्न जाने नेपालीहरू बढे, कहाँ जान कति लाग्छ भाडा ?

कोरोनाअघिसम्म नेपालीहरूले बिरामी पर्दा र उद्धारका लागि मात्र हेलिकप्टर चार्टर गर्थे । कोरोनापछि भने चार्टर गरेर घुम्न जान थालेका छन् । कोरोनाले नेपालीहरूमा हेलिकप्टरमा घुम्न जाने ट्रेन्ड बनाइदियो ।

image

काठमाडौं । हेलिकप्टर चढेर मन्दिर दर्शन एवम् घुमघामका लागि निस्कने चलन बढ्न थालेको छ । पर्यटन र मनोरञ्जन क्षेत्रका पूँजीपतिको प्रिय साधन मानिएको हेलिकप्टरमा आम सर्वसाधारणको पनि चासो बढ्न थालेको पाइएको हो ।

कोरोना महामारीपछी तङ्ग्रिने सुरसारमा रहेको नेपालको आन्तरिक पर्यटनले आफ्नो यातायातको साधनको रुपमा हेलिकप्टर रोज्न थालेको हो । सहासिक पर्यटनका लागि नेपाल आउने विदेशी पर्यटकहरूले हेलिकप्टर चार्टर गरेर धार्मिक गन्तव्य, उच्च पहाडी/हिमाली भेग पुग्ने गरिरहेकै हुन्थे, त्यसमा नेपाली आम सर्वसाधरण पनि थपिएका हुन् ।

कोरोना महामारी पश्चात् नेपालभित्रै घुम्नेहरूको संख्यामा बढोत्तरी देखिएको छ । लकडाउनको उकुसमुकुस निवारणका लागि नेपालीहरू निस्किन थालेका हुन् । पर्यटन व्यवसायीहरूले आन्तरिक पर्यटनले मात्रै पछिल्ला दुई वर्षहरू जेनतेन धानेको बताउँछन् ।

हेलिकप्टर चार्टर गर्नेमा पनि आन्तरिक पर्यटकको संख्या बढ्दै गएको वायुसेवा सञ्चालक संघका महासचिव मनोज कार्की बताउँछन् । हाल विभिन्न ११ वटा कम्पनीका ३० वटा हेलिकप्टर सञ्चालनमा छन् ।

‘पर्यटकीय सिजनमा हेलिकप्टरलाई चार्टर्ड उडानमा भ्याइनभ्याइ हुन्छ,’ कार्कीले भने, ‘पदयात्रा र पर्वतारोहणमा पर्यटक आवतजावतका लागि हेलिकप्टर चार्टर हुन्छ । स्वभावत: सबभन्दा बढी सगरमाथा क्षेत्रमा नै हुने गर्दछ ।’ उनले पछिल्लो समयमा विदेशी पर्यटक कम भए पनि हेलिकप्टर चार्टर भइरहेको समेत उल्लेख गरे ।

उनले थपे, ‘कोरोनाअघिसम्म नेपालीहरूले बिरामी पर्दा र उद्धारका लागि मात्र हेलिकप्टर चार्टर गर्थे । कोरोनापछि भने चार्टर गरेर घुम्न जान थालेका छन् । कोरोनाले नेपालीहरूमा हेलिकप्टरमा घुम्न जाने ट्रेन्ड बनाइदियो । यो बढ्दै पनि छ ।’

कार्कीका अनुसार हेलिकप्टर प्रयोग गरि घुम्न जानेहरूको मुख्य थलो गोसाइँकुण्ड, पाथीभरा, मुक्तिनाथ लगायत उच्च भेगमा रहेका धार्मिक गन्तव्यहरू रहेका छन् । यस्ता गन्तव्यमा सपरिवार जान मिल्ने भएकाले पछिल्लो समय दर्शनयात्रामा हेलिकप्टर चार्टर रूचाइएको उनी बताउँछन् । कार्कीका अनुसार सरदर तथ्यांक हेर्दा अहिले हेलिकप्टर चार्टर्ड उडानमा ७० प्रतिशत विदेशी पर्यटक छन् भने ३० प्रतिशत नेपालीहरू।

नेपालीहरूले उद्धार, खाद्यान्न तथा स्वास्थ्य सामग्री ओसारपसारका लागि प्रयोग गरिरहेको हेलिकप्टर पर्यटनका पनि प्रयोग हुन थालेपछि यो उद्योग सुधारोन्मुख भएको कार्कीले बताए । उनका अनुसार एउटा हेलिकप्टरले वार्षिक कम्तीमा आठ सय घन्टा उडाउने लक्ष्य राखेको हुन्छ । प्रायः सबैजसो हेलिकप्टरले लक्ष्यअनुसार उडान गरिरहेको उनको भनाइ छ ।

हेलिकप्टर उडानको वर्षमा दुई मुख्य सिजन हुन्छ । पहिलो सिजन दुई महिना हुन्; अप्रिल र मे । दोस्रो सिजन तीन महिना; अक्टोबर, नोभेम्बर र डिसेम्बरको पहिलो सातासम्म । यो समयमा विभिन्न रूटमा पदयात्रा र पवर्तारोहणका लागि जाने पर्यटक बढ्छन्, हेलिकप्टर उडानमा पनि चाप हुन्छ ।

हेलिकप्टर चार्टर गरेर दशैंमा घुम्न जाँदै हुनुहुन्छ, भाडादर यस्तो छ..

हेलिकप्टर चार्टर सस्तो छैन ।

संघले हालै काठमाडौंबाट २० विभिन्न गन्तव्य, पोखराबाट मुक्तिनाथ र सगरमाथा तथा लुक्ला क्षेत्रका निम्ति नयाँ भाडादर सार्वजनिक गरेको छ । इन्धन र अमेरिकी डलरको भाउ बढेकाले चार्टर शुल्क बढाइएको संघको भनाइ छ । नयाँ भाडादर आगामी असोज १५ (अक्टोबर १) बाट लागू हुने संघले जनाएको छ ।

नयाँ भाडादर अनुसार, सगरमाथा र लुक्ला क्षेत्रबाहेकका २१ गन्तव्यमध्ये सबभन्दा कम शुल्क काठमाडौंबाट गोसाइँकुण्डको हो । यहाँ जानआउन दुई तर्फी यात्राका लागि एक लाख २० हजार रूपैयाँ तिर्नुपर्छ ।

त्यस्तै सबभन्दा महँगो काठमाडौं-धनगढी-काठमाडौंको हो । यो गन्तव्यमा दुईतर्फी भाडा आठ लाख २५ हजार रूपैयाँ तोकिएको छ ।

हेर्नुहोस् भाडादरः

  • काठमाडौं-गोसाइँकुण्ड-काठमाडौंः १ लाख २० हजार रूपैयाँ ।
  • काठमाडौं-चितवन-काठमाडौंः १ लाख ७० हजार रूपैयाँ।
  • काठमाडौं-वीरगन्ज-काठमाडौंः १ लाख ७० हजार रूपैयाँ।
  • काठमाडौं-जनकपुर-काठमाडौंः २ लाख २० हजार रूपैयाँ ।
  • काठमाडौं-ओखलढुंगा-काठमाडौंः २ लाख २० हजार रूपैयाँ ।
  • काठमाडौं-पोखरा-काठमाडौंः २ लाख २५ हजार रूपैयाँ ।
  • काठमाडौं-फाप्लु-काठमाडौंः २ लाख ५० हजार रूपैयाँ ।
  • काठमाडौं-खोटाङ-काठमाडौंः २ लाख ५० हजार रूपैयाँ ।
  • पोखरा-मुक्तिनाथ-पोखराः २ लाख ५० हजार रूपैयाँ ।
  • काठमाडौं-धरान-काठमाडौंः ३ लाख ३० हजार रूपैयाँ ।
  • काठमाडौं-भैरहवा/बुटवल-काठमाडौंः ३ लाख ३० हजार रूपैयाँ ।
  • काठमाडौं-भोजपुर-काठमाडौंः ३ लाख ३० हजार रूपैयाँ ।
  • काठमाडौं-ताप्लेजुङ-काठमाडौंः ३ लाख ७० हजार रूपैयाँ ।
  •  काठमाडौं-विराटनगर-काठमाडौंः ३ लाख ९० हजार रूपैयाँ ।
  • काठमाडौं-मुक्तिनाथ-काठमाडौंः ४ लाख २० हजार रूपैयाँ ।
  • काठमाडौं-पाथीभरा-काठमाडौंः ४ लाख २० हजार रूपैयाँ।
  • काठमाडौं-दाङ-काठमाडौंः ४ लाख ९० हजार रूपैयाँ ।
  • काठमाडौं-चन्द्रगढी-काठमाडौंः ५ लाख रूपैयाँ ।
  • काठमाडौं-नेपालगञ्ज-काठमाडौंः ५ लाख ८० हजार रूपैयाँ ।
  • काठमाडौं-सुर्खेत-काठमाडौंः ५ लाख ८० हजार रूपैयाँ ।
  • काठमाडौं-धनगढी-काठमाडौंः ८ लाख २५ हजार रूपैयाँ ।
  • काठमाडौं–सगरमाथा बेस क्याम्प–काठमाडौं: ४ हजार अमेरिकी डलर (तीन जना यात्रुको आउजाउ)।
  • काठमाडौं-लुक्ला-काठमाडौं:  पाँच यात्रुका लागि तीन हजार डलर ।

हिमालहरू हेर्न हेलिकप्टरको माउन्टेन फ्लाइट पनि उपलब्ध छ । काठमाडौं-माउन्टेन-काठमाडौं चार्टर्ड उडानका लागि तीन यात्रुको चार हजार डलर र पाँच यात्रुको चार हजार पाँच सय डलर पर्छ ।

सगरमाथा र लुक्लाको भाडादर हेर्नुहोस्;

सम्बन्धित समाचार