शुक्रबार , मंग्सिर २३, २०७९

जनकपुरको ऐतिहासिक पक्ष : सीरध्वज जनकको दरबार कहाँनेर थियो ?

image

  • रोशन जनकपुरी

जनकपुरधाम प्रथम दृष्टिमा एउटा मिथकीय तीर्थस्थलको रूपमा प्रसिद्ध छ । रामायणकी नायिका र हिन्दुभक्तको निम्ति जगद्जननीको रूपमा आराध्य सीता मिथिलाकी राजकुमारी र राजा शीरध्वजकी छोरी थिइन् । मिथिलाका अन्तिम शासक कराल थिए । कराल जनकको पतन सम्भवतः इसापूर्व नवौँं–दशौँं शताब्दीतिर भएको हो । त्यसपछिको करिब एकहजार वर्षसम्म मिथिलाको इतिहास अन्धकारमा देखिन्छ । बौद्ध जातकहरूमा आर्यावर्तको प्रथम बीसवटा जनपदहरूमा मिथिला र विदेहवंशको चर्चा भएपनि त्यो बज्जिमहासंघ भित्रको एक प्रतिष्ठित तर राजध्वज पतन भइसकेको रूपमा चर्चा गरिएको छ । बौद्ध जातक र अन्य पौराणिक ग्रन्थहरूमा कतै विदेहलाई देशमिथिलालाई राजधानी र नगर समेत, त कतै मिथिलालाई देशको रूपमा समेत चर्चा गरिएको छ । तर अहिले यस बहसभन्दा भिन्न हामी जनकपुरधामको ऐतिहासिकतामा केन्द्रित हुनु उचित हुनेछ ।

हुन त जनकपुरधाम् बारे ऐतिहासिक साक्ष्यहरू न्युनतम् एक हजार वर्षसम्मको पाइन्छ । तर आधुनिक जनकपुरधामको शुरूआत सत्रौँं शताब्दीदेखि भएको हो । जतिबेला सुरकिशोर दास जनकपुरधाम् आए र अहिले जानकीमन्दिर भएको ठाउँंमा एउटा नीमको रूखमुनि आफ्नो सधुक्कडी चिम्टा गाडे । त्यतिबेला त्यहाँं जङ्गल थियो । तर ऐतिहासिक साक्ष्यहरूले जनक र जानकीसँग जोडिएको र घना जङ्गलबीचको यो ठाउँं नजिकका क्षेत्रहरूमा परिचित रहेको थियो र सम्भवतः रामनवमीको सानोतिनो तिर्थालू जमघट समेत शुरू भइसकेको थियो । यसबारे विद्यापतिको भूपरिक्रमा ग्रन्थलाई साक्ष्य महत्त्वपूर्ण छ । यस पुस्तकमा मैथिली भाषाका महाकवि विद्यापतिले विद्वतजनले जनकपुरलाई वैदेहहरूको ‘पुर’ नमानेको भनेका छन् । विद्यापतिको भनाईमा विद्वतजनले यस जनकपुरलाई ‘वैदेहहरूको नगर’ स्वीकार नगरेपनि लोकजनले यसै जनकपुरलाई राजा जनकको राजधानी र तीर्थ मान्ने गरेको भाव उत्पन्न गराउँंदछ । यसले अरू जे भनेपनि त्यतिबेला (चौधौँं शताब्दीको प्रारम्भ) जनकपुरको अस्तित्व रहेको र यसप्रति जनविश्वास त निश्चितरूपमै प्रमाणित हुन्छ ।

जानकी मन्दिरको भित्रि भाग, तस्बीर : राजु झल्लु प्रसाद

जनकपुरधामबारे पहिलो ऐतिहासिक अभिलेख इन्द्रविधाता सेनले सन् १७११मा रामचन्द्र मन्दिर (राममन्दिर)लाई कुर्शेीवर्ता जग्गादान गरेको लिखत हो । यो लेखत हाल उपलब्ध छैन, तर यसबारे विभिन्न श्रोतहरूमा उल्लेख भएको पाइन्छ । यसपछिको दोस्रो अभिलेख सन् १७२७मा मकवानपुरका राजा मानिकसेनले रामदासलाई जानकीमन्दिरको महन्थ घोषणा गरेको लिखत हो । रामदास आधुनिक जनकपुरका संस्थापक सुरकिशोर दासका चौथो पुस्ताका शिष्य थिए । यहाँं उल्लेखनीय के छ भने रामदास जानकीमन्दिरका पहिलो महन्थ हुन र उनिभन्दा पहिलेका सुरकिशोरदास, प्रयागदास र जनकवैदेही दासलाई सन्त भनिएको छ ।

सन्त सुरकिशोर दासले जनकपुरको खोजी गरेको सम्बन्धमा अनेक कथाहरू प्रचलित छन् । जस्मा आफूलाई सीताको पिताको भावमा तन्मय रहेको सुरकिशोर दासलाई सीताले आफ्नो मुर्ति भेटिने ठार्उँ नै आफ्नो माइती अर्थात जनकपुर हुने कुरा सपनामा भनेर जनकपुर जान प्रेरित गरेको कथा बढी लोकप्रिय छ । तर ऐतिहासिक साक्ष्यहरूको आलोकमा के देखिन्छ भने हालको जनकपुरदेखि सितामढीको क्षेत्र मिथिला र जनकपुर वैदेहको नगरी (केही ठाउँंमा जानकी जन्मभूमि भनिएको छ)को रूपमा परिचित तर दुर्गम वन्य क्षेत्र रहेको देखिन्छ । सुरकिशोर दास रसिक सम्प्रदायका साधू थिए, जो सीताको भक्तिमा आध्यात्मिकरूपमा लीन थिए । र यसले नै उनलाई मिथिला क्षेत्र र जनकपुर आउन प्रेरित गर्यो । उनी जनकपुर आउन प्रेरित गर्ने कारणहरूको खोजी गर्दा रसिक सम्प्रदाय र जनकपुरको सम्बन्धबारे थोरै चर्चा गर्नु सान्दर्भिक नै हुने छ ।

जानकी मन्दिरको गर्भगृहमा रहेको सन्त कवि सुरकिशोर दासको तस्बीर, तस्बीर : राजु झल्लु प्रसाद

ऐतिहासिक श्रोतहरूका अनुसार सोह्रौँं–सत्रहौँं शताब्दीमा गंगाको मैदानी क्षेत्रमा राम त्रिदेव (ब्रह्मा, विष्णु र महेश) मध्ये विष्णुको अवतारको रूपमा स्थापित भइसकेपछि रामभक्त साधूहरूले रामको जीवनसँग सम्बन्धित स्थलहरूको खोजी गर्ने अभियान थाले । रामले वनगमन गरेको विन्ध्य पर्वत खोजियो, चित्रकूट खोजियो भने अयोध्या रामको जन्मस्थलको रूपमा पहिलेदेखि नै परिचित थियो । रामलाई पूजनीय देवको रूपमा स्थापित गर्ने श्रेय स्वामी रामानन्दलाई छ । उनले रामानुजी परम्परामा लक्ष्मी र विष्णु प्रधान रहेको श्रीसम्प्रदायभन्दा भिन्न आफ्नो छुट्टै सम्प्रदाय चलाए, जस्ले रामलाई आराध्यदेव मान्यो । रामानन्दी सम्प्रदायमा जातिभेद थिएन । भनिन्छ दुनियाँंलाई सुनाउने उद्देश्यले स्वामी रामानन्दले रूखमा चढेर नारा दिए, ‘जात पात पूछे नहि कोई, हरिको भजे सो हरिका होई ।’ संसारबाट विरक्त वैराग्यलाई ग्रहण गरेको स्वामी रामानन्दका प्रथम बाह्रजना शिष्यहरूमा अनन्तानन्द, भावानन्द, सेन, धाना, नाभादास, नरहर्यानन्द, सुखानन्द, कबीर, रैदास, सुरसुरानन्द, सुरसुरी र पद्मावती थिए ।

यसमध्ये कबीर र रैदासले निर्गुण रामलाई मानेर आ–आफ्नो पन्थ विकास गरे भने अन्य शिष्यहरू साकार रामका अनुयायी थिए । यिनै मध्येको एक नाभादासको एक शिष्य अग्रदास (अग्रअली, अग्रस्वामी)ले सत्रौँं शताब्दीमा मध्यप्रदेशको रैवासा स्थानमा गएर रसिक सम्प्रदायको विकास गरे । कृष्ण परम्परामा राधालाई मूख्य मानेर विभिन्न सम्प्रदाय विकसित भएजस्तै अग्रदासले सीतालाई सर्वौच्च मानेर रसिक सम्प्रदायको मत विकास गरे । यस सम्प्रदायमा सीता प्रति साख्य (सखि)भाव राखेर श्रृङ्गारिक भावमा समेत आराधना गरिन्छ । यिनै अग्रदासको शिष्य परम्परामा एक किल्हस्वामीका प्रपौत्र शिष्य थिए- सुरकिशोर दास । सुरकिशोर दास भारतको मध्यप्रदेश प्रान्तको लोहागढ भन्ने गाउँंमा एउटा मन्दिरमा पुजारी थिए । जो त्यतिबेला मुगल शासक औरङ्गजेबको धार्मिक असहिष्णुता र दमनको कारण त्यहाँंबाट पलायन हुन बाध्य भएका थिए ।

सत्रौँं शताब्दीमै गोस्वामी तुलसीदासको रामचरित मानसले राम र सीताको कथालाई व्यापक विस्तार दियो र सीतालाई छोरी भावमा मानेर आराधना गर्ने रसिक सम्प्रदायका अनुयायी सुरकिशोर दास सीताको माइती मिथिला खोज्दै जनकपुर आएका हुन् । सुरकिशोर दासले जनकपुर खोजी गर्ने प्रेरणा निश्चितरूपमा अयोध्यामा रामभक्तहरूले रामका जीवनसँग सम्बन्धित स्थलको खोजी गर्ने अभियानको अङ्ग थियो, जस्को निम्ति उनि आफ्नो आध्यात्मिक भावबाट प्रेरित भए । यसलाई हामी अयोध्याको तेह्रकोसे परिक्रमा र अयोध्या महात्म्य नामक ग्रन्थसँग जनकपुरमा पन्द्रदिने परिक्रमा र मिथिला महात्म्य ग्रन्थलाई तुलना गर्न सक्दछौँं ।

मिथिला मध्यमा परिक्रमा

बाहिरी दुनियाँंको निम्ति जनकपुरधाम् सत्रौँं शताब्दीसम्म अल्पपरिचित थियो । सुरकिशोर दास र उनका शिष्यहरूले भारतको अयोध्या, मध्यप्रदेश र उत्तरप्रदेशको विभिन्न ठाउँंमा गएर जनकपुरको प्रचार गरे । जनकपुरलाई पहिलोपटक व्यापकरूपमा प्रचारित गर्ने श्रेय अयोध्याबाट प्रकाशित ‘श्री महाराजा चरित्र’ नामक पुस्तकलाई जान्छ । सन् १८०५मा लेखन सम्पन्न भएको यस पुस्तकको रचनाकार अयोध्या बारास्थानका सन्त रघुनाथ दास थिए । यस पुस्तकमा जनकपुरका प्रायः सबै महत्वपूर्ण मन्दिर र पोखरीहरूको उल्लेख छ । यसमा जानकीमन्दिर, रामचन्द्र मन्दिर, जनकमन्दिर, रत्नसागर, गंगासागर, अरगजा, धनुषासर, दशरथ कुण्ड, लक्ष्मण कुण्ड, आदिको चर्चा छ । यस पुस्तकले अरगजा वा अङ्गराग सरको चर्चा महत्वपूर्ण रूपमा गरेको छ, जसअनुसार सीताको बिहामा यस पोखरीमा अङ्गराग अर्थात् उबटन तयार पारिएको थियो । त्यसतै सम्भव छ धनुभङ्गको बेला धनुषको एउटा भाग आकाशतिर स्वर्गमा र अर्को भाग उडेर जनकपुरभन्दा बाह्र माइल उत्तर धनुषाधाममा खसेको कथा फैलाउने श्रेय यसै पुस्तकलाई जान्छ । यस पुस्तकले हालको जानकीमन्दिरलाई ‘जनक दरबार र यस्को अगाडीे ठूलो मैदान भएको र त्यहीँं शिवधनुष राखिएको थियो’ भनेर भनेको छ । त्यस्तै शिवधनुष प्रदर्शनी स्थलमा ल्याउनुभन्दा अगाडी धनुषसागरमा राखिएको र त्यहीँंबाट प्रदर्शनीस्थलसम्म ल्याइएको भनिएको छ । यस पुस्तकमा धनुषाधाम्मा बाघ, भालू, हात्ती, गैँंडा, अर्ना आदि घुम्ने गरेकोले धनुषाधाम् जाँंदा सावधानीपूर्वक जान सचेत गराइएको छ । त्यस्तै यस पुस्तकले गिरिजास्थान (सीताले फुल टिपेर गिरिजाको पूजा गर्ने ठाउँं, हाल यो भारतको मधुवनी जिल्लामा पर्छ) र बिसौल (केहीको मतमा विश्वामित्रको आश्रम, जनकपुरको लोकप्रिय पन्द्रदिने परिक्रमाको अन्तमा बिसाउने ठाउँं, हाल भारत मधुवनी जिल्लामा पर्छ) बारे पनि चर्चा गरिएको छ ।

प्रारम्भमा सेनवंशी शासकहरूबाट पोषित जनकपुरलाई शाहवंशी शासकहरूले आध्यामिक स्थलको सम्मान दिए । पृथ्वीनारायण शाहले सन् १७६२मा मकवानपुर कब्जा गरेपछि तत्कालीन महोत्तरीमा पर्ने जनकपुर पनि शाहवंशी शासनको मातहतमा गयो । शाहवंशी शासक मध्ये रणबहादुर शाहले धनुषाधामलाई कुशेबिर्ता जग्गा दिए र मन्दिर निमार्ण गर्न लगाए । विक्रम सम्वत् १९९१ सालको महाभूकम्पमा जानकीमन्दिर बाहेक जनकपुरधामको प्रायः सबै मन्दिरहरू भत्किएका थिए । पछि तत्कालीन राणाशासकहरूले मन्दिरहरूको निर्माण गराए । यहाँं रोचक जानकारी के हुन सक्दछ भने महाभूकम्पभन्दा पहिले राममन्दिर दुइतले थियो । भूकम्पपछि वर्तमान एकतले मन्दिर निर्माण गरिएको हो ।

जनकपुरमा लाग्ने मेलाहरू र सन् १९३४मा जनकपुर–जयनगर रेलको विकासले जनकपुरको विकासमा चौतर्फी मद्दत गरेको हो । जनकपुरको ऐतिहासिकता एक हजार वर्षको सहजै खोज्न सकिएपनि कुवारामपुरमा पाइएका चिल्लो कालो पत्थरको विष्णुमूर्ति र महदैयामा पाइएका कुषाणकालीन सिक्काहरूले यस मिथकीय शहरको ऐतिहासिकता अझै धेरैपछि सम्म पुग्नसक्ने सम्भावना छ । तर यसको निम्ति जनकपुरको प्राचीन स्थलहरूको उत्खनन् आवश्यक छ ।

बिहानको घामको रश्मीमा चम्किरहेको जानकी मन्दिर, तस्बीर : राजु झल्लु प्रसाद

सम्बन्धित समाचार