शुक्रबार , जेठ ८, २०८३

रङ्गोलीको इतिहास  र महत्त्व !

प्राचीनकालमा रङ्गोलीलाई 'अल्पना' भनिन्थ्यो । अल्पनाको अर्थ लेप लगाउनु हुन्छ । प्राचीनकालमा घरमा रङ्गीन तथा कलात्मक चित्रहरूको लेपनले घरमा धनधान्य हुन्छ भन्ने विश्वास गरिन्थ्यो ।

image

केही वर्ष पहिले नदेखिएका कतिपय प्रचलनहरू अहिले एकाएक संस्कार र संस्कृतिको रूपमा विकास भइरहेका छन् । त्यस्ता प्रचलनहरू हाम्रै हुन् या विश्वव्यापीकरणले प्रवेश गरेका हुन भनेर हामीले पहिचान गर्नुपर्ने हुन्छ । पहिचान गर्न सकिएन भने हाम्रा संस्कृतिभित्रको प्राकृत गुणहरू नष्ट भएर जाने र आयातित प्रचलनलाई संस्कृति मान्ने अवस्था सृजना हुनसक्छ । हामीलाई झट्ट हेर्दा प्रभाव पार्ने धेरै कुराहरू भित्र्याइसकेका छौँ ।

अहिले हामीले बनाउने रङ्गोली भारतीय संस्कृति हो । रङ्गोलीलाई शुभको प्रतीक मानिन्छ । खासगरी लक्ष्मीको पाइला बनाएर मात्रै घरमा रङ्गोली तयार पारिन्छ । रङ्गोलीको वरिपरी बत्ती बाल्यो भने रङ्गोलीको सुन्दरता अझ बढ्छ । वास्तवमा लक्ष्मीपूजाको दिन घर-आँगनमा रङ्गोली बनाउने चलन हाम्रो थिएन र होइन । रङ्गोली लगायतका फरकफरक ठाउँका प्रचलनहरू विश्वव्यापीकरणले संसारका हरेक स्थानमा भित्रिरहेका छन् । यस्ता झटपट आँखा पर्ने कुराहरू बनाउने स्थान/ठाउँ अनुसारका विशेषता बोकेका हुने गर्छन् । रङ्गेली ठूलो, सानो, आकर्षक या सामान्य जस्तो पनि हुनसक्छ । यसमा विभिन्न रङ्ग, गेडागुडी, अन्न तथा फूल आदि उपलब्धताको आधारमा प्रयोग गर्ने गरिन्छ ।

विशेषगरि तिहारमा नेपालीले पनि रङ्गोली बनाउन थालेका छन् । नेपालीले घरमा मात्रै होइन विभिन्न आफू जोडिएका  सङ्घसंस्थामा पनि रङ्गोली बनाउने प्रचलन बढ्दो छ । कतिपयले त रङ्गोलीको प्रतियोगिता नै गरेको पनि देखिन्छ ।

रङ्गोलीमा धेरै किसिमका शुभ चिन्न भएकाले विभिन्न आकृति बनाउन सकिन्छ । यो  तिहारमा मात्रै होइन   अन्य शुभ कार्यहरूमा पनि रङ्गोली बनाउन मिल्छ । जस्तै:  विशेषगरी गृह प्रवेश गर्ने स्थानमा रङ्गोली बनाउनुपर्छ भन्ने गरेको भेटिन्छ ।

रङ्गोलीको इतिहास 

प्राचीनकालमा रङ्गोलीलाई ‘अल्पना’ भनिन्थ्यो । अल्पनाको अर्थ लेप लगाउनु हुन्छ । प्राचीन कालमा घरमा रङ्गीन तथा कलात्मक चित्रहरूको लेपनले घरमा धनधान्य हुन्छ भन्ने विश्वास गरिन्थ्यो । त्यसैले विशेषगरी तिहार तथा उत्सवहरूमा रङ्गोली बनाइन्थ्यो । रङ्गोलीले समृद्धि तथा खुसीयाली ल्याउने विश्वास गरिन्छ । मोहेन्जोदाडो एवं हरप्पा संस्कृतिमा यस्ता कलाकृतिले घर सजाइन्थ्यो तर अहिलेका घर निर्माण गर्दै साजसज्जाले अत्याधुनिक छन् ।  त्यसले आँगनतिर रङ्गोली बनाएर उत्सव मनाउन मन लागेको होला । पौराणिक कथनहरूले भगवान् श्रीकृष्णले द्वारिका बसाइसकेपश्चात् उनकी श्रीमती रुकमणिले रङ्गोली बनाएको बताउँछन् ।

रङ्गोलीको महत्त्व 

रङ्गोलीलाई धार्मिक एवं सांस्कृतिक आस्था शुभको प्रतीक मानिन्छ । यो पूजापाठको एउटा महत्त्वपूर्ण अङ्ग पनि हो । त्यसैले कुनै पनि धार्मिक कर्मकाण्ड गर्नु पूर्व रङ्गोली (हामीले बनाउने रेखी) बनाउने प्रचलन भारतीय (सांस्कृतिक) संस्कारमा अनिवार्य जस्तो देखिन्छ । भारतमा प्रायः चाडपर्वको समयमा गाउँघरमा आँगन लिपेर त्यसमा पिठो, अबिर, बेसार आदि प्रयोग गरी रङ्गोली बनाउने प्रचलन अहिले पनि छ । नेपाली संस्कृतिमा आँगनलाई लिपेर सुन्दर बनाउने चलन लामो समयदेखि चल्दै आएको थियो र छ । तर, रङ्गोली संस्कृति चाहिँ आयातित हो ।

निर्माण विधि     

रङ्गोली दुई तरिकाले बनाउन सकिन्छ ।

१. सुख्खा रङ्ग
२. गिलो रङ्ग प्रयोग गरेर

रङ्गोलीको उत्पत्ति र विकासमा प्राकृत रङ्ग पिठो,बेसार, सिँदुरे आदिको प्रयोग गरिन्थ्यो । अहिले त विभिन्न प्रकारका सुख्खा तथा गिला रङ्गहरू बजारमा नै पाइने गर्छन् ।

चकले चित्राकंन गरेर त्यसमा रङ्ग भर्दा पनि उत्कृष्ट रङ्गोली बन्छ । रङ्गोलीको लागि कोरिएको सेतो चित्राकंनमा आवरणमा सेतो पिठो राख्ने र चित्रको आवश्यकता अनुसार अन्य रङ्ग थप्दै जान सकिन्छ । विशेषगरी रङ्गोलीहरू ज्यामितीय आकृति तथा फूल र पातसँग धेरै जोडेको देखिन्छ ।

अहिले नेपालमा देखिएका रङ्गोलीहरू मण्डला आकारमा लहरे फूल, मयुरको आकृति र स्वस्तिक चिन्नमा धेरै देखिएका छन् । व्यापारीकरणका कारण अहिले बजारमा तयारी रङ्गोलीहरू पनि उपलब्ध हुन थालेको छ।

बाहिरी आवरण बनाएपछि आफूसँग भएका सामग्रीले घरमै रङ्गोली बनाउने/बालबालिकालाई बनाउन लगाउने कुराले बालबालिकालाई ज्यामितीय ज्ञान सिकाउन मद्दत गर्छ साथै, घरको कामसँग बालबालिकालाई जोड्न र घर सबै मिलेर सजाउन सकिन्छ ।

Tags:

सम्बन्धित समाचार