मंगलबार , भाद्र ३०, २०८३

नाै महिनामा ६९ प्रतिशतले बढ्यो निर्यात

image

काठमाडौं । चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा (साउनदेखि चैतसम्म) निर्यातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चैत मसान्तसम्मको तथ्याङ्कअनुसार ६९ दशमलव ४४ प्रतिशतले स्वदेशी वस्तुको निर्यातमा वृद्धि भएको हो ।

विभागको तथ्याङ्कअनुसार नौ महिनामा एक खर्ब ६० अर्ब ५७ करोड २९ लाख रुपैयाँ बराबरको स्वदेशी वस्तुको निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा नेपालबाट ९४ अर्ब ७६ करोड ७१ लाख रुपैयाँ बराबरको सामान निर्यात भएको थियो ।

चालू आवको नौ महिनामा निर्यातसँगै आयातमा समेत वृृद्धि भएको छ । नौ महिनामा ३१ दशमलव ९७ प्रतिशतले आयातमा वृद्धि हुँदै १४ खर्ब ६६ अर्ब ६६ करोड २० लाख रुपैयाँ बढीको आयात भएको छ । तथ्याङ्कअनुसार गत आर्थिक वर्षको सोही अवधिमा ११ खर्ब ११ अर्ब ३९ करोड ५४ लाख रुपैयाँ बढीको आयात भएको थियो ।

२८ प्रतिशतले बढ्यो व्यापार घाटा

निर्यातको तुलनामा आयातमा वृद्धि हुँदा व्यापार घाटामा वृद्धि भएको छ । चालू आवको नौ महिनामा साढे १४ खर्ब रुपैयाँ बढीको आयात हुँदा २८ दशमलव ४७ प्रतिशतले व्यापार घाटा बढेको हो ।

चालू आवको नौ महिनामा नेपालले १३ खर्ब छ अर्ब ८९ करोड रुपैयाँ बढीको वैदेशिक व्यापार घाटा व्यहोरेको छ । गत आवको सोही अवधिमा नेपालले १० खर्ब १६ अर्ब ६२ करोड ८३ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको थियो ।

यस्तैगरी चालू आवको नौ महिनामै नेपालको वैदेशिक व्यापार ३४ दशमलव ९१ प्रतिशतले बढेको छ । यस अवधिमा १६ खर्ब २७ अर्ब २३ करोड ४९ लाख रुपैयाँ बराबरको पुगेको भन्सार विभागले जनाएको छ । तथ्याङ्कअनुसार गत आर्थिक वर्षको सोही अवधिमा बाह्र खर्ब छ अर्ब १६ करोड २५ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो ।

 

Tags:

सम्बन्धित समाचार