शुक्रबार , अषोज १४, २०७९

इन्द्रजात्रा – भोटाहिटीको इन्द्रध्वज कालभैरव अगाडि आइपुग्यो

image

यँया: पुन्ही (इन्द्रजात्रा)को रौनकमा काठमाडौं झुम्ने दिन अब सुरु भएका छन्

भोटाहिटीदेखि हनुमानढोकास्थित कालभैरवको मूर्तिसम्म डोरी लगाएर यः सिं (इन्द्रध्वज, लिङ्गो) तानिएको छ । यः सिं का गुठियार मानन्धर समूह र नेपाली सेनाको टोलीले इन्द्रध्वज तानेर हनुमानढोकासम्म पुर्‍याएसँगै इन्द्रजात्रा औपचारिक रूपमा सुरु भएको मानिन्छ ।

आइतबार बिहान ७ बजे र २४ मिनेटको शुभ साइतमा योःसि नगर प्रवेश गराइएको हो । यतिखेर यः सिं कालभैरवदेखि देब्रेपट्टि र कागेश्ववर महादेवको सामुन्ने रहेको छ ।

पहिलो दिन नालाबाट रूख काटेर भक्तपुरको राधेराधेसम्म ल्याउने गरिन्छ, तस्बीर : राजु झल्लु प्रसाद

इन्द्रजात्राको अवसरमा हनुमानढोकामा ठड्याउन हरेक वर्ष ३२-३६ हात अग्लो एक रुख (सल्लो) छानिने गरिन्छ । यसरी ठड्याइने मूल यः सिं मानन्धर समुदायले भक्तपुर, नालाको सल्लाघारीबाट काटेर ल्याउँछन्, यसलाई वृक्षकर्तन भन्ने गरिन्छ । पहिलो दिन नालाबाट रूख काटेर भक्तपुरको राधेराधेसम्म ल्याउने गरिन्छ । चौथी(चथा चख: – गणेश चतुर्थी) को दिन त्यहाँबाट तानेर काठमाडौंको भोटाहिटी ल्याइन्छ ।

नालाको यःसिंगुँमा रुख काट्नु अघि विशेष पूजाआजा गर्नुको साथै गुर्जुको पल्टनले तोप पड्काई सलामी पनि चढाइने गरिन्छ । साथै काटिने रुखलाई कालो बोकाको बलि दिइन्छ । उक्त बोकाको मासु फर्काउन नहुने मान्यता रहेकाले त्यसलाई त्यहीं पकाएर खाने गरिन्छ । यस्तो पूजा गर्ने कार्य पहिले पहिले दरवारबाट गर्ने चलन थियो भने अहिले नेपाली सेनाको शार्दूलजंग गुल्मले गर्दैं आएको छ ।

रुख काट्ने कार्य केन्द्रीय मानन्धर संघको पहलमा सुरु हुन्छ, जसलाई गुर्जुको पल्टनले साथ् दिने गर्दछकाठमाण्डौको हरेक सांस्कृतिक परम्परा र जात्रामा विशेष पोसाकसहितको गुर्जुको पल्टन उपस्थित हुन्छन् । यसलाई पृथ्वीनारायण शाहले नेवारहरूले विद्रोह गर्न नसकुन् भनेर हरेक जात्रा पर्वमा अघिपछी बसाएको सेनाको सम्झनाको रुपमा बुझ्न सकिन्छ ।

फोटो : रासस

लिङ्गो डोजरले तान्न थालियो..

परम्परागतरुपमा हातैले तानेर ल्याउने गरिएता पनि पछिल्लो दुई वर्षदेखि क्रेन (डोजर) लगाएर घिसार्दै भोटाहिटीसम्म ल्याउने थिति बस्न पुगेको छ । अघिल्ला २ वर्ष कोरोना कहरका कारण त्यसो गरिएको भएता पनि यसपटक समेत सोही परम्पराले निरन्तरता पाएको देखिन्छ । नेपाल सरकारले लिङ्गो ल्याउन प्रदान गरेको लाखौं रकम गुठीले आफैं राखेर परम्परा मास्न खोजेको आरोप संस्कृतप्रेमीहरूले बताएका छन्  । लिङ्गो काठमाडौं ल्याउँदा एक स्थानका स्थानीयले अर्को स्थानका स्थानीयलाई भोज खुवाई डोरी हस्तान्तरण गर्दै  संस्कृति मासिने  उनिहरूको भनाई छ ।

यः सिं लाई ढोग्ने एवम् पैसा चढाउने गरिन्छ, तस्बीर : राजु झल्लु प्रसाद

नेवा: संस्कृतिका ज्ञाता राजेश मान्नधर यसलाई सांस्कृतिक विचलन बताउँछन् ।  “संस्कृतिसँग प्रविधि भनिरहेका छन् । यो ठिक कुरा होइन । उ: बेला देवीदेवताले चप्पल लगाएनन्, त्यसैलाई निरन्तरता दिँदै लाखे, अष्ट दलहरू खालि खुट्टै नाचेका हुन् । प्रविधिको नाममा अब तिनलाई बुट जुत्ता पहिराइदिन मिल्दैन”, उनले भने । मानिसले डोरीको सहायताले तानेर य:सिंलाई काठमाडौं ल्याउनुपर्ने चलनको निरन्तरका लागि मानन्धरले कुमारी घरका सुसारे प्रमुख रहेको इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष र सचिवसँग छलफल समेत गरेका छन् । आगामी वर्षदेखि पुरानै थिति बस्नेमा उनी विश्वस्त जस्ता देखिन्छन् । 

भोटाहिटीमा यः सिं किन राखिन्छ ?

क्रेन लगाएर भक्तपुर नालाको यःसिंगुँ बाट ल्याइएको यो:सि भोटाहिटीमा राख्ने गरिन्छ । कालभैरव पुर्याउनु अगाडीसम्म यः सिं लाई भोटाहिटीमा राख्नुको पछाडी कारण छ । भोटाहिटी प्राचीन काठमाडौंको प्रवेशद्वार हो । यसलाई तत्कालिन काठमाडौंको बाहिरि सीमा रेखा मानिन्छ, पछिल्लो समय सम्पदास्थल वरपर स-सना स्तम्भ ठडाए सरह नै यसलाई बुझ्न सकिन्छ । इन्द्रजात्राको अवसरमा मल्ल राजाहरू यः सिं स्वागत गर्न भोटाहिटीसम्म पुग्ने गर्दथे भन्ने गरिन्छ ।

डोजरले तानेर भोटाहिटीसम्म ल्याइएको लिङ्गो, सुनिल शर्मा

‘भोटाहिटीमा सडकछेउ एउटा मण्डप छ । अरू बेला छोपिएको भएता पनि  येँयामा मण्डप देखिने गरी खाल्डो खनिन्छ । ढक्कन खोलिन्छ ।नालादेखि वनयात्रा गरेर ल्याएको यः सिंलाई यही मण्डप अगाडि राखी नगर भित्र्याउने साइत नहुञ्जेल पूजाआजा गरिन्छ । अष्टमीको साइत पारेर नगर प्रवेश गराइन् । यः सिंलाई भोटाहिटीबाट असन, वंग (इन्द्रचोक), मखन हुँदै हनुमानढोका दरबार स्क्वायर ल्याइन्छ । एकादशीको दिन यसमा डोरी बाँध्न थालिन्छ । त्यसपछि द्वादशीको दिन शुभसाइतमा कागेश्वर मन्दिर अगाडि ठड्याइन्छ । यसलाई इन्द्रध्वजोत्थन भनिन्छ । भोटाहिटीदेखि दरबार स्क्वायरसम्म यः सिं ल्याउने बाटो प्राचीन काठमाडौंको व्यापार मार्ग हो  (स्रोत: मोनालिसा महर्जन, सेतोपाटी)।’

यस पटकको इन्द्रध्वजोत्थनको शुभ साइत भदौ २२ गते बुधबार, बिहान ७ बजेर १७ मिनेटमा रहेको छ ।

यः सिं को सुरक्षार्थ खटिएका सेनाहरू :

इन्द्रध्वजोत्थन हुनुअघिसम्म  र त्यसपछि पनि यः सिं को सुरक्षार्थ नेपाली सेनाहरू खटिने गर्दछन् । उनीहरू पृथ्वीनारायण शाहकालीन सेनाको झल्को दिने पोशाकमा सजिएर ३/३ घण्टाको पहेरदार गरिरहेका हुन्छन् । यो क्रममा रातमा पनि रहन्छ । इन्द्रजात्राको अवधिभर नै नेपाली सेनाले यो:सि को सुरक्षा गरिरहेको हुन्छ ।

उनीहरूले यो:सि नाघ्न नदिने एवम् कसैले नाघिहालेमा त्यसको महत्त्व बुझाउने गर्दछन् । कारबाही भन्ने गर्ने प्रचलन रहेको देखिदैन । यसैगरी, उनीहरूले यस अवधिभर छालाको जुत्ता लगाउने गर्दैंनन्  । यः सिं  सुरक्षामा हरियो रङका कपडाका जुत्ता लगाएर खटिएका सैनिक गणेश नेपालीका अनुसार ‘देवता मानिएको हुँदा देवताको वरिपरी छाला लगाउनु हुँदैन । तलेजुको सुरक्षामा खटिएको बेला पनि कपडाकै जुत्ता लगाउने गर्छौं ।” यसरी खटिएका सेनाहरू सामन्य एउटा लौरो बोकेको देखिन्छ । हनुमान र नरसिंहको अगाडि उभिने सेनाहरूले भने लामा-लामा हतियारहरू नै बोकेको देखिन्छ ।

वर्षमा एकदिन खुल्ने कागेश्वर मन्दिर

कागेश्ववर महादेवको सामुन्ने रहेको यः सिं लाई पूजा एवम् भेटि चढाइरहेका भक्तजनहरू देख्न सकिन्छ । उनीहरूमध्ये कतिपयले कागेश्वर महादेवको दर्शनपश्चात् यः सिं लाई ढोग्ने गरेका थिए । वर्षमा एकपटक खुल्ने काठमाडौंको हनुमानढोकास्थित कागेश्वर महादेव मन्दिरमा आज विशेष भीड रहेको थियो ।

भदौ शुक्ल अष्टमी अर्थात् आज कागेश्वरी मनोहरा नगरपालिका-१ गागलफेदीको कागेश्वरी महादेव मन्दिरमा यस दिन विशेष मेला लाग्ने गर्दछ । किंवदन्ती अनुसार कागले गाईको दूध पहरामा रहेका शिव लिङ्गमा चढाउँदै गरेको गोठालाले देखेको जनविश्वासका आधारमा वर्षेनी यो मेला लाग्दै आएको छ । 

कागेश्वर मन्दिरमा भक्तजनको भीडभाड. तस्बीर : राजु झल्लु प्रसाद

अर्को कथनअनुसार, यमराजको दूत कागले मान्छेलाई छुँदा अशुभ हुने र त्यसबाट मुक्त हुन कागेश्वरी मन्दिरको पोखरीमा नुहाउनु पर्ने विश्वास भेटिन्छ । यता, त्यस्तै गोसाइँकुण्डमा मेला भर्ने दर्शनार्थीले त्यहाँको पवित्र जल लिएर राजधानीको उत्तरपूर्वी कागेश्वरीमा अवस्थित कागेश्वर महादेवलाई स्नान गराएपछि आफ्नो धार्मिक यात्रा तथा मनोकामना पूर्ण हुने विश्वास समेत रहिआएको छ ।

कागेश्वर महादेव उत्पत्तिका सम्बन्धमा पनि विभिन्न किम्बदन्ती छन् । प्राचीनकालको एक किम्बदन्तीअनुसार महादेव कैलाशबाट हराएपछि ब्रह्मा, विष्णु, इन्द्र र पार्वती महादेवलाई खोज्न विभिन्न स्थानमा गएका थिए । तर, कहि भेटाउन सकेनन् । पछि कागले सूचना दिएपछि महादेव यही स्थानमा भेटिएका थिए । कागको सूचनाका आधारमा महादेव फेला परेपछि यो स्थानलाई कागेश्वर महादेवका रुपमा स्थापित गरिएको स्थानीयको भनाइ छ । त्यसैले भदौ शुक्ल अष्टमीका दिन मन्दिरपरिसरमा सुनको कागको प्रतिमूर्ति राखिने र त्यसको विधिवत तरिकाले पूजा गरिन्छ ।

तस्बिर : कागेश्वरी मनोहरा नगरपालिकाको फेसबुक पेजबाट।

गत भदौ १३ गते सोमबार बिहान ८:१७ मा वनयात्रा गरी बेलुकी ९:०९ मा लिङ्गोका लागि रुख काटिएको थियो ।  लिङ्गोलाई भदौ २२ गते बिहान ७:१७ बजेको साइतमा इन्द्रध्वजोत्थान गरिने साइत दिइएको छ । भदौ २९ गते साँझ ७:३३ बजेको शुभ साइतमा लिङ्गो ढलाएपछि जात्रा समाप्त हुनेछ ।

हेर्नुहोस् तस्बीरहरू ;

तस्बीर : राजु झल्लु प्रसाद

तस्बीर : राजु झल्लु प्रसाद

तस्बीर : राजु झल्लु प्रसाद

कागेश्वर महादेव उक्लने भर्याङ निकै अप्ठ्यारो छ, तस्बीर : राजु झल्लु प्रसाद

कागेश्वर महादेव ०७२ को भूकम्पपश्चात् पुनर्निर्माण भएको हो, तस्बीर : राजु झल्लु प्रसाद

कागेश्वर महादेवका पुजारी, तस्बीर : राजु झल्लु प्रसाद

Tags:

सम्बन्धित समाचार