बुधबार , बैसाख २६, २०८१

चिरबिर वार्ता : आफ्नो पखेटा छैन भनेर नै मान्छेहरूले पिँजडाको निर्माण गरेका हुन् ?

विभिन्न सामाजिक सञ्जालहरूका सिग्नलहरू आकाशभरि व्याप्त छन् । टेलिफोन, मोबाईल फोन नेटवर्क, ईन्टरनेट इत्यादिहरूले चराहरू लगायत थुप्रै किरा जातिहरूमा उनीहरूको प्राकृतिक क्षमतामा कमि ल्याएको पुष्टि भएका छन् ।

image

चितवनमा रही अङ्ग्रेजी भाषामा कविता लेख्दै आएका ईश्वर कँडेल पेशाले ब्रिटिस काउन्सिल नेपालमा शिक्षक, प्रशिक्षक हुन् । उनले सन् २०१४ मा एउटा अङ्रेजी उपन्यास ईकोज्  पनि लेखेका थिए । कविता र उपन्यास लेखनसँगै उनी चितवनमा ‘चियासँग कविता’ कार्यक्रममा पनि सक्रिय छन् ।

ईश्वर कँडेल प्रकृतिलाई विछट्ट प्रेम गर्छन् । उनी चरा शिक्षा समाज, सौराहाको आजीवन सदस्य समेत हुन् । उनी ‘हिमालयन बायोडाईभर्सिटि नेटवर्क नेपाल’को अध्यक्ष पनि हुन् जुन संस्थाले स्नातकोत्तर अध्ययन गरिरहेका विद्यार्थिहरूलाई वन्यजन्तु र परागसेचनमा सहयोग गर्ने उपयोगी किराहरूको अध्ययन र संरक्षणमा सहयोग गर्दछ । प्रस्तुत छ, नियमित चरा अवलोकन एवं उनीहरूको वासस्थानको संरक्षणमा समय दिइरहने कँडेलसँग राजु झल्लु प्रसादले गरेको कुराकानीको सम्पादित अंश :

ईश्वर कँडेलसँग चिरबिर वार्ता 

No photo description available.

नेपालमा पाहुना लाग्न आउने चरा एवं यहाँका रैथाने चराहरूसँग तपाईँको कत्तिको जम्काभेट भइरहेको छ दाइ ? कस्तो आतिथ्य पाइरहेका छन् उनीहरूले ?

नेपाल क्षेत्रफलमा सानो भएपनि भौगोलिक विविधता भएको मुलुक हो । समुन्द्र सतहदेखि ५९ मिटर हुँदै ८८४८ मिटर सम्मको उचाइ रहेको यस सानो देशमा संसारका सबै खालको हावापानी पाइन्छ । हावापानीसँगै वनस्पति र त्यस क्षेत्रमा बसोबास गर्ने किरा, फट्याङ्ग्रादेखि चराचुरुङ्गी र जनावरहरू फरक पाइन्छन् । नेपालमा विशेषगरी हिउँदमा र गृष्म ऋतु शुरु भएपछि संसारभरबाट चराहरू पाहुना बन्न आउने गर्छन् । साथै कतिपय चराहरू यहाँ बाह्रै महिना रहने पनि छन् ।

चराहरूमा ब्याबलर (भ्याकुर) प्रजातिको एउटा चरा स्पाईनि ब्याबलर ( काँडे भ्याकुर) नेपालमा मात्र पाइने चराको प्रजाति हो । चरा अवलोकन गर्ने क्रममा यसरी बिदेशबाट पाहुना हुन जाडो मौसम शुरु भएपछि आउने र बैशाख लागेपछि फर्कने पानी चराहरू हरेक वर्ष साइबेरियादेखि त्यहाँको जाडो छल्न यहाँसम्म आउँछन्, र हिउँदभरि यतै बस्छन् । नेपालमा चरा अवलोकनका लागि उत्कृष्ट समय पनि जाडोको समय र वसन्त ऋतुको समय अति राम्रो मानिन्छ ।

हरेक वर्ष संसारभरि ‘पानीचरा गणना’ गर्ने गरिन्छ । चितवनमा यसरी बर्सेनि गरिने पानीचरा गणनामा नेपालमा पाहुना भएर आउने थुप्रै पानीचराहरू भेटिन्छन् । तर यसरी बर्सेनि आउने पाहुना चराहरूको संख्या घट्तै गएको छ । यसको मुख्य कारणहरूमध्ये एउटा प्रमुख कारण सिमसार क्षेत्रको विनाश या सङ्कुचन नै हो । त्यस्तै खेतबारीमा विषादी साथै रासायनिक मलको प्रयोगले पनि यी पाहुना चराहरू सङ्कटमा परेका छन् । यिनीहरूले हामीबाट पाउनुपर्ने राम्रो आतिथ्य अझै पाउन सकेका छैनन् ।

जहाँसम्म रैथाने चराहरूको कुरा छ, यी रैथाने चराहरू विशेषत: दुई प्रकारका हुन्छन् ।
१.मानव बस्तिमा बस्न रुचाउने
२.जङ्गलभित्र बस्न रुचाउने ।

यिनीहरू पनि आफ्नो बासस्थानमा देखिएको सङ्कटका कारण विगतमा जस्तो धेरै संख्यामा देखिदैनन् । उदाहरणका लागि भङ्गेराकै कुरा गरौँ, कुनै समय हाम्रै आँगनमा आमाले बिस्कुन सुकाएपछि हामी भङ्गेरा, ढुकुर, सारौँ धपाउन बस्नु पर्थ्यो । बारीमा सुगाका विभिन्न प्रजाति मकै खान ठूलो बथानमा आउँथेँ । खै त आजकल ती कता गए ? आजकल देखिन्छन् तर, कता कतै स-साना समूहमा मात्र । त्यसकारण हामीले हाम्रा पाहुना चराहरू साथै रैथाने चराहरूलाई दिनुपर्ने आतिथ्य दिन सकेका छैनौँ ।

चरालाई पनि पायक पर्ने जिल्लाको रूपमा चितवनलाई चिनिन्छ । चितवन ‘बर्ड वाचर’हरूको हब बनिरहेकाले सोध्न मन लागेको, चितवन सेरोफेरोमा के-कस्ता चराहरू उडिरहेका छन् ? चितवनको वातावरण चराको लागि कत्तिको उपयुक्त ठहरिँदै छ ?

चितवनमा रुखबिरुवा, वनजङ्गल साथै पानीका थुप्रै स्रोतहरू छन् । चितवन राष्ट्रिय निकुञ्ज, नारायणी र राप्ती नदीहरू, निकुञ्जभित्रका सिमसार क्षेत्र, घाँसे मैदान, मिश्रित वन साथै सालको वन क्षेत्र चराहरूका लागि धेरै नै उपयुक्त बासस्थान हुन् । यी विविध क्षेत्रहरूमा फरकफरक प्रजातिका चराहरू बस्न रुचाउँछन् । चुरे पहाडको क्षेत्रदेखि उपर दाडगढी र त्यसभन्दा माथिका पहाडी क्षेत्रहरूको हावापानीमा र वनस्पति अनि जिवजन्तु र पन्छिहरूमा धेरै विविधता पाइन्छ, जसले गर्दा चितवन करिब ६५७ प्रजातिका चराहरूको रमणीय बासस्थान एवं क्रीडा क्षेत्र भएको छ ।

हिउँदमा साइबेरियाबाट त्यहाँको चिसो छल्न चितवनसम्म आइपुग्ने चखेवा, खोया हाँस लगायत अन्य पानी चराहरूदेखि वसन्त ऋतु शुरु भएपछि देखिने कोइलीका प्रजातिहरू, स्वर्ग चरी, सुनचरीका प्रजातिहरू, तोप चरा लगायत थुप्रै थुप्रै आगन्तुक र रैथाने चराहरू, तिनीहरूको प्रेममिलनका मिठा स्वरहरू, चरी नदी किनारका वनहरूमा पाइने माटिकोरे चराका प्रजाति, उल्लुका प्रजाति साथै माछाकुलहरू, खेतबारीमा देखिने कतिपय रैथाने चराहरू चितवनका विशेष आकर्षक हुन् । बिहान-बेलुकी गाउँ घरतिर तपाईँ वाईनाकुलर लिएर चरा अवलोकन गर्दै हिँड्न सक्नुहुन्छ । तर पनि खेतबारीमा विषादी तथा रासायनिक मलको प्रयोग, कीटनाशक ओखतिको प्रयोग, गुलेली चलाउने समूह, वातावरणमा आएका परिवर्तनहरू, प्राकृतिक वासस्थानमा मानिसहरूको हस्तक्षेपले रैथाने चराहरू साथै आगन्तुक चराहरूको संख्यामा कमि आउन थालेको देखिन्छ । तैपनि हामी चरा अवलोकन साथै अध्ययन गर्ने व्यक्तिहरू साथै संस्थाहरूले चरा र तिनीहरूको वासस्थान संरक्षणमा लगातार काम गरिरहेका छन् ।

May be an image of outdoors and tree

मानवीय चहलपहल, ध्वनि प्रदुषण, वन फँडानी, तालतलैयाहरू सुक्नु, नदीहरू प्रदुषित हुनु लगायतका समस्याहरूबीच पनि चराहरू देखिइरहेका छन् । चराहरूले यसप्रकारको निर्दोषितामार्फत हामीलाई कस्तो गुण लगाइरहेका हुन् ?

चराहरू संसारमै अद्भुत सृजना लाग्छ मलाई । यिनीहरूको भाषा हामी त्यति सजिलै बुझ्न सक्दैनौँ । उनीहरू कुनै स्थानबाट एक्कासि हराउनु, उनीहरूको बानी व्यवहारमा परिवर्तन आउनु, वर्षौँ नदेखिएका चराहरू कुनै वर्ष देखिनु प्रकृति या हाम्रा वरिपरिका वातावरणमा आएका सकारात्मक या नकारात्मक परिवर्तनका संकेत हुन्छन् । यिनीहरू प्रकृतिकै दूतहरू हुन् ।

मानिसहरूले वातावरणमा नकारात्मक प्रभाव पार्दै गर्दा पनि थुप्रै प्रजातिका चराहरू देखिनु, संख्या या प्रजातिमा कमि भएपनि आगन्तुक चराहरू उनीहरूको नियमित समयमा आइपुग्नु भनेको प्रकृतिलाई अझै जोगाउन सकिन्छ भन्ने सङ्केत पनि हो । आफ्ना सुमधुर आवाज र सुन्दर उडान सहित हामीलाई प्रकृति र वातावरणको संरक्षण गर्न र गराउन उत्साहित गर्नु पनि हो । साथै, मानव जस्तो संसारकै उत्कृष्ट मानिएको ईश्वरको सृजनालाई चराहरूले गरेको व्यङ्ग्य पनि हो । वास्तवमा हाम्रा वरिपरि कतै चराहरू हुनु भनेको हामी आफैँ हुनु र हाम्रो अस्तित्व यस संसारमा अझै लामो समयसम्म रहनेछ भन्ने बलियो प्रमाण पनि हो ।

चराहरूको संख्या कम हुँदैछ भन्ने तथ्यांक त छँदैछ, तर चरा संरक्षण एवं व्यवस्थित पूर्वाधार निर्माणतर्फ कत्तिको काम भइरहेको देख्नुहुन्छ ? तपाईँ यतातर्फ के गर्दै हुनुहुन्छ ?

चरा तथा चराहरूको वासस्थानको संरक्षणमा केही संघ संस्था तथा व्यक्तिहरूको ठूलो योगदान छ । अझै पनि कैयौँ मानिसहरूलाई चरा अवलोकन गर्नु, चराहरूको बासस्थानको संरक्षण गर्नु, उनीहरूको जीवन रक्षाका लागि शिकारलाई निरुत्साहित गर्नु, चराहरूको संरक्षणमा लेख लेख्नु, सभा सम्मेलन गर्नु केवल समयको बर्बादी र कुनै पनि खालको दैनिक काम नभएका व्यक्तिहरूले गर्ने एक खालको अर्थहीन कार्य भन्ने लाग्छ । पंक्षि संरक्षण नेपाल, चरा शिक्षा समाज, त्यस्तै पोखरा बर्ड सोसाइटी, प्रकृतिका साथीहरू संस्था जसले लाटोकोसेरो तथा हुचिल संरक्षण, अध्ययन तथा अनुसन्धानमा सहयोग गर्छ । साथै, गिद्ध संरक्षणमा लगातार काम गरिरहेका संस्थाहरू छन्, जसले देशका विभिन्न भागमा गिद्ध रेस्टुराँहरू संचालन गरेर लोप हुँदै गरेका गिद्धहरू (प्रकृतिका कुचिकारहरू) को संरक्षण र संवर्द्धनमा नियमित काम गरिरहनु भएको छ ।

डा. हेमसागर बरालको चरा र यिनीहरूको वासस्थानको अध्ययन र संरक्षणमा ठूलो भूमिका छ । उहाँले स्वदेश तथा विदेशमा समेत चराहरूको संरक्षण, चरा शिक्षा साथै वासस्थान संरक्षणमा ठूलो भुमिका खेल्नु भएको छ । चितवनको सौराहा क्षेत्रमा चरा शिक्षा समाज ( बर्ड एजुकेशन सोसाईटि) ले नियमित चरा अवलोकन, विद्यालयमा विद्यार्थी तथा शिक्षकहरूलाई चरा र तिनीहरूको बासस्थानको संरक्षणसम्बन्धि कक्षाहरू लिने र ईको क्लब स्थापना गरी नियमित सहयोग साथै अनुगमन गर्ने गरेको छ । भरतपुर, चितवनमा मुख्य कार्यालय भएको संस्था – हिमालयन बायो डाईभर्सिटि नेटवर्क, नेपालले पनि प्रकृति संरक्षण साथै पुतलिका प्रजाति, किसानप्रेमि किराहरू, लोप हुँदै गरेका जनावर र चराहरूको संरक्षणमा अध्ययन र अनुसंधान गर्ने र गर्न सहयोग गर्ने गरिरहेको छ ।

कहिलेकसो पाटन दरबारतिर विचरण गरिरहँदा सुवर्ण लेपन सहित विराजमान राजा योगनरेन्द्र मल्लको लाइफ साइज आकारको सालिकमाथिको चरा नियाल्छु । सालिकलाई कर्कट नागले रक्षा गरेको छ । भनिँदो रहेछ कि, ‘जबसम्म नागमाथि राखिएको चरा उडेर जाँदैन, तबसम्म योगनरेन्द्र मल्लको मृत्यु हुँदैन अरे !’ हास्यास्पद ! चराहरूलाई लिएर शासकहरूको मनोवृति कस्तो पाउनुहुन्छ तपाईँ ? चराहरू साँच्चै, स्वतन्त्रताको बिम्ब पनि हुन् ?

रमाईलो प्रसंग उठाउनु भयो, राजु जी । चराहरू सबै धर्म ग्रन्थहरूमा, साहित्यमा साथै कैयौँ मिथकहरूमा पाइन्छ । रामायण, महाभारत, कुरान, त्रिपिटक साथै बाईबल लगायत अन्य थुप्रै ग्रन्थहरूमा चराको विशेष प्रसंग पाइन्छ । हिन्दू धर्ममा भनौँ या पुर्विय दर्शनमा, आत्मालाई चरा र शरीरलाई पिँजडाको रूपमा मानिन्छ । कसैको मृत्युमा उसको शरीर र पिँजडाबाट आत्मारूपी पंक्षी मुक्ति भएको क्षणको रूपमा लिएर मृत्युमा खुसी हुने र रमाउने समाज पनि हामीकहाँ छदैँछन् । मलाई लाग्छ कि पाटनको योगनरेन्द्र मल्लको सवालमा यहि कुरा जोड्दा केही अर्थपुर्ण होला । तैपनि व्याख्याहरू अनेक हुन सक्छन् ।

जहाँसम्म हिजो आजका शासकहरूको सवाल छ, उनीहरूलाई प्रकृति र प्रकृति संरक्षण चिन्ताको विषय बन्न सकेको छैन । उनीहरूको दृष्टि राष्ट्रभित्र सम्पुर्ण क्षेत्रसम्म पुग्न सकेको छैन । आफू र आफ्नाहरूको माखेसाङ्लोभन्दा पर दृष्टि पुग्न सकेको छैन । मानवहरू नै मानवको मानवीय दृष्टिबाहिर छन् । अब भन्नुहोस् चरा, चराका वासस्थान, जिवजन्तु, उनीहरूको संरक्षणमा कहिले पुग्न सक्ला ? म त के भन्छु भने राजु जी, देशमा असल शासक र शासन भएको दिन देशभित्रका जनता मात्र हैन चरा, किरा फट्याङ्रा, जनावरहरू र रुखविरुवाहरूले समेत सुशासनको अनुभव गर्छन् । कवि, साहित्यकार, कलाकारहरू चराको बिम्बमा स्वतन्त्रताको महशुस गर्छन् र स्वतन्त्र भएर सृजना गर्छन् ।

पिँजडाबाहिरको खुल्ला आकाशमा विचरण गर्ने चरा वास्तवमा ‘स्वतन्त्रताको मेटाफर’ हो ।

No photo description available.

‘चरा उड्न स्वतन्त्र छ । पिँजडामा उसलाई थुन्नु बेकार हो ।’ भन्नेहरू नै पिँजडा निर्माण गरिरहेका छन् नि, यसलाई कसरी हेर्नुहुन्छ ? आफ्नो पखेटा छैन भनेर नै मान्छेले पिँजडाको निर्माण गरेका हुन् ? चरालाई लिएर मानिसको दुश्मनी यो हदसम्म किन हँ दाजु ?

संसारलाई नियाल्दै जाँदा दुईवटा कुराहरू भेट्छु म । प्रथम कुरा अक्सिमोरन (विरोधाभाष) र दोश्रो बाइनरी अपजिसन ( द्वि आधारी विरोध) । हामी व्यक्ति भनौँ या सरकार, आखिर हामी पाखण्ड छौँ । सोच्छौँ सकारात्मक तर हामीलाई नकारात्मक कार्यमा धेरै आनन्द आउँछ । यो हामीले दैनिक जीवनमा देखेका, सुनेका या भोगेका छौँ । सरकार पनि हामी या हाम्रै समाजको प्रतिविम्ब न हो । कलाकार, साहित्यकार, दार्शनिकहरूले चरालाई कल्पनाशक्तिको उडानसँग दाँजेको पाइन्छ । हामीले जोन किट्सका कविताहरूमा साथै अन्य स्वच्छन्दतावादि कवि तथा साहित्यकारहरूको सृजनामा यो प्रसंग पाउँछौँ ।

चराहरू नितान्त निर्दोष र शान्तिका प्रतीक हुन्छन् । उनीहरू मानव तथा सम्पुर्ण प्राणि जगत् साथै बातावरणको भलो चिताउने हुन्छन् । तर मानव, जो प्रकृतिको सृजनाकै अब्बल कृति हो, ऊ कहिल्यै आफू र आफ्नाहरूबाहेक अरु कसैको कल्याण चिताउन सक्दैन । वास्तवमा चराहरूप्रति मानव जगतले प्रेमपुर्ण व्यवहार गर्ने, उनीहरूको शिकार नगर्ने, आफ्नो घर वरिपरि रहेका चराहरूलाई पानी र आहाराको समेत व्यवस्था गर्ने, घर वरिपरि रुखबिरुवा लगाउने गर्नुपर्छ । स्थानीय सरकारले सडकका दुईछेउमा साथै खालि जमिनमा फुल फुल्ने र फल लाग्ने रुखहरू रोप्नु र हुर्काउनु पर्छ । कि कसो राजु जी ?

‘पुतली हेर्न जिपमा जाने’ हामीहरूको प्रवृति छ, भौतिक संरचना निर्माणले चराहरूलाई कत्तिको लेखेटिरहेको छ ? चरालाई कस्तो व्यवहार गर्नुपर्दछ दाइ ?

चराको प्रसंग आउनेबित्तिकै छुटाउनै नहुने कुरा भनेको रुखबिरुवा र किरा फट्याङ्ग्रा पनि हुन् । देशमा यी सबैको आफ्नो बाँच्न पाउने अधिकार हुन्छ । स्वतन्त्र रूपमा हुर्कने अधिकार हुन्छ । त्यस्तै जहाँ रुखबिरुवाहरू काटिन्छन्, मासिन्छन् त्यहाँ चराहरू, उनीहरूको बासस्थान साथै खानेकुरा सबै सङ्कटमा पर्छन् । भौतिक संरचना निर्माण गर्दा स्थानीय सरकार या राष्ट्रिय सरकारले रुखबिरुवा काट्नु या हटाउनै परे पनि उपयुक्त समय छान्ने र काटिएका रुखहरूको संख्या वा ती भन्दा धेरै बिरुवाहरू तत्कालै लगाउने र हुर्काउने गर्नुपर्छ ।

एउटा उदाहरण दिन्छु – रुखहरू सकेसम्म जोगाउने र यदि काट्नै पर्ने छ भने वसन्त ऋतु या गृष्म ऋतु सकेसम्म नपार्ने किनकि यो समयमा धेरै जसो चराहरूले गुण बनाएर बच्चा कोरलेका हुन्छन् अथवा बच्चाहरूको पहिलो उडानको समय भएको हुन्छ । त्यस्तै रुखहरूले पनि फूल खेल्ने र फलहरू हुर्काउने समय भएको हुन्छ । यस्तो समयमा पनि रुख काट्नु भनेको ‘मास किलिङ’ जस्तै हो । एकपटक सोच्नुस् त राजु जी, एउटा वयस्क रुखमा कति जीवनहरू आश्रीत हुन्छन् होला ? चरा या पुतली अवलोकन गर्ने साथीहरूले पनि उनीहरूको धेरै नजिक जानु भएन । गाडीका चर्का आवाज र हर्नहरू बजाउनु भएन । उनीहरूलाई तर्साउनु पनि हुँदैन । उनीहरूभन्दा अलि टाढै बसेर अवलोकन गर्ने अथवा फोटो लिने गर्नु धेरै राम्रो हुन्छ ।

‘गुलेली र बुख्याँचा’ नेपाली समाजको पुरानो बिम्ब हो । यी बिम्बहरूमा फेरबदल आएका छन् कि पुनर्स्थापित नै गरिँदैछ ? ‘चरा र विमान दुर्घटनाको मिथक’तर्फ पनि मेरो इशारा रह्यो ! यस पृथ्वीमा हामी आउनु अघिदेखि नै अस्तित्वमा रहेका चराको अधिकार बढी लाग्छ कि हाम्रो ? आकाशलाई चराहरूले भन्दा विमानहरूले ओगट्न चलिरहेको ‘पुँजीवादी रेस’लाई तपाईँ कसरी हेर्नुहुन्छ ?

गुलेली र बुख्याँचा दुबै चरामैत्री चिजहरू होईनन् । यिनीहरू दुवै चराहरूलाई तर्साउन, भगाउन प्रयोग गरिन्छ । अझ गुलेली प्रयोग गरेर पानी चरा तथा अन्य चराहरूको सिकार गर्ने चलन अझै कतिपय ठाउँहरूमा कायमै छ । गुलेलीभन्दा बुख्याँचा कम हानिकारक हुन्छ । पुरानै समयदेखि गुलेली र बुख्याँचाको प्रयोग भएको पाइन्छ । यसको अर्थ चराहरूसँग मानवजातिको सम्बन्ध प्राचीन कालदेखिकै हो भन्ने पनि बुझाउँछ । मानिसहरू पनि जङ्गल, खोलानाला, नजिक बस्न रुचाउने र खानाको लागि खोला र जङ्गलमै आश्रित हुनुपर्ने अनि खेतीपाती पनि नजिकै जमिनमा लगाउनु पर्दा चराहरूसँग मानिसहरूको एक किसिमको कन्फ्लिक्ट पहिलेदेखि नै रहिआएको पाइन्छ । चराहरूबाटै मानिसहरूले थुप्रै वैज्ञानिक आविस्कारका लागि ज्ञान पाएको जस्तो लाग्छ । यिनीहरू सदियौँदेखि सँगै हुर्कँदै र एक अर्कामा भर पर्दै आजसम्म आइपुगेका छन् । यिनीहरू एक अर्काका मित्र पनि भएको कुरा हाम्रा हिन्दु धर्म ग्रन्थहरूमा पनि प्रसंगहरू पाइन्छन् ।

चराहरू स्वतन्त्र आकासमा विचरण गरेका देखेर नै मानिसहरूले हावामा चराजस्तै उड्ने सपना पहिलोपटक देखे होलान् । उनीहरूको त्यसै गरी उड्ने सपना पूरा भएको पनि आज थुप्रै वर्ष भइसक्यो । अझ मानिसले सीमारेखा उछिनेर विभिन्न ग्रहहरूसम्म पुगिसकेका छन् । अब हजुरले आकाशमा हाम्रो धेरै अधिकार कि पंक्षीहरूको ? भन्ने प्रश्न सुन्दा एकपटक म पनि सोचमग्न भएँ । लाग्यो, यो त हामी सबैको साझा स्थान हो । यहाँ अनगिन्ति विमानहरू हरेक क्षण आकाशमा उडिरहँदा लाग्छ यहाँ स्वतन्त्र विचरण गर्न पाउनु चराहरूकै पहिलो अधिकार हो । मानिस आफू जन्मैदेखि ( सृजनाकालदेखि नै) प्रकृतिका सम्पदाहरूमाथि एकाएक अधिकार जमाउँदै जल, जमिन, जङ्गल, आकास सबैतिर एकोहोरो आधिपत्य जमाउँदैछ । यसरी सीमाभन्दा बाहिर गएर अर्काको अधिकार क्षेत्रभित्र प्रवेश गर्नु र क्षेत्रमा एकाधिकार कब्जा गर्न खोज्नु कदापि शुभ लक्षण होइन ।

No photo description available.

चराहरूलाई क्यामरामा कैद गरिरहँदा तिनका दुरबिनमार्फत तिनका आनीबानी पनि नियाल्नुहुन्छ ? चराहरूको आँखा के भन्दै छन् ? तिनका पखेटाहरू के भन्दैछन् ? चराहरू के-कस्ता कानेखुसी गर्ने गर्दछन्, तपाईँसँग ?

चरा अवलोकन एक नितान्त फरक विधा हो । यसका केही निश्चित स्टेजहरू हुन्छन् । पहिलो तहमा घाँटीमा वाईनाकुलर झुण्ड्याउँदै र हातमा चराको सचित्र वर्णन गरिएको पुस्तक लिएर चराहरूसँग परिचय गर्दै हिँड्ने बेला । यस समयमा चराका आकार, रंगहरू, अनुहार र घाँटी तथा टाउकाका विशेष रंगहरू साथै उनीहरूको उड्ने तरिका र आवाज बढी ख्याल गरिन्छ । कुनै पनि चरा अवलोकन गर्ने व्यक्तिले समय बितेको पत्तै पाउँदैन । मानिसहरूका विभिन्न बानीब्यहोरा भए जस्तै चराहरूका पनि आ-आफ्ना बानी हुन्छन् । एकपटक कुनै चरासँग तपाईँको परिचय भएको छ भने त्यसपछिका भेटहरू मित्र मिलन जस्तै हुन्छन् । जति धेरै समय भेट्नु हुन्न, उति धेरै मिस गर्न थाल्नुहुन्छ । अब भन्नुहोस् के चराहरूले ‘बडि ल्याङ्वेज’ प्रयोग गरेर चरा अवलोकन गर्नेहरूसँग कति संवाद गर्छन् होला ? उनीहरूको आफ्नै क्षेत्र हुन्छ, आफ्नै कोलोनी हुन्छ । जब हामी उनीहरूसम्म पुग्छौँ, हामीले उनीहरूको क्षेत्रको र उनीहरू स्वयंको अपमान नगरिदिएहुन्थ्यो भन्छन् । हामीलाई मानवहरूले माया गरिदिए हुन्थ्यो भन्छन् । सह- सम्वन्धको विककास भएहुन्थ्यो भन्छन् र उनीहरूले मानिसका लागि गरिदिएका थुप्रै कार्यहरूको पहिचान गरी सदियौँसम्म सँगै बाँच्न पाए हुन्थ्यो भन्छन् । खै, हामी कतिले यो कुरा बुझ्न सकेका छौँ ?

‘बाँसघारीमा डांग्रे कराउनै छाड्यो’ नि दाइ ! ध्वनि प्रदुषणका कारण चराहरूलाई आफ्ना सूचना आदानप्रदान गाह्रो परिरहेका बेला हामी चाहिँ चरा अङ्कित सामाजिक सन्जालमा झुण्डिरहेका छौँ । सामाजिक सन्जाललाई लिएर तपाईँलाई केही बोल्ने मुड छ ? चराहरूसँगसँगै हाम्रा पनि गीतहरू फेरिएका हुन् ?

हो नि राजु जी, आजकल पहिलेजस्तो चराहरूको हुल देखिन छाडेको छ । हामीले देख्ने गरेका ठुला समूहमा देखिने चराहरू मध्ये एक चरा डांग्रे (मैना प्रजातिको) चरा हो । यिनीहरू साँझ पर्न नपाउँदै बाँसको झ्याङमा साह्रै हल्ला गरेको सुनिन्थ्यो । आजकल प्राय: सुनिँदैन । थुप्रै हामीले आफू सानो हुँदा देख्ने गरेका कतिपय चराहरू विस्तारै हराउँदै छन् । विज्ञानको विकाससँगै बढ्दै गएका विभिन्न प्रदुषणहरूले चराहरूमा नकारात्मक असर पारेको छ । उनीहरूको आफ्नो प्राकृतिक क्षमताहरूमा ह्रास आउँदै गरेको पुष्टि भएको छ । विभिन्न सामाजिक सञ्जालहरूका सिग्नलहरू आकाशभरि व्याप्त छन् । टेलिफोन, मोबाईल फोन नेटवर्क, ईन्टरनेट इत्यादिहरूले चराहरू लगायत थुप्रै किरा जातिहरूमा उनीहरूको प्राकृतिक क्षमतामा कमि ल्याएको पुष्टि भएका छन् । हामी सबै आधुनिक भनौँ या उत्तरआधुनिक मानवहरू यिनै सामाजिक सञ्जालहरूको चङ्गुलमा यसरी फसेका छौँ कि हामिलाई बाहिर निस्कन र प्राकृतिक दुनियाँ हेर्न, खुला हावामा श्वास लिन फुर्सदै छैन । यी फ्रयाङ्केन्सटिनहरू एकदिन आफैँले सृजना गरेका मोन्स्टरहरूद्वारा नष्ट हुनेछन् । आजकल कोइलीको सुरिलो बोली, ओरियलको सुन्दरता, रानी चरिको कोयनेस, मयुरको ईरोटिक नृत्य, झ्याउँकिरीको गीत, सुन्ने फुर्सदको समय यिनै सामाजिक सञ्जाल (चरा अङ्कित) हरूले नै बन्धक राखेका छन् ।

गिद्ध, लाटोकोसेरो, चमेरो लगायतका दुर्लभ पंक्षीहरूसँग तपाईँको कत्तिको जम्काभेट हुने गरेको छ दाइ ? तपाईँलाई देख्न मन लागेका र नभेटेका चराहरू कुन-कुन हुन् ?

हिजोआज गिद्धहरू साँच्चै देखिन छाडेका छन् । यिनीहरू विस्तारै लोप हुँदैछन् । नवलपुरमा अवस्थित गिद्ध रेष्टुरेन्ट क्षेत्रमा गिद्ध देख्न पाइन्छ । तर पनि कतिपय स्थानमा विष प्रयोग गरी मारिएका कुकुर र गाईवस्तुका कारण गिद्धहरू समूहिक रूपमा मर्ने गरेको पनि पाइन्छ । लाटोकोसेरोका केही प्रजातिहरू राष्ट्रिय निकुन्ज तथा सामुदायिक वन क्षेत्रभित्र भेटिन्छन् । यिनीहरूलाई अन्य चराहरूजस्तै सजिलै देख्न अलि कठिन हुन्छ । विशेषत: केशर पुस्तकालय र नारायणहिटी दरवारको छेउका अग्ला रुखहरूमा चमेराहरू थुप्रै संख्यामा देखिन्छन् । अन्य स्थानहरूमा चराका यी जातिहरू सजिलै भेटिँदैनन् । यी चराहरूकै अवलोकन गर्न विशेष स्थानमा नै जानुपर्छ ।

मलाई देख्न मन लागेका केही चराहरू छन् र यी चराहरू हेर्न मैले या त पंक्षी चिडियाखाना जानु पर्छ या त विदेश यात्रातर्फ लाग्नुपर्छ । बर्ड अभ प्याराडाईज प्रजातिका चराहरू, रोड रनर प्रजाति, ब्लु जे, मकाउ, किल बिल्ड टोकन, भिक्टोरिया क्राउण्ड पिजन, आदि मलाई साह्रै हेर्न मनलागेका चराहरू हुन् ।

No photo description available.

हामीकहाँ चरा र वन्यजन्तुसम्बन्धी कला प्रदर्शनीहरू निकै कम देखिन्छ नि दाइ ! कलावती आर्ट काउन्सिल या अक्षर समूहले त्यो प्रयास कत्तिको गरिरहेको छ ?

हो, यो पक्षमा हामीले चाहँदाचाहँदै पनि केही गर्न सकेका छैनौँ । कलावती आर्ट ग्यालरीका विशिष्ट कलाकार भिम सुवेदीसँग भूपिन र मेरो धेरै पटक कुराकानी भएको छ । अक्षर समूहले कलावती आर्ट ग्यालरीसँग मिलेर प्रकृति र चरा र वन्यजन्तुसम्बन्धी कविता वाचन गर्ने र उक्त कविता वाचन हुँदै गर्दा कलाकारहरूले कला सृजना गर्ने कार्यक्रम पटकपटक तय भएको पनि हो । तर केही वर्षदेखि समय उचित नभएका कारण यो कार्य अझै हुन सकेको छैन । समय सहज हुनेबित्तिकै हामी यो कार्यक्रमलाई मुर्त रूप दिनेछौँ ।

केही रमाइला प्रश्नहरू गर्छु है दाइ, चराबारे लेखिएका कविताहरू, बनेका फिल्महरू साथै पुस्तकहरूको नाम बताइदिनुहोस् न ! सँगसँगै तपाईँ आजभोली केकस्ता फिल्म एंव पुस्तकहरू पढ्दै हुनुहुन्छ ? सिर्जनाकर्मतर्फ पनि मेरो इशारा रह्यो ।

चराबारे लेखिएका कविताहरू थुप्रै छन् तर ती कविताहरू द्विअर्थी (एलिगोरिकल) छन् । जस्तै:

नेपालीमा लेखिएका कविताहरू:
१.पिँजडाको सुगा २.तरुण तपसी (लेखनाथ पौड्याल) ३.एक चरिको कथा (रोमन क्षेत्री) ४. भँगेरा र भँगेरी (माधव प्रसाद घिमिरे)

अङ्ग्रेजीमा लेखिएका कविताहरू:
१.टु अ स्काई लार्क (शेली) २.ओड टु नाइटिंगेल (जोन किट्स) ३.द फिनिक्स एण्ड द टर्टल (शेक्सपियर) ४.द एलोहेमर्स नेष्ट (जोन क्लेयर) ५. पिजिन्स (जेम्स हेनरी) ६.द विन्डहोभर (हपकिन्स) ७.थर्टिन वेज अफ लुकिङ एट अ ब्ल्याक बर्ड (वालेस स्टेभेन्स) आदि।

चरासँग जोडिएका फिल्महरू:
१.द फ्यालकन्स २.जोनाथन लिभिङस्टोन सिगल ३.बर्डर्स (२०१९ यु यस – मेक्सिकन सर्ट डकुमेन्ट्रि फिल्म) ४.लेडि हक (१९८५,अमेरिकन डार्क फ्यान्टसी) ५.मैने प्यार किया ६.दिल्ली ६

म आफू आजकल सृजनामा पनि व्यस्त छु । अङ्ग्रेजी कविता सङग्रह र अङ्रेजी उपन्यासमा लेखन एवं पुनर्लेखन गर्दैछु । केही स्वदेशी र विदेशी दुवै खालका पुस्तकहरू पढिरहेको हुन्छु । अहिले काजुओ ईसिगुरो को द बरिड जाईन्ट, साथै बुद्ध विहार, भृकुटिमण्डपको प्रकाशन सम्यक संस्कार  र सम्यक सम्बुद्ध  पढ्दैछु । फिल्म हिजो आज खासै हेरेको छैन, राजु जी ।

‘एकान्त जङ्गलमा धुवाँ पुत्पुताएन भने तपाईँको मङ्गल हुँदैन ।’ भन्नुहुन्थ्यो भूपिन दाइ, तपाईकै पनि त्यही मत हो ? तपाईँलाई पनि सोध्छु, खोला किनारमा बसेर चाउचाउ उमाल्ने जोश तपाईँलाई कहाँदेखि आयो ? तपाईँहरूको ‘बुशक्राफ्ट’ साँच्चै लोभलाग्दो लाग्छ ! साँच्ची, बक्स प्यान्टको साँघुरो खल्तीमा राखेको कुखुराको अण्डा फुट्यो चाहिँ कसरी हँ दाइ ? हेहे..

कवि भूपिन र म दुवै करिब उस्तै प्रकृतिका छौँ । हामी एक आपसमा त्यति धेरै कुरा पनि गर्दैनौँ । तर शहर र शहरको हल्लासँग हामी दुवैले मित्रता गास्न खासै सकेनौँ । प्रकृतिप्रेमी भएकाकारण हामी दुवैलाई मनपर्ने स्थानहरू जङ्गल, खोलानाला, घाँसे मैदान, एकान्त स्थलहरू नै भए । त्यसैले हामी दुवैले बिदाको दिन बिहानै आ-आफ्नो झोलामा पकाउने भाँडाकुँडा, खानेकुरा, तरकारीका मरमसलाहरू, क्यामरा, ट्राईपोड, वाईनाकुलर, केही काठको काम गर्ने हतियारहरू (आरा, बन्चरो) लिएर जङ्गल, खोला किनार जाने र उतै समय बिताउने, नदी, जङ्गल छेउमा भेटिएका प्लास्टिक झोला र बोटलहरू टिप्ने, एक आपसमा कविता सुनाउने गर्न थाल्यौँ । यसरी एकान्त जङ्गलमा थोरै साधन श्रोतले दिन बिताउनु भनेको विश्वविद्यालयले दिन नसकेको ज्ञान हासिल गर्नु पनि हो । आगो बाल्न सक्नु भनेको साह्रै कठिन कार्य रहेछ । रविन्सन क्रुसोको पानीजहाज सामुन्द्रिक मौसम बिग्रिएपछि उसले मानवरहित टापुमा बिताएका करिव २८ वर्ष सबैभन्दा लामो र सफल बुसक्राफ्ट हो मेरा लागि ।

जङ्गलमा गएर प्रकृतिको आनन्द लिँदै दाउराको जोहो गर्नु, धुवाँ पुत्याउँदै खाना (चिकन, या चाउचाउ) बनाउनु, खोलामा नुहाउनु, दुई भाइ मिलेर खानु, मनमा लागेका कुरा गर्नु, वैचारिक बहस गर्नु, सार्है सुन्दर लाग्छन्। हा..हा, कुखुरिको अण्डा चैं खै कसरी फुट्यो पत्तै भएन यार। भुपिनले अण्डा खै दाइ, चाउचाउमा राख्नु पर्यो भनेपछि खोल्तिमा हात हालें तर दुईवटै अण्डा नमज्जा सँग फुटेछन् यार।

No photo description available.

स्वतन्त्रा भन्ने कुरा के रहेछ दाइ ? स्वतन्त्रताको सीमा पनि हुन्छ भनिन्छ नि ? स्वतन्त्रतासँग सावधानी कत्तिको जोडिन्छ ? स्वतन्त्रतालाई लिएर हामीहरूको भाष्य कस्तो छ ?

स्वतन्त्रतामा पनि लिमिटेसन हुन्छ । कति हदसम्म स्वतन्त्र हुने भन्ने कुरा स्थानपिच्छे फरक हुन सक्छ । तर स्वतन्त्रताको नाममा चरम स्वतन्त्रता र आफ्नो मात्र स्वतन्त्रताको कुरा गर्दा कहिलेकाहीँ आफ्ना साथीहरू, या अन्य व्यक्तिहरूको स्वतन्त्रताको पनि हनन नहोस् भन्ने ख्याल राख्नु राम्रो कुरा हो । तर कतिपय बेला हामी व्यक्तिगत स्वतन्त्रतामा रमाइरहँदा सामूहिक वा सामाजिक मूल्यमान्यता र समाजिक स्वतन्त्रता बिर्सन पुग्छौँ ।

मैले त सके है दाइ, तपाईँको पो केही प्रश्नहरू छन् कि ?

राजु जी, हजुरलाई धेरै धेरै धन्यवाद । हजुरका जोशिला प्रश्नहरूको सहयोगमा मैले धेरै मनका कुराहरू तपाईँको माध्यमबाट राख्न पाएँ । पुन: धन्यवाद यहाँलाई ।

ईश्वर कँडेलका दुई कविता:

१. विपना

सफलताको होडबाजीमा
ब्यक्तिगत खुसिहरु पोलेर
अरुकै लागि बाँच्न निस्केको तिमी
त्यही भुँङ्ग्रोभित्र
के पोल्दैछौ आजकल प्रिया ?

सेलिब्रिटिको बासि रोटि
कि आत्मसम्मानको आलु ?
सक्छौ भने अझै
भएर नहुनेभन्दा
नभएर सबै हुने
भाँडाकुटि खेल रोज
त्यसै बेला
तिम्रो र मेरो एउटै सपना
बिपना हुनेछ ।

किनकि
म अझै पोपको एकान्त स्तोत्र पाठ गरिरहेछु ।

२. मात्र एउटा प्रश्न

उनीहरू
दिनभर काम गर्छन्
बेलुकी
ज्याला लिई फर्कन्छन्
दु:खको मानो
सुखी भएर खान्छन्
खुलै राख्छन् मुल ढोकाहरू
लिन्छन् हिमालको प्रश्वास
राख्छन् आफ्नै हातहरुको सिरानि
देख्दैनन् कुनै खुराफाति सपना
र पूरा रात निदाउँछन् ।
हे सरकार!
तिमी देश विकास गर्ने ऊ जस्तै ज्यामी
काम नसकिँदै
ज्याला त लिन्छौ नै
सँगै गर्छौ भ्रष्टाचार
र जोड्छौ
पुस्तौँ पुग्ने पुँजी ।
नढाँटी भन त
सो कल्ड सुरक्षित घेरा,
भ्रष्टाचारकै
तिम्रो सुखको मानोमा
कामदारको जस्तै भोक
अनि निन्द्रा
कहिल्यै पाएका छौ ?

(जेष्ठ ९, २०७८ गते गरिएको कुराकानीमा आधारित)

सम्बन्धित समाचार