बिहिबार , कार्तिक २१, २०८२

जलजला: रोल्पाको चिनारी

लि भनेको बाँस र बाङ भनेको चौर हुने हुँदा यसको अर्थ हुन्छ– बासको चौर ।

image

रोल्पामा घुमफिर गर्न जाने धेरै पर्यटक जलजला र थवाङ गाउँ पुग्न खोज्छन् । जलजलाको प्राकृतिक सौन्दर्यले पर्यटकहरु रमाउँछन् । पर्यटकहरुले रोल्पाको चिनारी, ग्रामीण जनजीवन, भाषा, संस्कृति र जनयुद्धको समयमा भएका घटनाहरुको बारेमा पनि अध्ययन गर्न रुचि राख्छन् । पछिल्लो समय रोल्पामा गुरिल्ला पदमार्गबाट पनि धेरै ग्रामीण पर्यटकहरु रोल्पाका गाउँघरमा घुमफिर गर्दछन् । रोल्पा स्थानीय भाषामा राखिएको नाम हो । रोल्पालाई खामभाषामा उताको बस्ती भनिन्छ । खामभाषीहरुको बाहुल्यता भएको कारण रोल्पाका गाउँ र अधिकांश स्थानको नामको पछाडि बाङ शब्द जोडिएको छ । खामभाषामा बाङको अर्थ हुन्छ चउ र । थबाङ पनि मगर–खामभाषामा राखिएको नाम हो । थबाङको अर्थ माथि उठेको अथवा पहाडको काखको चउ र भन्ने हुन्छ ।

रोल्पा जिल्ला अठार मगरातको बसोबास क्षेत्र मानिन्छ । मगर खामभाषाबाट जलजलालाई गोङ भनिन्छ । सदरमुकाम लिवाङ पनि खामभाषामा नै रहेको छ । लि भनेको बाँस र बाङ भनेको चौर हुने हुँदा यसको अर्थ हुन्छ– बासको चौर । थबाङ ऐतिहासिक खामभाषीको बसोवास भएको गाउँ हो । थबाङ अहिले गाउँपालिका भएको छ । थवाङ पूरै १ र २ वडामा विभाजन भएको छ । परम्परागत शैलीका घर, ढुंगाका छाना एउटै गाउँमा तीन सय ३४ घर थबाङमा रहेका छन् । पहिलो पटक थबाङ गाउँमा पुग्ने पर्यटक गाउँ देख्दै छक्क पर्दछ । जुन गाउँ २०१२ सालदेखि कम्युनिष्ट किल्लाको रुपमा चर्चित छ । थबाङ गाउँ नजिकै फुन्टिबाङ गाउँ छ । यो गाउँ पनि युद्धको बेलामा चर्चामा आएको गाउँ हो । थबाङ गाउँ जान आजभोलि धेरै बाटाहरु छन् । तर पनि घोराहीबाट गाडी चढेपछि होलेरी हुँदै दहवन पुगिन्छ । जहाँ माओवादी शान्ति प्रक्रियामा आएपछि जनमुक्ति सेनाको पाँचौं डिभिजन बसेको थियो ।

दहवनबाट भाँगोबारी हुँदै नुवागाउँ पुगिन्छ । नुवागाउँमा पहिलोपटक शाही सेना र माओवादी जम्काभेट भएको स्थल हो । जुन स्थलबाट माओवादीले युद्धकालमा सहिदमार्ग निर्माण शुरु गरेको थियो । नुवागाउँबाट उकालो लागेपछि टिला बजार पुगिन्छ । माओवादी सेनाको एउटा बिग्रेड टिलामा पनि बसेको थियो । अहिले त्यहाँ सशस्त्र प्रहरी बसिरहेको छ । टिलाबाट दारबोट, कोर्चाबाङ, घर्तीगाउँ ओबाङ दुईखोली, कुरेलीको खरिबोट, मिरुलको टुटूबजार र छेर्बाङ हुँदै १३४ किलोमिटरको यात्रामा थबाङ पुगिन्छ । थबाङ गाउँको सामूहिक निर्णय प्रणाली परिचय हो । सामूहिक निर्णय गर्ने परिपाटीकै कारण थबाङ सधैंभरि बिद्रोही देखिएको हो । आदिवासी जनजाति समाजमा व्यक्तिलाई भन्दा समाजलाई ठूलो मानिन्छ । समाजको नाइकेलाई आदरका साथ सत्कार गर्ने र उसैको पछि लाग्ने चलन छ । थबाङका धेरैजसो मानिसहरु राजनीतिक अगुवाले जे निर्णय गर्छन् त्यसको अहिले पनि हुबहु कार्यान्वयन गर्छन् ।

सशस्त्र विद्रोहमा थबाङबाट मात्रै २८ जना मारिएका थिए । मारिनेमा पाँच महिला पनि थिए । ३१ जना अपाङ्ग भए भने १४ महिला एकल हुन पुगे । एकजना अझै बेपत्ता छन् । थबाङ क्षेत्रमा बढी मानबीय क्षति जेलबाङमा भयो । जेलबाङका मात्रै ७३ जनाले ज्यान गुमाए । राज्यका पक्षबाट जेलबाङका ६३ जनाको ज्यान गएको थियो । थबाङकै छिमेकी मिरुलमा ३३ जनाले ज्यान गुमाएका थिए । थबाङदेखि पूर्वको उवामा पनि युद्धको अवधिभर २२ जनाको ज्यान गएको थियो । मगर समुदायको अत्यधिक बाक्लो बसोबास भएको थबाङ, जेलबाङ, उवा, मिरुललगायतका गाउँ युद्धबाट प्रत्यक्ष प्रभावित भएका थिए भने सबैभन्दा बढी मानवीय क्षति पनि तिनै गाउँमा भएको थियो । ती गाउँमा मगर खाम भाषा संस्कृति, रहनसहन र चालचलन एउटै छ । आजभोलि द्वन्द्वकालमा सबैभन्दा धेरै शहीद भएको गाउँ जेलबाङ, ऐतिहासिक गाउँ थबाङ, द्वन्द्वमा प्रयोग गरिएका बंकर, युद्धकालमा तयार गरिएका जनवादी विद्यालय, जननमूना अस्पताल, जनसहकारी, जनकम्युन आदि युद्ध पर्यटनको रुपमा रहेका छन् ।

थबाङमा २०१२ सालमा कम्युनिष्टको बीजारोपण भएको थियो । कृष्ण झाँक्री नामका मुखिया (राजा) ले गाउँमा सुँगुर, बंगुर खुला नछोड्न आदेश गरे । झ्याली पिटाए र कटुवाललाई हाँक हाल्न समेत लगाए । तर गाउँलेले मुखियाको आदेशलाई टेरेनन् । गाउँको स्थिति फेरिएन । त्यसपछि मुखियाले सुँगुर, बंगुरलाई भरुवा बन्दुक, खुकुरी र भालाले हान्न थाले । विरोधमा बोल्ने हिम्मत कसैमा भएन । अत्याचार सहिसक्नु नभएपछि बर्मन बुढालगायतका युवा प्रतिकारमा उत्रिए । मुखियाले प्युठानबाट प्रहरी बोलाए । मुद्दा चल्यो, बर्मन जेल पुगे । बर्मन बुढालाई प्युठान कारागार पुर्याइयो । संयोगवश बर्मन बुढाको भेट कम्युनिष्ट नेता मोहनविक्रम सिंहसँग जेलमा भयो । मोहनविक्रमले उनलाई कम्युनिष्टको शिक्षा दिए । बर्मन थबाङ फर्केपछि थबाङमा कम्युनिष्ट राजनीति शुरु भयो । उनीपछि प्युठान कारागार पुगेका मुखिया कृष्ण झाँक्री पनि कम्युनिष्ट दीक्षित कार्यकर्ता भएर थबाङ फर्के । पछि जेलबाट छुटेका मोहनविक्रम थबाङ पुगेर कमिटी गठन गरी बर्मन बुढाको नाममा मुखिया (राजा) पद हस्तान्तरण गरेपछि थबाङमा कम्युनिष्ट राजनीतिको औपचारिक शुरुवात भएको हो ।

थबाङ पुग्ने ग्रामीण पर्यटकहरुको लागि यी सबै कुराहरु रुचिका साथ सोधखोज गर्ने गर्दछन् । थवाङमा अहिले होमस्टे सञ्चालनमा आएको छ । गाउँमा पुग्ने ग्रामीण पर्यटकहरुलाई खान बस्नको कुनै समस्या हुदैन । थबाङबाट चलाबाङ र तिरिबाङ हुँदै करिव ५ घन्टाको यात्रामा जलजला पुग्न सकिन्छ । जलजला पहाड सामुन्द्रिक सतहबाट ३ हजार १९३ मिटरको उचाइमा रहेको छ । जलजला पहाडमा लोपोन्मुख सेतो लालीगुराँसका फूल पाइन्छ । पौराणिक कथा अनुसार बाह्रभाई बराहको जन्म धौलागिरीमा भएको र त्यहीबाट जलजला पहाडमा २२ बहिनी बजुको आगमन भएको विश्वास गरिन्छ । त्यसैले कैलु बराहको पुजा गरेपछि २२ बहिनी रानी बज्यूहरुको पूजा गर्ने प्रचलन छ । रोल्पालीको मात्र नभएर जलजला मुलुककै धार्मिक र प्राकृतिक सम्पदा हो । जलजलामा तीनवटा बराहका मन्दिर रहेका छन् । जसलाई कैलु बराह, बजु बराह र सहदे बराह भन्ने गरिन्छ । प्रत्येक वर्षको वैशाख, जेठ र जनैपूणिमाको दिन यहा मेला पनि लाग्ने गर्दछ ।

जलजला पहाडमा दुर्लभ पंक्षी र वन्यजन्तुहरुको बसोबास पनि छ । यहाँ पाइने डाँफे, मुनाल, कालिज, प्युरा जस्ता पंक्षीहरुले जलजलालाई आफनो स्वरले त्यहाँ पुग्ने पर्यटकलाई स्वागत गरिरहेका हुन्छन् । त्यसैगरी जलजलामा घोरल, थार, मृग, बँदेल, भालुजस्ता जंगली जनावरहरु पनि पाइन्छन् । जलजला पहाडलाई दुर्लभ मानिने जटामसी, पदमचाल्ना, केशरनिङ जस्ता दर्जनौं जडिबुटीले पहाडको महत्व बढाएको छ । जलजला पहाड पछिल्लो समयमा नेपालको राजनीतिसँग पनि गाँसिएको छ । आजभोलि जलजला पहाडलाई राजनीतिक र बलिदानको केन्द्रको रुपमा लिने गरिएको छ । जलजला पहाडको शिरमा सहिद स्मृति स्तम्भ निर्माण गरिएको छ । अझै पनि जलजला पहाडमा राता हँसिया हथौडाका झण्डा फरफराएको देखिन्छ । जलजलाबाट रोल्पाको भूगोल मात्र होइन, रुकुम जिल्लाको सिस्ने हिमाल र अनगिन्ती लेक, बेँ सी र प्राकृतिक सौन्दर्यताको आनन्द लिन सकिन्छ ।

जलजलाको झाँक्री थान अर्थात कैलु बराह थानमा झाँक्री मगर पुजारी छन् । भने अरु मन्दिरमा रोका मगर पुजारी छन् । जलजलामा तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको रेडियो जनगणतन्त्र ९५.१ मेगाहर्ज दुई वर्षसम्म जलजलाबाट भूमिगतरुपमा प्रसारण गरिएको थियो । जलजला प्राकृतिक, धार्मिक र युद्ध पर्यटनको सम्भावना बोकेको पहाड हो । घाँसेमैदानी, दलदले क्षेत्रमा पानी जम्ने र जमिन हल्लिने भएकोले जलजला नयाँ पर्यटकहरुको लागि आकर्षणको केन्द्र बनेको छ । केही वर्ष अगाडिदेखि जलजलामा स्थानीय समुदायले चरिचराउ बन्द गरी संरक्षण गरिएको छ । यस क्षेत्रमा लोप हुन लागेको दुलर्भ रातो पाण्डासमेत संरक्षण भएको छ । चैतदेखि भदौसम्म प्राकृतिक फूलबारीमा रुपान्तरित हुने जलजला दर्जनौं प्रजातिका गुराँस फूलले राताम्य हुने गर्दछ । जलजलामा गुराँसलगायतका फूलहरु चैतदेखि भदौसम्म फुल्ने हुँदा जलजलामा बाह्रै महिना फूल देख्न सकिन्छ ।

थबाङमा अहिले कला र संस्कृतिलाई जगेर्ना गर्न स्थानीयबासी एवं राजनीतिक दलहरु लागिपरेका छन् । असार महिना थबाङमा मगर जातिको भूम्या पर्व शुरु हुन्छ । भूम्या पर्व रोगब्याधी नलागोस्, दैवीप्रकोपबाट बचियोस् र राम्रो अन्नबाली फलोस् भनेर मगर समुदायले मनाउने गर्दछन् । यो पर्व रोल्पाको जेलबाङ र थबाङ मात्र होइन, मगर जातिहरुको बस्ती भएको सबै गाउँमा मनाउने गर्दछन् । वर्षा शुरु हुनुभन्दा अगाडि प्रकृतिको पूजा गर्ने चलन १८ मगरात क्षेत्रमा बसोबास गर्ने मगरहरुको प्रचलन छ । मगरहरुले परम्परागत प्राकृतिक पूजा गरेपछि उनीहरु नाचगान र खानपिन गर्दछन् । विदेशमा बस्नेहरु पनि भूम्या पूजाको समयमा गाउँमा फर्कन्छन् । मगर भेषभूषामा सजिएर युवायुवती, बूढापाकाहरु आपसमा मिलेर विभिन्न बाजागाजा जस्तै दमाहा, टेम्को, ढोल, झर्रा, सनाई र झ्यालीको तालमा दिनभरि नाच्ने गर्छन् । रोल्पामा भूम्या जस्तै जस्तै नचारु, सिंगारु, मयुर, टप्पा समेतको नाच पनि देखाइन्छ ।

जलजला जाँदा बाटोमा ढकमक्क फुलेका फूलहरु, गुचुमुच्च मगरबस्ती, खोलानाला, पहाड र हरियाली वनजंगल यात्राको आनन्द बेग्लै हुन्छ । द्वन्द्वकालका अवशेषहरु, कम्युनहरु, गुरिल्लाहरुको तालिमस्थल, बंकर अनि द्वन्द्वका कथाहरु प्रशस्तै सुन्न र अवलोकन गर्न पाइन्छ । गुरिल्लाहरुले प्रयोग गरेका गोरेटाहरुमा यात्रा गर्दै विभिन्नथरिका फूलहरु, चराचुरुंगी, वनस्पति, छलछल बग्ने खोलानाला, अग्ला पहाड र झरनाहरुले त्यहाँ जाने ग्रामीण पर्यटकहरुलाई आनन्द दिलाउँछ । जलजलाबाट सिस्ने, पुठा, धौलागिरि, अन्नपूर्ण हिमश्रृंखलाहरुको दृश्यावलोकन पनि गर्न सकिन्छ । ग्रामीण पर्यटकमध्ये धेरै प्राकृतिक दृश्यावलोकन र मनोरञ्जनका लागि भ्रमण जाने गर्दछन् । रोल्पाको भ्रमणमा हिमाल, जंगल, नदी, छहरा, ग्रामीण बस्ती, जंगली जनावर र पन्क्षी अवलोकन गर्न सकिने धेरै मार्गहरु पर्दछन् ।

जलजला रोल्पा जिल्लाको चिनारी पनि हो । जलजला रोल्पाको उत्तरमा रहेको छ । रोल्पाका सबै स्थानीय तहहरुको छानोको रुपमा रहेको छ । यसले थबाङ, जेल्बाङ, उवा, मिरुल, कुरेली, राङकोट, राङसी, भाबाङ, जङकोट, ह्वामा, धाङसीधबाङ, गजुल, फगाम र जैमाकसलालाई घरको छानाले घपक्क ढाके झैं ढाकेको छ । प्राकृतिक सान्दैर्यताले भरिपूर्ण जलजलामा सौदर्यको विविधता पनि पाइन्छ । जलजला पहाडको उच्चस्थानमा पुगेर पनि त्यसको वरपर होचा र अग्ला लेकका चुच्चाहरु चढ्न निकै समय लाग्छ । त्यति अग्लो भएर पनि यसको बीच भागमा स्वच्छ पानीको मुहान छ । त्यहाँबाट बग्ने पानी जेल्बाङको उर्वर भूमि भएर बग्छ । जलजलामा रहेको घम्मिरेको लेक सबैभन्दा अग्लो लेक हो । त्यो पश्चिम दक्षिणतिर निकै ठाडो र भिरालो परेको छ भने पूर्व–उत्तरतिर भने रमणीय सम्म परेको सजिलो भूभाग रहेको छ । जलजलाको पूर्वमा निकै रमणीय विविधतायुक्त र रहस्य जस्ता लाग्ने ढुङ्गा, पखेरा र पहराहरु रहेका छन् । तर उत्तरतिर भने थवाङ र उवा गाउँमा जाने बाटाहरु केही भिरालो जमिन रहेको छ ।

गुरिल्ला पदमार्ग भर्खरै मात्रै पहिचान गरिएको नयाँ पदमार्ग हो । यो पदमार्गले रोल्पा, रुकुम, बागलुङ हुँदै म्याग्दी जिल्लाहरु समेत समेटेको छ । यस पदमार्गमा सुलीचौर, जेलबाङ, ओखरेनी, धरमपानी, जलजला, थबाङ, गुनाम, लुकुम, तकसेरा, निशेल्ढोर हुँदै जलजला, लम्सुम, ताकम, धारापानी हुँदै बेनी निस्कन सकिन्छ ।

यस्तै अर्को मार्गमा थबाङबाट धरमशाला, लाबाङ, रिशालचौर, पातिहाल्ने डाँडा हुँदै च्याङचुङ, भेरिडाँडा (चुनबाङ) हुँदै गैरीगाउँबाट घर्तीगाउँ निस्कन सकिन्छ ।

गुरिल्ला पदयात्रामा मगर संस्कृति, जैविक विविधता तथा प्राकृतिक सुन्दरताको अवलोकन गर्न सकिन्छ । यो पदयात्रामा विशाल फाँट, हरियाली जंगल अनि सेताम्य हिमालको दृश्य हेर्न पाइन्छ । यो पहाडी यात्रा प्राकृतिकमात्रै नभएर सांस्कृतिक एवं सामाजिक हिसाबले पनि रोचक मानिन्छ । कुनै समय द्वन्द्वको केन्द्रका रुपमा प्रख्यात रहेकोे रोल्पा रुकुमले अहिले विस्तारै पर्यटकीय सम्भावनाहरु खोज्न थालेका छन् । गाउँमा कच्ची भए पनि मोटर मार्ग निर्माण भएका छन् । गाउँमा पुग्ने पर्यटकहरुलाई सुविधा दिनको लागि कतै होमस्टे सन्चालनमा आएका छन् भने गाउँ घरमा ग्रामीण बजार र होटलहरु पनि खुल्दैछन् ।

दाङको घोराही–नुवागाउँको तिलासम्म ५६ कि.मि र घर्तिगाउँ हुँदै रुकुमको महत १७७ किमि पर्दछ भने घोराहीबाट घर्तीगाउँ हुँदै थबाङ सम्मको दूरी १३४ किलोमिटर पर्दछ । लिवाङदेखि घर्तीगाउँ हुँदै ७४ कि.मि.को. कच्ची सडक यात्रामा पनि थबाङ पुग्न सकिन्छ । अर्को मार्ग हो सुलिचौर—फुलिवन, रुइनिबाङ हुँदै थबाङ ५७ किलोमिटरको दूरी पर्दछ ।

सम्बन्धित समाचार