उद्घाटनको दिन ४ देखि ५ हजार मानिसहरूको उपस्थिति रहनेछ भने दोस्रो दिन १० हजार मानिस उपस्थित हुनेछन् ।
धादिङ । ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवम् पर्यटकीय स्थल जलमूखी मन्दिरलाई राष्ट्रिय एवम् अन्तराष्ट्रिय स्तरमा अगाडि सर्ने जमर्कोस्वरूप प्रथम जलमुखी धार्मिक तथा पर्यटन महोत्सव-२०७९ हुने भएको छ । फाल्गुन २१ गतेदेखि २३ गतेसम्म चल्ने सो महोत्सवमा राष्ट्रिय ख्यातिप्राप्त कलाकारसहित इन्द्रेणी टिमको उपस्थिति रहनेछ ।
महोत्सवको तयारी पुरा भइसकेको एवम् सो क्षेत्रका मानिसले मन्दिरको सामाजिक एवम् आर्थिक विकासमा टेवा पुर्याउन सरसहयोग गरिरहेको वडा नम्बर-६ का वडाध्यक्ष एवम् आयोजक समितिका संयोजक किशोर सेडाई बताए ।
“हामीले १५ लाख खर्चको अनुमान गरेका छौँ । उद्घाटनको दिन ४ देखि ५ हजार मानिसहरूको उपस्थिति रहनेछ भने दोस्रो दिन १० हजार मानिस उपस्थित हुने आंकलन गरेका छौँ”, उनले भने ।
सेडाईका अनुसार उद्घाटन समारोह मुख्यमन्त्री शालिकराम जमरकट्टेलको उपस्थिति रहेनछ भने दोस्रो दिन प्रमुख अतिथिको रूपमा प्रतिनिधि सांसद रामनाथ अधिकारिको उपस्थिति रहनेछ ।
ज्वालामुखी गाउँपालिका प्रायोजक रहेको यस महोत्सवमा जलमूखी मन्दिर संरक्षण समिति व्यवस्थापकको भूमिकामा रहेको छ भने ज्वालामुखी गाउँपालिका वडा नम्बर-६ र निलकन्ठ नगरपालिका वडा नम्बर-९ आयोजक रहनेछन् ।

जलमुखी गाउँपालिका वडा नम्बर ६ र नीलकण्ठ नगरपालिका वडा नम्बर ९ को सिमानामा अवस्थित यस ऐतिहासिक, धार्मिक यस मन्दिरको ऐतिहासिक, धार्मिक, एवम् सांस्कृतिक महत्त्व निकै छ । पालिकाको नाम् पनि यसै मन्दिरको नाउँबाट ‘जलमुखी’ रहनुपर्नेमा अन्यथा भई ‘ज्वालामुखी’ हुन् पुगेको हो ।