नुवाकोटका धामी वर्षमा एक पटक अनिवार्य रुपमा यस स्थानमा आउनु पर्दछ । जब धामी यस स्थानमा आई फर्कने क्रम रहन्छ त्यसबेला सबै मानिसहरु चकमन्न भई गाईवस्तु बाख्रा आदिलाई फोएर राखी फिर्ता पठाउने गरिन्छ ।
तपाई नुवाकोट जाँदै हुनुहुन्छ भने देवीघाट क्षेत्र (४६० मिटर उचाई) नछुटाउनुस् । देवीघाट क्षेत्रस्थित तादी–त्रिशूलीको सङ्गममा रहेको जाल्पादेवी मन्दिर, एकीकरणकर्ता पृथ्वीनारायण शाहको पार्थिव शरीर सेलाइएको ऐतिहासिक ढुंगा (चिता चट्टान) एवम् धामी-धमिनि जात्रा (सिन्दुरे जात्रा) का धार्मिक, ऐतिहासिक एवम् सांस्कृतिक विरासत तपाइँलाई नै पर्खि बसेको छ ।
सत्ययुगमा सतीदेवीको तल्लो ओठ पतन भएको जाल्पादेवीघाट
सत्ययुगमा सतीदेवीको तल्लो ओठ पतन भएको तादी-त्रिशूली सङ्गम जालपादेवीघाट यसै पनि महिमाशाली छ । जालपादेवीस्थलमा भैरवेश्वर महादेव किराँतेश्वरसमेत उत्पन्न भएको समेत पाइन्छ । त्रिशूली नदीपछिको सबैभन्दा ठूलो खोला तादी खालाको दायाँबायाँ देखिने खेतीयोग्य उर्वर फाँटहरूले हरकोहीलाइ लोभ्याउछ । साल, सल्ला, सिरिस, कटुस, चिलाउने, उत्तिस, कुट्मेरो, काभ्रो, टुनी आदि रुखविरुवाको सुसेली सुन्दै त्रिशुली-तादीको दोभानमा टहलिनु निकै आनन्ददायी हुन्छ । तादीको फाँटमा पहिले पहिले भोटबाट घोडा ल्याई बेच्ने गरिन्थ्यो, हाल सो देख्न पाइदैन ।
इतिहास:
विदुर नगरपालिका- ३ मा रहेको देवीघाट क्षेत्रलाई भोटभाषीहरूले ‘छावाछासो’ पनि भन्ने गर्छन् । देवीघाट भन्दा त्रिशुली र तादीको संगमस्थल मात्रै बुझिन्छ भने छावाचासो भन्नाले देवीघाटदेखि त्रिशुलीबजारसम्मको क्षेत्रलाई बुझाउछ । भोटबाट नेपाल आउनेक्रममा यहाँ आइपुग्दा अत्यन्त गर्मी हुने भएकोले यस स्थानलाई छावाछा अर्थात अत्यन्त गर्मी भनिएको लेखक मोहन कुमार तामाङ बताउँछन् । पवित्र पार्थना भार्छे लाम्सेल (मार्ग बाधानिवारिणी)मा यसको बयान पाइन्छ । नुवाकोटको ऐतिहासिक रुपरेखाम पुस्तकमा तादीको किनारमा पाइएको लिच्छविकालको अभिलेखमा कोट्ट शब्द परेको उल्लेख छ ।
देवीघाटको जालपा देवीको इतिहास खोज्दै जाँदा वि.सं. १८८३ को रुक्का पत्रसम्म पुगिन्छ, जहामीहरु जताततै घर बनाएर बसेको र उप्रान्त राजाले नै व्यवस्था गरेको भन्ने कुरा परेको छ । जलमा प्राप्त भएकोले देवीको नाम पनि जालपादेवी राखिएको मन्दिरका पुजारी रणबहादुर चित्रकार बताउँछन् । २०६६ साल वैशाख १ गते झन्डै चार रोपनी क्षेत्रफल परिसरमा निर्मित आधुनिक किलाकाँटाको जाल्पादेवी मन्दिरलाई चारैतर्फ कमान्ड तटबन्धको व्यवस्था छ । भजनकीर्तन गृह, धर्मशाला, गणेश मन्दिर, ज्येष्ठ नागरिक विश्रामस्थल, किरियापुत्री घर, वेद अध्ययन, विश्राम कुञ्जलगायत भगिनी शृङ्गारद्वारा जाल्पादेवी मन्दिरले पूर्णता पाएको छ ।
भैरवी गुठी अन्तर्गत रहेको देवीघाटमा चित्रकारहरुको एघार खान्की रहेको छ । अर्थात चित्रकारहरुले धामीलाई एघार प्रकारको खान्की बनाई बुझाउनु पर्ने रीत रहेको छ । विभिन्न चित्रकारहरुले फलफूल, रोटी आदि महिनै पिच्छे धामीलाई खान्की बुझाउनु पर्ने चलन थियो । त्यसैले देवीघाट वरिपरिको क्षेत्रलाई एघार भाइ चित्रकारहरुको मात्र जमिन र सम्पत्ती हो भन्ने गरेको पाइन्छ ।
किम्बदन्ती
देवीघाटका सन्दर्भमा २/३ वटा किम्बदन्तीहरू भेटिन्छन् ।
पहिलो किम्वदन्तीअनुसार, गणखारका एक राई (माझी)ले तादीखोलामा माछा मार्न जाल हान्दा दिनहूँ बारम्बार एउटै ढुँगो मात्र जालमा परिरह्यो । आज पनि त्यहि ढुंगा, भोलि पनि त्यहि ढुंगा परेकाले उनी चकित भएछन् । उसले पक्कै देवी हुन् भनेर दुई नदीको संगममा लगेर स्थापना गरेछन् । पछि राती सपनामा म देवी हुँ मलाई पूजा गर्नु भन्ने आदेश पाएछन् । त्यसपछि बोका लगेर त्यहाँ बलि दिन लैजाँदै गर्दा टाढा पर्ने भएकोले पट्टाबारीमा भोग दिन भनेर तयार भएछन् । तर भोग दिने समयमा काट्ने कुरा नभएकोले वित्याँस परेछ तर यत्तिकैमा एक जना ज्यापू (डंगोल) थरका मानिस पनि आइपुगे, उनैले बोकाको बली दिएछन् । त्यसपछि ती राईले ‘आज उप्रान्त तिमी धामी भयौ र हामी तिम्रा माइती भयौं’ भनेछन् । त्यसपछि ती डंगोल धामी कहलिए । आज पनि यहाँ डंगोल थरका धामी र देवीघाटको पुजारीे चित्रकार रहेका छन् । आजसम्म पनि राईहरु माइती भएकोले ५ वटा जन्तुहरु हाँस, माछा, बोका, राँगा र कुखुरा बैशाख पूर्णिमाको दिनमा ल्याई पूजा गर्ने गरेको र नुवाकोटका धामीलाई जिउँदो भैरवको रुपमा मान्ने चलन अद्यपि छँदैछ । गणखारका मानिसहरु आएको बेलामा त्यहाँका पूजारीहरुले समेत बाटो छाड्नु पर्ने थिती रहेको बताइन्छ ।
अर्को किंवदन्ति अनुसार, दनुवारले रातभर जाल खेल्दै आउँदा त्रिवेणीमा आई पुग्दा उज्यालो भएको र थकाईले त्यही पल्टदा सपनामा ‘म देवी हुँ, त्यसकारण मलाई स्थापना गरेस् र जो मानिस पहिले यहाँ आउँछ, त्यस मानिसलाई भोग दिन लगाउनु’ भन्ने आदेश भएको र त्यसै अनुसार ज्यापु भेटिएको र सोही व्यक्तिले भोग दिई पूजा गरेको भन्ने कथन पनि पाइन्छ । अर्को तिर धामी भएर त्यही ज्यापु रहेको र धमिनीको रुपमा देवी रहेको किंवदन्ति समेत पाइन्छ । यसरी नुवाकोटका धामी वर्षमा एक पटक अनिवार्य रुपमा यस स्थानमा आउनु पर्दछ । वर्षमा एक पटक भन्दा बढी धामी आउन नपाउने थिति रहेको कुरा पनि स्थानीयहरु बताउँछन् । जब धामी यस स्थानमा आई फर्कने क्रम रहन्छ त्यसबेला सबै मानिसहरु चकमन्न भई गाईवस्तु बाख्रा आदिलाई फोएर राखी फिर्ता पठाउने गरिन्छ । त्यसबेलामा धामीलाई हेरेमा मृत्यु हुने भन्ने कहावत रहेकोले कसैले नहेर्ने गरेको प्रचलन रहेको स्थानीय पूजारीहरु बताउँछन् । ‘धामी फर्कने बेलामा कटुवालले अब धामी जाने बेला भयो, सबैले ढोका थुनेर बस्नु र गाईबस्तुलाई नबाँध्नु’ भनि उर्दि लगाउने गरेको समेत पाइन्छ । र धामी उल्टो पाउ गरी नुवाकोट तर्फ लाग्ने गरेको कुरा पाइन्छ ।
तेस्रो किंवदन्तीअनुसार, एकपटक काठमाडौँबाट एक बोरा खुर्सानी बेच्न त्रिशूली पुगेका डंगोल थरका ज्यापूले खुर्सानीको बोरा तादी–त्रिशूली दोभानमा बिसाएर सुस्ताइरहेको बेलामा उसको शरीरमा नुवाकोट भैरवी प्रकट भई पुजारी धामी राख्ने आदेश दिइछन् । नुवाकोट दरबारका द्वारेले त्यस डंगोललाई भैरवीका पुजारी धामीमा नियुक्त गरेछन् । धामीलाई पूर्व–दक्षिण तादी, पश्चिम त्रिशूली, उत्तरमा भैरवी क्षेत्र नाघेर गाउँबाट बाहिर जान नपाइने प्रतिबन्ध लगाइदिएछ । द्वारेले छानिदिएको धमिनीसँग त्यस धामीले विवाह गर्नुपर्ने नियम बसाइयो । प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाको अघिल्लो दिनदेखि पाँच दिनसम्म मनाइने भैरवी जात्रामा धामी र धमिनीले भाग लिनुपर्छ ।
दुवै नदी सङ्गममा जलहाँस बथान पौडिरहेको अवस्थामा घुँडासम्मको पानी ओढेर नदीमा जालहान्ने जलेरी अथवा माझीको पासो जालमा जब एउटा पोथी हाँस पर्छ, त्यही पोथी हाँससँगै आफू देवी अवतार भएको रहस्यसहित साक्षात्कार देवी भगवती अवतार बनेर एकाएक झुल्किँदा झस्किएका माझीहरू उनको शरण पर्छन् । देवीको तथास्तु आशीर्वादपछि माझीले पापबाट मुक्ति पाएको धार्मिक किंवदन्ती पनि प्रचलित नै मानिन्छ ।
कसरी पुग्ने ?
जालपादेविघाट (छावाछासो) जानका लागि विभिन्न बाटाहरु रहेकाछन् । जसमध्ये ककनी हुँदै जान सकिने छ भने अर्को टोखा झोर महाँकाल हुँदै पनि जाने बाटो रहेको छ । अर्को गल्छी पुगेर दायाँ उत्तर मोडिँदै त्रिशूली–माईखोला सङ्गम स्थानेश्वर मन्दिर- तारुकाधाम- केउरेनी- रातामाटे हुँदै जान सकिन्छ । सबै बाटाहरु सडकमार्ग हुन् तर बाटोहरू अवस्था राम्रो छैन ।
स्रोत-सन्दर्भ:
छावाछासो (देवीघाट): एक अध्ययन- मोहन कुमार तामाङ, गुरु पद्मसंभव रिसर्च सेन्टर प्रा.लि.
नुवाकोटको भैरवी र जीवित देवता धामीको जात्रा- प्रेममान डंगोल
जाल्पादेवीलाई नमस्कार, हेमराज पाण्डे, गोरखापत्र
नुवाकोटको ऐतिहासिक रुपरेखा, टेकबहादुर श्रेष्ठ