पार्टी अध्यक्ष प्रचण्डले आइतबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई अर्थमन्त्री बनाउन सिफारिस गरेका छन् ।
काठमाडौं । बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई संलग्न गराएको आरोपपछि राजीनामा दिएका पूर्व अर्थमन्त्री जनार्दन शर्मा आज पुनः अर्थमन्त्री बन्ने भएका छन् । नेकपा माओवादी केन्द्रका नेता शर्माले आजै पुनः अर्थमन्त्रीको सपथ लिने भएका छन् ।
पार्टी अध्यक्ष प्रचण्डले आइतबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई अर्थमन्त्री बनाउन सिफारिस गरेका छन् । प्रधानमन्त्रीले शर्माको नाम शितल निवास पठाएपछि राष्ट्रपतिबाट आजै उनले पद तथा गोपनियताको सपथ लिनेछन् ।
आर्थिक वर्ष २०७९्र८० को बजेट पेश गर्ने अघिल्लो दिन करका दर हेरफेर गराउन अनाधिकृत व्यक्ति ल्याएको भन्ने आरोप लागेपछि तत्कालीन अर्थमन्त्री शर्माले असार २२ गते पदबाट राजीनामा दिएका थिए ।
सोही दिन उनीमाथि छानबिन गर्न संसदीय विशेष समिति बनेको थियो । समितिले शुक्रबार आफ्नो प्रतिवेदन बुझाएको हो। अनाधिकृत व्यक्ति प्रवेश गरेको प्रमाण नभेटिएको समितिको निष्कर्ष छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदले भने फरक मत बुझाएका छन् । समितिले बहुमतका आधारमा प्रतिवेदन बुझाएको हो ।
अर्थमन्त्री शर्माको असक्षमताकै कारण अर्थतन्त्र टाट पल्टिन थालेको आरोप लागिरहेको र बजेट निर्माणमा पनि अनधिकृत व्यक्तिलाई पहुँच दिएर करका दर हेरफेर गराएको आरोप लागेका उनलाई पुनः मन्त्रालयमा फर्काउन लागेका हुन् ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले शर्माको क्षमतामाथि प्रश्न उठाउँदै आएका छन् ।