शनिबार , मंग्सिर २३, २०८०

प्रारम्भमा जननेन्द्रियसित सम्बद्ध थियो लिङ्गको उपासना !

सिन्धु उपत्यकामा मात्र होइन संसारका अन्य सभ्य समाजमा पनि पाइन्छ जननेन्द्रियको उपासना गर्ने प्रथा । पार्थिव जीवनको आधारभूत प्रजननप्रक्रियाले निकै प्रभावित पारेको अनुमान हुन्छ आदिमानवको मस्तिष्कमा । मैथुनक्रियालाई नै धनधान्यका अभिवृद्धिको कार्यकारण मान्यो मानवको अप्रौढ विवेकले ।

image

– जनकलाल शर्मा 

हाम्रो समाजमा बराबर प्रयुक्त हुने हुन् शब्द हुन्- सभ्यता र संस्कृति । दुवै शब्द समानार्थक हुन् कि भन्ने पनि भ्रम सृष्टि हुन्छ यदाकदा । वास्तवमा भन्ने हो भने बेग्लाबेग्लै अर्थ बोकेका शब्द हुन् यी । सभ्यताले मानवको भौतिक उन्नतिलाई बुझाउँछ भने संस्कृतिले आध्यात्मिक उन्नतिलाई । अत: यी समानार्थकजस्ता देखिए पनि समानार्थक होइनन् भन्ने बुझ्नुपर्दछ हामीले ।
पुरातात्त्विक खोजको शताब्दी भनेमा कुनै अत्युक्त्ति हुनेछैन बितेको एक शताब्दी वा त्यसभन्दा केहि अधिक समयलाई । यसबीच जुन अन्वेषण-अनुसन्धान भए तिनबाट दुई महत्त्वपूर्ण कुरा प्रस्तुत गरे हाम्रा सामने अन्वेषकहरूले । हाम्रो प्राय:द्वीप संसारका अन्य भागबाट अलग रहेको हुँदा यस क्षेत्रले आफ्नै मौलिक परम्पराको संस्कृति सिर्जना गर्यो भन्ने एक थरी भए भने अर्का थरीले यस प्राय:द्वीपमा संसारका विभिन्न भागबाट आएका मानिसको बसोबास भएको हुँदा ती सबैको सामूहिक प्रयासबाट एउटा यस्तो संस्कृतिको जन्म भयो जसलाई यस भूभागको मौलिक संस्कृति भनियो । पहिलो तर्क अतिराष्ट्रवादद्वारा प्रेरित छ भने दोस्रो तर्क विषयवस्तुका समीप पुगेको अनुमान हुन्छ ।
आर्यको आगमनभन्दा पहिले यस भूखण्डमा कुनै अर्कै जाति निवास गर्थ्यो भन्ने कुरालाई सिद्ध गरिसकेको छ सिन्धु उपत्यकाको पुरातात्त्विक अनुसन्धानले । पहिलो तर्क प्रस्तुत गरिएको हो यसैलाई आधार बनाएर । यै सभ्यता यस भूखण्डको इतिश्री हो भनेर ठोकुवा गर्न भने सकिदैन, सिन्धुसभ्यता महत्त्वपूर्ण आधार हो भन्ने कुरामा दुईमत नभए तापनि । त्यसको समानान्तर नै आर्यसभ्यता र संस्कृतिले पनि विकास गर्दै गएको पाइन्छ अर्कातिर । सिन्धुसभ्यताका केही मान्यता आर्यसंस्कृतिमा पनि पाउन सक्तछौ, त्यो हो अवश्य नै । त्यसको एउटा उदाहरण हो शिवको उपसना नै । अनार्देयवता हुन् शिव आयदेवता नभएर । लिङ्गको उपासनालाई बढी महत्व दिइन्छ शैवधर्ममा । प्रारम्भमा जननेन्द्रियसित सम्बद्ध थियो लिङ्गको उपासना । केही विद्वान्हरूने कटु आलोचनाका साथ खण्डन पनि गरेका छन् तर यस मतलाई । शिवलिङ्गको सम्बन्ध जननेन्द्रियसित छैन पनि भनेका छन् ती खण्डनकारीहरूले । आफ्ना तर्कको आधार बनाएका छन् पछिल्लो कालको पौराणिक साहित्यलाई उनीहरूले । वैदिक साहित्यमा लिङ्गपूजाको कतै चर्चा छैन पनि भनेका छन् साथसाथै । अब प्रश्न उठ्छ के ती विद्वान्‌का मत अकाट्य हुन् त ? त्यो कदापि होइन । दक्षिण भारतमा रहेको गुडिमल्लमको यथार्थरूपी लिङ्गको दर्शनले पनि खण्डन गर्दछ उनीहरूका मतलाई । शिवको उपासनामा असन्दिग्ध रूपले जननेन्द्रियको उपासना गर्ने कुराको वर्णन पाइन्छ, यसबाहेक महाभारतजस्तो प्रामाणिक ग्रन्थमा पनि । त्यसै कारण त अरू देवतालाई भन्दा पृथक र अद्वितीय मानिएको हो शिवलाई । अरू देवताको लिङ्गोपासना कतै हुँदैन शिवको जस्तो । त्यसै कारण त अद्वितीय हुन पुगे शिव । वैदिक साहित्यमा लिङ्गोपासनाको अर्थात् जननेन्द्रियको उपासना गर्ने चर्चा छैन भन्ने जुन कुरा भनिन्छ त्यो पनि सत्य प्रतीत हुँदैन वेदको अध्ययन गर्दै जाँदा । आर्यहरूले अनार्यलाई दुई ठाउं ‘शिश्नदेवा:’ अर्थात् पुरुषजननेन्द्रियको पूजक भनेको पाइन्छ ऋग्वेदमा-
समर्थ नयाँ विषुणस्य जन्तोम शिश्नदेवा अपि तनः ।
———————————————-
नव यच्छतवरस्य वेदोनटिन देव अभि पर्वसाभूत् । (ऋग्वेद ७/२१, ५ र १०/२२, ३)
आर्यहरूमा लिङ्गोपासनाको प्रथा नभए पनि अनार्यमा यो प्रथा कायमै देखिन्छ ऋग्वेदको यस उदाहरणबाट । सम्भवतः सिन्धु उपत्यकावासी अनार्यलाई नै सङ्केत गरेको हुन सक्तछ आर्यहरूले । त्यस समय सिन्धु सभ्यताको चरमोत्कर्ष भइसकेको थियो जुन समय आर्यको प्रथम प्रवेश सिन्धुको आसपासमा भयो । सिन्धु उपत्यकामा मात्र होइन संसारका अन्य सभ्य समाजमा पनि पाइन्छ जननेन्द्रियको उपासना गर्ने प्रथा । पार्थिव जीवनको आधारभूत प्रजननप्रक्रियाले निकै प्रभावित पारेको अनुमान हुन्छ आदिमानवको मस्तिष्कमा । मैथुनक्रियालाई नै धनधान्यका अभिवृद्धिको कार्यकारण मान्यो मानवको अप्रौढ विवेकले । लिङ्गोपासनाको प्रादुर्भाव भयो जसको एउटा रूप जननेन्द्रियको उपासना हो यसै भावनाको परिणामस्वरूप । मानवमस्तिष्कले मान्यता दियो जननेन्द्रियबाट हुने सम्पन्नता वा उर्वरतालाई । प्राचीन संसारका धेरै समाज प्रभावित भए त्यसबाट । धार्मिक रूपमा सर्वत्र फैलिन गयो त्यसै कारण प्राचीन समयमा यो प्रथा । यस प्रकार जब प्रजनन प्रक्रियाले धार्मिक सम्मान पायो त्यस अवस्थामा त्यसले आदर पाउनु स्वाभाविक पनि भयो समाजमा रहस्यमय शक्तिका रूपमा । त्यसको पूजा स्वतः हुने कुरामा कुनै सन्देह रहेन रहस्यमय शक्ति मानेपछि । लिङ्गको मात्र होइन, योनिको पनि पूजा वा उपासना प्रचलनमा आयो यस्तै मान्यताको प्रभावले गर्दा । लिङ्गको मात्र कुनै महत्त्व छैन प्रजननका लागि । लिङ्गका साथ योनि हुनु अनिवार्य देखियो त्यसका लागि । अप्रत्यक्ष रूपमा भए पनि योनि उपस्थित भएकै हुन्छ। लिङ्गको उपासना भएपछि ।
मिस्रका निवासीहरू लिङ्गपूजक थिए प्राचीन समयमा । यथार्थ रूपको विशाल लिङ्ग बनाएर नगरपरिक्रमा गराउथे वर्षको एक पटक अनिवार्य रूपले त्यहाँ । त्यसलाई गति दिन कृत्रिम यन्त्रको सहयोग लिइन्थ्यो आवश्यक परेका खण्डमा । प्राचीन मिस्रमा मात्र सीमित रहेन यो कुरा । यथार्थरूपी लिङ्गको निर्माण गरेर नगरका प्रसिद्ध मार्गमा प्रदर्शित गर्दथे प्राचीन जापानका निवासीहरू पनि । लिङ्गोपासनाको प्रभाव अन्यत्र जहाँ देखिए पनि प्रमुख स्थान ओगटेको थियो पश्चिम एसियाले नै, जुन धरतीमा बेबिलोन र असिरियनहरूको महान् सभ्यताको जन्म भएर फल्ने फुल्ने मौका पायो । यस प्रदेशका एक छेउदेखि अर्को छेउसम्म कुनै न कुनै देवताको उपासनामा लिङ्ग वा जननेन्द्रियका प्रतीकको पूजा हुन्थ्यो । यदि हामीले यसको अन्वेषण उत्तरबाट प्रारम्भ गर्यौं भने सबभन्दा पहिले ग्रिस देशको त्यस देवताको परिचय पाउँछौँ जसको उपासनाको प्रचार पश्चिम एसियामा सम्भवतः त्यस समय भयो जुन समयमा फिर्गियन (Phyrgian) जाति त्यहाँ गएर बस्यो र पछि त्यै देवता ग्रिसमा पनि डायोनिसस (Dionysus) का नामले पुजिन थाल्यो । डायोनिसस सम्पन्नता वा उर्वरतासम्बन्धी देवता थियो । त्यो उर्वरा पृथ्वीको देवता हो र जसको उष्णता र रसको संयोजनबाट जीवन सञ्चार हुन्छ भन्ने विश्वास त्यहाँ थियो । त्यस्ता देवताको प्रजननशक्तिको प्रतीकका रूपमा लिङ्गमूर्तिको उपासना त्यहाँ हुन्थ्यो र ग्रिकहरूले लिङ्गमूर्तिको पूजा वा उपासना गर्ने समस्त आधार अर्थात् देवता र त्यसको उपासना ग्रहण गरेका हुन् पश्चिम एसियाबाटै । ‘असेरह’ नामक देवताको उपासना हुन्थ्यो असिरियामा । ‘बाअल’ (Baal) देवता र ‘अस्तोरेथ’ (Ashtoreth) देवीको संयुक्त प्रतीक मानिन्थ्यो यो । ‘बेबिलोन’ र ‘निनवेह’ मा पनि पाइएका छन् यस देवताका प्रतीकका नमुना । यसका उपासनाको प्रचार सानो वा सीमित क्षेत्रमा मात्र नभएर ठूलो क्षेत्रमा फैलिएको थियो भन्ने अनुमान सहजै गर्न सकिन्छ यसबाट ।
असिरियाभन्दा केही दक्षिणमा पर्ने बेबिलोनमा गयो भने त्यहाँकी देवी ‘इस्तर’ (Ishtar) र उसका पति देवताको उपासनामा पनि लिङ्गोपासनाका यस्तै सक्तछौँ हामी । ‘इतर’ को स्तुतिगानमा दुईओटा योनिमूर्ति चढाउने कुराको उल्लेख पाइन्छ त्यहाँ । ‘सल्ला’ नामले पुकारिन्छ यस्ता योनिमूर्तिलाई । एउटा नीलमणिको र एउटा सुनको थियो सल्ला भनिने मूर्ति । अत्यन्त पवित्र र महत्त्वपूर्ण मानिन्छन् यी दुबै देवीका मूर्तिहरू |लिङ्गपूजा र  ‘इस्तर का उपासनाको प्रचार दक्षिण र दक्षिणपूर्वका देश अरब तथा इरानमा समेत व्याप्त थियो त्यस समय । ग्रिक इतिहासकार हेरोडोटसको रचनामा पनि पाइन्छ यसको उल्लेख । अरबहरू ‘इस्तर’ लाई ‘अलिलत’ र इरानीहरू ‘मित्रा’ भन्दथे हेरोडोटसका अनुसार । ‘इस्तर’ लई ‘मित्रा’ भन्नुको तात्पर्य सम्भवतः उनीहरूका प्राचीन देवता ‘मित्र’ की पत्नी मानेर नै यसलाई ‘मित्रा’ भनेको हुन सक्तछ इरानीहरूले । इरानको प्राचीन धर्ममा यस प्रकारका देवदेवीको सम्मिश्रण पहिले नै भइसकेको अनुमान सहजै हुन्छ यसबाट ।
यो त भयो हाम्रो प्रायः द्वीपभन्दा बाहिरको कुरा । सिन्धु उपत्यकाका महेन्जोदारो र अन्य स्थानमा जुन वस्तु पुरातात्त्विक अन्वेषण उत्खननबाट प्राप्त भएका छन् त्यसबाट त्यहाँका समयका जनताले पनि पहिले चर्चा गरिएजस्तै देवदेवीको उपासना गर्दथे । सिन्धु उपत्यकामा जुन-जुन ठाउँमा पुरातात्विक उत्खनन भयो त्यहाँ पाको माटाका साना साना नारीमूर्ति प्राप्त भएका छन्, जो सम्भवतः तिनै देवीका हुन् । यस्ता पाका माटाका नारीमूर्ति निजी पूजाका लागि नै निर्मित हुन्थे । त्यति मात्र होइन, जसरी पश्चिम एसियामा त्यस्ता देवीका साथ पुरुष देवताको पनि सम्बन्ध हुन्थ्यो त्यसै प्रकार यहाँ पनि पुरुष देवता सम्बद्ध भएको पाउँदछौं हामी । माटाका मूर्ति मात्र होइन प्रस्तरका लिङ्गप्रतीक पनि पाइएका छन् सिन्धु उपत्यकामा त्यसै प्रकारका । सिन्धु उपत्यकामा पनि लिङ्गोपासनाको व्यापक प्रचार थियो भन्न सकिन्छ यसै कारणले गर्दा । जननेन्द्रियसित नै सम्बन्ध थियो भन्ने कुरामा कुनै सन्देह छैन यस्ता प्रतीकको । यिनमध्ये केही यथार्थ वा स्पष्टतया लिङ्गकै आकारका छन् भने केही छन् प्रतीकका रूपमा । लिङ्गको यथार्थ रूप प्रतीकका रूपमा जाँदा रूढिगत पनि भइसकेको पाउन सकिन्छ यस समयसम्म । केही प्रस्तरका अन्य प्रतीक पति प्राप्त भएका छन् सिन्धु उपत्यकामा जसलाई सामूहिक प्रतीक मान्न सकिन्छ लिङ्ग र योनिको । पश्चिम एसियाजस्तै यहाँ पनि लिङ्गोपासनाको सम्बन्ध देवी र उसको सहचर पुरुषको एकसाथ उपासनासित संलग्न छ भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ यसबाट । यहाँ पाइएका चित्रलिपिको अध्ययन हुन सकेको छैन अहिलेसम्म । सिन्धु सभ्यताको धर्मका विषयमा सन्देह गर्ने ठाउँ छैन भनेर ठोकुवा गर्न सकिँदैन त्यसै कारणले गर्दा । पश्चिम एसिया र यहाँको उपासनापद्धति र देवदेवी भने एकै प्रकारका थिए भनेर सहजै भन्न सक्तछौं तर ।
आर्यहरूको प्रवेशभन्दा पहिले अर्कै जाति निवास गर्थ्यो हाम्रो प्रायः द्वीपमा । अनार्य भन्ने संज्ञा दिए आर्यहरूले आफूभन्दा भिन्न त्यहाँका निवासीलाई । हाम्रो प्रायः द्वीपको पश्चिमी भागबाट भएको मानिन्छ वैदिक आर्यको प्रवेश । एउटा सभ्य जातिको विकास भइसकेको थियो त्यहाँ सिन्धु उपत्यकामा आर्यहरू आउनुभन्दा पहिले नै । नागरसभ्यतामा पनि निष्णात थियो त्यो अनार्य भन्ने कुरा प्रमाणित गरिसकेका छन् सिन्धु उपत्यकामा पाइएका पुरातात्त्विक अवशेषले । वैदिक आर्यको प्रवेश इसापूर्व २५०० हो भन्ने कुरामा सहमत छन् धेरै विद्वान्हरू । तर विचारयोग्य प्रश्न पनि छ यहाँ महेन्जोदारोमा एउटा माटाको टिकियाका रूपमा यस्तो वस्तु पाइएको छ जसले ‘सुमेरु बेबिलोन’ मा पाइने वस्तुसित समानता राख्तछ । यसको कालनिर्णय इसापूर्व २८००-२६०० गरिएको छ । आर्यहरूको प्रवेशभन्दा पहिले नै विकसित भइसकेको थियो सिन्धु उपत्यकाका सभ्यता भन्ने प्रमाणित हुन्छ यसबाट पनि । यहाँका बासिन्दासित घुलमिल गर्ने प्रयत्नमा लागे सम्भवतः आर्यहरू पहिले । युद्ध गर्न तम्सिए अन्त्यमा गएर । जित भयो आर्यको र पराजित भए अनार्यहरू । ऋग्वेदको अध्ययनले देखाउँछ वास, दस्यु भनिने आर्यका शत्रु निपुण थिए नागरसभ्यतामा ।
अध्वर्यवो यः शतं शम्बरस्य पुरो विभेवाश्मनैव पूर्वीः । (ऋग्वेद २/१४, ६)
उनीहरूमा पाइने आफ्नो भन्दा भिन्न गुणको पनि चर्चा गरेका छन् आर्यहरूले आफ्ना शत्रुको वर्णन गर्दा । पुरुषजननेन्द्रियको पूजा गर्ने ‘शिश्नदेवा:’ भनेका छन् वैदिक आर्यहरूले आफ्ना शत्रुलाई ऋग्वेदको दुई ठाउँमा, जसको चर्चा भइसकेको छ पहिले नै । पुरुषजननेन्द्रियका उपासक भन्नु बिलकुलै सुहाउने कुरा हो आर्यहरूले सिन्धु उपत्यकाका आफ्ना शत्रुलाई । जननेन्द्रियको उपासना यहाँ हुन्थ्यो भन्ने कुराको चर्चा भइसकेको छ पहिले नै ।
A woman worships a Shivalinga; 19th century folio, Rajasthan (Photo: Alamy)

A woman worships a Shivalinga; 19th century folio, Rajasthan (Photo: Alamy)

यी दुवै जाति एकअर्काका पूरक हुँदै गए आर्यहरूको विजयपछि । आर्यसंस्कृतिको प्रभाव अनार्यसंस्कृतिमा पर्यो भने अनार्यका अनेक कुरा अपनाए आर्यहरूले पनि । सिन्धु उपत्यकामा प्रचलित अनार्य देवीदेवता वैदिक आर्यका देवीदेवताको सूचीमा समाविष्ट भएर त्यसैमा आत्मसात् पनि भए त्यसै कारणले गर्दा । सिन्धु उपत्यकामा एउटी देवीको उपासनाका साथसाथै पुरुष देवताको उपासना हुन्छ भन्ने चर्चा गरेका थियौं प्रसङ्गवश हामीले । सम्भवतः उसै देवीको पनि हुन सक्तछ त्यो पनि भनेका थियौं त्यहाँ । देवीको पति हुनासाथ स्वाभाविक नै भयो त्यसको सम्बन्ध सम्पन्नता वा उर्वरतासित हुनु । मिस्रमा ‘ओसिरिस’ (Osiris) वा बेबिलोनमा ‘इस्तर’ देवीको सहचर ‘ताम्मुज’ (Tammua) को जस्तै हुँदो हो यस देवताको स्थिति । एउटा सिल (Seal) वा छाप चित्र पाइएको छ सिन्धु उपत्यकामा । यो हो पुरुष देवताको प्रतिमा । एउटा बाघ, एउटा हात्ती, एउटा गैंडा र एउटा महिष देखाइएको छ यसका दुवैतिर अगलबगलमा । बस्ने आसन अर्थात् सिंहासनको भन्दा तल देखाइएको छ अगाडिपट्टि एउटा मृग । पशुका बीचमा त्यस देवतालाई यसप्रकार प्रदर्शित गर्नुको तात्पर्य हो पशुको मालिक भन्ने । पशुको मालिक भन्नु नै पशुको रक्षक हो त्यो पशुको रक्षक भन्नासाथ पशुपति भन्ने स्वतः बुझ्नुपर्दछ हामीले । यै अनार्यदेवता पशुपतिको नामले विख्यात भयो पछि शिव अर्थात् कल्याणकारकका रूपमा । यस्ता देवताले समानता राख्तछ वैदिक रुद्रसँग । अनेक प्रकारको समानता थियो होला भन्ने अनुमान हुन्छ यसबाहेक पनि यिनमा । सिन्धु उपत्यकावासी अनार्यको क्रमशः सम्मिश्रण हुँदै गयो वैदिक आर्यसित । अनार्यदेवता स्वतः वैदिक रुद्रका साथ आत्मसात् हुदै गए समयको मागअनुसार । त्यस्ता देवताका उपासक मानिन थाले वैदिक रुद्रका उपासक । कुनै असाधारण त थिएन यो आत्मसात् हुने प्रक्रिया तर निकै दूरगामी हुन पुग्यो त्यसको परिणाम अर्कै कुरा हो त्यो ।
हामीले जुन देवतालाई पशुपतिको संज्ञा दियौं त्यसैको चर्चा गरौं प्रसङ्गवश पहिले । अधोभागमा हेरे ‘ऊर्ध्वशिश्न’ वा ‘ऊर्ध्वमेद’ का रूपमा देख्न सकिन्छ त्यस पुरुष देवतालाई । पुरुषजननेन्द्रियलाई बढी महत्त्व दिएर टड्कारो देखिने खालको बनाइएको छैन यद्यपि । ध्यान दिएर हेर्दा स्पष्ट नदेखिने पनि छैन तर । सानो छाप मूर्तिमा पर्याप्त हुन्छ यति देखिनु नै । त्यस समयका सिन्धु उपत्यकावासीहरू लिङ्गोपासक थिए भन्ने कुरालाई प्रमाणित गर्न बल मिल्न जान्छ यसबाट पनि । त्रिमूर्ति देखाइएको छ यस सिल वा छाप चित्रमा भएको देवतालाई । जुन समय यसलाई वैदिक देवता रुद्रका साथ आत्मसात् गरियो त्यसै समयदेखि लिङ्गोपासनाको प्रथाले प्रवेश पायो आर्यहरूमा पनि । लिङ्गोपासकलाई हेला गरेर आर्यहरूले जुन ‘शिश्नदेवा:’ भनेर सम्बोधित गर्ने त्यै प्रक्रिया पछि गएर प्रिय वस्तु हुन पुग्यो आर्यहरूको । जननेन्द्रिय वा लिङ्गको उपासना केवल सिन्धु उपत्यकामा मात्र होइन अपितु संसारको अन्य ठूलो भूभागमा पनि फैलिएको थियो भन्ने चर्चा पहिले नै गरेका थियौं हामीले । लिङ्गोपासना स्वीकार गरे पनि त्यसलाई आफ्नो अनुकूल बनाउँदै गए आर्यहरूले । आर्यहरूको परिवर्तनशील विचारको प्रभावमा यसको परिवर्तन हुनु स्वाभाविक थियो र भयो पनि मूल धार्मिक विचारधाराको पृष्ठभूमि यसमा नभएको हुँदा । भित्रि चुरोमा परिवर्तन आउनु स्वाभाविक नै थियो आर्यहरूले यसको बाहिरी रूपलाई परिवर्तित नगरे पनि । त्यसैकारण त पुरानो जनेन्द्रियको प्रत्यक्ष पूजा वा उपासना बदलिंदै गएर जननेन्द्रियका साधरण प्रतीक मात्र पूजिन थाले, जसले गर्दा पुरुष जनेन्द्रियको प्रतीक शिवलिङ्ग र नारी जनेन्द्रियको प्रतीक जलहरी जस्ता वस्तु बन्दै गए । चिन्नै नसकिने अवस्था पनि पुग्यो यिनको रूप कति ठाउँ त । शिवलिङ्गमा भएको ब्रम्हसूत्रले पौरुषत्वलाई छुट्टाएको देखिन्छ भने जलहरीको अन्तिम भागमा भएको नारीगुप्ताङ्गोष्ठजस्तो आकारले मात्र त गरेको पाइन्छ । यस्ता चिन्हको पनि अभाव हुन्छ र कल्पनामा काम लिनुपर्दछ अधिकांश: ठाउँमा त । वैदिक रुद्रका साथ पुग्यो त्यो र त्यसमा अर्थात् वैदिक धर्म एउटा देवीको उपासना थपिन आयो सिन्धु उपत्यकाका पुरुष देवताको उपासनाका साथमा आर्यहरूको सम्बन्ध हुनासाथै । सिन्धु उपत्यकाको पुरुष देवताको उपासना देवीको उपासनासित सम्बन्ध राख्तथ्यो भनेको थियौँ प्रसंगवश पहिले नै । आर्य्का देवता रुद्रले जुन समय सिन्धु उपत्यकाको पुरुष देवतालाई आत्मसात् गर्यो त्यस अवस्थामा सिन्धु उपत्यकाकी देवीको रूप आर्यहरूकी देवी ‘अम्बिका’का साथ मिल्न आयो । सिन्धु उपत्यकाका देवदेवीको सम्बन्ध पतिपत्नीको भएपनि रुद्रको अम्बिकासितको सम्बन्ध दाजुबहिनीको देखिन्छ ।
एक ते रुद्रभागः सह स्वस्राम्बकया । (शुक्लयजुर्वेद ३/५७)
यस प्रकार रुद्र र अम्बिकाको सम्बन्ध दाजुबहिनीको देखिएपछि पुरुष-नारीका रूपमा कसरी एकसाथ प्रतीक मान्ने भन्ने प्रश्न गर्न सक्तछ कसैले । तर यस प्रकारको साइनोले कुनै बाधा पर्दैन हामीलाई देवताका साइना स्थिर भएर वस्तैनन् कहिल्यै पनि र ती बदली पनि रहन्छन बेलाबेलामा । प्रारम्भमा रुद्रकी बहिनीका रूपमा प्रकट भएकी अम्बिका कालान्तरमा पत्नी हुन पुगिन् उनकी । रुद्र र अम्बिका सिन्धु उपत्यकाका देवदेवीका रूपमा एकत्व भएर आएपछि ज्यादै सुगम भयो त्यहाँका जनतालाई चित्त बुझाउन । अम्बिकालाई आर्यहरू माताका रूपमा लिन्थे भने सिन्धु उपत्यकावासी अनार्यहरू पनि आफूले उपासना गरिआएकी देवीलाई लिन्थे माताकै रूपमा । सम्पन्नता वा उर्वरताका प्रतीक मानिन्थे आर्य-अनार्य दुवैका देवीहरू। यिनको एकत्वमा सुगम भयो नाम र कामको साम्यबाट पनि । यसप्रकार समीकरण भएको उदाहरण अन्यत्र पनि पाइन्छ नाम तथा कामको साम्यबाट । असिरियाकी देवी ‘इस्तर’लाई नै लिन सकिन्छ उदाहरणका लागि । ‘इस्तर’को अर्को नाम ‘बेलित’। ‘बेलित’ नाम नभएर ईस्तरको साधारण उपाधि वा दर्जा मात्र हो वास्तवमा भन्ने हो भने । मालिकनी, देवी वा स्वामिनी भन्ने अर्थ हुन्छ बेलितको । जुन क्षेत्रमा गयो त्यसै क्षेत्रको उपाधिले विभूषित गर्ने चलन थियो इस्तरलाई । रणक्षेत्रमा गए रणबेलित’ हुन्थी भने अर्को क्षेत्रमा गए त्यसै क्षेत्रका कामको उपाधिले विभूषित हुन्थी ऊ । ठीक यस्तै नाम बेबिलोनको देवता ‘बेल’की पत्नीको पनि थियो । ‘इस्तर’ को सम्बन्ध ‘बैल’ सित भएको प्रमाणित हुँदैन बेबिलोनमा पाइने कुनै पनि पुराना प्रमाणबाट । ‘इस्तर’ लाई स्पष्टसित बेबिलोनको देवता ‘बेल’ की पत्नी भनिएको छ तर पछिल्लो कालमा आएर नामसाम्यबाट पनि यस्ता गल्ती हुन जान्छन् यदाकदा ।
वैदिक रुद्र र अम्बिकाको मात्र समीकरण भएन सिन्धु सभ्यता र आर्यसभ्यताका देवदेवीको यसप्रकार समीकरण भएपछि । ‘इस्तर’को साटो आएकी अम्बिकाजस्ता अरू पनि देवीको सामावेश भयो त्यसमा । दिति, अदिति, कुद्रु, विनता, सुरसा र सरमालाई नै अघि सार्न सक्तछौं उदाहरणका लागि हामी । अनार्यदेवी नै थिए यिनमध्ये कति त । पछि मात्र आएका हुन् आर्यका देवी हुन यी । यिनमा कति अधकल्चा पनि रहन गएका छन् अनार्यबाट आर्यमा आए पनि । यी देवदेवीको खुब प्रचार भयो यस भूखण्डमा आर्यहरूले अनार्यदेवदेवीलाई आत्मसात् गरेपछि । एउटी मातृकाको मूर्ति पाइएको छ बिहारको लौरिया-नन्दनगढमा जसलाई भन्न सकिन्छ यसै परम्पराको । मातृका देवीका प्रतीक र मूर्ति प्रशस्त प्राप्त भएका छन् तक्षशिल देखि पाटलिपुत्र सम्मका पुरातात्त्विक क्षेत्रमा । नेपालको तराई क्षेत्रमा पनि प्राप्त भएकाछन् यस्ता मातृकाका मूर्ति । बीचमा प्वाल भएका चक्का प्रतीक छन् यसमा, केही भने मूर्तिकै रूपमा पनि छन् केही । तिनै मातृकालाई प्रतिनिधित्व गर्दछन् यी सबैले । जुन योनिमूर्तिको पूजा सिन्धु उपत्यकामा हुन्थ्यो तिनैको प्रतिकृति अनेक सहस्राब्दीमा बदलिएर अर्कै रूप लिए पनि कायमै राखेको देखिन्छ पुरानो आत्माको रूपलाई ।
मातृदेवीको यो उपासना जुन रूपमा हाम्रो प्रायः द्वीपमा फैलियो त्यसको फलस्वरूप यहाँ यस्ता केही प्रथाको पनि प्रचार भयो, जुन प्रथा पश्चिम एसिया र सिन्धु उपत्यकामा कायमै थियो । यसमा सर्वप्रमुख हो देवीका मन्दिरमा देवदासी चढाउने प्रथा । देवीका मन्दिरमा मात्र सीमित नरही देवमन्दिरमा पनि पुग्यो पछि गएर यो प्रथा । लिङ्गोपासक थिए अनार्यहरू र लिङ्गका साथमा अनिवार्य मानिन्थ्यो योनि हुनु । लिङ्ग र योनि एकसाथ त्यसमा आयो सिन्धु उपत्यकाको पशुपतिलाई ग्रहण गर्नासाथ । शिवलिङ्ग पुरुषजननेन्द्रियको प्रतीक हो भने योनिको प्रतीक मानेर पूजा- अर्चना सुरु भयो जलहरीको पनि । शिवमन्दिरमा दास र दासी दुवै चढाइन थालिए त्यसै कारणले गर्दा । शिवमन्दिरमा दास र दासी चढाउने प्रथा पाइन्छ नेपालमा पनि । नेपालमा पशुपतिनाथको स्थापनापछि शिवमन्दिरमा देवदास र देवदासी समर्पित गर्ने प्रथा चलेको प्रमाण पाइन्छ अनन्तलिङ्गेश्वरमा भएको नरेन्द्रदेवको अभिलेखमा । लिच्छविकालमा मात्र सीमित रहेन वो प्रथा । शाहवंशको उदयकालमा पनि यो प्रथा कायमै भएको प्रमाणित हुन्छ पृथ्वीनारायण शाहका पालामा दासदासी अर्पित गरिएको अभिलेखबाट पनि । यसरी मन्दिरमा देवदासी चढाउने प्रथा प्रारम्भ भएको हो सम्भवतः बेबिलोनबाट । ‘इस्तर’ को उपासनाका लागि जुन स्त्रीलाई मन्दिरमा समर्पित गरिन्थ्यो ‘उखानु’ भनिन्थ्यो त्यस्ता स्त्रीलाई । कुनै अश्लील भावनाले प्रेरित भएर प्रारम्भ भएको होइन यस प्रकारको प्रथा । त्यस्ता देवदासीसित सम्भोग गर्दा धनधान्य र पशुधनको वृद्धि भएर सम्पन्नता आउँछ र देवदेवी खुसी हुन्छन् भन्ने सद्भावनाले प्रेरित भएर नै प्रारम्भ गरेको थियो त्यस समयका मानवको अप्रौढ बुद्धिले । जुन स्त्रीलाई देवदेवीको मन्दिरमा दासीका रूपमा अर्पित गरिन्थ्यो समाजलाई कल्याण गर्दछन् भन्ने जनविश्वास थियो तिनले । समाजमा हेयका पात्र नभई आदरका पात्र मानिन्थे त्यसै कारण त्यस्ता स्त्री । प्राचीन समयमा यहुदीहरु वेश्याका लागि ‘जुन ‘कदिस्तु’ वा ‘कदेसु’ शब्दको प्रयोग गर्थे त्यसको अर्थ ‘पवित्र’ भन्ने हुन्थ्यो वास्तवमा भन्ने हो भने । आफ्ना छोरीलाई देवमन्दिरमा समर्पित गर्न आमाबाबु नै अघि सर्थे धार्मिक भावनाले प्रेरित भएर । समस्त पश्चिम एसियामा फैलियो धार्मिक वेश्यावृत्तिको यो प्रथा । युनानी नगर ‘कारिन्थ’ मा विराजमान ‘एफ्रो डाइटे’ नामक देवीको उपासनामा पनि प्रवेश पाएको थियो यस प्रथाले । बाहिरबाट आउने अतिथिहरूलाई यस्ता देवदासीले आमोदप्रमोदद्वारा खुसी पारेर पठाएकोमा गर्वसाथ नाक फुलाउँथे युनानीहरू । सिन्धु उपत्यकावासी अनार्यहरूमा पहिले आयो यो प्रथा पश्चिम एसियाबाट । त्यसपछि मात्र यसलाई ग्रहण गरे वैदिक आर्यहरूले । आर्य-अनार्यको सम्मिश्रणपछि देवीका मन्दिरबाट हटेर देवमन्दिर, त्यसमा पनि शिवमन्दिरमा आयो देवदासीको प्रथा । हुँदाहुँदै अन्य सम्प्रदायले पनि ग्रहण गरे देवदासी प्रथालाई । पशुपतिको मन्दिर मात्र एउटा अपवाद होइन नेपालमा । देवदासी प्रथाले निकै जरो गाडेको देखिन्छ सुदूरपश्चिमी नेपालमा पनि । त्यसका सामग्री राम्रोसित प्रकाशमा आइसकेका छैनन् अहिलेसम्म तर कुन समय त्यो प्रथा प्रारम्भ भयो ।
समस्त प्राय:द्वीपमा फैलियो यसरी सिन्धु उपत्यकाबाट फैलिएको योनिपूजाको प्रभाव । चौसट्ठी योगिनी पनि आए समाजमा यिनका प्रतीकस्वरूप । प्रत्यक्ष योनि पूजा भएको पनि पाइन्छ जसलाई शक्तिपीठ पनि कुनै-कुनै ठाउँमा । नीलगिरिकी कामाख्या र गुह्येश्वरीलाई नै लिन सकिन्छ उदाहरणका लागि । अनन्तचतुर्दशीको अघिल्लो दिन हिन्दूपरम्परानुसार गुप्तपूजा गरिन्छ, त्यो पूजा योनिको पूजासित सम्बद्ध छ- काठमाडौं उपत्यकाभित्रको ललितपुरको च्यासल टोलमा ।
यो त भयो योनिपूजाको प्रथा । यसैप्रकार निकै ठूलो क्षेत्रमा फैलिएको छ लिङ्गपूजाको प्रभाव पनि । लिङ्गका साथ योनि पनि अनिवार्य रूपमा आयो सिन्धु उपत्यकापछि अर्थात् पशुपति अर्नायदेवबाट आर्यदेवमा आएपछि । दक्षिण भारतको गुडिमल्लमका लिङ्गजस्ता यथार्थ लिङ्ग पनि नबनेका होइनन् । तर मुखलिङ्गको आविष्कारपछि परिवर्तन आयो त्यसमा । साधरण पूजक वा उपासकले त्यसको मूल रूप के हो थाहा पाउन छोड्यो त्यस्ता शिवलिङ्गद्वारा पुरुषलिङ्गको प्रतिनिधित्व र जलहरीले यौनिको प्रतिनिधित्व गरे पनि । उर्ध्वरेत शिव, तिर्यक्शीश्न उन्मत्त भैरव, ब्रह्मसूत्रवेष्टित शिवलिङ्ग उपासकका सामने उपस्थित भइदिनाले अलिकति पनि सचेत व्यक्तिले थाहा नपाउने कुरै छैन यसको प्रादुर्भाव पुरुषजननेन्द्रियबाट नै भएको हो भन्ने कुरा ।
यी त भए धार्मिक पक्षका कुरा । सिन्धु उपत्यकाको जननेन्द्रिय उपासनाले प्रभाव पारेको छ व्यावहारिक पक्षमा पनि । पश्चिम एसिया, इरान, हुँदै सिन्धु उपत्यका आउनुपर्दछ वास्तवमा विचार गरेका खण्डमा त्यसका लागि पनि । सभ्यताको विकास जुन समय मानवले गर्न थाल्यो मृण्मय पात्रको निर्माण पनि प्रारम्भ गरेको अनुमान हुन्छ त्यसै समयदेखि । पशुपालन र कृषि नै हो सभ्यता त्यस समयका मानवका लागि । उसको जीवन स्थिर हुँदै गयो मानवले यस प्रथालाई अपनाएपछि । जीवन स्थिर हुनुको तात्पर्य हो भोज्य पदार्थ र पेय पदार्थको पर्याप्त सङ्ग्रह र बस्ने निवास । वैदिक आर्यको आगमनभन्दा पहिले नै आफ्नो जीवन स्थिर बनाइसकेका थिए सिन्धु उपत्यकावासीले । उसका दैनिक जीवनमा उपयोग गर्ने पात्रमा पनि पर्यो उसले मानिआएका धर्मको प्रभाव । पुरुषजननेन्द्रियबाट केही प्रेरणा पायो उसले भने स्त्रीयोनिबाट पनि केही प्रेरणा ग्रहण गर्यो त्यस समयको समाजले । नियन्त्रित रूपमा तरल पदार्थलाई कसरी खन्याउन सकिन्छ भन्ने कुराको आधार पायो आफ्नै धर्ममा । हाम्रा सामने करुवा र अर्द्धजस्ता तरल पदार्थका पात्र आए लिङ्ग र योनिका विकसित रूपमा त्यसै कारणले गर्दा । लिङ्गको प्रतीकका रूपमा आउने टुटी कुषाण कालभन्दा पहिले त्यति विकसित नदेखिए पनि क्रमश: विकसित हुँदै गएर परिणत भयो आजको हाम्रो करुवाका रूपमा । योनिको प्रतीकका रूपमा बनाइने पात्र भने यथार्थ रूपमा हुन्थे पहिले ती र पछि बन्न थाले प्रतीकका रुपमा अर्घौताजस्ता । कारण छ त्यसमा पनि । शिवलिङ्गका साथमा रहने योनिको प्रतीक जलहरी त्यस्तै हुने हुँदा सुगम भयो त्यसलाई अनुकरण गर्न । त्यसै कारण जहाँ पनि पाइन्छन् अर्घौताजस्ता योनि-आकारका पात्र । १९३५ इसवीमा सिन्धु उपत्यकाको भ्रमण गरेका थिए जी. एस. घुरे (G. S. Ghurey) ले अर्घौता दुईओटा मृण्मय पात्रका टुक्रा भेट्टाए उनले आफ्नो भ्रमणकालमा जसको आकारमा कुनै फरक पाइदैन नारी योनिभन्दा । बम्बईको प्रिन्स अफ वेल्स म्युजियममा सुरक्षित छन् आज पनि ती दुवै वस्तु । उत्तरी इरानमा पनि पाइन्छन् भनेका छन् त्यस्ता वस्तु घुरेले अर्घौता हाम्रा हरेक प्राचीन आविष्कार भएका छन् धर्मका आधारमा । त्यसै कारण नाक खुम्च्याउनु हुँदैन कुनै कुरा नबुझी अर्घौता अस्तु ।
सन्दर्भसूची
A. A. Macdonell, Vedic Mythology
A. B. Kelth, Religion and Mythology of the Vda.
A. Galt Sir, History of Assam.
A. Lyall. Natural Religion in India
C. Howard, Sex Worship.
C. V. N. Ayyar, Origin and Eearly History of Shaivism in India
David Mountfield, Greek And Roman Erotica, Miller Graphics Linber Sa, Fribourg, 1982, Printed in Italy.
F. Maxmuller. Anthropological Religion
Encyclopaecia of Religion
G. L. Possehl, “The Mohenjodaro Floods: A Reply.” American Anthro-pology, Vol. LXIX, No. 1.
G. Slater, Dravidian Element in Indian Culture. Indian Archaeology: A Review 1962-63.
J. Marshall Str. Mohenjodaro and the Indus
M. Jastrow, Religion of Babylonia and Assyria.
Civilization Mallasvami Pillai, Studies in Shaiva Siddhanta.
M. Wheeler Str., “Harappa.” Ancient India, No. 3, 1946. M. Wheeler Sir, Early India and Pakistan, 1959.
Shivapada Sundaram Pillai, The Shaiva School of Hinduism
Stella Kramrisch, The Presence of Shiva, Princeton, New Jersey, 1982. T. A. G. Rao, Hindu Iconography.
Walter A. Fairservis, Jr.. The Roots of Ancient India/The Archaelogy of Early Indian Civilization).
धनवज्र वज्राचार्य, लिच्छविकालका अभिलेख ।
धनवज्र बज्राचार्य र टेकबहादुर श्रेष्ठ, शाहकालका अभिलेख (पहिलो भाग) ।
प्रचापचन्द्र राय, महाभारत, कलकत्ता ।
यदुवंशी, शैवमत, बिहार र राष्ट्रभाषा परिषद्, पटना ।
राय गोविन्द चन्द, प्राचीन भारतीय मिट्टी के बर्तन, चौखम्बा विद्या भवन, वाराणसी ।
वासुदेवशरण अग्रवाल, भारतीय कला (प्रारम्भिक युग से तीसरी शादी इसवी तक ), पृथ्वी प्रकाशन, वाराणसी ।
शुक्ल यजुर्वेद, निर्णय सागर प्रेस, बम्बई ।
श्रीपाद दामोदरसावलेकर ऋग्वेद संहिता, स्वाध्याय मण्डल, पारडी ।


 ‘गरिमा, पूर्णाङ्क १९६, २०५५ मा ‘हाम्रो समाजले आर्जेको भौतिक र सांस्कृतिक उपलब्धि’ शीर्षकमा छापिएको यस आलेख जनकलाल शर्माका प्रबन्ध (सम्पादक: डा. माधवलाल पोखरेल, डा. सुमन ढकाल, बगर फाउन्डेसन नेपाल, वि.सं. २०५७ को सर्वश्रेष्ठ पान्डुलिपि पुरस्कारप्राप्त, प्रकाशन मिति:  प्रथम, २०५८) संग्रहमा संग्रहित छ – सम्पादक ।

Banner Photo: Late K N Krishna Bhat, the priest of the Shiva Linga in Hampi

सम्बन्धित समाचार