शनिबार , भाद्र १३, २०८३

काँक्रेबिहार अर्थात् प्राचीन बौद्ध धर्मको विकास र विस्तारको अवशेष स्थल

यदि सबै खस राजाहरू महायानी सम्प्रदाय अन्तर्गतका थिए भने यहाँनेर प्रश्न उठ्छ काक्रेविहारमा बज्रयानी सम्प्रदायले पनि पुज्ने मूर्तिहरू (यदि मान्ने हो भने) कहाँबाट र कसरी आइपुगे ?

image

Photo by: हिमाल खबर

सुर्खेतको धुलाम्य सदरमुकाम वीरेन्द्रनगरबाट १० मिनेट दूरीमा एउटा घना जंगल छ । जंगलै जंगलको बाटो हुँदै एउटा डाँडाको टुप्पोमा पुग्नासाथ देख्न सकिन्छ- बौद्ध देव–देवताका मूर्तिहरू कुँदिएका ढुंगाहरू । यो प्राचीनस्थल नै  ‘काक्रेविहार’ हो ।

काँक्रेविहार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा स्थित धार्मिक एवम् पर्यटकीय स्थल हो । यस स्थलको बारेमा आजसम्म पनि विवाद र रहस्य बरकरार छ । यसको नामकरणमा राखिएको बारेमा, यसको निर्माण र विनिर्माण कहिले र कसरी भयो भन्ने बारेमा अझसम्म ठोस कारण प्रमाणित हुनसकेको छैन । न त राम्रोसँग यस स्थलवरपर उत्खनन एवम् अध्ययन नै हुनसकेको छ । काँक्रेविहारको बारेमा अझ पनि खोज र उत्खनन गरेर प्रमाणित गर्न नसक्ने हो भने इतिहास गन्जागोलमै रहने छ ।

मैले यस आलेखमा काँक्रेविहारको निर्माण बारेमा थोरबहुत लेख्ने प्रयास गरेको छु । र, मलाई थाहा छ यहाँ धेरै तालमेल मिलेको छैन । यसको लागी पहिले नै क्षमाप्रार्थी छु  ।

कहिले बन्यो ?

पुरातात्त्विक विभागले वि.सं २०५७ सालमा स्थानीयको मागअनुरूप काँक्रेविहारको भग्नावशेष भएको स्थानमा उत्खनन गरेको थियो । गर्ने क्रममा पुरातात्त्विक विभागको टोलीले बौद्ध मूर्ति फेला पार्नुको साथै हिन्दु देवि देवताका मूर्तिहरू पनि फेला पारेको थियो । साथै काँक्रेविहार तेह्रौँ शताब्दीमा बनाइएको हुनुपर्छ भनेर अनुमान पनि गरेको थियो ।

खस राजाहरू हिन्दु र बौद्ध धर्म दुवै मान्ने भएकाले काँक्रेविहार बनाउने क्रममा धार्मिक सहिष्णुता कायम राख्न दुवै धर्मका मूर्तिहरू राखिएका हुनु सक्छन् । उत्खननले यस कोणबाट सोच्न, अनुमान लगाउन र तथ्य खोज्न सजिलो पारिदिएको छ ।

सबैभन्दा पहिले धार्मिक सहिष्णुताको बारेमा कुरा गरौँ । यस कर्णाली प्रदेशमा धार्मिक सहिष्णुता कसरी कायम हुन पुग्यो भनेर हेर्ने हो भने के देखिन्छ भन्दा तत्कालीन कर्णाली प्रदेशको पश्चिममा र दक्षिणमा हिन्दुको प्रभुत्व थियो भने उत्तर र पूर्वमा बौद्धको प्रभुत्व थियो । गहिरिएर अध्ययन गर्ने हो भने यो समयमा हिन्दु र बौद्ध बिच एकआपसमा लडाई चलेको थियो भन्ने कुरा पनि देखिन्छ । ‘प्रभुत्व थियो’ भन्ने कुराले पनि प्रस्ट पार्छ ।

फोटो : हिमालखबर

आफ्नो राज्यमा हिन्दु र बौद्ध धर्मावलम्बीहरू बिच लडाई चल्यो र चर्कियो भने राज्य दुई धारमा बाँडिन्छ, कमजोर हुन्छ र अशान्त हुन्छ भन्ने कुरा त्यस बेलाका खस शासकहरूले राम्रोसँग बुझेको हुनपर्छ । त्यसैले आफ्नो राज्यलाई बलियो र जनतामा एकताबद्ध बनाउन धार्मिक सहिष्णुताको अवधारणलाई अवलम्बन गर्ने गरी तत्कालीन खस शासकहरूले बौद्ध र हिन्दु दुवै धर्मलाई उत्तिकै महत्त्व दिएर शासन गर्न थालेका हुन सक्छन् ।

‘सम्भवतः उनीहरू विभिन्न ठाउँमा भएका युद्धहरूबाट भागेर त्यस ठाउँमा आइपुगेकाले आत्मरक्षा सुरक्षाका लागी चिन्तित रहेकाले धार्मिक विवाद खडा गर्नुभन्दा धार्मिक सहिष्णुताबाट आफ्नो राजनीतिक प्रक्रियालाई स्थिरता र विकास गर्न चाहन्थे भन्ने देखिन्छ ।’ नेपाली राजनीतिक विचारधारा: प्राचीन र मध्यकालीन, पृष्ठ ३८९ र ३९० मा उल्लेख भएको यस पङ्क्तिले केही हदसम्म प्रस्ट पार्छ ।

धार्मिक सहिष्णुता राजपाठमा मात्र सीमित भएर हुँदैन । जनताले प्रत्यक्ष रूपले देख्न, भोग्न र त्यसमा सहभागी हुन पाउनुपर्छ । यस्तो गरे राज्य झन् बलियो भएर जान्छ भन्ने कुरालाई मध्यनजर गरेर तत्कालीन खस राजाहरूले राज्यका विभिन्न ठाउँमा विहारहरू, चैत्यहरू र मूर्तिहरू निर्माण गरेका हुन सक्छन् । ठिक यसै क्रममा, उनीहरूले हिन्दु देवीदेवताका मूर्तिहरू पनि बनाएका हुन सक्छन् । त्यतिखेर बनाइएका बौद्ध र हिन्दु मूर्तिहरू हामी जताततै पाउन सक्छौँ । उदाहरणको लागी काँक्रेविहारको चैत्य (बौद्ध) र काँक्रेविहारकै सरस्वती मूर्ति (हिन्दु) लिन सक्छौ, जो यस दौरानमा बनाइएका पाइएका छन् ।

यी सबै कुरालाई ध्यानमा राखेर के भन्न सकिन्छ भने तत्कालीन खस राज्यमा धार्मिक सहिष्णुताको अवधारण राज्यस्तरमा र जनस्तरमा एकरूपताका साथ अवलम्बन गर्ने क्रममा खस शासकहरूले काँक्रेविहारको निर्माण गरेका हुन सक्छन् ।

कसले बनायो ?

खस राज्यको शासनकालमा काँक्रेविहारको निर्माण भएको कुरालाई मान्ने हो भने कुन राजाको पालामा यो निर्माण भएको होला भन्ने जिज्ञासा अवश्य आउँछ । यसबारेमा आफ्नो अध्ययनले भ्याएसम्म बटुलेका केही कुराहरू यहाँ राख्न गइरहेको छु । धार्मिक सहिष्णुताको अवधारणा अवलम्बन गर्ने क्रममा सबैभन्दा पहिले क्राचल्ल देखा पर्छन् । उनीपछि क्रमशः अशोकचल्ल, जितारिमल्ल, रिपुमल्ल, आदित्यमल्ल, पुण्यमल्ल र पृथ्वीमल्ल नामका खस शासकहरू देखापर्छन् ।

धेरै विद्धानहरू सहमत छन् काँक्रेविहारको निर्माण क्राचल्लको शासनकाल देखि रिपुमल्लको शासनकाल बिचमा भएको हुनसक्छ भन्ने कुरामा । किनभने क्राचल्लको पाला देखि बल्ल अभिलेखहरू भेटिएका छन् । त्यसभन्दा अघिको समयका कुनै पनि अभिलेखहरू अहिलेसम्म भेटाउन सकिएको छैन । त्यसकारण क्राचल्ल भन्दा अघिका खस शासकका बारेमा खासै केही बताउन सकिने अवस्था छैन।

हुन त क्राचल्लभन्दा अघिका राजाहरूको पालामा पनि काँक्रेविहार निर्माण भइसकेको हुनसक्छ भनेर अनुमान लगाउने ठाउँ छ तर, कुनै त्यस्तो ठोस प्रमाण र तथ्य नभेटिएको खण्डमा क्राचल्लको पालादेखि नै काँक्रेविहारको निर्माण भएको हुनसक्छ भनेर मुख्यतः अनुमान लगाउने गरिन्छ । यद्यपि यो खोजको विषय पनि हो । जुन अनुपातमा यसमा खोज हुनुपर्ने उति भएको पाइँदैन । हुँदै नभएको भने होइन ।

अब हामी क्राचल्लको शासनकालदेखि रिपुमल्लको शासनकाललाई सरर्सति हेर्‍यौ;

क्राचल्ल 

कुमाउँको बालेश्वर मन्दिरमा भेटिएको अभिलेखअनुसार क्राचल्ल बौद्ध र हिन्दु दुवै धर्म मान्दथे भन्ने कुरा प्रस्ट छ । धार्मिक सहिष्णुता राख्ने क्रममा काँक्रेविहार यी राजाको पालामा निर्माण भएको अथवा सुरुवात भएको हुनसक्छ भनेर अनुमान लगाउने ठाउँ छ । तर, त्यस्तो अभिलेख अथवा शिलालेख भने भेटिएको छैन ।

अशोकचल्ल

खस राजा अशोकचल्लका पालाका दुइटा अभिलेखहरू बोधगयामा (बुद्धगयामा) भेटिएका छन् । ती अभिलेखहरू संस्कृत भाषामा लेखिएका हुनाले धनवज्र वज्रचार्यले यसरी नेपालीमा अनूदित गरेका छन् ।

(१) ‘असल महायान सम्प्रदायका अनुयायी, ठुला उपासक, सारा प्रक्रियाले युक्त भएका महाराज श्री अशोकचल्ल देवको यो दानधर्म हो । … काश्मीरी पण्डित भदन्त ( भिक्षु ) गुचपथी, राजगुरु पण्डित मुशल, पात्र (भारादार) शङ्करदेव, पात्र क्रैलोक्य ब्रहमाहरुले श्री राजा बक्साएर भट्ट दामोदर भट्ट पदुम, शिष्ट राघव महिपूकाहरूलाई पठाएर बुद्ध मूर्तिसहित यो विहार बनाउन लाएको हो । श्री लक्ष्मण सेनको राज्य गुमेको एकाउन्नौँ वर्षमा ( वि.सं १३१२ मा ) भाद्र २९ गते ।’

(२) ‘असल महायान सम्प्रदायका अनुयायी, ठुला उपासक, हेवज्रका पाउरुपी कमलका धूलाका भ्रमरा जस्ता…भएका सारा राजाहरूमा श्रेष्ठ इत्यादि आफ्ना सारा प्रशस्तिले सिँगारिएका सपादलक्ष (सवा लाख) पर्वत खसदेशका महाराजाधिराज श्री अशोकचल्लका कान्छा भाइ राजकुमार श्री दशरथका चरणकमलको सेवा गर्ने, भण्डारे, साँचो बोल्नु आदि व्रतमा लाग्नाले बोधिसत्तवको चरित्रको अनुसरण गरेका, क्षत्रियकुलका बत्ती जस्ता श्री सरणपालको यो दानधर्म हो । ….. श्री लक्ष्मणसेनदेवको राज्य गुमेको चौहतरौ वर्षमा (वि.सं १३३५ मा) वैशाख कृष्ण द्धादशी बृहस्पतिवारमा ।’

बोधगयामा भेटिएका यी दुइटा अभिलेखमा अशोकचल्लको किर्ति उल्लेख भएबाट के अनुमान लगाउन सकिन्छ भने त्यतिखेर बोधगया खसराज्य अन्तर्गत थियो । र, ती अभिलेखहरू अशोकचल्लले बोधगयालाई अधीनस्थ बनाएपछि लेखिएका हुन । अभिलेखमा उल्लेख भएअनुसार यिनले बोधगयामा विहार र बुद्ध मूर्तिहरू बनाउन लगाएको कुरा पनि प्रस्ट हुन्छ ।

साथै यी राजा अशोकचल्ल महायानी बौद्ध सम्प्रदायका कट्टर अनुयायी हुनुका साथै बज्रयानी देवता हेवज्रलाई पनि उत्तिकै मान्दथे भन्ने कुरा पनि अभिलेखबाट प्रस्ट हुन्छ ।

अध्ययनबाट के पनि पत्ता लाग्छ भने बोधगया बौद्धस्थल हो । त्यस बौद्धस्थलमा चर्चित बोधगया महाविहार अवस्थित छ । र, उक्त महाविहार शिखर शैलीमा निर्माण गरिएको छ । काँक्रेविहार पनि शिखर शैलीमा निर्माण गरिएको थियो भन्ने प्रमाण भेटिएकाले धेरैले बोधगया महाविहारको प्रभावमा रहेर काँक्रेविहारको निर्माण गरिएको हुनसक्छ भनेर अनुमान लगाएका छन् ।

बोधगयामा अभिलेख भेटिनु, विहार र बुद्ध मूर्तिहरू निर्माण गर्न लगाउनु अनि महायानी सम्प्रदायका साथै हेवज्र देवता पनि मान्नुले काँक्रेविहार यी राजाको पालामा निर्माण भएको हुनसक्ने बलियो आधार छ । निर्माण पुरा नभए पनि सम्भवतः यिनको पालमा निर्माण कार्य प्रारम्भ भएको हुनसक्छ भनेर पनि मान्न सकिन्छ ।

जितारी मल्ल

यी राजा अशोकचल्लका छोरा हुन । अध्ययन गर्ने क्रममा यी राजा बौद्धधर्मी हुन् भन्ने देखिन्छ । नेपाल उपत्यकामा तीन पटक आक्रमण गरेका यिनले नेपाल उपत्यकाका गाउँघर जलाए, बाण प्रहार गरी धेरै मानिस हताहत गरे तर, बौद्ध संरचनाहरू भत्काएनन् । बरु उल्टो स्वयम्भूनाथ, मछिन्द्रनाथ लगायतको दर्शन एवम् पूजा गरेर फर्के भन्ने कुराले पनि यी राजा बौद्ध धर्म मान्थे भन्ने कुरा प्रस्ट पार्छ ।

उद्धेक लाग्ने कुरा के हो भने कहीकतै पनि यिनलाई काँक्रेविहार निर्माण गर्ने कुरासँग जोडेर लेखेको फेला पार्न सकिएन । अध्ययन गर्दै जाँदा बरु यी राजा आफ्नो हातमा सत्ताको बागडोर आएपछि खस राज्यलाई विस्तार गर्ने अभियानमा दत्तचित्त भएर लागेको देखिन्छ । नेपाल उपत्यकामा यिनले गरेको आक्रमणले यसलाई प्रमाणित पनि गर्छ ।

सायद यही भएर यी राजा काँक्रेविहार निर्माणसँग प्रत्यक्ष जोडिन नपाएका हुन सक्छन् । नभए कम्तीमा केही त अभिलेख भेटिनु पर्ने हो । यहाँनेर उनको पालामा काँक्रेविहारको निर्माण प्रक्रिया चलिरहेको थियो भनेर अनुमान लगाउने ठाउँ भने छ । तर, यिनको पालादेखि नै निर्माण प्रारम्भ भएको थियो भन्न अलि ग्राहो पर्ने देखिन्छ ।

रिपुमल्ल

उनी जितारिमल्लका भाइ आनन्दमल्लका छोरा हुन् । यी राजाको पालामा काँक्रेविहारको बारेमा धेरै कुराहरू भेटिएका छन् ।

तिब्बतको एउटा गुम्बामा पाइएको वि.सं १३७० मा लेखिएको ‘अभिसमयालङ्गार’ नामक ग्रन्थको पुष्पिकामा ‘राजराजेश्वर लोकेश्वर श्री रिपुमल्लदेव राज्ये’ बाट यो ग्रन्थ रिपुमल्लको शासनकालमा लेखिएको हुनसक्छ भनेर अनुमान लगाउन सकिन्छ । कतिपयले यो ग्रन्थको लेखक खुद रिपुमल्ल हुन भन्ने पनि गर्छन् । यिनको शासनकालमा लेखिएको हो वा यिनले लेखेका हुन ? यो बहसको विषय बन्न सक्छ ।

सत्यमोहन जोशीले कर्णाली लोक संस्कृति — १, इतिहास नामक किताबको पृष्ठ ६० र ६१ मा लेखेका छन्, “सेरामा रहेका अभिलेखले राजा रिपुमल्ल केवल महायानी बौद्ध धर्मका अनुयायी मात्र होइनन्, त्यस बेलाको ‘राजनीति’ र ‘लघुरत्नत्रय’ (बुद्ध धर्म संघ) जस्ता ग्रन्थका लेखक पनि थिए भन्ने कुरो प्रमाणित गर्दछ । तर, ती बहुमूल्य कृतिहरूको खोजी गर्नु बाँकी नै छ ।” यसबाट के अनुमान लगाउन सकिन्छ भने राजा रिपुमल्ले उक्त ग्रन्थ लेखेका पनि हुन सक्छन् ।

यस ग्रन्थको अन्त्यमा रहेको पुष्पिका वाक्यमा सो ग्रन्थ ‘सुरक्षेत्र’ बाट लिइएको भन्ने उल्लेख छ । यस ग्रन्थबाट त्यतिखेर सुर्खेतको नाम ‘सुरक्षेत्र’ रहेछ भन्ने कुरा थाहा पाइन्छ । अनि अर्को कुरा यस ग्रन्थबाट सुर्खेत बौद्ध धर्मको अध्ययन केन्द्र रहेछ भन्ने पनि थाहा पाइन्छ ।

यता मध्यकालमा सुर्खेत खस राज्यको केन्द्र थियो भन्ने कुरा प्रमाणित छ । खस राज्यको पनि केन्द्र अनि बौद्ध धर्मको पनि अध्ययन केन्द्र भएको कारण यो ग्रन्थ प्रचार गर्दै/हुँदै विस्तारै तिब्बत पुगेको हुनसक्छ । अथवा यिनै खस राजा रिपुमल्लले सारेका हुन सक्छन् । नभए बौद्ध धर्म गुरुहरूले सारेका हुन सक्छन् । नभए भिक्षुहरूले सारेका हुन सक्छन् भनेर अनुमान लगाउन सकिन्छ ।

रिपुमल्ले यस स्थानमा बसेर ग्रन्थको रचना गरे भन्ने कुरा मान्ने हो भने काँक्रेविहार यिनैले निर्माण गरेका हुन सक्छन् । यिनले निर्माण गरेभन्दा पनि क्राचल्लको पालामा वा अशोकचल्लको पालामा वा जितारिमल्लको पालमा सुरु भएको काँक्रेविहारको निर्माण यिनको पालमा आएर पुरा भएको हुनसक्ने कुरा बढी सान्दर्भिक हुन जान्छ । किनभने यिनको पालापछि काँक्रेविहार निर्माण बारेमा उत्ति सारो उल्लेख छैन । शङ्कास्पद गर्नुपर्ने त्यस्तो तथ्य पनि खासै भेटिएको छैन ।

प्राचीन बौद्ध धर्मको विकास र विस्तारको अवशेष पाइएको ऐतिहासिक स्थल काँक्रेविहार Nepalpatra

उपसंहार

उत्खनन पश्चात् भेटिएका हिन्दु देवीदेवताका मूर्तिहरू जस्तै शिव, गणेश र सरस्वती आदिलाई कतिपयले महायानी सम्प्रदाय अन्तर्गत पुज्ने प्रचलन पनि छ भन्छन् भने कतिपयले यी मूर्तिहरूलाई बज्रयानी सम्प्रदाय अन्तर्गत पुज्ने प्रचलन पनि छ भन्छन् । अध्येता सेवा भट्टराईका अनुसार काँक्रेविहारको सूचना पाटीमा ‘जुम्ली राजाहरू महायानी थिए’ भनेर लेखिएको छ ।

यदि सबै खस राजाहरू महायानी सम्प्रदाय अन्तर्गतका थिए भने यहाँनेर प्रश्न उठ्छ काक्रेविहारमा बज्रयानी सम्प्रदायले पनि पुज्ने मूर्तिहरू (यदि मान्ने हो भने) कहाँबाट र कसरी आइपुगे ?

अघि माथि अशोकचल्लको प्रसङ्गमा उल्लेख भएको बोधगयाको अभिलेखबाट राजा अशोकचल्ल महायानी र बज्रयानी दुवै मान्थे भन्ने कुरा स्पष्ट हुन आउँछ । यदि उत्खननपश्चात् भेटिएका हिन्दु मूर्तिहरू बज्रयानी सम्प्रदाय अन्तर्गत हुन् भनेर मान्ने हो भने काक्रेविहारको निर्माण अशोकचल्लको पालामा हुन सम्भव छ ।

तर, यहाँनेर अर्को पक्ष पनि छ जो उत्खननपछि दाबाका साथ भनिरहेको छ कि ती हिन्दु मूर्तिहरू नै हुन् भनेर । यदि ती हिन्दु धर्म अन्तर्गतका मूर्तिहरू हुन् भनेर मान्ने हो भने फेरि गञ्जागोलको स्थिति आइपुग्छ । किनभने सबै खस राजाहरू बौद्ध र हिन्दु दुवै धर्म मान्ने गर्थे भन्ने कुरा स्पष्ट छ ।

यो कुरालाई चारैतिरबाट अध्ययन र अनुसन्धान नगरेसम्म चुरोमा पुगिँदैन । चुरोमा नपुगुञ्जल यस्तै गञ्जागोलको स्थिति रहिरहने छ ।

अस्तु !

विज्ञान राज

Tags:

सम्बन्धित समाचार